साधारण सम्मेलन
जानुहोस् र त्यस्तै गर्नुहोस्
अक्टोबर २०२५ को साधारण सम्मेलन


10:28

जानुहोस् र त्यस्तै गर्नुहोस्

म ती सुसमाचार प्रचारकहरूका सम्बन्धमा विशेषगरि भन्न चाहन्छु जसलाई सेवाका लागि बोलाइएका छन् । तिनीहरू हाम्रालागि उदाहरण हुन् ।

जब मुक्तिदाता बेथसेदा हुँदै यात्रा गरिरहनुभएको थियो, केही व्यक्तिहरूले एक जना अन्धा मानिसलाई उहाँकहाँ ल्याए । संभवतः तिनीहरू तत्कालै चमत्कार देख्ने आशामा थिए । मुक्तिदाताले चङ्गाइ दिनका लागि “ती अन्धा मानिसका हात समातेर उनलाई सहर बाहिर एकान्तमा लैजानुभयो” । प्रारम्भमा उपचार प्रभावकारी नभएको जस्तो देखिन्थ्यो । त्यो मानिसले “माथि हेर्‍यो र भन्यो, म मानिसहरूलाई रूखहरू जस्तै हिँडिरहेका देख्छु ।” येशूले कृपालु हुनुहुँदै “पुनः आफ्ना हात उनका आँखामा राख्नुभयो र उनलाई माथि हेर्न लगाउनुभयो ।” मुक्तिदाताको हातको त्यो थप स्पर्शले, ती अन्धा मानिसले अब “… स्पष्ट रूपमा देख्यो ।”

मुक्तिदाताको जीवनलाई कसरी विनम्र सेवाका कार्यहरूले चित्रण गरिन्छ भन्ने यो एक उदाहरण मात्र हो । उहाँले हामीलाई स्मरण गराउनुहुन्छ कि उहाँ “सेवा प्राप्त गर्न होइन तर सेवा गर्न आउनुभएको हो” र त्यसपछि अतिरिक्त दूरी गएर हामीसँग माग्नेहरूलाई दिँदै, र हाम्रा छिमेकीलाई प्रेम गर्दै उहाँको उदाहरणको अनुसरण गर्न, हामीलाई आमन्त्रण गर्नुहुन्छ । “मेरा छिमेकी को हुन् ?” भनेर सोध्दा, ख्रीष्टले असल सामरीको दृष्टान्त सुनाउनुभयो जसमा “जाऊ, तिमी पनि त्यसै गर” भन्ने आज्ञा दिनुभयो ।

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सुसमाचार प्रचारकहरू ख्रीष्टले हामीलाई बन्नका लागि आमन्त्रण गर्नुभएका असल सामरीका आधुनिक उदाहरणहरू हुन् । म ती सुसमाचार प्रचारकहरूका सम्बन्धमा विशेषगरि भन्न चाहन्छु जसलाई सेवाका लागि बोलाइएका छन् । तिनीहरू हाम्रा लागि उदाहरणहरू हुन् कि कसरी सेवाले (१) येशू ख्रीष्टको सुसमाचार सुन्नका लागि हृदयहरू खोल्छ, (२) हामी सबैलाई हाम्रो जस्तोसुकै परिस्थिति भए पनि सेवा गर्न अनुमति दिन्छ र (३) हाम्रो जीवनमा ख्रीष्टको शक्ति ल्याउँछ ।

पहिलो, सेवाले येशू ख्रीष्टको सुसमाचार सुन्नका लागि हृदयहरू खोल्छ ।

लगभग ९१ ईसा पूर्व, अम्मोन, मोर्मोनको पुस्तकका एक सुसमाचार प्रचारकले राजा लमोनीलाई आफ्नो परिचय दिँदै यसो भने, “म केही समयका लागी यी जनहरू माझ बस्न चाहन्छु; … [र] म तपाईंको सेवक हुने छु । राजाप्रतिको उनको सेवाका कारण, अम्मोनलाई “साहसपूर्वक बोल्ने, … र [राजा लमोनी] लाई कुन शक्तिले आफूले सेवा गरेका थिए भनेर बताउन” अवसर दिइएको थियो । त्यसको सट्टामा, राजाले प्रतिज्ञा गरे कि “[अम्मोन] जे चाहन्छ … [राजा] त्यो दिने छन् ।” राजाले येशू ख्रीष्टको सुसमाचारको सन्देश सुनून् भन्ने अम्मोनको एउटै मात्र अनुरोध थियो । अम्मोनको सेवाको परिणामस्वरूप “हजारौँ जीवात्माहरूलाई पश्चात्तापमा [ल्याइए] ।”

