परमेश्वरतर्फ हेर्नुहोस् र जिउनुहोस्
परमेश्वरतर्फ हेर्नाले मात्रै व्यक्ति, परिवार र राष्ट्रहरू फस्टाउन सक्छन् ।
गत जूनमा दक्षिणी अफ्रिकाको लेसोथो देशमा एउटा भयानक दुर्घटना भयो । चर्चको मापुत्सो शाखाका बीस युवतीहरू र तिनीहरूका सात अगुवाहरू बोकेको एउटा सानो बस उनीहरूका जिल्लाका युवतीहरूको भेलाका लागि राजधानी मासेरु जाँदै थियो । बिहानको समयमा दुई लेनको राजमार्गमा यात्रा गर्दा विपरीत दिशाबाट आउँदै गरेको एउटा कार अर्को गाडीलाई पार गर्ने प्रयास गर्दै बसको लेनमा आइपुग्यो । एकअर्काबाट ठोक्किनबाट बच्न त्यहाँ ठाउँ वा समय थिएन र केही सेकेन्डमै गाडीहरू ठोक्किएर सडकबाट पल्टिँदै आगोमा विस्फोट भए ।
दुर्घटनामा पन्ध्र जनाको मृत्यु भयो, जसमा छ जना युवतीहरू, युवतीहरूकी दुई अगुवाहरू सहित शाखाका अध्यक्ष र उहाँकी श्रीमती पनि हुनुहुन्थ्यो । जीवित रहेकाहरू, परिवारका सदस्यहरू र साथीहरूले क्रोध, निराशा र अपराधका बोधले ग्रसित क्षणहरू सहित विभिन्न भावनाहरू व्यक्त गर्नुभएको छ । यी भावनाहरू र अनुत्तरित प्रश्नहरूका बावजुद उहाँहरूले एकअर्कालाई सान्त्वना दिनुभएको छ र पवित्र सङ्गीत, धर्मशास्त्र र प्रार्थनाका माध्यमद्वारा परमेश्वरतर्फ फर्कनुभएको छ जहाँ उहाँहरूले सान्त्वना प्राप्त गर्नुभएको छ । सत्र वर्षीय जीवित सेत्सोआना सेलेबेलीले गवाही दिइन्, “येशू ख्रीष्टले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो हृदय दु:खित भए तापनि हामीसँगै हुनुहुन्छ ।”
पोलेको उपचारका लागि अस्पतालमा भर्ना भएकी एक युवती र एक अगुवाले सँगै मोर्मोनको पुस्तक अध्ययन गर्नुभयो । एक जनाले भन्नुभयो, “अहिले हामी मोरोनी पढिरहेका छौँ र मोरोनीले मैले महसुस गरिरहेको विषय जस्ताको त्यस्तै बताउनुहुन्छ ।… जब उहाँ बोल्नुहुन्छ, उहाँ यस्तो भन्दै हुनुहुन्छ जस्तो लाग्छ, ‘तपाईंहरूले यी वचनहरू सिक्नु पर्छ किनभने यी तपाईंहरूलाई यसबाट पार पाउनका लागि सहयोग गर्न लेखिएका हुन् ।’”
