मुस्कुराएका अनुहारहरू र कृतज्ञ हृदयहरू
उहाँहरूले जीवनका चुनौतीहरूको सामना र वृद्धि हुँदै गरेको चर्चका अपेक्षाहरू पूरा गर्दै गर्दा अफ्रिकाका हाम्रा सन्तहरूको महानता अझै स्पष्ट हुन्छ ।
एक वर्षभन्दा केही समयपूर्व सत्तरीको अध्यक्षताको मेरो कार्यभारबाट मलाई मुक्त गरिएको थियो, यो परिवर्तन यहाँ साधारण सम्मेलनमा घोषणा गरिएको थियो । मेरो नाम सम्मानपूर्वक सेवा मुक्त हुने साधारण अधिकारीहरूको नाम सँगै पढिएकाले म पनि मेरो सेवाको अवधि समाप्त गर्दैछु भनेर धेरैले अनुमान गर्नुभयो । सम्मेलनपछि, मैले मेरो जीवनको अर्को चरणका लागि कृतज्ञता र शुभकामनाका असङ्ख्य सन्देशहरू प्राप्त गरेँ । केहीले उत्तरी सल्ट लेकमा रहेको मेरो घर किन्ने प्रस्ताव पनि राख्नुभयो । मलाई स्मरण गरिने छ र मेरो सेवा सकिएपछि हामीलाई हाम्रो घर बेच्न कुनै समस्या हुने छैन भन्ने देखेर खुसी लाग्यो । तरपनि म अझै त्यो अवस्थामा पुगेको छैन ।
मेरो नयाँ कार्यभारले मोनिका र मलाई सुन्दर अफ्रिकामा पुर्यायो, जहाँ चर्च समृद्धशाली बन्दै छ । अफ्रिकाको दक्षिण क्षेत्रका आस्थावान् सन्तहरूका माझमा सेवा गर्न पाउनु र उहाँहरूप्रति परमप्रभुको प्रेम देख्न पाउनु आशीर्वाद भएको छ । धेरै सफल र शिक्षित चर्चका सदस्यहरू सहित सबै पृष्ठभूमिका सन्ततिका परिवारहरूले अरुहरूको सेवा गर्न आफ्नो समय र प्रतिभा समर्पित गरेको देख्न पाउनु प्रेरणादायी छ ।
सोही समयमा, क्षेत्रको जनसाङ्ख्यिकीय अवस्थालाई मध्यनजर गर्दा सामान्य आर्थिक अवस्था भएका धेरै मानिसहरू चर्चमा सहभागी भइरहेका छन् र आस्थावादिताका दशांशका आशीर्वादहरू र चर्चद्वारा प्रदान गरिएका शैक्षिक अवसरहरूका माध्यमद्वारा आफ्नो जीवन परिवर्तन गरिरहेका छन् । Succeed in School, EnglishConnect, BYU–Pathway, र the Perpetual Education Fund जस्ता कार्यक्रमहरूले विशेष गरी हुर्कदो पिँढीका धेरै व्यक्तिहरूलाई आशीर्वाद दिएका छन् ।
अध्यक्ष जेम्स ई. फाउस्टले एक पटक भन्नुभएको थियो, “यसो भनिएको छ कि यो चर्चले महान् व्यक्तिहरूलाई आकर्षित गर्दैन तर प्रायः साधारण मानिसहरूलाई महान् बनाउँछ ।”
उहाँहरूले जीवनका चुनौतीहरूको सामना र वृद्धि हुँदै गरेको चर्चका अपेक्षाहरू पूरा गर्दै गर्दा अफ्रिकाका हाम्रा सन्तहरूको महानता अझै स्पष्ट हुन्छ । उहाँहरूले यसलाई सदैव सकारात्मक मनोवृत्तिका साथ लिनुहुन्छ । उहाँहरूले अध्यक्ष रसल एम. नेल्सनको प्रसिद्ध शिक्षालाई राम्रोसँग मूर्त रूप दिनुहुन्छ:
“हामीले महसुस गर्ने खुसीसँग हाम्रो जीवनका परिस्थितिहरू कम सम्बन्धित छ र हाम्रो जीवनको केन्द्रसँग सबै विषयहरू जोडिएका छन् ।
