साधारण सम्मेलन
जुन नामले तपाईंहरूलाई बोलाइन्छ
अक्टोबर २०२५ को साधारण सम्मेलन


11:1

जुन नामले तपाईंहरूलाई बोलाइन्छ

ख्रीष्टको नामले बोलाइनुको अर्थ के हो ?

यदि परमप्रभु हामीसँग प्रत्यक्ष रूपमा बोल्दै हुनुहुन्छ भने उहाँले हामीले बुझुन् भनेर सुनिश्चित गर्नुहुने पहिलो विषय भनेको हाम्रो वास्तविक पहिचान हो: हामी परमेश्वरका सन्तति, करारका सन्तति र येशू ख्रीष्टका शिष्यहरू हौँ भनेर अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभयो । अन्य कुनै पनि नामले अन्ततः हामीलाई निराश पार्ने छ ।

मेरो जेठो छोराले पहिलो पटक आफ्नो सेल फोन प्राप्त गर्दा मैले आफूले यो महसुस गरेँ । धेरै उत्साहका साथ, उसले आफ्ना सम्पर्कहरूमा आफ्नो परिवार र साथीहरूको नाम समावेश गर्न सुरु गर्‍यो । एक दिन मैले उसकी आमाले फोन गरिरहेको देखेँ । स्क्रिनमा “आमा” भनेर नाम देखा पर्‍यो । त्यो एक समझदार र सम्मानजनक छनोट थियो—र यो हाम्रो घरको असल अभिभावकत्वको सम्मानको सङ्केत हो भनेर म स्वीकार गर्छु । स्वाभाविक रूपमा म उत्सुक भएँ । उसले मलाई के नाम दिएको होला ?

यदि वेन्डी “आमा” हुन् भने म “बुबा” हुनु पर्छ भन्ने कल्पना गर्दै मैले उनका सम्पर्क नम्बरहरूका सूची तलमाथि गरेँ । त्यहाँ थिएन । मैले “बुबा” खोजेँ । अझै केही भेटिएन । मेरो जिज्ञासा थोरै चिन्तामा परिणत भयो । “के उसले मलाई ‘कोरी’ भन्छ ?” होइन । अन्तिम प्रयासमा, मैले सोचेँ, “हामी फुटबल खेलाडी हौँ—संभवतः उसले मलाई ‘पेले’ भन्छ ।” अपेक्षापूर्ण सोच । अन्ततः, मैले मेरो आफ्नै नम्बरबाट उसको नम्बरमा फोन गरेँ र उसको स्क्रिनमा दुई शब्दहरू देखा परे: “आमा होइन”!

दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूलाई कुन नामले बोलाइन्छ ?

येशूले आफ्ना अनुयायीहरूलाई धेरै नामले बोलाउनुभयो: शिष्यहरू । छोराहरू र छोरीहरू । अगमवक्ताहरूका सन्ततिहरू । भेडाहरू । साथीहरू । संसारका ज्योति । सन्तहरू । यी प्रत्येक नामले अनन्त महत्त्व राख्छन् र मुक्तिदातासँगको व्यक्तिगत सम्बन्धलाई जोड दिन्छन् ।

परन्तु यी नामहरूमध्येमा एउटा अन्य सबैभन्दा महत्त्वपूर्ण छ—त्यो ख्रीष्टको नाम हो । मोर्मोनको पुस्तकमा राजा बेन्यामिनले प्रभावशाली रूपमा सिकाउनुभयो:

“त्यहाँ मुक्ति प्राप्त गर्ने अन्य कुनै नाम छैन त्यसकारण तिमीहरूले आफूमा ख्रीष्टको नाम धारण गर भनेर म चाहन्छु । …

“अनि यस्तो हुन जाने छ कि यसो गर्ने कसैलाई परमेश्वरको दाहिने हाततिर फेला पारिने छ किनकि उसलाई त्यो नाम जानकारी हुने छ जसबाट उसलाई बोलाइने छ; किनकि उसलाई ख्रीष्टको नामद्वारा बोलाइने छ ।”

