साधारण सम्मेलन
येशू ख्रीष्टको परिवार-केन्द्रित सुसमाचार
अक्टोबर २०२५ को साधारण सम्मेलन


17:23

येशू ख्रीष्टको परिवार-केन्द्रित सुसमाचार

हाम्रो सिद्धान्त र अनन्त परिवारहरूमा हाम्रो विश्वासले हामीलाई मजबुत बनाउँछ र अनुबन्धित गर्छ ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद । मैले तिनीहरूलाई महसुस गरेको छु ।

१.

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सिद्धान्त परिवारमा केन्द्रित छ । परिवारका सम्बन्धमा हाम्रो सिद्धान्तका लागि मन्दिर अत्यावश्यक छ । त्यहाँ प्राप्त भएका विधिहरूले हामीलाई अनन्त परिवारका रूपमा हाम्रा स्वर्गका पिताको उपस्थितिमा फर्कन सक्षम बनाउँछन् ।

अप्रिल २०२५ को साधारण सम्मेलनसम्ममा, अध्यक्ष रसल एम्. नेल्सनले २०० नयाँ मन्दिरहरूको निर्माणको घोषणा गर्नुभएको थियो । उहाँलाई प्रत्येक सम्मेलनको समापनमा नयाँ मन्दिरहरूको घोषणा गर्न मन पर्थ्यो र हामी सबै उहाँसँगै रमाउने गर्थ्यौँ । यद्यपि, योजना र निर्माणको प्रारम्भिक चरणमा अहिले ठूलो सङ्ख्यामा मन्दिरहरू रहेकाले, नयाँ मन्दिरहरूको घोषणामा ढिलाइ गर्नु अहिले उपयुक्त हुन्छ । त्यसकारण, बाह्र प्रेरितहरूको गणको अनुमोदनमा, हामी यस सम्मेलनमा कुनै पनि नयाँ मन्दिरहरूको घोषणा गर्ने छैनौँ । हामी अब विश्वभरका चर्चका सदस्यहरूलाई मन्दिरका विधिहरू प्रदान गर्न अगाडि बढ्ने छौँ जसमा नयाँ मन्दिरहरूको निर्माणको घोषणा कहिले र कहाँ गर्ने भन्ने कुरा पनि समावेश हुन्छ ।

मैले भर्खरै दिएको मेरो व्यक्तव्यको अंश हाम्रा प्रिय अध्यक्ष रसल एम्. नेल्सनको निधनपछि लेखिएको हो । यसपछि भनिने विषयहरू हप्तौँअघि लेखिएको र अनुमोदित भएको थियो तर यसले अझै पनि परमप्रभुबाट प्रेरित मेरा शिक्षाहरूलाई प्रतिनिधित्व गर्दछ ।

II.

“परिवार परमेश्वरद्वारा नियुक्त गरिएको हो” र “उहाँका सन्ततिहरूको अनन्त गन्तव्यका लागि सृष्टिकर्ताको योजनाको केन्द्रबिन्दु हो” भनेर ठीक ३० वर्षपूर्व घोषणा गरिएको पारिवारिक घोषणापत्रले जनाउँछ । यसले यो पनि घोषणा गर्छ कि “परमेश्वरका आफ्ना सन्ततिहरूका लागि पृथ्वीलाई वृद्धि गर्ने र भर्ने आज्ञा लागू रहन्छ ।” अनि “परमेश्वरले आज्ञा दिनुभएको छ कि प्रजननका पवित्र शक्तिहरू पुरुष र महिला, कानुनी रूपमा विवाहित पति र पत्नीका बीच मात्रै प्रयोग गरिनु पर्छ भनेर हामी थप घोषणा गर्छौँ ।” तत्कालीन एल्डर रसल एम्. नेल्सनले परिवार “परमेश्वरको योजनाका लागि महत्त्वपूर्ण छ … भनेर ब्रिघम यङ्ग विश्वविद्यालयका श्रोतागणलाई सिकाउनुभयो । वास्तवमा, योजनाको उद्देश्य परिवारको उत्थान गर्नु हो ।”

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च कहिलेकाहीँ परिवार-केन्द्रित चर्चका रूपमा चिनिन्छ । यसो हो ! परमेश्वरसँगको हाम्रो सम्बन्ध र हाम्रो मरणशील जीवनको उद्देश्यलाई परिवारका रूपमा व्याख्या गरिएको छ । येशू ख्रीष्टको सुसमाचार उहाँका आत्मिक सन्ततिहरूको लाभका लागि हाम्रा स्वर्गका पिताको योजना हो । हामी साच्चैँ भन्न सक्छौँ कि सुसमाचारको योजना हामीलाई पहिलो पटक अनन्त परिवारको परिषद् मा सिकाइएको थियो, यो हाम्रा मरणशील परिवारहरूद्वारा कार्यान्वयन गरिन्छ र यसको अभिप्रेत गन्तव्य अनन्त परिवारहरूमा परमेश्वरका सन्ततिहरूलाई उच्च पार्नु हो ।

III.

