साधारण सम्मेलन
मोर्मोनको पुस्तक—हाम्रो यात्रामा एक अतुलनीय खजाना
अक्टोबर २०२५ को साधारण सम्मेलन


9:47

मोर्मोनको पुस्तक—हाम्रो यात्रामा एक अतुलनीय खजाना

जब हामी मोर्मोनको पुस्तकमा पाइने ख्रीष्टका वचनहरूमा भोज गर्छौँ, आत्माले हामीलाई अनन्त सत्यहरू बुझ्न सहयोग गर्ने छ ।

के तपाईंको जीवन नै परिवर्तन गरिदिने उपहार कसैले तपाईंलाई दिएको त्यो क्षण स्मरण गर्न सक्नुहुन्छ ? यो अक्टोबरमा मैले मेरो जीवनको सबैभन्दा ठूला उपहार मध्येको एक प्राप्त गरेको ४० वर्ष पूरा हुन्छ । म माध्यमिक विद्यालयमा छँदा, मैले हाम्रो एक सहपाठी अरु धेरैजसो युवाहरू भन्दा बढी खुसी भएको पाएँ । मलाई उनको वरिपरि हुन रमाइलो लाग्थ्यो । एक दिन उनले मलाई भने कि उनी पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सदस्य हुन् । त्यसपछि उनले मलाई एउटा उपहार दिए: मोर्मोनको पुस्तकको एक प्रति । उनले मलाई केही पृष्ठहरू पढ्न र मेरा प्रश्नहरूको जवाफ दिन सक्ने दुई साथीहरूसँग भेट्न आमन्त्रण गरे । ती साथीहरू सुसमाचार प्रचारकहरू थिए ।

जब मैले सुसमाचार प्रचारकहरूसँग भेटेँ, तिनीहरूले मलाई ख्रीष्टको सिद्धान्त सिकाए र अगमवक्ता मोरोनीको निमन्त्रणा अनुसरण गर्न आमन्त्रित गरे: “जब तिमीहरूले यी चीजहरू प्राप्त गर्ने छौ, म तिमीहरूलाई प्रोत्साहन गर्छु कि तिमीहरूले ख्रीष्टका नाममा, परमेश्वर, अनन्त पितालाई सोध, के यी विषयहरू सत्य होइनन्; र यदि तिमीहरूले निष्कपट हृदयले, सच्चा उद्धेश्यका साथ, ख्रीष्टमाथिको आस्थाका साथ, सोध्ने छौ भने उहाँले पवित्र आत्माको शक्तिद्वारा तिमीहरूसामु सत्य प्रकट गर्नुहुने छ” (मोरोनी १०:४) ।

मैले मोर्मोनको पुस्तकका धेरै पृष्ठहरू पढेँ र प्रार्थना गरेँ । सुसमाचार प्रचारकहरूले मलाई सिकाइरहेका सबै विषयहरूको गहिरो समझ मलाई अझै नभए तापनि, मैले पढिरहेका विषय असल थियो र परमेश्वरबाट आएको हो भन्ने मैले महसुस गरेँ । मैले मोरोनीको प्रतिज्ञाको प्रमाणीकरण प्राप्त गरेँ: “अनि पवित्र आत्माको शक्तिद्वारा तिमीहरूले सबै विषयहरूका सम्बन्धमा सत्यता जान्न सक्छौ” (मोरोनी १०:५) ।

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा बप्तिस्मा लिएपछि, केही साथीहरूले मलाई मैले गलत निर्णय गरेँ भनेर विश्वस्त पार्न खोजे । परन्तु हरेक पटक जब मैले यस्ता शङ्का र विरोधहरूको सामना गरेँ, धर्मशास्त्रको अध्ययन गरेर र परमेश्वरसँग गरेको करारमा सत्य रहन प्रार्थना गरेर मैले प्रमाणीकरण प्राप्त गरेँ । त्यस समय देखि, मोर्मोनको पुस्तक मेरो साथी र मेरो यस मरणशील यात्रामा एक अतुलनीय खजाना भएको छ ।

