साधारण सम्मेलन
येशू ख्रीष्टको नाम लिँदै
अक्टोबर २०२५ को साधारण सम्मेलन


13:22

येशू ख्रीष्टको नाम लिँदै

हामी जति धेरै येशू ख्रीष्टसँग पहिचान बनाउँछौँ र उहाँलाई स्मरण गर्छौँ, त्यति नै धेरै हामी उहाँ जस्तै बन्न चाहन्छौँ ।

२०१८ मा, यूटा विश्वविद्यालयमा, एक विशेष प्राध्यापक पद सिर्जना गरिएको थियो “डा. रसल एम्. नेल्सन र डेन्जल डबल्यू. नेल्सन कार्डियोथोरासिक सर्जरीको अध्यक्षताको पद”—कार्डियो, जसको अर्थ “मुटु” र थोरासिक, जसको अर्थ “छाती” हो । यसले अध्यक्ष नेल्सनको मुटु शल्यचिकित्सकका रूपमा महत्त्वपूर्ण कार्य र उहाँकी स्वर्गीय धर्म पत्नी डेन्जलबाट प्राप्त सहयोगको सम्मान गर्छ । भविष्यसम्म रहिरहने कोषबाट यो प्राध्यापक पदका लागि भुक्तानी गरिएको थियो । यस प्रकारका प्रतिष्ठित प्राध्यापक पदका लागि छनोट भएका व्यक्तिले सम्मान, तलब सहयोग र अनुसन्धानका लागि खर्च प्राप्त गर्छन् ।

डा. सेल्जम्यान अध्यक्ष नेल्सनसँग

प्राध्यापक पद धारण गर्न छनोट गरिएका प्रथम शल्यचिकित्सक हुनुहुन्थ्यो डा. क्रेग एच. सेल्जम्यान, एक कुशल मुटु शल्यचिकित्सक जो हाम्रो चर्चका सदस्य हुनुहुन्न । डा. सेल्जम्यानलाई यो प्राध्यापक पद प्रदान गर्ने समारोहमा अध्यक्ष नेल्सन र उहाँकी श्रीमती, सिस्टर वेन्डी डब्ल्यू. नेल्सन सहित धेरै महत्त्वपूर्ण अतिथिहरू उपस्थित हुनुहुन्थ्यो । सभाका क्रममा, अध्यक्ष नेल्सनले आफ्ना अग्रगामी शल्यक्रिया पेशाका सम्बन्धमा विनम्रतापूर्वक बोल्नुभयो ।

त्यसपछि डा. सेल्जम्यानले यो प्राध्यापक पदमा नियुक्त हुनुको अर्थ के थियो भन्ने विषय बाँड्नुभयो । चार दिनपूर्व, शल्यक्रिया कक्षमा लामो दिन व्यतित गरे पश्चात्, उहाँका एक बिरामीको पुनः शल्यक्रिया गर्नुपर्ने छ भनेर उहाँले पत्ता लगाउनुभएको विषय उहाँले बताउनुभयो । उहाँ थकित हुनुहुन्थ्यो अनि अस्पतालमा अर्को रात बिताउनुपर्ने छ भन्ने बुझेर उहाँ निराश हुनुभयो ।

सिस्टर र अध्यक्ष नेल्सनसँग डा. सेल्जम्यान

आज साँझ, डा. सेल्जम्यानको आफैसँग जीवन परिवर्तन गर्ने वार्तालाप भयो । त्यस क्षण उहाँले विचार गर्नुभयो, “शुक्रबार, मलाई डा. नेल्सनको नाममा प्रोफेसर पदमा नियुक्त गरिने छ । उहाँ सदैव आफ्ना संवेदनाहरूलाई नियन्त्रणमा राख्ने, सबैलाई सम्मानपूर्वक व्यवहार गर्ने र कहिल्यै नरिसाउने व्यक्तिका रूपमा चिनिनुहुन्थ्यो । अब मेरो नाम उहाँसँग जोडिने भएकाले, मैले उहाँ जस्तै बन्ने प्रयास गर्नु पर्छ ।” डा. सेल्जम्यान पहिले नै धेरै विचारशील शल्यचिकित्सक हुनुहुन्थ्यो । परन्तु उहाँ अझ राम्रो बन्न चाहनुहुन्थ्यो ।