त्यो सैद्धान्तिक सन्दर्भका बावजुद त्यहाँ विपक्ष छ । संयुक्त राज्य अमेरिकामा हामी विवाहमा र सन्तान जन्माउने क्रममा गिरावटको समस्याबाट पीडित छौँ । करीब सय वर्षदेखि यता विवाहित जोडीहरूले नेतृत्व गर्ने घरपरिवारको अनुपातमा गिरावट आएको छ र जन्मदरमा पनि त्यस्तै समस्या छ । चर्चका हाम्रा सदस्यहरूको विवाह र जन्मदर धेरै सकारात्मक छ तर तिनीहरूमा पनि उल्लेखनीय गिरावट आएको छ । पछिल्ला दिनका सन्तहरूले विवाहको उद्देश्य र सन्ततिको महत्त्वका सम्बन्धमा आफ्नो बुझाइ गुमाउनु हुँदैन भन्ने विषय महत्त्वपूर्ण छ । त्यही भविष्य हो जसका लागि हामी प्रयास गर्छौँ । “उत्कर्ष पारिवारिक मामिला हो,” अध्यक्ष नेल्सनले हामीलाई सिकाउनुभएको छ । “येशू ख्रीष्टको सुसमाचारका उद्धार विधिहरू मार्फत् मात्र परिवारहरूलाई उच्च पार्न सकिन्छ ।”

ऐतिहासिक कारणहरूले गर्दा विवाहमा र सन्तान जन्माउने कार्यमा आएको राष्ट्रिय गिरावटलाई बुझ्न सकिन्छ तर पछिल्ला दिनका सन्तले ती प्रवृत्तिहरूलाई अनुसरण गर्नुको—सट्टा ती महत्त्व र अभ्यासहरूमा सुधार गर्नु पर्छ ।

८० वर्ष पहिले मेरो बाल्यकालमा म मेरा हजुरबा हजुरआमाको फार्ममा यस्तो वातावरणमा बस्थेँ जहाँ दिनभरि हुने लगभग सबै कार्य परिवारको निर्देशनमा हुन्थ्यो । पारिवारिक क्रियाकलापहरूबाट ध्यान हटाउन टेलिभिजन वा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू त्यहाँ थिएनन् । यसको विपरित आजको सहरी समाजमा थोरै सदस्यहरूले निरन्तर रूपमा परिवार-केन्द्रित क्रियाकलापहरूको अनुभव गर्छन् । सहरी जीवनयापन र आधुनिक यातायात व्यवस्थित मनोरञ्जन र उच्च-गतिको सञ्चारले युवाहरूलाई आफ्नो घरलाई समय बिताउनका लागि नभई सुत्ने ठाउँका रूपमा मात्रै लिन सहज बनाएको छ जहाँ तिनीहरू सुत्छन् र कहिलेकाहीँ खाना खान्छन् तर जहाँ तिनीहरूका क्रियाकलापहरूमा अभिभावकीय निर्देशन धेरै कम हुन्छ ।

चर्चका हालका अधिकांश सदस्यहरूको जीविकोपार्जन गर्ने तरिकाले पनि अभिभावकीय प्रभावलाई फितलो बनाएको छ । विगतमा परिवारहरूलाई एकतावद्ध गर्ने एक महान् प्रभाव भनेको समान लक्ष्यको खोजीमा सँगै सङ्घर्ष गर्ने अनुभव हुन्थ्यो—जस्तै खाली ठाउँलाई आवादी गर्ने वा जीविकोपार्जन गर्ने । परिवार आर्थिक उत्पादनको एक सङ्गठित र सञ्चालित एकाइ थियो । आज धेरैजसो परिवारहरू आर्थिक उपभोगका एकाइहरू हुन् जसलाई उच्च स्तरको पारिवारिक सङ्गठन र सहयोगको आवश्यकता पर्दैन ।

४.