मोर्मोनको पुस्तक केवल एउटा पुस्तक मात्र होइन । यो येशू ख्रीष्टको अर्को करार हो, जुन प्राचीनकालका धेरै अगमवक्ताहरूले अगमवाणी र प्रकाशको आत्माद्वारा लेखेका थिए ।

मोर्मोनको पुस्तकमा उल्लेख गरिएको सबैभन्दा महत्त्वपूर्ण घटना आफ्नो पुनरुत्थानको लगत्तै पछि परमप्रभु येशू ख्रीष्टले नफीहरूका माझमा गर्नुभएको व्यक्तिगत सेवा हो । “यसले सुसमाचारका सिद्धान्तहरूलाई अगाडि राख्छ, मुक्तिको योजनाको रेखाचित्र दिन्छ र मानिसहरूलाई उनीहरूले यस जीवनमा शान्ति र आगामी जीवनमा अनन्त जीवन प्राप्त गर्न के गर्नु पर्छ भनी बताउँछ” (मोर्मोनको पुस्तकको परिचय) ।

मार्च १८३० मा न्यूयोर्क राज्यको एउटा सानो सहरमा मोर्मोनको पुस्तक: येशू ख्रीष्टको अर्को करारको पहिलो संस्करण प्रकाशित भएको थियो । १८२९ मा पुस्तकको अनुवाद पूरा गर्दा अगमवक्ता जोसेफ स्मिथ २३ वर्षका मात्रै हुनुहुन्थ्यो । उहाँले लगभग सम्पूर्ण पुस्तक ७५ दिन भन्दा कम समयमा अनुवाद गर्नुभयो र छपाई प्रक्रियामा लगभग सात महिना लाग्यो ।

आज, १५० भन्दा बढी देशहरूमा लगभग ८०,००० पूर्णकालिन सुसमाचार प्रचारकहरू स्वयम् सेवकका रूपमा सेवा गरिरहनुभएको छ, मोर्मोनको पुस्तक सत्य हो र यसले येशू ख्रीष्टको गवाही दिन्छ भन्ने गवाही दिन आफ्नो जीवन समर्पित गरिरहनुभएका छन् ।

यस वर्षको जून महिनामा भएको नयाँ सुसमाचार प्रचार अध्यक्षहरूका लागि आयोजित गोष्ठीमा, हाम्रा प्रिय अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनले मोर्मोनको पुस्तकका सम्बन्धमा आफ्नो प्रभावशाली गवाही बाँड्नुभयो: “मोर्मोनको पुस्तक … परमेश्वरको वचन हो । यसले ख्रीष्टको सिद्धान्त सिकाउँछ र मुक्तिदाताको प्रायश्चितका सम्बन्धमा अन्य कुनै पनि पुस्तक भन्दा बढी व्याख्या गर्छ ।”

म मोर्मोनको पुस्तकको अध्ययनद्वारा येशू ख्रीष्टमा हाम्रो परिवर्तनलाई गहिरो बनाउन सहयोग गर्न सक्ने तीन सुझावहरू प्रस्ताव गर्न चाहन्छु:

१. आफ्नो दैनिक अध्ययनमा लगनशील हुनुहोस् र निरन्तरता दिनुहोस्

अल्मा र मोसीयाहका छोराहरू जस्तै, हामीले “परमेश्वरको वचन जान्न सकौँ भनेर धर्मशास्त्रहरूलाई लगनशीलतापूर्वक [खोजी] गर्नु पर्छ” र सत्यमा मजबुत हुनु पर्छ (अल्मा १७:२)।

जर्जिया एटलान्टा सुसमाचार प्रचार क्षेत्रमा अगुवाका रूपमा सेवा गर्दा हामीले प्रत्येक सुसमाचार प्रचारकहरूलाई दैनिक कम्तिमा ३० मिनेट मोर्मोनको पुस्तक अध्ययन गर्न प्रोत्साहित गर्‍यौँ । त्यो प्रतिबद्धताले हाम्रो आस्था बढायो र चमत्कार खोज्ने विषयमा हामीलाई सहयोग गर्‍यो ।