सेल्जम्यानको शल्यक्रिया टोलीलाई उहाँको थकान र निराशाको जानकारी भएको हुन सक्छ किनभने उहाँले आफ्नो शैली र आवाजमा त्यो देखाउनुभएको हुन सक्छ । परन्तु त्यो रात शल्यक्रिया कक्षमा, डा. सेल्जम्यानले विशेष रूपमा आफ्ना टोलीको सहयोगी हुने र उहाँहरूलाई बुझ्ने इमान्दार प्रयास गर्नुभयो । उहाँले यसले भिन्नता ल्याएको र निरन्तर डा. नेल्सन जस्तै बन्ने प्रयास गर्ने सङ्कल्प गर्नुभयो ।

डा. सेल्जम्यान RMN को पिन लगाउनुहुँदै

पाँच वर्ष पछि, अध्यक्ष नेल्सनले आफ्ना व्यावसायिक कागजातहरू यूटा विश्वविद्यालयलाई दान गर्नुभयो । विश्वविद्यालयका विशिष्ट व्यक्तिहरू अध्यक्ष नेल्सनलाई औपचारिक रूपमा धन्यवाद दिन आउनुभयो । यस कार्यक्रमको क्रममा, डा. सेल्जम्यानले पुनः बोल्नुभयो । अध्यक्ष नेल्सनका नामका अगाडिका अक्षर मिलाएर बनिएका, RMN आचरणलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यहाँ एक ‘RMN’ आचरण छ जुन अब यूटा विश्वविद्यालयको कार्डियोथोरासिक शल्यक्रिया विभागमा सर्वत्र छ ।”

निराशाजनक परिस्थितिहरूमा, डा. सेल्जम्यानले व्याख्या गर्नुभयो: “म अहिले हाम्रा प्रशिक्षार्थीहरूलाई गर्न सिकाएका विषय गर्छु—ध्यान केन्द्रित गर, त्यसलाई पार गर र सम्भव भएसम्म राम्रो गर । यो आचरण हामीमा हरेक दिन जीवित छ । हामी विभागका प्रत्येक सदस्य र प्रत्येक नयाँ प्रशिक्षार्थीलाई लेपल पिन दिन्छौँ । पिनको तल ‘RMN’ अक्षरहरू छन् । RMN आचरणको सिद्धान्त हाम्रो तालिमको आधार हो; हामी यो सबैलाई सिकाउँछौँ ।” डा. सेल्जम्यानले यसपूर्वका आफ्ना मनोवृत्ति र आकांक्षाहरू परिवर्तन गर्नुभएको थियो किनभने उहाँको नाम अब अध्यक्ष नेल्सनको नामसँग जोडिएको थियो ।

डा. सेल्जम्यानसँग संलग्न कार्यक्रमहरूका यी श्रृंखलाहरूले सेल्जम्यानलेमलाई आफैसँग सोध्न बाध्य बनाउनुभयो, “येशू ख्रीष्टको नामसँग मेरो नाम जोडेपछि ममा कस्तो परिवर्तन आएको छ? के मैले यसको परिणामस्वरूप ख्रीष्टको जस्तो आचरण अपनाएको छु? के मैले साच्चैँ अझै असल हुने र उहाँ जस्तै बन्ने प्रयास गरेको छु?”

