ख्रीष्टमा परीक्षण लिइयो र मजबुत बनाइयो
परीक्षाका क्षणहरू परमप्रभुले तपाईंलाई त्याग्नुभएको छ भन्ने प्रमाण होइनन् । बरु, तिनीहरू उहाँले तपाईंहरूलाई परिष्कृत र मजबुत बनाउन पर्याप्त प्रेम गर्नुहुन्छ भन्ने प्रमाण हुन् ।
मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामी सँगै एकत्रित हुन पाउँदा म परमप्रभुको प्रेम महसुस गर्छु । तपाईंहरूलाई सम्बोधन गर्न पाउँदा म विनम्र भएको छु । परमप्रभुले तपाईंहरूलाई सुनाउन चाहनुभएका विषयहरू आत्माले धेरै ठूलो प्रभावका साथ तपाईंहरूको हृदयमा पुर्याउने छ भनेर म प्रार्थना गर्छु ।
धेरै समयपूर्व कलेजका वर्षहरूमा म भौतिकशास्त्र र गणित सिक्न चाहन्थेँ । मलाई अत्यास लाग्यो । म त्यो सिक्ने प्रयास गरिरहेको छु जुन मेरो क्षमताभन्दा बाहिर छ भनेर मलाई महसुस भयो । जति धेरै मलाई अत्यास लाग्यो ममा प्रयास गर्ने सामर्थ्य त्यति नै कम हुँदै गयो । मेरो निराशाले मलाई मेरा प्रयासहरू लगभग व्यर्थ भएको महसुस गराउन सुरु गरायो । मैले यी विषयहरू छाडेर, केही सजिलो विषय पढ्ने सम्बन्धमा सोच्न सुरु गरेँ ।
मैले कमजोर भएको महसुस गरेँ । प्रार्थना गरेर मैले परमप्रभुको शान्त आश्वासन महसुस गरेँ । उहाँले मेरो मस्तिष्कमा भन्नुभएको मैले महसुस गरेँ, “म तिम्रो परीक्षा लिँदै छु तर म सदैव तिम्रो साथमा पनि छु ।”
त्यतिबेला मैले ती शब्दहरूको अर्थ बुझिनँ । परन्तु मलाई के गर्ने भन्ने जानकारी थियो—म काममा लागेँ ।
त्यसपछिका वर्षहरूमा मनन र कार्य गर्दै, मैले धर्मशास्त्रमा भएको प्रोत्साहनको यो सन्देश बुझेँ: “मलाई मजबुत बनाउनुहुने ख्रीष्टद्वारा म सबै कार्य गर्न सक्छु ।”
भौतिकशास्त्रसँगको मेरो सङ्घर्ष वास्तवमा परमप्रभुको वरदान थियो भनेर मैले बुझेँ । उहाँ मलाई सहयोग गर्नका लागि त्यहाँ हुनुहुन्छ भनेर यदि ममा आस्था छ भने उहाँको सहयोगले म असम्भव देखिने कार्यहरू गर्न सक्छु भनेर उहाँ मलाई सिकाउँदै हुनुहुन्थ्यो । यस वरदानद्वारा परमप्रभुले मलाई परीक्षा लिन र मजबुत बनाउन कार्य गरिरहनुभएको थियो ।
परीक्षाशब्दका धेरै अर्थहरू छन् । कुनै विषयको परीक्षा लिनु भनेको केवल त्यसलाई परीक्षण गर्नु मात्रै होइन । यो यसको मजबूतता बढाउनु हो । स्टीलको कुनै एक टुक्राको परीक्षण गर्नु भनेको त्यसलाई दबाबमा राख्नु हो । यसको वास्तविक प्रकृतिलाई बढाएर प्रकट गर्नका लागि ताप, तौल र दबाब थपिन्छ । परीक्षाले स्टील कमजोर हुँदैन । वास्तवमा, यो त्यस्तो वस्तु बन्छ जुन विश्वास गर्न सकिन्छ, ठूलो बोझ बोक्नका लागि पर्याप्त मजबुत वस्तु बन्छ ।
