शुभ समाचारको व्यञ्जन
तपाईंका जीवनमा येशू ख्रीष्टलाई अझै संलग्न गर्दा कस्तो देखिन सक्छ ?
यदि तपाईंले हाम्रो गृहराज्य लुइजियानाको भ्रमण गर्नुभएको छ भने तपाईं संभवतः हाम्रा धेरै स्वादिष्ट परिकारहरूसँग परिचित हुनुहुन्छ—गम्बो, जाम्बलाया, एटोफी अनि सूची लामो छ ।
समय-समयमा, म ती स्वादिष्ट व्यञ्जनहरू मध्ये कुनै एक पकाउन प्रयास गर्छु । सबै सामग्रीहरू मिसाएपछि र विस्तृत निर्देशनहरू पालना गरेपछि कागजमा नलेखिने अन्तिम चरण भनेको अन्तिम स्वाद परीक्षण गर्नु र केही छुटेको छ कि छैन भनेर निर्क्योल गर्नु हो । त्यतिबेला, मैले क्रियोल पकाउने प्रख्यात व्यक्तिहरूले मेरो कानमा फुसफुसाएको सुन्न सक्थेँ, “यसमा अझै टोनी (Tony) राख्नुहोस् ।” टोनी भनेको मेरो गृहनगर लुइजियानाको ओपलोसासमा बनाइने क्रियोलको मसाला हो । व्यञ्जन विधि अनुसरण गर्दा भएका कमजोरीहरूको क्षतिपूर्ति गर्न यसलाई प्रायः “गोप्य सामग्री” का रूपमा प्रयोग गरिन्छ ।
मेरी श्रीमती मिशेल र मैले लुइजियानामा सुसमाचार अगुवाहरूका रूपमा सेवा गर्ने सम्मान पायौँ । हामीसँग सुसमाचार प्रचारकहरूलाई उहाँहरूका परिवारमा फर्कनुपूर्व सुसमाचार प्रचार क्षेत्राध्यक्षको घरमा उहाँहरूका सुसमाचार प्रचारहरूको अन्तिम रात उहाँको विशेष जाम्बलाया व्यञ्जन कसरी पकाउने भनेर सिकाउने परम्परा थियो । येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारका सम्बन्धमा उनीहरूको गवाहीका साथै, हाम्रा सुसमाचार प्रचारकहरूले व्यञ्जनहरूको प्रशंसा गर्दै आफ्नो सेवाकालको अन्त्य गरेर जानुहुन्थ्यो ।
केही महिनापूर्व म चर्च मिडिया लाइब्रेरी ब्राउज गर्दै थिएँ र अध्यक्ष रसल एम्. नेल्सनसँग पुनर्स्थापनाका सम्बन्धमा वार्तालाप नामक छोटा भिडियोहरूको सङ्ग्रहको लिङ्क मैले देखेँ ।१ सूचीमा भएका छोटा भिडियोहरू मध्ये एउटाको शीर्षकले मेरो ध्यान खिच्यो र म मुस्कुराएँ । यसलाई “धर्मशास्त्रहरू खुसी जीवनका लागि परमेश्वरका व्यञ्जनहरू हुन् भनेर भनिएको छ ।” मैले तत्कालै त्यो दुई मिनेटको भिडियो खोलेँ र अध्यक्ष नेल्सनले प्राइमरीका बालबालिकाहरूको समूहलाई कसरी खुसी हुने भन्ने सम्बन्धमा सरल र शक्तिशाली सन्देश सिकाउनुभएको हेरेँ । उहाँले सिकाउनुभयो: “यदि तपाईं केक बनाउँदै हुनुहुन्छ भने, तपाईंले निर्देशनहरू पालना गर्नुहुन्छ, होइन र? अनि तपाईंले हरेक पटक राम्रो नतिजा पाउनुहुने छ, होइन र ?”