डा. सेल्जम्यानको अनुभवबाट, हामी येशू ख्रीष्टको नाम लिने प्रक्रियासँग कम्तिमा पाँच समानान्तरहरू देख्न सक्छौँ । त्यो प्रक्रिया बप्तिस्माबाट सुरु भए पनि, हामी अझ शुद्ध र पवित्र नभएसम्म र उहाँ जस्तै नबनेसम्म यो पूर्ण हुँदैन ।

पहिलो समानान्तर पहिचान हो । डा. नेल्सन प्राध्यापक पदमा डा. सेल्जम्यानको नियुक्तिले उहाँको नाम अध्यक्ष नेल्सनको नामसँग जोड्यो र डा. सेल्जम्यानले अध्यक्ष नेल्सनसँग आफ्नो पहिचान बनाउन सुरु गर्नुभयो । जब हामी येशू ख्रीष्टको नाम आफूमा धारण गर्छौँ, हामी आफ्नो नाम उहाँसँग जोड्छौँ । हामी उहाँसँगै चिनिन्छौँ । हामी खुसीसाथ ईसाइ भनेर चिनिन्छौँ । हामी मुक्तिदातालाई स्वीकार गर्छौँ र साहसपूर्वक उहाँसँग गणना हुनका लागि खडा हुन्छौँ ।

पहिचानसँग नजिकको सम्बन्धको अर्को समानान्तर हो—स्मरण गर्नु । जब डा. सेल्जम्यान आफ्नो कार्यालयमा जानुहुन्छ, उहाँका आँखा नेल्सन प्राध्यापक पदमा नियुक्त हुँदा प्राप्त गरिएको पदकमा पुग्छन् । यो पदकले उहाँलाई हरेक दिन RMN को आचरणको स्मरण गराउँछ । हाम्रा लागि, प्रत्येक हप्ता प्रभुभोजमा भाग लिनाले हामीलाई हप्ताभरि येशू ख्रीष्टको स्मरण गर्न सहयोग गर्छ । जब हामी प्रभुभोजमा भाग लिन्छौँ, हामी उहाँले हामीलाई मुक्ति दिन तिर्नुभएका मूल्यलाई स्मरण गर्न त्यसो गर्छौँ । हामी उहाँको स्मरण गर्न, उहाँको महानतालाई पहिचान गर्न र उहाँको भलाइको कदर गर्न नयाँ करार गर्छौँ । उहाँको अनुग्रहमा र उहाँको अनुग्रहद्वारा मात्र हामीले शारीरिक र आध्यात्मिक मृत्युबाट मुक्ति पाउँछौँ भनेर हामी बारम्बार स्वीकार गर्छौँ ।

स्मरण गर्नुको अर्थ हामीले मोर्मोनको पुस्तकका अगमवक्ता अल्माले दिएको सल्लाह पालना गर्नु हो । हामी “[हाम्रा] सबै कार्यहरू परमप्रभुका लागि गरौँ र जहाँ [हामी जान्छौँ], हामी यसलाई परमप्रभुमा गरौँ; … हामी [हाम्रा] सबै विचारहरू परमप्रभुतर्फ निर्देशित गरौँ; … [र हामी] [हाम्रा] हृदयका स्नेह सदैव परमप्रभुमा राखौँ ।” हामी अन्य विषयहरूमा व्यस्त हुँदा पनि, हामी उहाँलाई स्मरण गर्छौँ, जसरी हामी हाम्रा आफ्नै नामहरू सम्झन्छौँ, अन्य जेसुकैमा ध्यान केन्द्रित गरे तापनि ।

मुक्तिदाताले हाम्रा लागि के गर्नुभएको छ भनेर स्मरण गर्ने क्रमको विकासको तेस्रो समानान्तर हो—अनुकरण । डा. सेल्जम्यानले अध्यक्ष नेल्सन र RMN को आचरणको अनुकरण गर्न सुरु गर्नुभयो । मलाई विश्वास छ कि अध्यक्ष नेल्सनको आचरण येशू ख्रीष्टको उहाँको आजीवन शिष्यत्वको अभिव्यक्ति मात्र हो । हाम्रा लागि, हामी जति धेरै येशू ख्रीष्टसँग पहिचान बनाउँछौँ र उहाँलाई स्मरण गर्छौँ, त्यति नै धेरै हामी उहाँ जस्तै बन्न चाहन्छौँ । उहाँका शिष्यहरूका रूपमा, हामी आफूमा ध्यान केन्द्रित गर्दा भन्दा उहाँमा ध्यान केन्द्रित गर्दा राम्रो परिवर्तन हुन्छौँ । हामी उहाँ जस्तै बन्ने प्रयास गर्छौँ र उहाँका गुणहरूले आशीषित हुन खोज्छौँ । हामी ख्रीष्टको शुद्ध प्रेम, करुणाले भरिपूर्ण हुनका लागि अभिप्रायपूर्वक प्रार्थना गर्छौँ ।