ख्रीष्टको नाम आफूमा लिनेहरू उहाँका शिष्यहरू र साक्षीहरू बन्छन् । येशू ख्रीष्टको पुनरुत्थानपछि परमेश्वरले छनोट गर्नुभएका साक्षीहरूलाई प्रचार गर्न र गवाही दिन आज्ञा दिइएको थियो भनेर हामी प्रेरितको पुस्तकमा पढ्छौँ कि जसले येशूमा विश्वास गर्ने छ, बप्तिस्मा लिने छ र पवित्र आत्मा ग्रहण गर्ने छ उसले पापको क्षमा प्राप्त गर्ने छ । यी पवित्र विधिहरू प्राप्त गर्ने ती सबै चर्चसँगै एकत्रित भए, शिष्य बने र तिनीहरूलाई ईसाइ भनियो । मोर्मोनको पुस्तकले पनि ख्रीष्टका विश्वासीहरूलाई ईसाइ र करार गर्ने मानिसहरूलाई “ख्रीष्टका सन्तति, उहाँका छोराहरू र उहाँका छोरीहरूका रूपमा पनि वर्णन गर्छ ।”

ख्रीष्टको नामले बोलाइनुको अर्थ के हो ? यसको अर्थ करारहरू गर्नु र पालना गर्नु हो, उहाँलाई सदैव सम्झनु हो, उहाँका आज्ञाहरू पालना गर्नु हो, र “सबै समयमा र सबै चीजमा परमेश्वरको साक्षीका रूपमा खडा हुन इच्छुक … हुनु हो ।” यसको अर्थ अगमवक्ताहरू र प्रेरितहरूले ख्रीष्टका सन्देश—यसका सिद्धान्त, करार र नियमहरू सहित—संसारभरि लिएर जाँदा उहाँहरूसँगै खडा हुनु हो । यसको अर्थ अरुहरूको दुःख कम गर्न अरुहरूको सेवा गर्नु र सबै मानिसहरूमा ख्रीष्टमा आशा जगाउन सहयोग गर्नु र ज्योति बन्नु पनि हो । निश्चय नै यो जीवनभर गरिने प्रक्रिया हो । “यो एक यस्तो स्थान हो भनेर हामी विचार गर्छौँ जहाँ कुनै पनि मानिस एकै क्षणमा पुगेको छैन” भनेर अगमवक्ता जोसेफ स्मिथले सिकाउनुभयो ।

किनभने शिष्यत्वको यात्रामा “हरफमाथि हरफ, शिक्षामाथि शिक्षा” निर्माण गर्न समय र प्रयास आवश्यक भएकाले सांसारिक भूमिकाहरूमा अत्यधिक रूपमा केन्द्रित हुन सजिलो छ । यिनीहरूले केवल अस्थायी मूल्य मात्रै दिन्छन् र तिनीहरू आफैँ कहिल्यै पर्याप्त हुने छैनन् । उद्धार र अनन्तकालका चीजहरू केवल “पवित्र मसीहमा र उहाँमार्फत् आउँछन् ।” त्यसकारण, विशेष गरी धेरै प्रतिस्पर्धी आवाज र प्रभावहरूको युगमा शिष्यत्वलाई प्राथमिकता दिन अगमवाणीय सल्लाह पालना गर्नु दुबै समयसापेक्ष र बुद्धिमानी हुन्छ । यो राजा बेन्यामिनको सल्लाहको केन्द्र थियो जब उनले भने, “म तिमीहरूलाई भन्छु, म चाहन्छु कि तिमीहरूले त्यो लेखेको नाम सदैव तिमीहरूको हृदयमा राख्न सम्झनु पर्छ, … कि तिमीहरूले आफूलाई बोलाइने त्यो आवाजलाई र आफूलाई बोलाइने त्यो नामलाई पनि सुन्नू र चिन्नू ।”

मार्टिन ग्यासनर

यो मैले मेरो आफ्नै परिवारमा देखेको छु । मेरा हजुरबुबा मार्टिन ग्यासनर सदाका लागि परिवर्तन हुनुभयो किनभने एक विनम्र शाखा अध्यक्षले मुक्तिदाताको आह्वानको जवाफ दिनुभयो । १९०९ मा जर्मनीमा समय धेरै कठीन थियो र पैसाको अभाव थियो । मार्टिन पाइप निर्माण प्लान्टमा वेल्डरका रूपमा काम गर्नुहुन्थ्यो । उहाँ आफैले स्वीकार गर्नुभयो, उहाँले कमाएको धेरैजसो पैसा तलब पाएको दिनमा नै रक्सी पिउने, धुम्रपान गर्न र पेय पदार्थ किन्नमा खर्च हुन्थ्यो । उहाँकी श्रीमतीले अन्ततः उहाँलाई चेतावनी दिनुभयो कि यदि उहाँ परिवर्तन हुनुभएन भने उहाँले मार्टिनलाई छोडेर जानुहुने छ ।