मृतकहरूका लागि संयुक्त अन्त्येष्टि सेवामा, क्षेत्रीय सत्तरीका एल्डर सियाबोङ्गा एम्खिजेले सल्लाह दिनुभयो, “हामी सबैले यस समयमा परमप्रभुतर्फ फर्कनु पर्छ र उहाँलाई हाम्रो हृदयलाई सान्त्वना दिन र … हामीले महसुस गरेको पीडालाई शान्त पार्न अनुरोध गर्नु पर्छ ।” छिमेकी लेरिबे शाखाकी युवतीहरूकी अध्यक्ष माम्फो मकुराले आग्रह गर्नुभयो, “परमप्रभुतर्फ फर्कनुहोस् र उहाँको चाहना स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहोस् । येशू ख्रीष्ट ‘हाम्रो आस्थाका लेखक र समाप्तकर्ता’ हुनुहुन्छ [हिब्रू १२:२] । टाढा नहेर्नुहोस् तर उहाँतर्फ हेर्नुहोस् ।”
उहाँतर्फ हेर्नुहोस् । उहाँका वचनहरूले अल्माले आफ्ना छोरा हेलामानलाई दिएको सल्लाहलाई प्रतिध्वनित गर्छन्: “ध्यान देऊ कि तिमीहरू परमेश्वरतर्फ हेर र जिय ।” अल्माले लही र उनका मानिसहरूको लियाहोनासँगको अनुभवलाई एक प्रकारको रूपमा उद्धृत गर्नुभयो: “ख्रीष्टका वचनमा ध्यान दिनु त्यति नै सजिलो छ, जसले तपाईंलाई अनन्त आनन्दका लागि सीधा मार्ग देखाउने छ जसरी हाम्रा पुर्खाहरूले कम्पासमा ध्यान दिनु आवश्यक थियो जसले उहाँहरूलाई प्रतिज्ञा गरिएको भूमिका लागि सीधा मार्ग देखाउने थियो ।” अल्माले भन्नुभयो, “यदि तिनीहरूले हेरे भने तिनीहरू जिउन सक्छन् । … अनि यदि हामीले … हेर्यौँ भने हामी सदैव जिउन सक्छौँ ।”
अर्को अवसरमा, अल्माले प्राचीन इस्राएलीहरूलाई अग्निमय सर्पहरूले सताउँदा मोशाले उठाएको काँस्यको सर्पको उदाहरण उद्धृत गर्नुभयो । परमप्रभुले मोशालाई सर्पको आकृति बनाउन र यसलाई खम्बामा यो प्रतिज्ञा सहित उचाल्न भन्नुभयो, “अनि जसलाई डसिएको छ उसले त्यसलाई हेर्यो भने ऊ जिउने छ ।” अल्माले व्याख्या गर्नुभयो कि काँस्यको आकृति ख्रीष्टको एक प्रकार वा प्रतीक थियो जसलाई क्रूसमा उचालिने छ । धेरैले हेरे र जिए तर अरूहरू अल्माका वचनअनुसार, “यति कठोर” थिए कि तिनीहरूले हेरेनन् र नष्ट भए ।
अल्माले सोध्नुभयो:
“यदि केवल आँखा घुमाएर मात्रै तिमीहरूलाई चङ्गाइ मिल्छ भने के तिमीहरू छिट्टै हेर्न सक्दैनौ वा तिमीहरूले आफ्नो हृदयलाई अविश्वासमा कठोर पार्ने छौ र अल्छी हुने छौ ताकि तिमीहरू आफ्ना आँखा नघुमाएर नष्ट हुन्छौ ?”