अध्यक्ष नेल्सनले अप्रिलमा सिकाउनुभए जस्तै: “जब करुणा हाम्रो स्वभावको अंश बन्छ, हामीबाट अरुहरूलाई अपमान गर्ने प्रवृत्ति हट्ने छ । हामी अरुहरूको आलोचना गर्न छोड्ने छौँ । भिन्न परिस्थिति भएका मानिसहरूका लागि हामीसँग करुणा हुने छ । हाम्रो प्रगतिका लागि सबै मानिसहरूप्रति करुणा हुनु … आवश्यक छ । करुणा दैवी चरित्रको आधार हो ।” करुणाका साथसाथै, हामी मुक्तिदाताबाट सद्गुण, निष्ठा, धीरता, विनम्रता र लगनशीलता सहित अन्य आध्यात्मिक उपहारहरू, “विकसित गर्न, प्रयोग गर्न र विस्तार गर्न” खोज्छौँ ।

येशू ख्रीष्टको अनुकरण गर्नाले हामीलाई चौथो समानान्तर तर्फ अगुवाइ गर्छ—उहाँका उद्देश्यहरूसँग समाहित हुनु । हामी उहाँको कार्यमा उहाँसँग सहभागी हुन्छौँ । एक शल्यचिकित्सकका रूपमा, डा. नेल्सन एक शिक्षक, एक उपचारक र एक अनुसन्धानकर्ताका नामले चिनिनुहुन्थ्यो । डा. सेल्जम्यानको विभागमा प्रयोग गरिएका लेपल पिनले सिकाउनुहोस्, चङ्गाइ दिनुहोस्पत्ता लगाउनुहोस् जस्ता शब्दहरू प्रस्तुत गर्दै यी प्रयासहरूलाई जोड दिन्छ । हाम्रा लागि, येशू ख्रीष्टको नाम लिने एउटा तरिका भनेको स्वेच्छाले, अभिप्रायपूर्वक र उत्साहपूर्वक हाम्रा लक्ष्यहरूलाई उहाँसँग समाहित गर्नु हो । हामी उहाँको कार्यमा सहभागी हुन्छौँ जब हामी “प्रेम गर्छौँ, बाँड्छौँ र आमन्त्रण गर्छौँ ।” जब हामी अरुहरूको सेवा गर्छौँ, विशेष गरी कमजोर व्यक्तिहरू र तिनीहरूका सांसारिक अनुभवहरूबाट घाइते, चकनाचुर वा पीडित भएकाहरूको सेवा गर्छौँ तब हामी उहाँको कार्यमा उहाँसँग सहभागी हुन्छौँ ।

त्यसैले हामी पहिचान, स्मरण, अनुकरण गरेर अनि समाहित भएर येशू ख्रीष्टको नामलाई अझै पूर्ण रूपमा हामीमा लिन्छौँ । यी चार कार्य गर्नाले हामीलाई पाँचौँ समानान्तर: सशक्तिकरणमा पुर्‍याउँछ । हामी हाम्रो जीवनमा परमेश्वरको शक्ति र आशीर्वाद प्राप्त गर्छौँ । नेल्सन प्राध्यापक पदले डा. सेल्जम्यानलाई पहिचान प्रदान गर्छ र आफ्नो विभागको प्रवृत्ति परिवर्तन गर्नका लागि प्रयोग गर्न रकम प्रदान गर्छ । उहाँले यो “शक्तिको अभिदान” अरुहरूलाई सहयोग गर्न प्रयोग गर्नुहुन्छ । त्यसै गरी, जब हामी मुक्तिदाताको नाम हामीमा लिन्छौँ, हाम्रा स्वर्गका पिताले हामीलाई यस मरणशील जीवनमा हाम्रो लक्ष्य पूरा गर्न सहयोग गर्न आफ्नो शक्तिले आशीर्वाद दिनुहुन्छ ।