हाम्रा समयमा, सेवाले अरूहरूलाई सुसमाचारतर्फ डोऱ्याइरहन्छ । सिस्टर बेभनले स्वास्थ्य समस्याहरू अनुभव गर्न सुरु गर्दा उहाँ शिक्षण सुसमाचार प्रचारकका रूपमा सेवा गरिरहनु भएको थियो जसका कारण उपचारका लागि उहाँ घर फर्कनु परेको थियो । बोलावटबाट मुक्त नभइ उहाँ घरबाटै सेवा गर्ने सुसमाचार प्रचारकका रूपमा सेवा गरिरहन सक्षम हुनुभयो ।

पार्कको भ्रमणमा जाँदा, सिस्टर बेभन र एक मित्रलाई चार साना बालबालिकाहरू भएकी एक आमासँग कुराकानी गर्ने प्रेरणा मिल्यो तर उनीहरू हिचकिचाए र त्यस परिवार त्यहाँबाट गए । त्यो परिवार त्यहाँ हुनुहोस् भनेर प्रार्थना गर्दै भोलिपल्ट उहाँहरू पार्कमा फर्कनुभयो । चमत्कारिक रूपमा, ती आमा अघिल्लो दिन बसेकै स्थानमा बसिरहनु भएको थियो । यसपटक सिस्टर बेभन र उहाँकी मित्र ती आमातर्फ जानुभयो, उहाँसँग परिचित हुनुभयो र उहाँलाई क्षणिक सहयोगको अत्यन्त आवश्यकता भएको सम्बन्धमा बुझ्नुभयो । उहाँहरूले सहयोग गर्नुभयो र त्यसपछि उहाँलाई सुसमाचारका सम्बन्धमा सिक्न आमन्त्रण गर्नुभयो ।

त्यस सेवा र आमन्त्रणका कारण ती आमा र उहाँका ज्येष्ठ सन्तानले बप्तिस्मा लिनुभयो, त्यसपछि एक वर्ष पछि माहिला सन्तानले बप्तिस्मा लिनुभयो । आज उहाँहरू सक्रिय सदस्यहरू हुनुहुन्छ । सिस्टर बेभनलाई जानकारी थियो कि यो अनुभव दैवी प्रेरणाबाट प्राप्त भएको थियो र यसले “[उहाँलाई] प्रमाणित गर्‍यो कि [उहाँ] त्यहीँ हुनुहुन्थ्यो जहाँ परमेश्वर [उहाँ] हुनुभएको चाहनु हुन्थ्यो ।”

अम्मोन र सिस्टर बेभन जस्तै, जब हामी अरूको सेवा गर्छौँ, हामी “तिनीहरूलाई असल उदाहरण देखाउँछौँ” र तिनीहरू “[हामीमा] रहेको आशाको कारण” जान्न चाहन्छन् ।”

येशूले हामीलाई “जाओ, तिमी पनि त्यसै गर” भनेर आमन्त्रण गर्नुहुन्छ ।

दोस्रो, सेवाले हामी सबैलाई हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि सेवा गर्न अनुमति दिन्छ ।

अध्यक्ष रसल एम्. नेल्सनले “प्रत्येक योग्य, सक्षम युवालाई सुसमाचार प्रचार सेवाका लागि तयारी गर्न र सेवा गर्न” र प्रत्येक सक्षम युवतीलाई “परमप्रभुले [उनी] सुसमाचार प्रचारको सेवा गरेको चाहनुहुन्छ कि हुँदैन भनेर जान्न प्रार्थना गर्न” आह्वान गर्नुभयो । “सुसमाचार प्रचार होस् वा सेवा गर्ने सुसमाचार प्रचारको कार्य होस्, सुसमाचार प्रचारको सेवा गर्ने तपाईंको निर्णयले तपाईं र अन्य धेरैलाई आशीर्वाद दिने छ” भनेर उहाँले प्रतिज्ञा गर्नुभयो । सेवा गर्ने सुसमाचार प्रचारका कार्यहरूले सक्षम शब्दको परिभाषालाई परिवर्तन गरेका छन् । अब धेरै कम अपवादहरू बाहेक परमप्रभुका लागि पूर्णकालिन सुसमाचार प्रचारको सेवा गर्न चाहने हरेक योग्य युवा र युवतीले त्यसो गर्न सक्छन् ।