“ … त्यसपछि आफ्ना आँखा घुमाएर परमेश्वरका पुत्रमा विश्वास गर्न सुरु गर ताकि उहाँ आफ्ना मानिसहरूलाई छुट्कारा दिन आउनुहुने छ र उहाँले तिनीहरूका पापको प्रायश्चित गर्न पीडा भोग्नुहुने छ र मृत्यु हुने छ; र उहाँ मृत्युबाट पुनः उठ्नुहुने छ जसले पुनरुत्थान ल्याउने छ ताकि सबै मानिसहरू उहाँका अगाडि खडा हुने छन्, अन्तिम र फैसलाको दिनमा तिनीहरूको कार्यअनुसार फैसला गरिने छ ।”
निस्सन्देह, “परमेश्वरतर्फ हेर्नुहोस् र जिउनुहोस्” भन्ने सल्लाहले हाम्रा लागि अनन्तकालमा मात्रै होइन तर हाम्रो मरणशील जीवनको चरित्र र गुणस्तरमा पनि सबै भिन्नता ल्याउँछ । लेसोथोकी जवान सिस्टर सेलेबेलीका शब्दहरू सम्झनुहोस् जुन यसपूर्व नै उल्लेख गरिएको छ—“येशू ख्रीष्टले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो हृदय दु:खित भए तापनि हामीसँगै हुनुहुन्छ ।”
यो पतित संसारको प्रकृतिमा छ—जहाँ सैतान क्रोधित हुन्छ र जहाँ सबैजना अपूर्ण हुन्छन्—त्यहाँ निराशा र अपराध, पीडा र दुःख, असफलता र हानि, सतावट र अन्याय हुने छ । परमेश्वरतर्फ फर्केर हेरेमा मात्रै व्यक्ति, परिवार अनि राष्ट्रहरू पनि फस्टाउन सक्छन् । अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको छ: “किनभने मुक्तिदाताले आफ्नो अनन्त प्रायश्चितका माध्यमबाट हामी प्रत्येकलाई कमजोरी, गल्ती र पापबाट मुक्त गर्नुभयो र किनभने उहाँले तपाईंहरूले भोग्नुभएका हरेक पीडा, चिन्ता र तपाईंसँग भएको बोझ अनुभव गर्नुभयो [हेर्नुहोस् अल्मा ७:११–१३], त्यसैले जब तपाईंहरू साच्चैँ नै पश्चात्ताप गर्नुहुन्छ र उहाँको सहयोगको अन्वेषण गर्नुहुन्छ, तपाईंहरू वर्तमानका यस अनिश्चित संसारबाट माथि उठ्न सक्नुहुन्छ ।”
मोर्मोनको पुस्तकको धर्मशास्त्रमा योभन्दा धेरै अरु कुनै प्रतिज्ञा दोहोरिएको छैन: “जति तिमीहरूले मेरा आज्ञाहरू पालना गर्ने छौ, तिमीहरूले भूमिमा उन्नति गर्ने छौ: तर जति तिमीहरूले मेरा आज्ञाहरू पालना गर्ने छैनौ, तिमीहरू मेरो उपस्थितिबाट अलग्याइने छौ ।” शताब्दीयौँदेखि मोर्मोनको पुस्तकका मानिसहरूको जीवित अनुभवले यी वचनहरूको सत्यतालाई प्रदर्शन गर्छ । “समृद्धि” भनेको उनीहरूको जीवनमा स्वर्गको मार्गदर्शन र आशीर्वादहरूको आनन्द लिनु हो । “समृद्धि” भनेको आर्थिक समृद्धिको स्तर प्राप्त गर्नु हो जसले तिनीहरूलाई विवाह गर्न, परिवार हुर्काउन र अरुका आवश्यकताहरू पूरा गर्न सक्षम बनायो । “समृद्धि”मा कठिनाइ र परीक्षाभन्दा माथि उठ्ने क्षमता समावेश थियो । ख्रीष्टको अनुग्रहद्वारा, “सबै चीजहरूले [तिनीहरूको] लाभका लागि सँगै कार्य गर्यो,” तिनीहरूलाई परिष्कृत गर्यो र उहाँसँगको तिनीहरूको सम्बन्धलाई गहन बनायो ।