एक दिन, मार्टिनका सहकर्मीले उहाँलाई भट्टि जाने बाटोमा हातमा कुच्चिएको कागज लिइरहनुभएको भेट्टाउनुभयो । उहाँले त्यो बाटोमा भेटाउनुभएको थियो र मार्टिनलाई वाज विसेन सी वान डेन मोर्मोनन ? वा तपाईंलाई मोर्मोनहरूका सम्बन्धमा के जानकारी छ ? शीर्षकको पर्चा पढेपछि केही भिन्न महसुस भएको थियो । त्यो शीर्षक अहिले परिवर्तन भएको छ भनेर म निश्चित छु ।

त्यहाँ पछाडि पट्टि छापिएको ठेगाना चर्च कहाँ थियो भनेर बुझ्न पर्याप्त मात्रामा स्पष्ट थियो । त्यो धेरै टाढा थियो तर उहाँहरूले पढेका विषयबाट उहाँहरू प्रभावित हुनुभयो र अनुसन्धान गर्न त्यो आइतबार रेल चढेर जाने निर्णय गर्नुभयो । जब उहाँहरू आइपुग्नुभयो, त्यो ठेगाना उहाँहरूले अपेक्षा गर्नुभएको चर्च थिएन तर अन्त्येष्टि गृह थियो भनेर उहाँहरूले पत्ता लगाउनुभयो । मार्टिन हिचकिचाउनुभयो—किनभने वास्तवमा, अन्त्येष्टि गृहमा कुनै चर्च हुनु भनेको अनुपयुक्त जस्तो महसुस हुन्थ्यो ।

परन्तु भाडाको हलको माथिल्लो तलामा उहाँहरूले सन्तहरूको सानो समूह एकत्रित भएको भेट्टाउनुभयो । एकजना मानिसले उहाँहरूलाई गवाही सभामा उपस्थित हुन आमन्त्रण गर्नुभयो । मार्टिन आत्माबाट र सरल, उत्साहपूर्ण गवाहीहरूबाट यति प्रभावित हुनुभयो कि उहाँले आफ्नो गवाही दिनुभयो । अनि त्यहीँ, सबैभन्दा असम्भव स्थानमा, यो सत्य हुनु पर्छ भनेर उहाँलाई यसपूर्व नै जानकारी भयो भनेर उहाँले भन्नुभयो ।

त्यसपछि ती मानिसले आफू शाखा अध्यक्ष भएको परिचय दिँदै उहाँहरू पुनः आउनुहुन्छ कि हुँदैन भनेर सोध्नुभयो । मार्टिनले आफू धेरै टाढा बस्ने र हरेक हप्ता यात्रा गर्न नसक्ने बताउनुभयो । शाखा अध्यक्षले भन्नुभयो, “मसँग आउनुहोस् ।”

उहाँहरू केही घरहरू पार गरेर नजिकैको कारखानामा पुग्नुभयो जहाँ शाखा अध्यक्षका साथी काम गर्नुहुन्थ्यो । संक्षिप्त वार्तालापपछि मार्टिन र उहाँका साथी दुबैलाई जागिरको प्रस्ताव गरियो । त्यसपछि शाखा अध्यक्षले उहाँहरूलाई एउटा अपार्टमेन्ट भवनमा लैजानुभयो र उहाँहरूको परिवारका लागि आवासको व्यवस्था गर्नुभयो ।

यो सबै दुई घण्टा भित्र भयो । मार्टिनको परिवार अर्को हप्ता त्यहाँ सर्नुभयो । छ महिनापछि उहाँहरूले बप्तिस्मा लिनुभयो । कुनै समयमा परिवर्तन नै हुन सक्दैन जस्तो गरी अत्यधिक रक्सी पिउने व्यक्तिका रूपमा परिचित ती व्यक्ति आफ्नो नयाँ धर्ममा अति नै उत्साही सुसमाचार प्रचारक हुनुभयो—कि सहरका मानिसहरूले उहाँलाई “पादरी” भनेर बोलाउन सुरु गरे सम्भवत: त्यति प्रेमले होइन ।

शाखा अध्यक्षको कुरा गर्दा म तपाईंहरूलाई उहाँको नाम भन्न सक्दिनँ—धेरै समय बितिसकेकाले उहाँको नाम समयसँगै बिर्सिएको छ । परन्तु म उहाँलाई एक शिष्य, राजदूत, ईसाइ, एक असल सामरी र साथी भन्छु । ११६ वर्षपछि पनि उहाँको प्रभाव महसुस गरिन्छ र म उहाँको शिष्यत्वको लाभ उठाइरहेको छु ।