व्यक्तिगत परिस्थिति जस्तोसुकै भए तापनि सेवा गर्न सक्षम हुनुको उदाहरण एल्डर होल्गाडो हुनुहुन्छ । उहाँ एक दुर्लभ आनुवंशिक विकारका साथ जन्मनुभएको थियो जसले उहाँलाई शिक्षण सुसमाचार प्रचारकका रूपमा सेवा गर्नबाट अनुबंधित गरेको थियो । एल्डर होल्गाडोलाई सेवा गर्ने सुसमाचार प्रचारकका रूपमा बोलावट दिइएको थियो र उहाँले बिशपहरूको भण्डारमा स्वयम् सेवा गर्नुभयो, जहाँ उहाँले सयौँ मानिसहरूलाई आवश्यक सहयोग प्राप्त गर्न सहयोग गर्नुभयो । उहाँले तखताहरूमा सामान राख्ने, झोलामा तरकारीहरू भर्ने र कागजका बाकसहरू कुच्याउने काम गर्नुभयो ।

उहाँको सेवा गर्ने सुसमाचार प्रचारको कार्यपछि प्रभुभोज सभामा एल्डर होल्गाडोले बोल्दै गर्नुहुँदा, उहाँले भन्नुभयो कि “परमेश्वरलाई सेवा गर्ने सुसमाचार प्रचारकहरूको आवश्यकता छ ।” उहाँलाई अरूलाई प्रेम गर्ने र सेवा गर्ने मानिसहरू चाहिन्छ । यी मानिसहरूले ट्वाइलेट पेपर तखतामा राख्ने, ब्रोकाउलीहरू झोलामा भर्ने, फर्निचर बनाउने जस्ता कार्यहरू गर्छन् र मानिसहरूप्रति राम्रो व्यवहार गर्छन् ।”

राम्रो कार्य गर्नका लागि तपाईंलाई सेवाको कार्यभार दिइएको वा तपाईंले नामको ट्याग लगाएको हुनु पर्दैन । हरेक सेवाका कार्यलाई मुक्तिदाताले मान्यता दिनुहुन्छ । हामी सबैले उहाँ जस्तै प्रेमपूर्वक र दयालु भएर सेवा गर्दै अरूलाई ख्रीष्टकहाँ आउन सहयोग गर्न सक्षम छौँ । हामी सबैले पवित्र आत्माको शक्तिद्वारा ख्रीष्टको नाममा ती एकजनाको सेवा गर्न सक्छौँ र येशू ख्रीष्टमा आस्थाको उदाहरण भएर जिउन सक्छौँ । सेवाले हामी आफूलाई जीवित बलिदानका रूपमा प्रस्तुत गर्न अनुमति दिन्छ जुन परमेश्वरका लागि स्वीकार्य हुन्छ ।

येशूले हामीलाई “जाओ, तिमी पनि त्यसै गर” भनेर आमन्त्रण गर्नुहुन्छ ।

तेस्रो, सेवाले हाम्रो जीवनमा ख्रीष्टको शक्ति ल्याउँछ ।

शिक्षण कार्यभारबाट सेवा कार्यभारमा स्थानान्तरण भएका एक युवा सुसमाचार प्रचारकले केही व्यक्तिगत चुनौतीहरूसँग सङ्घर्ष गर्नुभयो जसले गर्दा उहाँलाई ख्रीष्टको चङ्गाइको शक्तिको आवश्यकता पऱ्यो । पवित्रिकृत गरिएको सेवाको कार्यले उहाँको जीवनमा त्यो शक्ति ल्यायो । उहाँले भन्नुभयो, “जब म सङ्घर्ष गरिरहेको थिएँ, ख्रीष्टले मलाई उठाइरहनुभएको म महसुस गर्न सक्थेँ । मन्दिरमा रहेको खानाको भण्डारमा सेवा गरेर र उहाँको सुसमाचार मार्फत् उहाँले मानिसहरूलाई आशीर्वाद दिन सक्षम भइरहनुभएको देख्न पाउनुमा केही विशेषता छ ।”

यी एल्डरले अझ गहिरो प्रसन्नता महसुस गर्न सुरु गर्नुभयो र उहाँको नयाँ उत्साहले उहाँलाई र उहाँका सम्पूर्ण परिवारलाई आशीर्वाद दियो । उहाँहरूको घरमा आत्माले थप प्रशस्त मात्रामा प्रवेश गरे, उहाँहरू नियमित रूपमा मन्दिरमा सँगै जानुभयो र ख्रीष्ट उहाँहरूको परिवारमा बढी मात्रामा केन्द्रबिन्दु बन्नुभयो । ख्रीष्टले उहाँको जीवनको रक्षा गर्नुभयो र सेवाद्वारा उहाँको परिवारलाई आशीर्वाद दिनुभयो भनेर यी सुसमाचार प्रचारकले विश्वास गर्नुहुन्छ ।