“जब हाम्रो जीवनको ध्यान परमेश्वरको मुक्तिको योजनामा … र येशू ख्रीष्ट अनि उहाँको सुसमाचारमा हुन्छ, हाम्रो जीवनमा भइरहेका—वा हुन नसकेका विषयहरूका बावजुत पनि हामीले प्रसन्नताको अनुभव गर्न सक्छौँ ।”
आफ्ना चुनौतीहरूका बावजुद पनि उहाँहरूले प्रसन्नता प्राप्त गर्नुहुन्छ । उहाँहरूले सिक्नुभएको छ कि मुक्तिदातासँगको हाम्रो सम्बन्धले हामीलाई मुस्कुराएको अनुहार र कृतज्ञ हृदयका साथ कठिनाइहरूको सामना गर्न सक्षम बनाउँछ ।
म यी आस्थावान् सन्तहरूसँग मेरा केही अनुभवहरू बाँड्न चाहन्छु जसले मोजाम्बिकबाट सुरु गरेर यो सिद्धान्तलाई चित्रण गर्नुहुन्छ ।
मोजाम्बिक
केही महिना अघि, मैले एक वर्ष पुरानो किलाको किला सम्मेलनको अध्यक्षता गरेँ जसमा त्यसपूर्व नै १० वटा इकाइहरू थिए । २,००० भन्दा बढी मानिसहरूद्वारा सानो सभागृह र बाहिर राखिएका तीन पालहरू भरिए । किला अध्यक्ष ३१ वर्षका हुनुहुन्छ, उहाँकी श्रीमती २६ वर्षकी हुनुहुन्छ र उहाँहरूका दुई साना छोराछोरीहरू छन् । उहाँले कुनै गुनासो बिना नै —केवल मुस्कुराएको अनुहार र कृतज्ञ हृदयसहित यो बढ्दो र चुनौतीपूर्ण किलालाई नेतृत्व गर्नुहुन्छ ।
त्यहाँका कुलपितासँगको अन्तर्वार्ताका क्रममा मैले जानकारी पाएँ कि उहाँकी श्रीमती गम्भीर बिरामी हुनुहुन्थ्यो र उहाँको हेरचाहका लागि उहाँले सङ्घर्ष गरिरहनुभएको थियो । किला अध्यक्षसँगको समस्यालाई सम्बोधन गरेपछि हामीले उहाँलाई पादरित्वको आशीर्वाद दियौँ । औसतमा उहाँले कतिलाई कूलपिताको आशीर्वाद दिनुहुन्छ भनेर मैले कुलपितालाई सोधेँ ।
“आठ देखि दश,” उहाँले भन्नुभयो ।
मैले सोधेँ, “प्रति महिना ?”
उहाँले जवाफ दिनुभयो, “हरेक हप्ता !” हरेक सप्ताहन्तमा यति धेरै गर्नु बुद्धिमानी होइन भनेर मैले उहाँलाई सल्लाह दिएँ ।
“एल्डर गोडोय,” उहाँले भन्नुभयो, “नयाँ सदस्यहरू र धेरै युवाहरू सहित उहाँहरू हरेक हप्ता आइरहनुहुन्छ ।” पुनः, कुनै गुनासाहरू छैनन्—केवल मुस्कुराएको अनुहार र कृतज्ञ हृदय ।
शनिबार साँझको किला सम्मेलनको सत्र पछि होटल जाँदै गर्दा मैले मानिसहरूले राति अबेलासम्म बाटो छेउमा खाना किनिरहेको देखेँ । उहाँहरूले दिनको समयमा भन्दा अँध्यारोमा किन यसो गरिरहनुभएको होला भनेर मैले मेरो चालकलाई सोधेँ । उहाँहरू दिनको समयमा काम गरिरहनुभएको थियो ताकि पछि यसो गर्नका लागि पैसा होस् भनेर उहाँले जवाफ दिनुभयो ।
“ओहो, उहाँहरू भोलि खानका लागि आज काम गरिरहनुभएको थियो,” मैले भने ।
परन्तु उहाँले मलाई सच्याउनुभयो: “होइन, उहाँहरू आज राती खानका लागि दिनभरि काम गरिरहनुभएको थियो ।” हाम्रा सदस्यहरू राम्रो अवस्थामा हुनहुन्छ भनेर मैले आशा गरेको थिएँ तर देशको त्यो भागमा अधिकांशले यस्तै चुनौतीहरूको सामना गर्नुहुँदो रहेछ भनेर उहाँले पुष्टि गर्नुभयो । भोलिपल्ट बिहान, हाम्रो आइतबारको सत्रको समयमा र भर्खरै उहाँहरूको परिस्थितिका सम्बन्धमा जानेका मैले उहाँहरूका मुस्कुराएका अनुहार र कृतज्ञ हृदयहरू देखेर म अझै बढी प्रभावित भएँ ।