अभिभावकीय प्रभाव घट्दै जाँदा पछिल्ला दिनका सन्तहरूसँग अझै पनि आफ्ना छोराछोरीहरूलाई अनन्तकालमा हाम्रो पारिवारिक गन्तव्यका लागि तयारी गर्न सिकाउने परमेश्वर-प्रदत्त जिम्मेवारी छ (हेर्नुहोस् सिद्धान्त र करार ६८:२५) । हाम्रा सबै परिवारहरू परम्परागत नभए तापनि हामीमध्ये धेरैले यसो गर्नु पर्छ । सम्बन्ध विच्छेद, मृत्यु र छुट्टिनु स्वभाविक हुन् । त्यसलाई मैले अनुभव गरेँ जुन परिवारमा म हुर्किएको थिएँ ।

ओक्स परिवार

म सात वर्षको हुँदा मेरो बुबाको मृत्यु भयो त्यसैले मेरो कान्छो भाइ, बहिनी र मलाई विधवा आमाले हुर्काउनुभएको थियो । सबैभन्दा कठिन परिस्थितिमा उहाँले निरन्तर रूपमा लक्ष्यतर्फ कार्य गर्नुभयो । उहाँ एक्लै र टुटेकी हुनुहुन्थ्यो तर परमप्रभुको सहयोगद्वारा पुनर्स्थापित् चर्चको सिद्धान्तको उहाँको शक्तिशाली शिक्षाले हामीलाई मार्गदर्शन गर्‍यो । उहाँले आफ्ना छोराछोरी हुर्काउन स्वर्गको सहयोगका लागि कसरी प्रार्थना गर्नुभएको र कसरी उहाँ आशीषित हुनुभएको थियो होला ! हामीलाई एक खुसी घरमा हुर्काइएको थियो जहाँ हाम्री आमाले मृतक बुबाको वास्तविकतालाई बेवास्ता गर्नुहुन्नथ्यो । उहाँले हामीलाई सिकाउनुभयो कि हाम्रा बुबा र उहाँका श्रीमान् हुनुहुन्छ र हामी मन्दिरमा गरिएको उहाँहरूको विवाहका कारण सधैँ एक परिवार हुने छौँ । हाम्रा बुबा अस्थायी रूपमा टाढा हुनुहुन्थ्यो किनभने परमप्रभुले उहाँलाई भिन्न कार्यका लागि बोलाउनुभएको थियो ।

मलाई जानकारी छ कि अन्य धेरै परिवारहरू त्यति खुसी छैनन् तर प्रत्येक एक्ली आमाले स्वर्गका पिताको प्रेम र मन्दिरमा गरिने विवाहको अनन्त आशीर्वादका सम्बन्धमा सिकाउन सक्नुहुन्छ । तपाईं पनि यसो गर्न सक्नुहुन्छ ! स्वर्गका पिताको योजनाले सबैका लागि यो सम्भावनाको आश्वासन दिन्छ । हामी सबै मन्दिरमा गरिने विवाह र अनन्त परिवारका रूपमा बाँधिनुबाट प्राप्त हुने सम्भावित आशीर्वादहरूका लागि आभारी छौँ । मेरी आमाले जस्तै हामी परमेश्वरले “तिम्रो लाभका लागि तिम्रा कष्टहरूलाई पवित्र गर्नुहुने छ” भनेर लहीले आफ्नो छोरा याकूबलाई गरेको प्रतिज्ञा उद्धृत गर्न मन पराउँछौँ (२ नफी २:२) । यो पूर्ण वा हाल अपूर्ण रूपमा नै भए पनि प्रत्येक पछिल्ला दिनका सन्तहरूको परिवारमा लागू हुन्छ । हामी एक पारिवारिक चर्च हौँ ।

हाम्रो सिद्धान्त र अनन्त परिवारहरूमा हाम्रो विश्वासले हामीलाई मजबुत बनाउँछ र अनुबन्धित गर्छ । केटाकेटीहरूका रूपमा हामी पेसन, यूटा नजिकैको उहाँको फार्ममा बस्दा मेरो हजुरबुबाको प्रतिज्ञा म कहिल्यै बिर्सने छैन । उहाँले मलाई टाढा डेनभर कोलोराडोमा हुनुभएका मेरो बुबाको दु:खद निधनको खबर सुनाउनुभयो । म शयनकक्षमा दौडिएर गएँ र ओछ्यानको छेउमा घुँडा टेकेर जोडले रोएँ । हजुरबुबा मेरो पछिपछि आउनुभयो र मेरो छेउमा घुँडा टेकेर भन्नुभयो, “म तिम्रो बुबा हुने छु ।” त्यो कोमल प्रतिज्ञा परिवारले कुनै सदस्य गुमाउँदा वा हराउँदा हुने रिक्तताहरूलाई प्रतिपूर्ति गर्नका लागि हजुरबुबा र हजुरआमाका तर्फबाट के गर्न सक्नुहुन्छ भन्ने सम्बन्धमा एक शक्तिशाली उदाहरण हो ।