मन्दिरमा ग्यासनरहरू

“एउटा भनाइ छ, तपाईंले स्याउमा भएका बीऊहरू गन्न सक्नुहुन्छ तर तपाईं एउटा बीऊबाट आउने स्याउहरू गन्न सक्नुहुन्न ।” शाखा अध्यक्षले रोपेको बीऊले अनगिन्ती फल फलाएको छ । उहाँले कमै अपेक्षा वा कल्पना गर्नुभएको थियो होला कि ४८ वर्षपछि, पर्दाको दुबै तर्फका मार्टिनको परिवारका धेरै पुस्ताहरूलाई बर्न स्विट्जरल्याण्ड मन्दिरमा बाँधिने छन् ।

संभवत: सबैभन्दा ठूला प्रवचनहरू ती हुन् जुन हामीले कहिल्यै सुनेनौँ तर जुन असल कार्यहरू गर्दै येशू जस्तै बन्ने प्रयास गर्ने साधारण मानिसहरूको जीवनमा देखिने शान्त, विनम्र कार्यहरूमा हामी ती देख्छौँ । यी अनुग्रही शाखा अध्यक्षले गर्नुभएका कार्यहरू कुनै सूचीका अंश थिएन । उहाँले अल्माको पुस्तकमा वर्णन गरिएको सुसमाचार अनुरूपको जीवन बिताइरहनुभएको थियो: “तिनीहरूले कसैलाई पनि पठाएनन् … जो भोका थिए, जो तिर्खाएका थिए, जो बिरामी थिए, … तिनीहरू सबैका लागि उदार थिए, वृद्ध र जवान दुबै, … पुरुष र महिला दुबै ।” अनि, हामीले बेवास्ता गर्न नहुने विषय के हो भने तिनीहरूले “चाहे चर्च बाहिरका होस् वा चर्च भित्रका” कसैलाई पनि पठाएनन् ।

ख्रीष्टको नाम आफूमा लिनेहरूले जोसेफ स्मिथले भन्नुभए जस्तै चिन्छन्, “परमेश्वरको प्रेमले भरिएको मानिस आफ्नो परिवारलाई आशीर्वाद दिनमा मात्र सन्तुष्ट हुँदैन तर सम्पूर्ण मानव जातिलाई आशीर्वाद दिन उत्सुक भएर सम्पूर्ण संसारमा पुग्छ ।”

येशू यसरी नै जिउनुभयो । वास्तवमा, उहाँले यति धेरै गर्नुभयो कि उहाँका शिष्यहरूले यो सबै लेख्न सक्नुभएन । प्रेरित यूहन्नाले अभिलेख गर्नुभयो, “येशूले अन्य धेरै काम पनि गर्नुभयो । ती मध्ये प्रत्येकका सम्बन्धमा लेखिने हो भने, मलाई यस्तो लाग्छ कि तिनका विषयमा लेखिएका पुस्तकहरू संसारैभरि पनि अटाउने छैनन्‌ ।”

हामी ख्रीष्टको उदाहरण अनुसरण गर्ने प्रयास गरौँ, असल कार्य गर्ने र शिष्यत्वलाई जीवनभर प्राथमिकता दिऔँ ताकि हामी प्रत्येक पटक अरुहरूसँग अन्तरक्रिया गर्दा उहाँहरूले परमेश्वरको प्रेम र पवित्र आत्माको प्रमाणित गर्ने शक्ति महसुस गर्न सक्नुहोस् । त्यसपछि हामी मेरो जिजुबुबा र लाखौँ अरुहरूसँग सहभागी हुन सक्छौँ जसले शिष्य अन्द्रियास जस्तै घोषणा गरेका छन्, “हामीले मसीहलाई भेट्टाएका छौँ ।”

अन्तमा, हाम्रो पहिचान संसारले परिभाषित गर्दैन । परन्तु हामीले प्राप्त गर्ने विधिहरू, हामीले पालना गर्ने करारहरू र केवल असल कार्य गरेर परमेश्वर र छिमेकीलाई देखाउने प्रेमद्वारा हाम्रो शिष्यत्व परिभाषित गरिन्छ । अध्यक्ष नेल्सनले सिकाउनुभएजस्तै हामी वास्तवमा परमेश्वरका सन्तति हौँ, करारका सन्तति हौँ, येशू ख्रीष्टका शिष्य हौँ । ।

येशू ख्रीष्ट जीवित हुनुहुन्छ र हामीलाई उद्धार गर्नुभएको छ भनेर म गवाही दिन्छु । उहाँ नै हुनुहुन्छ जसले भन्नुभयो, “मैले तिमीलाई … नामले बोलाएको छु; तिमी मेरा हौ ।” येशू ख्रीष्टको नाममा, आमीन ।