अध्यक्ष नेल्सनले सिकाउनुभयो, “अरुहरूको सेवा गर्ने र अरुहरूलाई मजबुत बनाउने चाहना मुक्तिदाताको उद्धार शक्तिद्वारा चङ्गाइ प्राप्त गर्नका लागि व्यक्तिको तत्परताको प्रतीकका रूपमा खडा हुन्छ ।”

येशूले हामीलाई “जाओ, तिमी पनि त्यसै गर” भनेर आमन्त्रण गर्नुहुन्छ ।

सेवा गर्ने सुसमाचार प्रचारकहरू येशू ख्रीष्टका पवित्रिकृत गरिएका शिष्यहरूका उदाहरणहरू हुन् ।

जब तपाईं वा तपाईंको परिवारका कुनै सदस्यलाई सेवा गर्ने सुसमाचार प्रचारकका रूपमा बोलावट आउँछ, त्यो उत्सव मनाउने क्षण हो । अब तपाईंको परिवारमा परमप्रभु येशू ख्रीष्टद्वारा पदीय जिम्मेवारी दिइएको एक प्रतिनिधि बस्नुहुने छ । यसले तपाईंहरू सबैलाई असल कार्यका लागि परिवर्तन गर्ने छ । सेवा गर्ने कुनै पनि बोलावटमा निराश हुनुहुँदैन । हामी गाउँछौँ, “हजुर जहाँ चाहनुहुन्छ म त्यहीँ जान्छु” र “हजुर जे चाहनुहुन्छ म त्यही हुने छु ।” हामी जे भन्छौँ त्यो साच्चैँ गर्छौँ भनेर देखाउने यहाँ एउटा राम्रो अवसर छ !

सेवा गर्ने तपाईंहरू सबैलाई र विशेष गरी ४,००० भन्दा बढी सेवाको कार्य गर्ने युवा सुसमाचार प्रचारकहरूलाई, हामी तपाईंहरूलाई माया गर्छौँ ! यदि शिक्षण कार्यभार भएका सुसमाचार प्रचारकहरू परमप्रभुका मुख हुनुहुन्छ भने, सेवा गर्ने सुसमाचार प्रचारकहरू परमप्रभुका हात हुनुहुन्छ र तपाईंहरू दोस्रो दर्जाका सुसमाचार प्रचारकहरू हुनुहुन्न । इस्राएलको भेलाका लागि तपाईंहरू प्रत्येक महत्त्वपूर्ण हुनुहुन्छ । अध्यक्ष नेल्सनले सिकाउनुभयो कि “जब हामी कसैलाई सहयोग गर्ने कुनै पनि कार्य गर्छौँ … परमेश्वरसँगको उनीहरूको करार बनाउन र पालना गर्न, हामी इस्राएललाई एकत्रित गर्न सहयोग गरिरहेका हुन्छौँ ।”

तपाईं हरेक दिन इस्राएललाई धेरै तरिकाले एकत्रित गर्नुहुन्छ र तपाईंका सेवाले जीवन परिवर्तन गर्छ । प्रायः तपाईंलाई जानकारी हुँदैन कि तपाईंको सेवाले कसलाई लाभ भएको छ तर परमेश्वरलाई जानकारी छ । सधैँ स्मरण गर्नुहोस् कि “जब तपाईं यी मध्ये एकको [सेवा] गर्नुहुन्छ, … तपाईं [उहाँको] सेवा गर्नुहुन्छ ।” चर्च कल सेन्टरहरूमा स्वयम् सेवा गर्नुहुँदा हामी तपाईंका आवाजहरू सुन्छौँ; सामुदायिक संस्थाहरूमा सहयोग गर्नुहुँदा हामी तपाईंका मुस्कानहरू देख्छौँ; र मन्दिरहरूमा सेवा गर्नुहुँदा हामी तपाईंको ज्योति महसुस गर्छौँ । तपाईं भोकाहरूलाई खुवाउनुहुन्छ, नाङ्गाहरूलाई लुगा लगाइदिनुहुन्छ र तिर्खाएकाहरूलाई पिउन दिनुहुन्छ ।