उहाँले छिट्टै ९५ वर्षको हुनुहुने सम्बन्धमा बताउँदै भन्नुभयो: “मानिसहरू भन्छन्, ‘तपाईं के खानुहुन्छ ? तपाईंको रहस्य के हो ?’” उहाँले जवाफ दिनुभयो, “त्यो रहस्यलाई धर्मशास्त्र भनिन्छ । तपाईंहरूले ती पढ्न र अध्ययन गर्न सक्नुहुन्छ ।”
ठीक छ, यो चीज हाम्रो अगाडि छ । खुसी जीवन बिताउने सरल रहस्य भनेको धर्मशास्त्रमा वर्णन गरिएअनुसार परमेश्वरको व्यञ्जनलाई अनुसरण गर्नु हो । म यसलाई “शुभ समाचार व्यञ्जन” भन्छु ।”
व्यञ्जन बनाउने तरिकालाई अनुसरण गर्दा केही गडबड भयो भने के गर्नुहुन्छ ? ठीक छ, शुभ-समाचार व्यञ्जनमा समावेश गरिएको “गोप्य सामग्री” भनेको तपाईंले सधैँ अन्तमा यो सही बनाएर सुनिश्चित गर्नु हो । उत्तर सदैव येशू ख्रीष्ट नै हुनुहुन्छ ।
मलाई लाग्छ हामी सबैमा यस्ता क्षणहरू आउँछन् जब हामीलाई लाग्छ कि हाम्रा सामग्रीहरू पर्याप्त राम्रा छैनन् वा हामीले निर्देशनहरू पालना गर्न सङ्घर्ष गर्नु पर्छ वा संभवतः हामी केही गलत गर्छौँ वा केही यस्तो हुन्छ जुन हाम्रो नियन्त्रण बाहिर छ आदि ।
उपाय के हो ? यो केवल तपाईंको जीवनमा येशू ख्रीष्टलाई आमन्त्रण गर्ने विषयहरू थप्नु हो ।
त्यसोभए, तपाईंका जीवनमा येशू ख्रीष्टलाई अझै संलग्न गर्दा कस्तो देखिन सक्छ ?
सुसमाचार प्रचारको क्षेत्राध्यक्षका रूपमा सेवा गर्दा मलाई हरेक छ-छ हप्तामा हाम्रा प्रत्येक युवा सुसमाचार प्रचारकहरूसँग व्यक्तिगत रूपमा भेट्ने सौभाग्य मिल्थ्यो । एक-एक गर्दै भेटघाट गरिने समयमा, सुसमाचार प्रचारकहरूले आफ्ना सहपाठीका प्रभावकारितालाई कसरी सुधार गर्ने भन्ने सम्बन्धमा मार्गदर्शन खोज्नु सामान्य थियो ।
एक पटक, एक सुसमाचार प्रचारक उहाँको व्यक्तिगत अन्तर्वार्तामा आएर बस्नुभयो । उहाँको मतिष्कलाई कुनै विषयले बोझिलो बनाइरहेको थियो भनेर उहाँको शरीरको हाउभाउबाट म बुझ्न सक्थेँ । मैले सोधेँ, “एल्डर, आज तपाईं के छलफल गर्न चाहनुहुन्छ ?” उहाँले आफ्ना सहपाठीसँग भोगिरहेका केही चुनौतीहरू र यसले सुसमाचार प्रचारको कार्य गर्ने उहाँहरूको क्षमतालाई कसरी असर गरिरहेको थियो भनेर वर्णन गर्नुभयो । आँखाभरि आँसु लिएर उहाँले मलाई हेर्दै सोध्नुभयो, “अध्यक्ष ज्यू, म के गरूँ ?”
त्यो अवस्थामा, मलाई कसरी प्रतिक्रिया दिने भनेर जानकारी थिएन । केही क्षण पछि, हामीले आत्माबाट मार्गदर्शनका लागि प्रार्थनामा सँगै घुँडा टेक्नु ठीक हुन्छ कि भनेर मैले उहाँलाई सोधेँ । उहाँले सहमति जनाउनुभयो र हामीले घुँडा टेकेर प्रेरणाका लागि प्रार्थना गर्यौँ ।
प्रार्थना पछि, हामीले केही बेर घुँडा टेकिरह्यौँ र त्यसपछि एकअर्काको आमनेसामने हाम्रा कुर्सीहरूमा बस्यौँ । हामी सँगै धर्मशास्त्र पढ्न सक्छौँ कि भनेर मैले सोधेँ । हामीले हाम्रा धर्मशास्त्रहरू खोल्दै गर्दा म रोकिएँ र मैले उहाँलाई भनेँ, “एल्डर, जब हामी यो धर्मशास्त्र पढ्छौँ, कृपया आफैलाई निम्न प्रश्न सोध्नुहोस्: यदि मैले यी गुणहरू पालना गरेँ भने के यसले मेरो सहपाठी सँगको मेरो सम्बन्ध र हाम्रो सुसमाचार प्रचारको कार्यलाई सुधार गर्ने छ ?”