यो सम्भव छ कि सुसमाचार प्रचार सेवा पछि हामीसँग दैनिक धर्मशास्त्र अध्ययनका लागि त्यति नै समय उपलब्ध नहुन सक्छ तर म प्रतिज्ञा गर्छु कि यदि तपाईंले इमान्दारीपूर्वक हरेक दिन प्रार्थनापूर्वक मोर्मोनको पुस्तक अध्ययनलाई प्राथमिकता दिनुभयो भने, तपाईंले परमप्रभु र उहाँका प्रतिज्ञाहरूमा ठूलो आध्यात्मिक शक्ति र विश्वास पाउनुहुने छ ।

२. ख्रीष्टका वचनहरूमा भोज गरेर आफ्नो अध्ययनलाई अझ अर्थपूर्ण बनाउनुहोस्

नफीले सिकाए: “ख्रीष्टका वचनहरूमा भोज गर; किनकि हेर, ख्रीष्टका वचनहरूले तिमीले गर्नुपर्ने सबै विषयहरू भन्ने छन्” (२ नफी ३२:३) ।

भोज खानु भनेको पढ्नु मात्र होइन—यसको अर्थ स्वाद लिनु, मनन गर्नु र लागू गर्नु हो । मोर्मोनको पुस्तक अध्ययन गर्दा तपाईंको धर्मशास्त्र अध्ययनलाई अझै अर्थपूर्ण बनाउने तरिकाहरू विचार गर्नुहोस् । उदाहरणका लागि:

  • सुसमाचार पुस्तकालय एपमा उपलब्ध अध्ययन सहायकहरू प्रयोग गर्नुहोस् ।

  • परमेश्वरको योजना बुझ्न हामीलाई सहयोग गर्ने र हाम्रा स्वर्गका पितासँग करार गर्न र पालना गर्न हामीलाई अगुवाइ गर्ने अनन्त सत्यहरू पहिचान गर्नुहोस् ।

  • अध्ययनका क्रममा सिकेका विषयवस्तुहरू सुरक्षित राख्न महत्त्वपूर्ण वाक्यांशहरूमा चिन्ह लगाउनुहोस् र आफ्ना विचारहरूको अभिलेख राख्नुहोस् ।

मोर्मोनको पुस्तकमा आत्माका प्रश्नहरूको उत्तर दिने शक्ति छ । अगमवक्ता नफीले सिकाए जस्तै, हामीले “यो हाम्रो लाभ र शिक्षाका लागि हुन सक्छ भनेर सबै धर्मशास्त्रहरूलाई हामीमा लागू गर्नु पर्छ” (१ नफी १९:२३) ।

जब हामी ख्रीष्टका वचनहरूमा भोज गर्छौँ, तिनीहरूले प्रकाशको ढोका खोल्ने छन् र उहाँको समीप आउनका लागि तपाईंको जीवनका विभिन्न परिस्थितिहरूमा तपाईंले के गर्न आवश्यक छ भनेर तपाईंलाई देखाउने छन् ।

३. मोर्मोनको पुस्तकको सत्यताको तपाईंको गवाही दिनुहोस्

जसरी लहीले आफ्नो परिवारसँग जीवनको रूखको फल बाँड्न चाहन्थे (हेर्नुहोस् १ नफी ८:१२), जब हामी मोर्मोनको पुस्तकको गवाही प्राप्त गर्छौँ, येशू ख्रीष्टको सुसमाचार सिकेर प्राप्त हुने त्यो आनन्द बाँड्ने चाहना हामीमा विकास हुन्छ ।