हामी सबै जानु पर्छ र त्यसै गर्नु पर्छ ।

सेवा ख्रीष्टका शिष्यहरूको कण कणमा हुन्छ ।

सेवामा सुसमाचारका लागि हृदयहरू खोल्न सक्ने शक्ति हुन्छ र यसले हामी सबैलाई हाम्रो सम्पूर्ण आत्मा ख्रीष्टलाई अर्पण गर्न अनुमति दिन्छ । यसले हाम्रो हृदयलाई उहाँ जस्तै बन्न परिवर्तन गर्छ र यस प्रक्रियामा, हामी अरूलाई उचाल्छौँ । अध्यक्ष नेल्सनले एक पटक सोध्नुभएको थियो, “आध्यात्मिक क्षयले ग्रस्त यस संसारमा, के व्यक्तिहरूले … भिन्नता ल्याउन सक्छन् ?” उहाँको जवाफ छ, “सक्छन् ! … ‘परमप्रभुका करारबद्ध मानिसहरू, … ठूलो महिमामा परमेश्वरको शक्तिले … सुसज्जित’ … हरूले सबै मानवजातिको जीवनलाई उठाउन सक्छन् ।” सेवाका माध्यमद्वारा हामी हृदय—र संसार परिवर्तन गर्छौँ ।

ख्रीष्ट “असल कार्य गर्दै हिँड्नुभयो ।” उहाँले बिरामीहरूको सेवा गर्नुभयो, अन्धाहरूलाई दृष्टि दिनुभयो, उत्पीडितहरूलाई भेट्नुभयो । उहाँले खाना पकाउनुभयो, विवाह भोजमा सहयोग गर्नुभयो र भोकाएका हजारौँहरूलाई खुवाउनुभयो । ख्रीष्टको नाममा ती एक जनाको सेवा गर्दा, हामी अत्यन्त पवित्र र अनन्त जीवनको वरदानको योग्य हुन्छौँ । येशू ख्रीष्ट जीवित हुनुहुन्छ । उहाँ मेरा र तपाईंका मुक्तिदाता हुनुहुन्छ । उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ । उहाँ सेवाको हाम्रो महान उदाहरण हुनुहुन्छ । म हामी सबैलाई गएर त्यसै गर्न आमन्त्रण गर्छु । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. हेर्नुहोस् मर्कूस ८:२२–२६

  2. मत्ती २०:२८

  3. हेर्नुहोस् मत्ती ५:४१

  4. हेर्नुहोस् मत्ती ५:४२

  5. हेर्नुहोस् मत्ती २२:३९

  6. हेर्नुहोस् लूका १०:३०–३७

  7. युवा सेवा सुसमाचार प्रचारकहरू र सेवाका लागि आवेदन कसरी दिने भन्ने सम्बन्धमा जानकारीका लागि, कृपया हेर्नुहोस् ChurchofJesusChrist.org/service-missionary

  8. अल्मा १७:२३, २५

  9. हेर्नुहोस् अल्मा १७:३१–३९; १८:९–१०, २०

  10. अल्मा १८:२१

  11. हेर्नुहोस् अल्मा १८:२२

  12. अल्मा २६:२२

  13. सिस्टर बेभनले फ्लोरिडा टाम्पा सुसमाचार प्रचार क्षेत्रमा शिक्षण सुसमाचार प्रचारको सेवा र ओरेम यूटा सुसमाचार प्रचारको क्षेत्रमा सेवा गर्ने सुसमाचार प्रचारक भएर सेवा गर्नुभयो ।

  14. जुन १०, २०२५ मा जनी बेभनसँगको व्यक्तिगत अन्तर्वार्ता । कथा र उद्धरणहरू अनुमति लिएर प्रयोग गरिएको ।

  15. अल्मा १७:११

  16. १ पत्रुस ३:१५

  17. Russell M. Nelson, “Preaching the Gospel of Peace,” Liahona, May 2022, 6–7.

  18. म प्राथमिक साधारण अध्यक्षताकि पहिलो सल्लाहकार सिस्टर एमी ए. राइटप्रति आभारी छु जसले यो सिद्धान्त व्यापक रूपमा सिकाउनुभएको छ ।

  19. Rubinstein-Taybi Syndrome.

  20. जुन ३, २०२५ मा आयोजित स्कट र ट्रिसिया होल्गाडोसँगको व्यक्तिगत अन्तर्वार्ता । कथा र उद्धरणहरू अनुमति लिएर प्रयोग गरिएको ।

