संयमको सद्गुणले अलङ्कृत
म हामी सबैलाई ख्रीष्टको जस्तो संयमको सद्गुणले आफ्नो मस्तिष्क र हृदयलाई अलङ्कृत गर्न हार्दिक निमन्त्रणा दिन्छु ।
मे २०२१ मा सल्ट लेक मन्दिरको पुनर्निर्माण कार्यको अवलोकन गर्दा अध्यक्ष रसल एम्. नेल्सनले अग्रगामीहरूको प्रयास देखेर आश्चर्य मान्नुभयो जसले सीमित स्रोतसाधन र अटल आस्थाका साथ त्यो पवित्र भवन निर्माण गर्नुभएका थिए, एक भौतिक र आध्यात्मिक उत्कृष्ट कृति जुन मजबुत र सुदृढ रहँदै आएको छ । यद्यपि, उहाँले क्षरणको प्रभाव पनि अवलोकन गर्नुभयो जसले समयसँगै मन्दिरको मूल आधार ढुङ्गाहरूमा अन्तर र अस्थिरता ल्याएको थियो जसका कारण संरचनात्मक सुदृढीकरणको आवश्यकता स्पष्ट सङ्केत थियो ।
त्यसपछि हाम्रा प्रिय अगमवक्ताले हामीलाई सिकाउनुभयो कि प्राकृतिक शक्तिहरूको सामना गर्न मन्दिरको आधार मजबुत बनाउन प्रमुख उपायहरू लागु गर्नु आवश्यक भए जस्तै येशू ख्रीष्टमा हाम्रो आफ्नै आध्यात्मिक आधार मजबुत बनाउन —सम्भवत: यसपूर्व हामीले कहिल्यै नअपनाएका असाधारण उपायहरू हामीले अपनाउनु आवश्यक हुन्छ । उहाँको अविस्मरणीय सन्देशमा उहाँले हामीलाई व्यक्तिगत चिन्तनका लागि दुई गहन प्रश्नहरू छोड्नुभयो: “तपाईंको आधार कति मजबुत छ ? अनि सुसमाचारका सम्बन्धमा तपाईंको गवाही र बुझाइका लागि के सुदृढीकरणहरू आवश्यक छन् ?”
येशू ख्रीष्टको सुसमाचारले हामीलाई हाम्रो आत्मामा आध्यात्मिक क्षय रोक्नका लागि दैवी रूपमा प्रेरित र प्रभावकारी माध्यमहरू प्रदान गर्छ, हाम्रो आधारलाई शक्तिशाली रूपमा सुदृढ पार्छ र हाम्रो आस्थामा हुने कमजोरीहरू र हाम्रो गवाही अनि सुसमाचारको पवित्र सत्यको हाम्रो बुझाइ दुबैमा हुन सक्ने अस्थिरताबाट जोगिन सहयोग गर्छ । यो उद्देश्य प्राप्त गर्नका लागि सिद्धान्त र करारको खण्ड १२ मा एक विशेष सान्दर्भिक सिद्धान्त पाइन्छ जुन अगमवक्ता जोसेफ स्मिथद्वारा केवल बाहिरी परिवर्तनका लागि मात्र नभई आफ्नो शिष्यत्वमा अटल रहन—”स्वर्गका स्तम्भहरू जस्तै सुदृढ” एक धर्मी मानिस जोसेफ नाइटलाई दिइएको प्रकाश हो जसले परमप्रभुको चाहना बुझ्नका लागि गम्भीरतापूर्वक खोज्नुभएको थियो । परमप्रभुले घोषणा गर्नुभयो:
“हेर, म तिमीसँग बोल्छु र यो कार्य अगाडि बढाउन र स्थापित गर्न चाहने सबैलाई पनि;
“अनि यस कार्यमा कसैले पनि सहयोग गर्न सक्दैन जबसम्म ऊ आस्था, आशा र करुणा भएको, हेरचाह गर्नका लागि उसलाई सुम्पिएका सबै कार्यमा संयमी भएको, विनम्र र प्रेमले भरिपूर्ण हुँदैन ।”