एक्लै वा विवाहित आमाबाबुहरू—र अरूहरू, हजुरबुबा हजुरआमा जस्तै जसले केटाकेटीहरूका लागि त्यो भूमिका निर्वाह गर्नुहुन्छ—उहाँहरू प्रमुख शिक्षकहरू हुनुहुन्छ । उदाहरण नै उहाँहरूले दिन सक्ने सबैभन्दा प्रभावकारी शिक्षा हो । परिवारको इकाई विवाह र केटाकेटीहरूको महत्त्व, जीवनको उद्देश्य र प्रसन्नताको वास्तविक स्रोत जस्ता अनन्त मूल्यहरू प्रदर्शन गर्न र सिक्नका लागि आदर्श स्थान हो । यो दया, क्षमा, आत्म-नियन्त्रण, शिक्षा र इमान्दार कार्यको मूल्य जस्ता जीवनका अन्य आवश्यक शिक्षाहरू सिक्नका लागि पनि उत्तम स्थान हो ।

निस्सन्देह, चर्चका धेरै सदस्यहरूमा प्रिय परिवारका सदस्यहरू हुनुहुन्छ जसले सुसमाचारका मूल्यहरू र अपेक्षाहरूलाई अँगाल्नुहुँदैन । त्यस्ता सदस्यहरूलाई हाम्रो प्रेम र धीरता आवश्यक पर्छ । आफ्नै परिवारका सदस्यहरूसँग अन्तरक्रिया गर्दा हामीले खोजेको पूर्णता मरणशील जीवनको तनावपूर्ण परिस्थितिहरूमा सीमित छैन भनेर हामीले सम्झनु पर्छ । सिद्धान्त र करार १३८:५७-५९ को महान् शिक्षाले हामीलाई मृत्युपछि आउने आत्मिक संसारमा पश्चात्ताप र आध्यात्मिक उन्नति निरन्तर रहन सक्छ भनेर आश्वासन दिन्छ । अझै महत्त्वपूर्ण विषय, परिवारहरू एकअर्कालाई मजबुत बनाउन एकिकृत हुँदा मरणशील जीवनमा हामी सबैले अनुभव गर्ने पापहरू र अपरिहार्य कमजोरीहरू येशू ख्रीष्टको महिमित र रक्षा गर्ने प्रायश्चित र पश्चात्तापका माध्यमद्वारा क्षमा गर्न सकिन्छ भनेर हामी सबैले सम्झनु पर्छ ।

५.

हाम्रा मुक्तिदाता, येशू ख्रीष्ट, हाम्रो परम आदर्श हुनुहुन्छ । यदि हामीले उहाँको शिक्षा र आत्म-बलिदानको अनुकरण गरेर आफ्नो जीवनलाई आदर्शपूर्ण बनायौँ भने हामी आशीषित हुने छौँ । ख्रीष्टलाई अनुसरण गर्नु र एकअर्काको सेवामा आफूलाई समर्पित गर्नु अहिले यति सामान्य देखिने स्वार्थ र व्यक्तिवादका लागि उत्तम उपाय हो ।

उहाँहरूका बालबालिकाहरूलाई सुसमाचारका सिद्धान्तहरूबाहेक व्यावहारिक ज्ञान सिकाउनु आमाबाबुको कर्तव्य पनि हो । सँगै अर्थपूर्ण कार्य गर्दा परिवारहरू एकतावद्ध हुन्छन् । परिवारका बगैँचाहरूले पारिवारिक सम्बन्ध निर्माण गर्छ । परिवारका रमणीय अनुभवहरूले पारिवारिक सम्बन्धलाई मजबुत बनाउँछन् । क्याम्पिङ, खेलकुद क्रियाकलापहरू र अन्य मनोरञ्जनात्मक क्रियाकलापहरू पारिवारिक बन्धनलाई मजबुत बनाउनका लागि विशेष गरी महत्त्वपूर्ण हुन्छन् । पितापुर्खाहरूलाई सम्झन परिवारहरूले पारिवारिक पुनर्मिलनको आयोजना गर्नु पर्छ, जसले सबैलाई मन्दिरतर्फ अगुवाइ गर्छ ।