जब हामी परमेश्वरसँग थप करार गर्छौँ, हामी येशू ख्रीष्टको नामलाई अझै पूर्ण रूपमा लिन्छौँ । निरन्तर रूपमा परमेश्वरले हामीलाई उहाँको अझै बढी शक्तिले आशीर्वाद दिनुहुन्छ । अध्यक्ष नेल्सनले सिकाउनुभए जस्तै: “प्रत्येक व्यक्ति जसले बप्तिस्माका जलाशयहरूमा र मन्दिरहरूमा करारहरू गर्नुभएको छ—र तिनीहरूलाई पालना गर्नुभएको छ—येशू ख्रीष्टको शक्तिमा उहाँहरूको पहुँचमा वृद्धि भएको छ । परमेश्वरसँग गरिएका करारहरू पालना गर्दा प्राप्त हुने पुरस्कार भनेको स्वर्गको शक्ति हो … जसले हामीलाई हाम्रा परीक्षाहरू, प्रलोभनहरू र हृदयका पीडाहरूलाई अझै राम्ररी सामना गर्न मजबुत बनाउँछ ।

हामी आध्यात्मिक रूपमा अझै ग्रहणशील बन्छौँ । हामीसँग असम्भव देखिने परिस्थितिहरूको सामना गर्ने अझै बढी साहस हुन्छ । येशू ख्रीष्टलाई अनुसरण गर्ने हाम्रो दृढ सङ्कल्पमा हामी अझै मजबुत हुन्छौँ । जब हामी कुनै विषयको उल्लङ्घन गर्छौँ, हामी अझै छिटो पश्चात्ताप गर्छौँ र उहाँकहाँ फर्कन्छौँ । हामी उहाँको शक्ति र अधिकारका साथ उहाँको सुसमाचार बाँड्न अझै सफल हुन्छौँ । हामी आवश्यकतामा परेकाहरूलाई कुनै पनि आलोचना नगरी, कत्ति पनि आलोचना नगरी सहयोग गर्छौँ । हामी हाम्रा पापहरूको क्षमा पाउन कायम राख्छौँ । हामीले शान्ति पाउन सक्छौँ, प्रफुल्लित हुन सक्छौँ किनभने हामी सदैव आनन्दित हुन सक्छौँ । उहाँको महिमा हाम्रो वरिपरि हुने छ र उहाँका स्वर्गदूतहरूले हामीमाथि उत्तरदायित्व लिने छन् ।

मुक्तिदाताले हामीलाई आमन्त्रण गर्नुहुन्छ, “मेरो नाममा पिताकहाँ आओ र उचित समयमा उहाँको परिपूर्णता प्राप्त गर ।” म तपाईंहरूलाई यसो गर्न आग्रह गर्छु । हाम्रा स्वर्गका पिताकहाँ आउनुहोस् । येशू ख्रीष्टको नाम आफूमा लिनुहोस् । उहाँ सँगै चिनिनुहोस् । सदैव उहाँको स्मरण गर्नुहोस् । उहाँ जस्तै बन्ने प्रयास गर्नुहोस् । उहाँको कार्यमा उहाँसँग सहभागी हुनुहोस् । आफ्नो जीवनमा उहाँको शक्ति र आशीर्वादहरू प्राप्त गर्नुहोस् । स्वेच्छाले र अभिप्रायपूर्वक उहाँको नाम आफ्नो हृदयमा कुँद्नुहोस् । यसले तपाईंलाई परमेश्वरको सामु “चिनारी” दिन्छ र तपाईंको तर्फबाट मुक्तिदाताको वकालतका लागि तपाईंलाई योग्य बनाउँछ । तपाईं हाम्रा स्वर्गका पिताको अधिराज्यमा एक उच्च उत्तराधिकारी बन्नुहुने छ, उहाँको जेठो पुत्र, हाम्रा प्रिय मुक्तिदाता र उद्धारकर्तासँग एक संयुक्त उत्तराधिकारी बन्नुहुने छ ।