परमेश्वरतर्फ हेर्नु भनेको उहाँका आज्ञाहरू पालना गर्नु, उहाँको सहयोगका लागि निरन्तर उहाँलाई पुकार्नु, आफ्ना सबै कामहरूमा उहाँसँग सल्लाह गर्नु र तपाईंहरूको हृदय दिनरात उहाँप्रति धन्यवादले भरिएको हुनु हो भनेर अल्माले विश्लेषण गर्नुभयो । परमेश्वरका आज्ञाहरू र सल्लाह धर्मशास्त्र र उहाँका सेवकहरूका वचनहरूमा पाइन्छन् । “परिवार: संसारका लागि एक घोषणा” मा दिइएका सिद्धान्तहरू र आदर्शहरू एक प्रमुख उदाहरण हुन् । अर्को भनेको युवाहरूको शक्तिका लागि पुस्तिकामा पाइने मार्गदर्शन हो । यस वर्षका लागि युवा र युवतीहरूको विषयवस्तु “ख्रीष्टतर्फ हेर्नुहोस्” भन्ने हो, जुन परमप्रभुले जोसेफ स्मिथ र ओलिवर काउड्रीलाई दिनुभएको सान्त्वनादायी निर्देशनबाट लिइएको हो: “हरेक विचारमा मतर्फ हेर; शङ्का नगर, नडराऊ ।” युवाहरूको शक्तिका लागि ले परमेश्वरका धेरै जरुरी आज्ञाहरू र मापदण्डहरूका सम्बन्धमा उल्लेख गर्छ र असल निर्णयहरू गर्दा परमप्रभुतर्फ कसरी हेर्ने भनेर सिकाउँछ । यो युवाहरूका लागि मात्रै नभई हामी सबैका लागि मार्गदर्शक हो ।
एउटा धेरै महत्त्वपूर्ण उदाहरणका रूपमा युवाहरूको शक्तिका लागिमा “तपाईंहरूको शरीर पवित्र छ” शीर्षकको अध्यायमा महत्त्वपूर्ण मार्गदर्शन छ । यसले निर्देशन दिन्छ, “आफ्नो शरीर—र अरुहरूको शरीर—लाई सम्मानपूर्वक व्यवहार गर्नुहोस् । तपाईंले आफ्नो लुगा, कपालको शैली र स्वरूपका सम्बन्धमा निर्णय लिँदा आफूस्वयम् लाई सोध्नुहोस्, “के मैले मेरो शरीरलाई परमेश्वरको पवित्र उपहारका रूपमा सम्मान गर्दै छु ?’”
युवाहरूको शक्तिका लागि ले थप बताउँछ: “यौन र यौन भावनाहरूलाई पवित्र राख्नुहोस्। तिनीहरूलाई उपहास वा मनोरञ्जनका विषय बनाउनु हुँदैन । पुरुष र महिला बीचको विवाहभन्दा बाहिर, लुगा माथिबाट नै भए पनि अर्को व्यक्तिको शरीरको निजी, पवित्र भागहरू छुनु गलत हो । तपाईंले के गर्नुहुन्छ, पढ्नुहुन्छ, सुन्नुहुन्छ, सोच्नुहुन्छ, पोस्ट गर्नुहुन्छ वा सन्देश पठाउनुहुन्छ भन्ने सम्बन्धमा आफ्ना छनोटहरूमा, अरुहरू वा तपाईंस्वयम् लाई जानाजानी कामुक भावनाहरू जगाउने कुनै पनि विषयबाट टाढा रहनुहोस् ।”
यसले अध्यक्ष नेल्सनको हालैको सदुपदेशलाई स्मरण गराउँछ:
“यस दैवी [पवित्रताको] नियम उल्लङ्घन गर्दाभन्दा पनि केही विषयहरूले तपाईंहरूको जीवनलाई छिट्टै जटिल बनाउने छन् । परमेश्वरसँग करार गर्नेहरूका लागि अनैतिकता सबैभन्दा छिटो तपाईंहरूको गवाही गुमाउने तरिकाहरू मध्येको एक हो ।