मोर्मोनको पुस्तक लिँदै सिस्टर बेन्सन

हाम्रा एक सुसमाचार प्रचारक, सिस्टर बेन्सन, जो आज हामीसँग यो सत्रमा भाग लिँदै हुनुहुन्छ, उहाँले आफ्नो भाइलाई सहयोग गर्ने चाहना मसँग बाँड्नुभयो । त्यस समयमा, उहाँ कलेज जाने तयारी गरिरहनुभएको थियो र सुसमाचार प्रचार सेवा गर्ने सम्बन्धमा उहाँ निश्चित हुनुहुँदैनथ्यो । सिस्टर बेन्सनलाई उहाँको सुसमाचार प्रचार सेवाको पहिलो चार महिनामा मोर्मोनको पुस्तक पढ्न, उहाँको मन पर्ने पदहरूमा चिन्ह लगाउन र त्यसपछि त्यो प्रति उहाँको भाइलाई पठाउनका लागि आमन्त्रण गर्न मलाई प्रेरणा मिल्यो ।

सिस्टर बेन्सनले चिन्ह लगाइएको मोर्मोनको पुस्तकको प्रतिलिपि आफ्नो भाइलाई पठाउनुभयो र हरेक रात त्यसबाट पढ्न उहाँलाई आमन्त्रण गर्नुभयो । उहाँले पछि मलाई भन्नुभयो: “सुसमाचार प्रचारको मेरो सेवापूर्व, मेरो भाइ पूर्णकालिन सुसमाचार प्रचारको सेवा गर्न चाहन्छ कि चाहँदैन भन्ने विषयमा निश्चित थिएनन् । बिस्तारै, समय बित्दै जाँदा, उनले मोर्मोनको पुस्तक पढ्दै गए, आफ्नो जीवनमा वृद्धि हुँदै गएको प्रसन्नता उनले प्राप्त गरे र सुसमाचार प्रचारको सेवा गर्ने विचार गर्न सुरु गरे ।”

एल्डर बेन्सन

सिस्टर बेन्सनले आफ्नो सुसमाचार प्रचारको सेवा पूरा गर्नुभन्दा दुई हप्तापूर्व उहाँका भाइले आफ्नो सुसमाचार प्रचारको बोलावट पत्र पाउनुभयो । उहाँ अहिले मेक्सिको टक्सटला गुचारेज सुसमाचार प्रचार क्षेत्रमा सेवा गरिरहनु भएको छ । मोर्मोनको पुस्तकका माध्यमद्वारा एल्डर बेन्सनले आफ्नो जीवनलाई आध्यात्मिक स्पष्टताका साथ हेर्नुभयो, जसले गर्दा उहाँलाई परमप्रभुको सेवा गर्न र सबै चीज सफल हुने छ भन्ने विश्वास गर्न प्रेरित गऱ्यो । त्यो निर्णय ख्रीष्टको वचनको शक्तिबाट प्रभावित—एउटा चमत्कार थियो ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरू प्रत्येकलाई मोर्मोनको पुस्तकको अध्ययनलाई गहन बनाउन प्रोत्साहित गर्छु । जब हामी मोर्मोनको पुस्तकमा पाइने ख्रीष्टका वचनहरूमा भोज गर्छौँ, आत्माले हामीलाई अनन्त सत्यहरू बुझ्न र परमप्रभुले आफ्नो सन्देश सुन्न तयार पार्नुभएकाहरूलाई दृढताका साथ हाम्रो गवाही बाँड्न सहयोग गर्ने छ । परमप्रभुले भन्नुभयो, “छनोट गरिएकाहरूले मेरा वाणीलाई सुन्छन् र आफ्ना हृदयहरू कठोर बनाउँदैनन्” (सिद्धान्त र करार २९:७) । आस्थाका साथ परमेश्वरसँग आग्रह गर्नेहरूले पवित्र आत्माको शक्तिद्वारा मोर्मोनको पुस्तकको सत्यता र देवत्वको गवाही प्राप्त गर्ने छन् भनेर म गवाही दिन्छु । म येशू ख्रीष्टको नाममा यी विषयहरू प्रमाणित गर्छु, आमीन ।

सूची

  1. Russell M. Nelson, “Sacrament Meeting” (address given at the seminar for new mission leaders, June 23, 2025).