उहाँ जीवित हुनुहुन्छ । मलाई यो विषय राम्ररी जानकारी छ । उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँले तपाईंहरूका लागि आफ्नो जीवन दिनुभयो । उहाँ तपाईंहरूलाई उहाँका माध्यमद्वारा पिताकहाँ आउन आग्रह गर्नुहुन्छ । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. यो कोषलाई अभिदान भनिन्छ ।

  2. अध्यक्ष नेल्सनको एउटा उल्लेखनीय उपलब्धि भनेको ओपन हार्ट शल्यक्रिया गर्न प्रयोग हुने मुटु-फोक्सो बाइपास गर्ने पहिलो मेसिन विकास गर्नु थियो ।

  3. अध्यक्ष नेल्सनले भन्नुभयो कि उहाँको शल्यक्रियाको इन्टर्नशिपका क्रममा, शल्यक्रिया भइरहेको अवस्थामा एक शल्यचिकित्सकले क्रोधित भएर छुरी फ्याँके जसले अध्यक्ष नेल्सनको पाखुरामा लाग्यो । अध्यक्ष नेल्सनले भन्नुभयो: “यो अनुभवले ममा अमिट छाप छोड्यो । त्यही समयमा, मैले आफूस्वयंलाई प्रतिज्ञा गरेँ कि जे भए तापनि मेरो अपरेशन कक्षमा म आफ्नो संवेगमाथिको नियन्त्रण कहिल्यै गुमाउने छैन । मैले त्यो दिन यो पनि प्रतिज्ञा गरेँ कि क्रोधमा कुनै पनि विषय नफ्याँक्ने—चाहे त्यो छुरी होस् वा शब्दहरू । (“शान्ति निर्माताहरूको आवश्यकता छ,” साधारण सम्मेलन, सुसमाचार पुस्तकालय, अप्रील २०२३) ।

  4. उक्त दानमा अध्यक्ष रसल एम्. नेल्सनको असाधारण चिकित्सा पेशाको समयमा सङ्कलित अनुसन्धान पत्रहरू र अन्य व्यावसायिक लेखहरू सहित ७,००० भन्दा बढी शल्यक्रिया प्रतिवेदनहरू समावेश थिए ।

  5. धेरै मानिसहरूले अध्यक्ष रसल एम्. नेल्सनलाई सम्बोधन गर्नुभयो, जसमा यूटा विश्वविद्यालयका अध्यक्ष, अध्यक्ष टेलर आर. रेन्डल पनि समावेश हुनुहुन्थ्यो, जसले अध्यक्ष नेल्सनलाई यूटा विश्वविद्यालयको सबैभन्दा प्रतिष्ठित पूर्व छात्र भनेर सम्बोधन गर्नुभयो ।

  6. आचरण शब्दले “कुनै व्यक्ति, समूह वा संस्थाको विशिष्ट चरित्र, भावना, नैतिक प्रकृति वा मार्गदर्शन विश्वासहरूलाई वर्णन गर्छ” (Merriam-Webster.com Dictionary, “ethos”)।

  7. २०१८ को जनवरीमा, मेरी श्रीमती रुथ र म डा. सेल्जम्यानलाई नेल्सन प्रोफेसरशिपमा नियुक्त गरियो । २०२३ मा, म अध्यक्ष नेल्सनले आफ्ना व्यावसायिक कागजातहरू यूटा विश्वविद्यालयलाई दान गर्नुभएको समारोहमा उपस्थित हुन सक्षम भएँ ।