त्यसपछि हामीले मोरोनी ७:४५ खोल्यौँ र ठूलो स्वरमा पढ्यौँ: “अनि करुणा दीर्घकालसम्म सहनशील हुन्छ र दयालु हुन्छ र ईर्ष्या गर्दैन र घमण्डले फुल्दैन र आफ्नै फाइदा खोज्दैन, छिट्टै रिसाउँदैन, दुष्ट सोच्दैन र दुष्टतामा आनन्द लिँदैन तर सत्यतामा आनन्द लिन्छ, सबै विषयहरू सहन्छ, सबै विषयहरूमा विश्वास गर्छ, सबै विषयहरूमा आशा गर्छ, सबै विषयहरू सहन्छ ।”
त्यसपछि ती एल्डरले आँखाभरि आँसु लिएर मलाई हेर्नुभयो र भन्नुभयो, “हो, अध्यक्ष ज्यू तर त्यसो गर्न कठीन छ ।” उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँमा परमप्रभुसँग मिलेर यो कार्य गर्ने दैवी क्षमता छ भनेर मैले सहमति जनाएँ र उहाँलाई स्मरण गराएँ ।
त्यसपछि हामीले सत्तरीका एल्डर क्लार्क जी. गिल्बर्टले सिकाउनुभएका ढलानको दृष्टान्तका सम्बन्धमा छोटकरीमा छलफल गर्यौँ, जसले हामी जहाँ छौँ त्यहीँबाट सुरु गर्नु पर्छ र परमप्रभुसँगै सकारात्मक दिशामा अगाडि र माथि बढ्नु पर्छ भनेर हामीलाई स्मरण गरायो । अर्को चरणहरूलाई लिएर उहाँ अझै पनि अलि विचलित हुनुहुन्थ्यो भनेर म भन्न सक्थेँ, त्यसैले मैले उहाँलाई धर्मशास्त्रको यो पङ्क्तिको उहाँको बुझाइ सोधेँ “साना र साधारण विषयहरूद्वारा ठूला विषयहरू पूरा हुन्छन् ।” उहाँले साना र साधारण कार्यहरू गरेर ठूला कार्यहरू हुन सक्छन् भन्ने अवधारणाको वर्णन गर्नुभयो । मैले उहाँलाई एक मिनेट समय निकालेर आफ्ना सहपाठीप्रति दयालु हुन उहाँले गर्न सक्नुहुने दुई साना र साधारण कार्यहरू पहिचान गर्न आग्रह गरेँ ।
केही क्षण पछि, उहाँले आफ्ना विचार बाँड्नुभयो । त्यसपछि मैले उहाँलाई एक मिनेट समय निकालेर आफ्ना सहपाठीसँग धैर्य गर्न उहाँले गर्न सक्नुहुने दुई साना र साधारण कार्यहरू पहिचान गर्न आग्रह गरेँ । उहाँले तत्कालै आफ्ना दुई विचारहरू बाँड्नुभयो । हाम्रो भेट हुनुभन्दा पहिले नै उहाँले यस सम्बन्धमा सोचविचार गरिरहनुभएको विषय स्पष्ट थियो । मैले उहाँलाई ती केही विषयहरू प्रार्थनामा परमेश्वरकहाँ लैजान र आफ्ना योजनालाई वास्तविक उद्देश्य सहित कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा प्रमाणीकरण, मार्गदर्शन र प्रेरणा माग्न आमन्त्रण गरेँ । उहाँ सहमत हुनुभयो । हाम्रो निष्कर्षमा, मैले उहाँलाई उहाँको साप्ताहिक पत्रका सम्बन्धमा संक्षिप्त विवरण प्रदान गर्न आग्रह गरेँ ।