“… जीवनको सृष्टि गर्ने शक्ति देवत्वको एक सुअवसर हो जुन स्वर्गका पिताले आफ्ना मरणशील सन्ततिहरूलाई अभ्यास गर्न अनुमति दिनुहुन्छ । यसरी, परमेश्वरले यस जीवित दैवी शक्तिको प्रयोगका लागि स्पष्ट मार्गदर्शनहरू निर्धारण गर्नुभयो । शारीरिक सम्बन्ध केवल एक अर्कासँग विवाह गरेका पुरुष र महिलाका लागि हो ।
“संसारका धेरैले यसलाई विश्वास गर्दैनन् तर सार्वजनिक अभिमत सत्यको मध्यस्थ होइन । कुनै पनि व्यभिचारी व्यक्तिले सेलेस्टियल अधिराज्य प्राप्त गर्ने छैन भनेर परमेश्वरले घोषणा गर्नुभएको छ । … यदि तपाईं व्यभिचारी हुनुहुन्छ भने म तपाईंहरूलाई पश्चात्ताप गर्न बिन्ती गर्छु । ख्रीष्टकहाँ आउनुहोस् र आफ्ना पापहरूको पूर्ण पश्चात्ताप गर्दा पूर्ण क्षमापनको उहाँको प्रतिज्ञा प्राप्त गर्नुहोस् [हेर्नुहोस् यशैया १:१६–१८; सिद्धान्त र करार ५८:४२–४३] ।”
मोर्मोनको पुस्तकमा रहेको प्रतिज्ञालाई स्मरण गर्नुहोस्, समृद्धिको विपरीत गरिबी थिएन—यो परमप्रभुको उपस्थितिबाट अलग्याइनु थियो । उहाँको उपस्थितिले कसैको जीवनमा उहाँको आत्माको प्रभावलाई जनाउँछ । संसारमा आउँदा सबै ख्रीष्टको ज्योतिले ओतप्रोत भएको हुन्छ । यसकाअतिरिक्त, कसैकसैले बप्तिस्मा लिने र पवित्र आत्माको उपहार र थपिएको प्रकाश प्राप्त गर्ने निर्णय लिनुहुन्छ । उहाँले प्रेरणा र मार्गदर्शन ल्याउनुहुन्छ, व्यक्तिको अन्तरनिहित उपहार र क्षमताहरूलाई बढावा दिनुहुन्छ र परिष्कृत पार्नुहुन्छ र दुष्ट प्रभावहरू, खराब निर्णयहरू र अयोग्य गन्तव्यहरूबाट बच्न सहयोग गर्नुहुन्छ ।
तपाईं जस्तै, म पनि केही त्यस्ता व्यक्तिहरूलाई चिन्छु जसले एक पटक पवित्र आत्माको वरदानको आनन्द उठाउनुभयो तर परमेश्वरको आज्ञा पालना गर्न असफल हुँदा त्यो आशीर्वाद गुमाउनुभएको छ । मलाई विशेष गरी एक जनाको सम्झना आउँछ जसको उल्लङ्घनका कारण चर्च सदस्यता फिर्ता लिइएको थियो । अपमानित भएको महसुस गर्नु उहाँको प्रारम्भिक प्रतिक्रिया थियो भनेर उहाँले बताउनुभयो । उहाँले अपूर्ण अगुवाहरूद्वारा न्याय गरिएको महसुस गर्नुभयो । उहाँलाई जानकारी थियो कि उहाँको आफ्नै आचरण गलत थियो तर उहाँले अरूहरूको गल्ती र असफलताहरूलाई औँल्याएर यसलाई तर्कसङ्गत बनाउनुभयो । केही समयपछि उहाँले बोलावटको दायित्व, आराधनाका सेवाहरूमा उपस्थित हुने र अरूहरूको सेवा गर्ने दायित्व बिना चर्च बाहिरको जीवनशैलीमा सहज महसुस गर्न सुरु गर्नुभयो ।