  8. हेर्नुहोस् मोरोनी ७:४८

  9. “ख्रीष्टको नाम लिनुहोस्” भन्ने वाक्यांशमा “लिनुहोस्” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “माथि उठाउनु” वा “बोक्नु” हुन्छ, जसरी कुनै व्यक्ति वा समूहसँग आफूलाई चिनाउने झण्डा हुन्छ (हेर्नुहोस् James Strong, The New Strong’s Expanded Exhaustive Concordance of the Bible [1984], Hebrew dictionary section, page 80, number 5375)।

  10. हेर्नुहोस् २ नफी १०:२४; मोरोनी १०:३२–३३; सिद्धान्त र करार ७६:६९

  11. अल्मा ३७:३६

  12. डा. सेल्जम्यानलाई यसो भनिएको छ: “जब तपाईं [अध्यक्ष नेल्सन] सँग स्वास्थ्य सेवाका सम्बन्धमा छलफल गर्न सुरु गर्नुहुन्छ, उहाँको आँखामा अलिकति चमक आउँछ । … ती सबै विषयहरूका सम्बन्धमा छलफल गर्दा उहाँ कति [उत्साहित] हुनुहुन्छ भनेर हेर्नु अचम्मको विषय हो”(in Sydney Walker, “As President Nelson Turns 100, His Family and Associates Reflect on His Life and Legacy,” Church News, Sept. 7, 2024, thechurchnews.com)। मैले व्यक्तिगत रूपमा अध्यक्ष रसल एम्. नेल्सनको आँखामा त्यो “स्वास्थ्य सेवाको चमक” देखेको छु तर येशू ख्रीष्टका सम्बन्धमा बोल्नुहुँदा उहाँले पाउनुहुने चमकको तुलनामा यो केही पनि होइन ।

  13. हेर्नुहोस मोरोनी ७:४७–४८

  14. रसल एम्. नेल्सन, “परमेश्वरको उपस्थितिमा आत्मविश्वास,” साधारण सम्मेलन, सुसमाचारको पुस्तकालय, अप्रील २०२५ ।

  15. हेर्नुहोस् १ कोरिन्थी १२:३१; सिद्धान्त र करार ४६:८

  16. Russell M. Nelson, “Sisters’ Participation in the Gathering of Israel,” Liahona, Nov. 2018, 69.

  17. हेर्नुहोस् Preach My Gospel: A Guide to Sharing the Gospel of Jesus Christ (2023), 123–38.

  18. हेर्नुहोस् मोशा १:३९हारुनको पादरित्व गणको विषयवस्तु यसरी सुरु हुन्छ, “I am a beloved son of God, and He has a work for me to do” (Gospel Library) । युवतीहरूको विषयवस्तुमा भनिएको छ: “येशू ख्रीष्टको शिष्यका रूपमा, म उहाँ जस्तै बन्ने प्रयास गर्छु । म व्यक्तिगत प्रकाश खोज्छु र त्यसमा कार्य गर्छु र उहाँको पवित्र नाममा अरुहरूको सेवा गर्छु ।” (सुसमाचार पुस्तकालय)।

  19. हेर्नुहोस् Dieter F. Uchtdorf, “Missionary Work: Sharing What Is in Your Heart,” Liahona, May 2019, 16–18; Gary E. Stevenson, “Love, Share, Invite,” Liahona, May 2022, 84–87.

  20. उहाँको मरणशील सेवावधिको सुरुवातमा, मुक्तिदाताले यशैयाबाट उद्धृत गर्नुहुँदै हामीलाई आफ्नो उद्देश्य व्याख्या गर्नुभयो: “परमप्रभुको आत्मा ममाथि छ किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका लागि उहाँले मलाई अभिषेक गर्नुभएको छ; उहाँले मलाई चूर्ण हृदय भएकाहरूलाई चङ्गाइ दिन, बन्दीहरूलाई उद्धारको घोषणामा प्रवचन दिन र अन्धाहरूलाई दृष्टि दिन [र] थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न पठाउनुभएको छ” (लूका ४:१८–१९) ।