हामीलाई मजबुत बनाउन परमप्रभुले हामीलाई त्यस्तै तरिकाले परीक्षा लिनुहुन्छ । त्यो परीक्षा सहजता वा आरामको क्षणमा आउँदैन । यो त्यस्ता क्षणहरूमा आउँछ जब हामी हाम्रो अधिकतम क्षमतामा धकेलिएको महसुस गर्छौँ । हामीले विकास गर्दै जानु पर्छ र हाम्रा प्रयासमा कहिल्यै थाक्नु हुँदैन, कहिल्यै हार मान्नु हुँदैन, प्रयास गरिरहनु पर्छ भनेर परमप्रभुले सिकाउनुहुन्छ ।
अहिले हामीलाई असम्भव लागे तापनि—यदि हामीले येशू ख्रीष्टमा आस्था राखिरह्यौँ भने—हामी आध्यात्मिक रूपमा मजबुत हुन्छौँ । पवित्र धर्मशास्त्रका अभिलेखहरूले यस सत्यलाई जोड दिन्छन् ।
उदाहरणका लागि, अगमवक्ता मोरोनीलाई यसरी नै परीक्षण गरियो र मजबुत बनाइयो । उहाँले आफ्ना अन्तिम वर्षहरू एक्लै बिताउनुभयो । उहाँका कोही साथी थिएनन्, उहाँका पिताको हत्या गरिएको थियो, उहाँका मानिसहरू नष्ट भएका थिए भनेर उहाँले लेख्नुभयो । उहाँको ज्यान लिन खोज्नेहरूले उहाँलाई खोजे ।
तैपनि मोरोनी निराश हुनु भएन । बरु, उहाँले येशू ख्रीष्टका सम्बन्धमा आफ्नो गवाही ती मानिसहरूका लागि पाताहरूमा कुँद्नुभयो जसलाई देख्नका लागि उहाँ जीवित रहनुहुने थिएन, जसमा उहाँलाई हत्या गर्न चाहने मानिसहरूका सन्ततिहरू पनि समावेश थिए । उहाँले हाम्रा लागि लेख्नुभयो । कसैले उहाँका वचनहरूको उपहास गर्ने छन् भनेर उहाँलाई जानकारी थियो । कसैले तिनीहरूलाई अस्वीकार गर्ने छन् भनेर उहाँलाई जानकारी थियो । तैपनि उहाँले लेखि नै रहनुभयो ।
उहाँको परीक्षामा, मोरोनीको आस्था परिष्कृत र मजबुत बन्यो । यो अझ शुद्ध भयो । उहाँका वचनहरूमा त्यस्तो व्यक्तिको शक्ति थियो जसले अन्तसम्म आस्थापूर्वक सहनुभएका थिए । हामी उहाँको गवाही पढ्दा त्यो शक्ति महसुस गर्न सक्छौँ:
“अब म, मोरोनी मलाई जे असल लाग्छ त्यो लेख्छु; र म मेरा लमानी बन्धुहरूका निम्ति लेख्छु; र म चाहन्छु कि उनीहरूले जानकारी पाउनु पर्छ कि ख्रीष्टको आगमनको सङ्केत दिइएदेखि चार सय बीस वर्षभन्दा बढी गुज्रेका छन् ।
“अनि तिमीहरूको प्रोत्साहनको निम्ति मैले केही वचनहरू बोलेपछि म यी अभिलेखहरूलाई छाप लगाएर बन्द गर्छु ।