संयम येशू ख्रीष्टमा मजबुत आधारका लागि आवश्यक सुदृढीकरण हो भनेर यस पवित्र प्रकाशमा अभिलेख गरिएको मुक्तिदाताको मार्गदर्शनले हामीलाई स्मरण गराउँछ । सेवा गर्न बोलावट गरिएकाहरूका लागि यो मात्रै नभई परमप्रभुसँग पवित्र करारहरू गर्ने र आस्थावान् रूपमा उहाँलाई अनुसरण गर्न स्वीकार गरेका सबैका लागि यो सद्गुणहरू मध्येको एक अपरिहार्य सद्गुण हो । संयमले यस प्रकाशमा उल्लेख गरिएका ख्रीष्टका विनम्रता, आस्था, आशा, करुणा र उहाँबाट प्रवाह हुने विशुद्ध प्रेम जस्ता अन्य गुणहरूलाई मजबुत बनाउँछ र सामान्जस्यता कायम गर्छ । यसबाहेक, संयम अभिवृद्धि गर्नु येशू ख्रीष्टमा हाम्रो आधारलाई कमजोर पार्न सक्ने सांसारिक प्रभावहरूबाट हुने सूक्ष्म तर निरन्तर आध्यात्मिक क्षयबाट हाम्रो आत्मालाई जोगाउने अर्थपूर्ण तरिका हो ।
ख्रीष्टका सत्य शिष्यहरूलाई अलङ्कृत गर्ने गुणहरू मध्ये, संयम मुक्तिदाता स्वयम् को प्रतिबिम्बका रूपमा रहन्छ, आत्माको एक बहुमूल्य फल जुन दैवी प्रभावका लागि आफूस्वयम् लाई खोल्ने सबैका लागि उपलब्ध छ । यो त्यो सद्गुण हो जसले हृदयमा सद्भाव ल्याउँछ, चाहना र भावनाहरूलाई ज्ञान र शान्तिले परिष्कृत पार्छ । संयमलाई धर्मशास्त्रहरूमा हाम्रो आध्यात्मिक यात्रामा प्रगतिको एक आवश्यक अंशका रूपमा प्रस्तुत गरिएको छ जसले हाम्रा भावनाहरू, हाम्रा शब्दहरू र हाम्रा कार्यहरूलाई परिष्कृत गर्दै हामीलाई धीरता, ईश्वरीयपन र दयातर्फ अगुवाइ गर्छ ।
ख्रीष्टको जस्तै सद्गुणलाई अभिवृद्धि गर्ने यस प्रयासमा ख्रीष्टका शिष्यहरू द्रूत गतिमा विनम्र र प्रेमले भरिपूर्ण हुन्छन् । तिनीहरूमा एक शान्त अन्तर शक्ति उत्पन्न हुन्छ अनि जब प्रतिकूलताको हावा तीव्र रूपमा चल्छ तिनीहरू रिसलाई नियन्त्रण गर्न, धीरता अभिवृद्धि गर्न र सहनशीलता, सम्मान र मर्यादाका साथ अरुहरूलाई व्यवहार गर्न अझै राम्रोसँग सक्षम हुन्छन् । तिनीहरू आवेगमा नआउने प्रयास गर्छन् तर विनम्रता र पवित्र आत्माको कोमल प्रभावद्वारा निर्देशित आध्यात्मिक ज्ञानका साथ कार्य गर्न छनोट गर्छन् । यस तरिकाले, तिनीहरू आध्यात्मिक क्षयका लागि कम जोखिममा पर्छन् किनभने प्रेरित पावलले सिकाउनुभए जस्तै, तिनीहरू जान्दछन् कि तिनीहरू ख्रीष्टका माध्यमद्वारा सबै कार्य गर्न सक्छन् जसले उहाँमा तिनीहरूको गवाहीलाई विचलित पार्न सक्ने परीक्षाहरूको सामना गर्दा पनि तिनीहरूलाई मजबुत बनाउनुहुन्छ ।
तीतसलाई लेखेको आफ्नो पत्रमा, पावलले मुक्तिदाताको प्रतिनिधित्व गर्न र आस्था र समर्पणका साथ उहाँको चाहना पूरा गर्न चाहनेहरूको योग्यताहरूका सम्बन्धमा पवित्र सल्लाह दिनुभयो । तिनीहरू अतिथि सत्कार गर्ने, संयमी, न्यायोचित र पवित्र हुनु पर्छ—ती गुणहरू जसले संयमको प्रभावलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्छ भनेर उहाँले भन्नुभयो ।