आमाबाबुले बालबालिकाहरूलाई आँगन र घरमा काम गर्ने लगायत जीवनयापनका आधारभूत सीपहरूमा शिक्षित गराउनु पर्छ । भाषाहरू सिक्नु सुसमाचार प्रचारक सेवा र आधुनिक जीवनका लागि उपयोगी तयारी हो । आमाबाबु वा हजुरबुबा हजुरआमा वा विस्तारित परिवारका सदस्यहरू यी विषयहरूका शिक्षकहरू हुन सक्नुहुन्छ । तिनीहरूले सामूहिक रूपमा सिक्दा अनि परिवार र यसका सदस्यहरूलाई चासोका सबै विषयहरूमा सङ्लग्न गर्दा परिवारहरूको उन्नति हुन्छ ।

कसैले भन्न सक्छन्, “तर हामीसँग त्यसका लागि समय नै छैन ।” वास्तवमा नै यदि उहाँहरू सबैले आफ्ना प्रविधिहरू बन्द गर्नुभयो भने सार्थक कार्य गर्नका लागि उहाँहरूले आफ्नो परिवारलाई सक्रिय बनाउन समय निकाल्न सक्नुहुन्छ भनेर धेरै आमाबाबुले पत्ता लगाउनु हुने छ । अनि आमाबाबु, सम्झनुहोस्, ती बालबालिकाहरूले वास्तवमा साँझको खानामा के खान चाहन्छन् भन्दा पनि तिनीहरूलाई चाहिएको तपाईंहरूसँगको समय हो

यदि परिवारहरूले सँगै प्रार्थना गर्छन्, साँझ र बिहान घुँडा टेकेर आशीर्वादका लागि धन्यवाद दिँदै प्रार्थना गर्छन् र सामान्य चासोहरूका लागि प्रार्थना गर्छन् भने उनीहरूलाई ठूलो आशीर्वाद मिल्छ । चर्चका सेवाहरू र अन्य भक्तिपूर्ण व्यवस्थापनहरूमा सँगै आराधना गर्दा पनि परिवारहरू आशीषित हुन्छन् । पारिवारिक कथाहरू, पारिवारिक परम्पराहरू सिर्जना गरेर र पवित्र अनुभवहरू बाँडेर पनि पारिवारिक बन्धन मजबुत हुन्छ । अध्यक्ष स्पेन्सर डबल्यू. किम्बलले हामीलाई स्मरण गराउनुभयो कि “हाम्रो आफ्नै जीवनका र हाम्रा पितापूर्खाहरूको जीवनका कथाहरू … प्रेरणाका प्रभावशाली शैक्षिक उपकरणहरू हुन् ।” तिनीहरू प्रायः हामी र हाम्रा भावी सन्ततिहरूका लागि प्रेरणाका उत्तम स्रोत हुन् ।

म परमप्रभु येशू ख्रीष्टको गवाही दिन्छु, जो परमेश्वर, हाम्रा अनन्त पिताका एकमात्र पुत्र हुनुहुन्छ । उहाँले हामीलाई स्वर्गका पारिवारिक पुनर्मिलनमा पुर्‍याउने करार मार्गको अनुसरण गर्न आमन्त्रण गर्नुहुन्छ । कर्टल्याण्ड मन्दिरमा पुनर्स्थापित साँचाहरूद्वारा निर्देशित पादरित्वको बाँध्ने शक्तिले परिवारहरूलाई अनन्तकालका लागि एकसाथ ल्याउँछ (हेर्नुहोस् सिद्धान्त र करार ११०:१३–१६)। हाल तिनीहरू विश्वभरि सङ्ख्यामा वृद्धि हुँदै गइरहेका परमप्रभुका मन्दिरहरूमा अभ्यास भइरहेका छन् । यो वास्तविक हो । हामी यसको अंश बनौँ भनेर येशू ख्रीष्टको नाममा म प्रार्थना गर्छु, आमीन ।

सूचीहरू

  1. परिवार: संसारका लागि एक घोषणा,” सुसमाचारको पुस्तकालय ।

  2. Russell M. Nelson, “Faith and Families” (Brigham Young University fireside, Feb. 6, 2005), 3, speeches.byu.edu.

  3. Russell M. Nelson, “Open the Heavens Through Temple and Family History Work,” Liahona, Oct. 2017, 18.

  4. Spencer W. Kimball, “Therefore I Was Taught,Ensign, Jan. 1982, 4.