“हेर, म तिमीहरूलाई प्रोत्साहन गर्छु कि जब तिमीहरूले यी विषयहरू पढ्ने छौ, यदि यो परमेश्वको चाहना भयो भने तिमीहरूले ती पढ्ने छौ कि तिमीहरूले सम्झने छौ आदमको सृष्टि देखि तिमीहरूले यी विषयहरू प्राप्त गर्ने त्यो समयसम्म परमप्रभु मानिसका छोराछोरीहरूप्रति कति कृपालु हुनुभएको छ र यसलाई तिमीहरूका हृदयहरूमा चिन्तन गर्ने छौ ।
“अनि जब तिमीहरूले यी विषयहरू प्राप्त गर्ने छौ, म तिमीहरूलाई प्रोत्साहन गर्छु कि तिमीहरूले ख्रीष्टका नाममा, परमेश्वर, अनन्त पितालाई सोध, के यी विषयहरू सत्य होइनन्; र यदि तिमीहरूले निष्कपट हृदयले, सच्चा उद्धेश्यका साथ, ख्रीष्टमाथिको आस्थाका साथ, सोध्ने छौ भने उहाँले पवित्र आत्माको शक्तिद्वारा तिमीहरूसामु सत्य प्रकट गर्नुहुने छ ।
“अनि पवित्र आत्माको शक्तिद्वारा तिमीहरूले सबै विषयहरूका सम्बन्धमा सत्यता जान्न सक्ने छौ ।”
मोरोनीको गवाही एक्लोपनमा परिष्कृत गरिएको थियो तर यो सबै पुस्ताहरूलाई स्वर्गमा रहनुहुने हाम्रा पिता र मुक्तिदाता येशू ख्रीष्टलाई अन्वेशण गर्नका लागि मार्गदर्शन गर्न प्रकाशका साथ चम्किन्छ ।
मोर्मोनको पुस्तकका अर्का अगमवक्ता, याकूबलाई बाल्यकालमा कष्टहरू र धेरै दुःख भोगाइ सहित परीक्षा लिइयो र मजबुत बनाइयो । परन्तु परमेश्वरले उहाँलाई उहाँका परीक्षाहरूमा आशीर्वाद दिनुहुने छ भनेर उहाँका पिता लहीले उहाँलाई सिकाउनुभयो ।
“अनि हेर, तिम्रा दाजुहरूको अभद्र व्यवहारले गर्दा तिमीले तिम्रो बाल्यकालमा कष्ट र धेरै दु:ख सहेका छौ ।
“यद्यपि, याकूब, उजाड स्थानमा जन्मेका मेरो पहिलो छोरा, तिमीलाई परमेश्वरको महानताको जानकारी छ; र उहाँले तिमीलाई तिम्रा कष्टहरू तिम्रा प्रगतिका लागि पवित्र गर्नुहुने छ ।
“यसकारण तिम्रो जीवात्मालाई आशीषित गरिने छ र तिमी तिम्रा दाजु नफीसँग सुरक्षाका साथ बसोबास गर्ने छौ; र तिम्रा दिनहरू तिम्रा परमेश्वरको सेवामा बित्ने छन् । यसकारण, मलाई जानकारी छ कि तिम्रा उद्धारकर्ताको धार्मिकताका कारण तिम्रो उद्धार गरिएको छ; किनभने तिमीले देखेका छौ कि समयको परिपूर्णतामा उहाँ मानिसहरूलाई मुक्ति दिन आउनुहुने छ ।”
लिबर्टी जेलमा हुनुहुँदा अगमवक्ता जोसेफ स्मिथले यस्ता परीक्षण र मजबुत पार्ने अनुभव गर्नुभयो । आफ्नो वेदनाको गहिराइमा, अगमवक्ता जोसेफ कराउनुभयो:
“हे परमेश्वर, हजुर कहाँ हुनुहुन्छ ?
“हजुरका हातहरू कहिलेसम्म रोकिने छन् ?”