यद्यपि, तिनीहरू “स्वार्थी हुनु हुँदैन, छिटो रिसाउनु हुँदैन, … [र] कुनै प्रहार गर्नु हुँदैन भनेर पावलले चेतावनी दिनुभयो ।” यस्ता विशेषताहरू मुक्तिदाताको चाहना विपरीत छन् र सत्य आध्यात्मिक वृद्धिमा बाधा पुर्याउँछन् । धर्मशास्त्रीय सन्दर्भमा, “नि:स्वार्थी” भनेको अहङ्कार र घमण्डमा कार्य गर्न अस्वीकार गर्ने व्यक्ति हो; “छिटो नरिसाउने” भनेको अधीर हुने र रिसाउने प्राकृतिक चाहनालाई बेवास्ता गर्ने व्यक्ति हो; र “कुनै प्रहार नगर्ने” भनेको मौखिक, शारीरिक र भावनात्मक रूपमा झगडालु, आक्रामक र कठोर व्यवहारलाई अस्वीकार गर्ने व्यक्ति हो । आस्था र विनम्रताका साथ हामीले हाम्रा व्यवहार परिवर्तन गर्ने प्रयास गर्दा हामी उहाँको अनुग्रहको ठोस चट्टानमा दृढतापूर्वक आवद्ध हुन सक्छौँ र उहाँका पवित्र बाहुमा शुद्ध र परिष्कृत उपकरणहरू बन्न सक्छौँ ।
संयमको सद्गुण अभिवृद्धि गर्ने आवश्यकतालाई चिन्तन गर्दा, मलाई अगमवक्ता शमूएलकी आमा हन्नाहका शब्दहरू स्मरण हुन्छ—आस्थाकी उल्लेखनीय महिला जसले ठूलो परीक्षा पछि पनि परमप्रभुलाई कृतज्ञताको गीत प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “अब धेरै गर्वका साथ नबोल; तिम्रो मुखबाट अहङ्कार ननिस्कियोस्: किनकि परमप्रभु ज्ञानका परमेश्वर हुनुहुन्छ र उहाँद्वारा सबै कार्यहरूको मूल्याङ्कन गरिन्छ ।” उहाँको गीत प्रार्थना भन्दा बढी छ—यो विनम्रता, आत्म-नियन्त्रण र संयमताका साथ कार्य गर्नका लागि आफैलाई दिइएको निमन्त्रणा हो । आवेगपूर्ण प्रतिक्रियाहरू वा अहङ्कारी शब्दहरूमा सत्य आध्यात्मिक शक्ति व्यक्त हुँदैन तर परमप्रभुको ज्ञानसँग समतुल्य संयमी, विचारशील मनोवृत्तिमा व्यक्त गरिन्छ भनेर हन्नाहले हामीलाई स्मरण गराउनुहुन्छ ।
पटक पटक, संसारले आक्रामकता, अहङ्कार, अधीरता र अत्यधिकताबाट सिर्जना भएका व्यवहारहरूलाई प्रोत्साहन गर्छ, प्रायश: दैनिक जीवनका बाध्यता र मान्यता अनि लोकप्रियतातर्फका झुकावद्वारा यस्ता मनोवृत्तिहरूलाई औचित्यपूर्ण मान्छ । जब हामी संयमको सद्गुणबाट हाम्रो दृष्टि हटाउँछौँ र हाम्रो कार्य र बोल्ने तरिकामा पवित्र आत्माको कोमल र संयमी प्रभावलाई बेवास्ता गर्छौँ, हामी सजिलै शत्रुको पासोमा फस्छौँ जसले हामीलाई अनिवार्य रूपमा त्यस्ता शब्दहरू उच्चारण गर्न र मनोवृत्तिहरू अपनाउन अगुवाइ गर्छ जसका कारण हाम्रो सामाजिक, पारिवारिक वा चर्चका सम्बन्धहरूमा समेत हामीमा गहन पछुतो हुने छ । येशू ख्रीष्टको सुसमाचारले हामीलाई विशेष गरी चुनौतीको समयमा यो सद्गुण प्रयोग गर्न आमन्त्रण गर्छ किनकि यी अवसरहरूमा नै व्यक्तिहरूको वास्तविक चरित्र प्रकट हुन्छ । जस्तै मार्टिन लुथर किङ जुनियरले एक पटक भनेका थिए, “कुनै मानिसको अन्तिम मापन आराम र सुविधामा ऊ कहाँ खडा हुन्छ भन्ने होइन तर चुनौती र विवादका समयमा ऊ कहाँ खडा हुन्छ भन्ने हो ।”