केही हप्तामा, अवस्थामा सुधार आएको मैले उहाँका साप्ताहिक पत्रहरूद्वारा देख्न सक्थेँ । मैले उहाँको साप्ताहिक पत्रहरूमा मात्र त्यो सुधार देखिनँ, उहाँको सहपाठीका साप्ताहिक पत्रहरूमा पनि म त्यो देख्न सक्थेँ । हाम्रो अर्को प्रत्यक्ष अन्तरवार्ताको समयमा, मैले उहाँको अनुहार र उत्साहमा महत्त्वपूर्ण भिन्नता देखेँ । मैले उहाँलाई सोधेँ, “त्यसो भए, एल्डर, के यो सत्य हो कि ‘करुणा कहिल्यै असफल हुँदैन ?’” उहाँले ठूलो मुस्कानका साथ जवाफ दिनुभयो: “हो, अनि साना र साधारण विषयहरूले नै ठूला विषयहरू पूरा हुन्छन् ।”
खुसी जीवन बिताउने सुसमाचारको व्यञ्जन पालना गर्दा, अध्यक्ष नेल्सनको शिक्षालाई स्मरण गर्नुहोस्: “तपाईंहरूसँग जस्तासुकै प्रश्नहरू वा समस्याहरू भए तापनि, उत्तर सदैव येशू ख्रीष्टको जीवन र शिक्षाहरूमा पाइन्छ । उहाँको प्रायश्चित, उहाँको प्रेम, उहाँको अनुग्रह, उहाँको सिद्धान्त र उहाँको चङ्गाइ र प्रगतिको पुनर्स्थापित सुसमाचारका सम्बन्धमा थप जानकारी प्राप्त गर्नुहोस् । उहाँतर्फ फर्कनुहोस् ! उहाँलाई अनुसरण गर्नुहोस् !”
जब तपाईंलाई “उहाँलाई सुन्न” र येशू ख्रीष्टलाई आफ्नो जीवनमा कसरी आमन्त्रण गर्ने भनेर जान्न आवश्यक हुन्छ, व्यक्तिगत प्रकाशका सम्बन्धमा अध्यक्ष नेल्सनले हामीलाई सिकाउनुभएका चरणहरू अनुसरण गर्न ध्यान दिनुहोस्:
“तपाईं नियमित रूपमा जान सक्ने शान्त ठाउँ पत्ता लगाउनुहोस् । परमेश्वर सामु आफूलाई विनम्र तुल्याउनुहोस् । स्वर्गका पितालाई आफ्नो हृदयका भावनाहरू पोख्नुहोस् । उत्तर र सान्त्वनाका लागि उहाँतर्फ फर्कनुहोस् ।
“येशू ख्रीष्टको नाममा आफ्ना चिन्ता, भय, कमजोरीहरू—हो, तपाईंको हृदयको तृष्णाका सम्बन्धमा प्रार्थना गर्नुहोस् । अनि त्यसपछि सुन्नुहोस् ! तपाईंको मष्तिस्कमा आउने विचारहरू लेख्नुहोस् । तपाईंका अनुभवहरूलाई अभिलेख गर्नुहोस् र जुन कार्यहरू गर्नका लागि तपाईंलाई प्रोत्साहन गरिएको छ ती कार्यहरू गर्नुहोस् । जब तपाईंले यस प्रक्रियालाई दिनदिनै, महिना पछि महिना, वर्षौं वर्ष दोहोर्याउनुहुन्छ, तपाईं ‘प्रकाशको सिद्धान्तमा अघि बढ्नुहुने छ ।’”
येशू ख्रीष्ट हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भनेर म गवाही दिन्छु । उहाँले “हामीलाई स्वर्गका पिताकहाँ फर्कन आवश्यक पर्ने सबै आवश्यकताहरू पूरा गरिदिनुभएको छ ।” येशू ख्रीष्टको नाममा, आमीन ।