जोसेफको पीडामा परमप्रभुले उहाँको सहनशीलताको पवित्र प्रभाव देख्नुभयो जब उहाँले जवाफ दिनुभयो:
“मेरा छोरा, तिम्रो आत्माले शान्ति पाओस्; तिम्रा कठिनाइ र तिम्रा कष्टहरू केही समयका लागि मात्रै हुने छन्;
“अनि, यदि तिमीले यसलाई राम्रोसँग सह्यो भने परमेश्वरले तिमीलाई उच्च पार्नुहुने छ; तिमीले आफ्ना सबै शत्रुहरूमाथि विजय प्राप्त गर्ने छौ ।”
परीक्षण र मजबुत बनाउने सबैभन्दा ठूलो उदाहरण मुक्तिदाताको प्रायश्चितद्वारा सम्भव भयो । उहाँले संसारका पापहरू आफूमाथि लिनुभयो । उहाँले हाम्रा पीडा र दुःखहरू सहनुभयो । उहाँले त्यो तितो प्याला पिउनुभयो । उहाँले हरेक क्षण आस्थावान् भएको प्रमाणित गर्नुभयो ।
उहाँको महिमित प्रायश्चितका कारण, येशू ख्रीष्टले हाम्रो परीक्षाको समयमा हामीलाई मजबुत बनाउन सक्नुहुन्छ । उहाँलाई हामीलाई कसरी सहयोग गर्ने भन्ने जानकारी छ किनकि उहाँले मरणशीलतामा हामीले अनुभव गर्ने सबै चुनौतीहरू महसुस गर्नुभएको छ । “उहाँले आफ्ना मानिसहरूको पीडा र रोगहरू आफूमा लिनुहुने छ … ताकि उहाँले शरीरअनुसार आफ्ना मानिसहरूलाई तिनीहरूका कमजोरीअनुसार कसरी सहयोग गर्ने भनेर जान्न सक्नुहुन्छ ।”
हामी सिक्छौँ कि गेतसेमनीको बगैँचामा हुनुहुँदा, मुक्तिदाताले पितालाई सोध्नुभयो कि के परीक्षा उहाँबाट हटाइन सकिन्छ—तर त्यसपछि उहाँले यो पनि भन्नुभयो कि यदि यो पिताको चाहना हो भने, मुक्तिदाताले यसो गर्नुहुने छ । अर्को शब्दमा भन्नुपर्दा, मुक्तिदाताले शङ्का र अनिश्चितता स्वीकार गर्नुभयो तर स्वर्गका पितामा उहाँको आस्था थियो ।
दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूको परीक्षा र मजबुत बनाउने कार्य मोरोनी वा याकूब वा अगमवक्ता जोसेफको जस्तो नदेखिन सक्छ । परन्तु यो आउने छ । पारिवारिक जीवनका परीक्षाहरूद्वारा यो शान्त रूपमा आउन सक्छ । यो रोग वा निराशा वा शोक वा एक्लोपनाका माध्यमद्वारा आउन सक्छ ।
यी क्षणहरू परमप्रभुले तपाईंलाई त्याग्नुभएको प्रमाण होइनन् भनेर म गवाही दिन्छु । बरु, तिनीहरू उहाँले तपाईंहरूलाई परिष्कृत र मजबुत बनाउन पर्याप्त प्रेम गर्नुहुन्छ भन्ने प्रमाण हुन् । उहाँले तपाईंहरूलाई अनन्त जीवनको भार बहन गर्नका लागि पर्याप्त रूपमा मजबुत बनाउँदै हुनुहुन्छ ।
यदि हामी हाम्रो सेवामा आस्थावान् रह्यौँ भने परमप्रभुले हामीलाई परिष्कृत पार्नुहुने छ । उहाँले तपाईंहरूलाई मजबुत बनाउनुहुने छ । अनि एक दिन, हामी पछाडि फर्केर हेर्ने छौँ र ती परीक्षाहरू उहाँका प्रेमका प्रमाण थिए भनेर देख्ने छौँ । उहाँले हामीलाई महिमामा उहाँसँगै उभिन सक्षम बनाउँदै हुनुहुन्थ्यो भनेर हामी देख्ने छौँ । परमप्रभुका प्रेरित, पावलले आफ्नो जीवनको अन्त्यमा भने जस्तै, “मैले असल लडाइँ लडेको छु, मैले मेरो दौड पूरा गरेको छु, मैले आस्थालाई कायम राखेको छु ।”
परमेश्वर तपाईंलाई चिन्नुहुन्छ भनेर म गवाही दिन्छु । तपाईंले सामना गर्नुहुने परीक्षाहरूको उहाँलाई जानकारी छ । उहाँ तपाईंसँगै हुनुहुन्छ । उहाँले तपाईंलाई त्याग्नुहुने छैन । येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनेर म गवाही दिन्छु । उहाँ हाम्रो शक्ति, हाम्रा उद्धारकर्ता, हाम्रो आशा हुनुहुन्छ । यदि हामीले उहाँमा भरोसा राख्यौँ भने उहाँले हाम्रो आध्यात्मिक शक्तिलाई हामीले सहन गर्नु पर्ने हरेक परीक्षाको समतुल्य बनाउनुहुने छ । म येशू ख्रीष्टको पवित्र नाममा यो प्रमाणित गर्छु, आमीन ।