  21. सेवा गर्ने सुसमाचार प्रचारकको उद्देश्य कथन: “मुक्तिदाताले जस्तै प्रेमपूर्वक दयालु भएर सेवा गरेर अरूलाई ख्रीष्टकहाँ आउन सहयोग गर्नुहोस् । पवित्र आत्माको शक्तिद्वारा उहाँको नाममा सेवा गर्नुहोस् र येशू ख्रीष्टमा आस्था, पश्चात्ताप, परमेश्वरसँगको करार पालना र अन्तसम्म स्थिर रहेर उदाहरणका रूपमा जिउनुहोस् ।”(Missionary Standards for Disciples of Jesus Christ—Service Missionaries, 1.0, Gospel Library).

  22. हेर्नुहोस् रोमी १२:१

  23. जुन १२, २०२५ मा आयोजित जोर्डन फ्राइसँगको व्यक्तिगत अन्तर्वार्ता । कथा र उद्धरणहरू अनुमति लिएर प्रयोग गरिएको ।

  24. Russell M. Nelson, “Jesus Christ—the Master Healer,” Liahona, Nov. 2005, 87.

  25. जुलाई २०२२ मा, सिस्टर एभन्सन र म यूटा ओरम सुसमाचार प्रचारको क्षेत्रमा अगुवाहरूका रूपमा सेवारत थियौँ । संसारमा थप नौ वटा सुसमाचार प्रचारका क्षेत्रहरूसँगै हामीलाई हाम्रो सुसमाचार प्रचारको क्षेत्रमा सेवा गर्ने युवा सुसमाचार प्रचारकहरूलाई समावेश गर्ने प्रथम परियोजनामा भाग लिने सुअवसर दिइएको थियो । हाम्रो पहिलो भेटपछि, मैले मेरो डायरीमा लेखेँ, “आज राती हाम्रो एकदमै विशेष भेटघाट भयो । हामीले हाम्रो सुसमाचार प्रचारको क्षेत्रमा १४० भन्दा बढी नयाँ सुसमाचार प्रचारकहरू र उहाँहरूका मातापितालाई भेट्यौँ । चर्च सभागृह र जिम पूर्ण रूपमा भरिएका थिए र हामीले यूटा ओरम सुसमाचार प्रचारको क्षेत्रमा सेवा गर्ने सुसमाचार प्रचारकहरूलाई स्वागत गर्न आत्माले भरिएको, शक्तिशाली सभाको आयोजना गर्‍यौँ । उहाँहरूप्रतिको हाम्रो प्रेमको अनुभूतिले म अभिभूत भएँ । सबै जना सेवा गर्न तत्पर छन् । यो एकदमै सुन्दर दृश्य थियो ।” यी सुसमाचार प्रचारकहरूका परिस्थिति चोटपटक लागेर निको हुँदै गरेका पूर्व शिक्षण सुसमाचार प्रचारकहरूदेखि लिएर ह्वीलचेयर प्रयोग गर्ने नबोल्ने सुसमाचार प्रचारकहरूसम्म हुनुहुन्थ्यो । त्यो भेटघाट पछि, सिस्टर एभन्सनले मलाई भन्नुभयो, “अब हाम्रो लक्ष्य पूरा भएको महसुस हुन्छ ।”

  26. See David A. Bednar, “Called to the Work,” Liahona, May 2017, 67–70.

  27. “I’ll Go Where You Want Me to Go,” Hymns, no. 270.

  28. हेर्नुहोस् मत्ती २३:११

  29. रसल एम्. नेल्सन, “परमेश्वरलाई विजयी हुन दिनुहोस्,” साधारण सम्मेलन, सुसमाचारको पुस्तकालय, अक्टोबर २०२० ।

  30. मत्ती २५:४०

  31. हेर्नुहोस् मत्ती २५:३४–३६

  32. हेर्नुहोस् ओम्नी १:२६

  33. Russell M. Nelson, “Personal Preparation for Temple Blessings,” Liahona, July 2001, 39.

  34. प्रेरित १०:३८

  35. हेर्नुहोस् मर्कूस १:३०–३१

  36. हेर्नुहोस् मर्कूस ८:२२–२६

  37. हेर्नुहोस लूका १९:१–१०

  38. हेर्नुहोस् यूहन्ना २१:९

  39. हेर्नुहोस् यूहन्ना २:१–१०

  40. हेर्नुहोस् यूहन्ना ६:५–१३

  41. हेर्नुहोस् मत्ती २५:३४; रोमी १२:१