करार गरिएका मानिसहरूका रूपमा, उहाँले आफ्नो उत्तम उदाहरणका माध्यमद्वारा स्थापना गर्नुभएको नमूनालाई ध्यानपूर्वक अनुसरण गर्दै हामीले परमप्रभुसँग गरेका पवित्र प्रतिज्ञाहरूमा दृढतापूर्वक आधार बनाएर जिउन हामीलाई आह्वान गरिएको छ । बदलामा, उहाँले प्रतिज्ञा गर्नुभएको छ, “साच्चैँ नै, साच्चैँ नै, म तिमीहरूलाई भन्छु, यो मेरो सिद्धान्त हो र जसले यसमा निर्माण गर्छ उसले मेरो चट्टानमा निर्माण गर्छ र नरकका ढोकाहरू तिनीहरूमाथि विजयी हुने छैनन् ।”
तिमीहरूको हृदय व्याकुल नहोस्, हावर्ड लायनद्वारा, हेवनलाइटको सौजन्य
पृथ्वीमा मुक्तिदाताको सेवा उहाँको चरित्रका सबै पक्षहरूमा संयमको सद्गुणले प्रतिष्ठित थियो । उहाँको उत्तम उदाहरणका माध्यमद्वारा उहाँले हामीलाई “दुःखमा धीरता राख्न, निन्दा गर्नेहरूलाई निन्दा नगर्न सिकाउनुभयो ।” विवाद र कलहका कारण हामी क्रोधमा पर्नु हुँदैन भनेर जब उहाँले सिकाउनुभयो, उहाँले घोषणा गर्नुभयो: “तिमीहरूले पश्चात्ताप गर्नु पर्छ र साना बालक जस्तै बन्नु पर्छ ।” हृदयको पूर्ण उद्देश्य सहित उहाँकहाँ आउन चाहने सबैले रिसाएकाहरूसँग वा तिनीहरूका विरुद्धमा भएकाहरूसँग मेलमिलाप गर्नु पर्छ भनेर उहाँले यो पनि सिकाउनुभयो । जब हामीलाई अशिष्टता, निर्दयीपना, अनादर वा बेवास्ता गरिन्छ, उहाँको करुणा हामीबाट हट्ने छैन र हाम्रो जीवनबाट उहाँको शान्तिको करार हटाइने छैन भनेर उहाँले संयमी मनोवृत्ति र करुणामय हृदयका साथ हामीलाई आश्वासन दिनुभयो ।
केही वर्षपूर्व, मेरी श्रीमती र मलाई मेक्सिको सिटीको चर्चका केही आस्थावान् सदस्यहरूसँग भेट्ने पवित्र सुअवसर मिलेको थियो । उहाँहरूमध्ये धेरैले व्यक्तिगत रूपमा वा आफ्ना प्रियजनहरूका माध्यमद्वारा अपहरण, हत्या र अन्य हृदयविदारक त्रासपूर्ण घटनाहरू सहित अवर्णनीय परीक्षाहरू सहनुभएको थियो ।
जब हामीले ती सन्तहरूको अनुहारमा हेर्यौँ, हामीले क्रोध, आक्रोश वा बदलाको चाहना देखेनौँ । बरु, हामीले शान्त विनम्रता देख्यौँ । दुःखले भरिएको भए तापनि उहाँहरूको मुहारमा चङ्गाइ र सान्त्वनाका लागि इमान्दार चाहना देखिन्थ्यो । पीडाले गर्दा उहाँहरूको हृदय विच्छेदित भएको भए तापनि यी सन्तहरू येशू ख्रीष्टमा आस्थाका साथ अगाडि बढ्नुभयो, उहाँहरूले आफ्ना पीडाहरूलाई आफ्नो आस्थाको कमजोरी बन्न नदिने वा उहाँहरूको सुसमाचारको गवाहीमा अस्थिरता नल्याउने छनोट गर्नुभयो ।