यो केही समयसम्म निरन्तर रह्यो तर उहाँले आफ्नो जीवनमा पवित्र आत्मा—परमेश्वरको उपस्थिति—को अनुपस्थितिलाई अझै गहन रूपमा महसुस गर्न सुरु गर्नुभयो । दिन प्रतिदिन आत्माबाट प्राप्त हुने सान्त्वना, मार्गदर्शन र आत्मविश्वास कस्तो हुन्छ र अनुभवद्वारा उहाँले यो गुमाउनुभयो भनेर उहाँलाई जानकारी थियो । अन्ततः, उहाँले पश्चात्ताप गर्न, पानी र आत्माको बप्तिस्मा लिनका लागि पुनः एक पटक योग्य हुन आवश्यक पर्ने कार्य गर्नुभयो ।
मानिसहरूले खोज्ने अर्थ, खुसी र सहयोगका विभिन्न स्रोतहरूको त्यहाँ कुनै अन्त्य छैन जस्तो देखिन्छ । धेरैजसोले “चिन्हभन्दा पर खोजिरहेका छन् ।” परन्तु हामी “यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, सिद्धान्त [अथवा तरिका]को प्रत्येक बतासले यताउता उडाइएका बालकहरू जस्ता” हुनु आवश्यक छैन । परमेश्वरतर्फ हेर्दा, हामी कठिनाइमा शान्ति प्राप्त गर्न सक्छौँ र शङ्का र आध्यात्मिक चुनौतीको समयमा पनि हाम्रो आस्थामा निरन्तर वृद्धि हुन सक्छ । विपक्ष र एक्लोपनको सामना गर्दा हामीले सामर्थ्य प्राप्त गर्न सक्छौँ । हामी वर्तमानका वास्तविकतासँग आदर्शलाई मिलाउन सक्छौँ । वास्तवमा परमेश्वरस्वयम् ले नियुक्त गर्नुभएको भन्दा अर्को कुनै उपाय छैन, “मलाई हेर र उद्धार पाओ, पृथ्वीका सीमान्तहरू हो; किनकि म परमेश्वर हुँ र त्यहाँ अरु कोही छैन ।”
परमेश्वरतर्फ हेर्नुको अर्थ उहाँ हाम्रा प्राथमिकताहरू मध्येको एक हुनुहुन्छ भन्ने होइन; बरु, यसको अर्थ उहाँ हाम्रो सर्वोच्च प्राथमिकता हुनुहुन्छ भन्ने हो । गत जुनमा लेसोथोमा भएको त्यो भयानक दुर्घटनालाई म पुनः सम्झन्छु । चर्चमा सहभागी हुनुभन्दापूर्व परमेश्वरमा विश्वास नगर्ने युवतीहरूकी अगुवाहरू मध्येकी जीवित रहेकी ती एक अगुवाले आफ्नो अस्पतालको ओछ्यानबाट भन्नुभयो कि अबको उहाँको जीवनको उद्देश्य भनेको किन उहाँको ज्यान बचाइयो भनेर पत्ता लगाउनु हो । “निरन्तर परमेश्वरको सेवा गरेर मैले जवाफ पाउने छु, यदि मैले जवाफ पाएँ भने, “उहाँले भन्नुभयो । “म पहिले सोच्ने गर्थेँ, म परमेश्वरलाई प्रेम गर्छु तर अब म साच्चैँ नै, साच्चैँ नै, साच्चैँ नै, साच्चैँ नै उहाँलाई प्रेम गर्छु । अब उहाँ मेरो जीवनको [पहिलो] प्राथमिकता हुनुहुन्छ ।”
म पिता, पुत्र र पवित्र आत्माको गवाही दिन्छु जो वचन, विचार, उद्देश्य र कार्यको पूर्ण एकतामा एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई हामी सबै असल कार्यहरूका लागि खोज्न सक्छौँ । म येशू ख्रीष्टको प्रायश्चितको गवाही दिन्छु जहाँबाट अद्भुत प्रतिज्ञा पूरा गर्ने शक्ति आउँछ: “मलाई हेर र अन्त्यसम्म सह र तिमीहरू जिउने छौ; किनकि जो अन्तसम्म सहन्छ उसलाई म अनन्त जीवन दिने छु ।” येशू ख्रीष्टको नाममा, आमीन ।