  21. हामीले हाम्रा स्वर्गका पितालाई गरेका प्रार्थनाहरू पनि परिवर्तन हुने छन् । बाइबल शब्दकोशको प्रविष्टि “प्रार्थना” मा भनिए जस्तै: “ईसाईहरूलाई ख्रीष्टको नाममा प्रार्थना गर्न सिकाइएको छ । जब हाम्रो मन ख्रीष्टको मन हुन्छ र हाम्रा चाहनाहरू ख्रीष्टका चाहनाहरू हुन्छन्—जब उहाँका वचनहरू हामीमा रहन्छन्, तब हामी ख्रीष्टको नाममा प्रार्थना गर्छौँ । त्यसपछि हामी परमेश्वरले दिन सक्नुहुने चीजहरू माग्छौँ । धेरै प्रार्थनाहरू अनुत्तरित रहन्छन् किनभने तिनीहरू ख्रीष्टको नाममा हुँदैनन्; तिनीहरूले कुनै पनि तरिकाले उहाँको मनलाई प्रतिनिधित्व गर्दैनन् तर मानिसको हृदयको स्वार्थबाट निस्कन्छन् ।”

  22. हेर्नुहोस् सिद्धान्त र करार १०९:२६

  23. Russell M. Nelson, “Overcome the World and Find Rest,” Liahona, Nov. 2022, 96; जोड दिएर थपिएको ।

  24. हेर्नुहोस् सिद्धान्त र करार १०९:२१–२२ । “जब तिम्रा मानिसहरूले अपराध गर्छन्, तिनीहरूमध्ये कुनै एक” भन्ने वाक्यांशले “यदि” होइन “कहिले” भन्ने शब्द प्रयोग गर्दछ । यसले सुझाव दिन्छ कि मुक्तिदाताले महसुस गर्नुहुन्छ कि हामी सबैले अपराध गर्ने छौँ, गल्ती गर्ने छौँ र पाप गर्ने छौँ । परन्तु योजना यो हो कि हामीले “छिटो पश्चात्ताप” गरौँ ताकि हामीलाई वाचा गरिएका “आशीर्वादहरूमा पुनर्स्थापित” हुन सकौँ ।

  25. हेर्नुहोस् यूहन्ना १६:३३; मोसीयाह ४:११; १८:२६; अल्मा ३६:२, २८–२९; एतेर ७:२७; मोरोनी ९:२५

  26. हेर्नुहोस् सिद्धान्त र करार १०९:२२

  27. सिद्धान्त र करार ९३:१९

  28. ख्रीष्ट आफ्ना मानिसहरूको जीवनमा संलग्न नहुनु हुँदा के भयो भनेर मोर्मोनले वर्णन गरे । उनीहरूका जनहरू “एक पटक आनन्ददायक जनहरू थिए र उनीहरूसँग ख्रीष्ट उनीहरूका गोठालो हुनुहुन्थ्यो; हो, उनीहरूलाई परमेश्वर पिताद्वारा समेत अगुवाइ गरियो । परन्तु अब, हेर, उनीहरूलाई सैतानद्वारा अगुवाइ गरिन्छ जसरी भूसलाई बतासले लैजान्छ अथवा जसरी एक पानीजहाजलाई छालले हल्लाउँछ, नौवस्त्र अथवा लङ्गूरबिना अथवा उनलाई परिचालन गर्ने कुनै पनि वस्तुबिना; र जसरी ती छन्, उनीहरू त्यस्तै छन्” (मोर्मोन ५:१७–१८) । हाम्रो जीवनमा मुक्तिदाताको सहयोग हुँदा हामी शक्ति, स्थिरता र मार्गदर्शनले आशीषित हुन्छौँ ।

  29. सिद्धान्त र करार १०९:२४

  30. हेर्नुहोस् सिद्धान्त र करार ४५:३–५

  31. हेर्नुहोस् रोमी ८:१७