त्यो पवित्र जमघटको समापनमा हामीले उहाँहरू प्रत्येकलाई अभिवादन गर्यौँ । परमप्रभुको सहयोगले हामी जीवनका निराशा र चुनौतीहरूका लागि संयमताका साथ प्रतिक्रिया दिने छनोट गर्न सक्छौँ भनेर हात मिलाउने हरेक कार्य, हरेक अङ्कमाल एक शान्त गवाही बन्यो । तिनीहरूको शान्त र नम्र उदाहरणले सबै कार्यमा संयमताका साथ मुक्तिदाताको मार्गमा हिँड्नका लागि विनम्र आमन्त्रणका रूपमा काम गर्यो । हामीलाई स्वर्गदूतहरूको उपस्थितिमा भए जस्तो महसुस भयो ।
सबैभन्दा महान्, येशू ख्रीष्टले हाम्रा लागि दुःख भोग्नुभयो, उहाँको शरीरको प्रत्येक रोमकूपबाट रगत नबगेसम्म, तैपनि उहाँले कहिल्यै क्रोधलाई आफ्नो हृदयमा जल्न दिनुभएन, यस्तो पीडाको बीचमा पनि आक्रामक, आपत्तिजनक वा अपवित्र शब्दहरू उहाँको ओठबाट निस्किएनन् । परिपूर्ण संयम र अतुलनीय विनम्रताका साथ, उहाँले आफ्ना सम्बन्धमा सोच्नुभएन तर परमेश्वरका प्रत्येक सन्तति—विगत, वर्तमान र भविष्यका सम्बन्धमा सोच्नुभयो । प्रेरित पत्रुसले ख्रीष्टको उत्कृष्ट मनोवृत्तिको गवाही दिनुभयो जब उहाँले घोषणा गर्नुभयो: “जसले, जब उहाँलाई गाली गरियो, फेरि गाली गरेन; जब उहाँले दुःख भोग्नुभयो, उहाँले धम्की दिनुभएन; तर आफूलाई धार्मिक रूपमा न्याय गर्नेलाई सुम्पनुभयो ।” आफ्नो सबैभन्दा महान् पीडाका बीचमा पनि, मुक्तिदाताले परिपूर्ण र दैवी संयम प्रदर्शन गर्नुभयो । उहाँले घोषणा गर्नुभयो, “यद्यपि,पिताको महिमा होस् र मैले मानिसहरूका सन्ततिहरूका लागि मेरो तयारी पूरा गरेँ ।”
मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा प्रिय अध्यक्ष रसल एम. नेल्सनले हामीलाई अगमवाणीय आह्वानको पवित्र प्रतिक्रियाका रूपमा ख्रीष्टको जस्तै संयमको सद्गुणले हाम्रो मस्तिष्क र हृदयलाई अलङ्कृत गर्न म सबैलाई हार्दिक आमन्त्रण गर्छु । हाम्रा कार्यहरू र शब्दहरूमा संयम बुन्न हामीले आस्था र लगनशीलताका साथ प्रयास गर्दा हामी हाम्रा मुक्तिदाताको सुनिश्चित आधारमा हाम्रो जीवनलाई अझै सुरक्षित रूपमा मजबुत बनाउने छौँ र सुदृढ रूपमा जोड्ने छौँ भनेर म गवाही दिन्छु ।
संयमको निरन्तर खोजीले हाम्रो आत्मालाई शुद्ध पार्छ र मुक्तिदाताका अगाडि हाम्रो हृदयलाई पवित्र पार्छ, हामीलाई बिस्तारै उहाँको नजिक ल्याउँछ र आशा र शान्तिका साथ हामीलाई त्यो महिमित दिनका लागि तयार पार्छ जब हामी उहाँलाई उहाँको दोस्रो आगमनमा भेट्ने छौँ भनेर म गम्भीरतापूर्वक मेरो गवाही दिन्छु । म हाम्रा मुक्तिदाता, येशू ख्रीष्टको नाममा यी पवित्र वचनहरू बाँड्छु, आमीन ।