जाम्बिया
आइतबारको सभामा जाँदै गर्दा किला अध्यक्ष र मैले एक दम्पत्तिलाई एक शिशु र दुई साना केटाकेटीहरूसँगै बाटोमा हिँडिरहेको देख्यौँ । उहाँहरूलाई गाडीमा चढ्नका लागि प्रस्ताव गर्न हामी रोकियौँ । उहाँहरू छक्क पर्नुभयो र खुसी हुनुभयो । सभागृहमा पुग्नका लागि उहाँहरूले कति टाढाबाट हिँड्नु पर्छ भनेर जब मैले सोधेँ, बुबाले जवाफ दिनुभयो, यो केटाकेटीहरूको गतिमा निर्भर गर्छ, ४५ मिनेटदेखि एक घण्टा लाग्न सक्छ । उहाँहरूले कुनै गुनासो बिना हरेक आइतबार आउन अनि फर्कन यो यात्रा गर्नुहुन्थ्यो—केवल मुस्कुराएका अनुहार र कृतज्ञ हृदयहरूका साथ मात्रै ।
मलावी
किला सम्मेलन अगाडिको एक आइतबार मैले सार्वजनिक विद्यालयहरूलाई सभागृहका रूपमा प्रयोग गर्ने दुई शाखाहरूको भ्रमण गरेँ । केही आधारभूत सुविधाहरूको समेत अभाव रहेका सामान्य परिस्थितिका भवनहरू देखेर म छक्क परेँ । जब मैले त्यहाँका केही सदस्यहरूलाई भेटेँ, म उहाँहरूको सभा गृहको अपर्याप्त अवस्थाका लागि माफी माग्न तयार थिएँ तर सामान्यतः सधैँको लामो पैदल यात्रा गर्न नपरोस् भनेर नजिकै एकत्रित हुने स्थान प्राप्त गर्दा उहाँहरू खुसी हुनुहुन्थ्यो । पुनः, कुनै गुनासो थिएन—केवल मुस्कुराएका अनुहार र कृतज्ञ हृदयहरू मात्रै ।
जिम्बाब्वे
शनिबारको नेतृत्व प्रशिक्षणपछि किला अध्यक्षले मलाई भाडाको घरमा आयोजित आइतबारका सेवाहरूमा लैजानुभयो । त्यहाँ २४० जना उपस्थित हुनुहुन्थ्यो । त्यसपछि बिशपले त्यस हप्ता बप्तिस्मा लिनुभएका १० नयाँ सदस्यहरूको परिचय गराउनुभयो । सभा दुई साना कोठाहरूमा विस्तारित थियो, केही सदस्यहरू भवन बाहिर बसेर पनि झ्याल र ढोकाबाट सभालाई अवलोकन गरिरहनुभएको थियो । पुनः, कुनै गुनासाहरू थिएनन्—केवल मुस्कुराएका अनुहार र कृतज्ञ हृदयहरू मात्रै ।
लेसोथो
चर्च जिल्लाले किला बन्ने तयारी गरिरहेको हेर्न मैले यो सुन्दर सानो देशको भ्रमण गरेँ जसलाई “पहाडी अधिराज्य” पनि भनिन्छ । शनिबारको बैठकपछि भाडाको घरमा भएको उहाँहरूका शाखा मध्येको एक शाखामा म आइतबारका सेवाहरूमा सहभागी भएँ । प्रभुभोज कक्ष भरिएको थियो, सहभागी हुन मानिसहरू ढोका बाहिर उभिरहनुभएको थियो । उहाँलाई ठूलो घर आवश्यक छ भनेर मैले शाखा अध्यक्षलाई भनेँ । यो उहाँको सदस्यताको आधा अंश मात्र हो भनेर उहाँले मलाई जानकारी दिनुभयो, म छक्क परेँ । बाँकी रहेका आधा दोस्रो पटक दोस्रो प्रभुभोज सभामा उपस्थित हुनुहुने छ । पुनः, कुनै गुनासो थिएन—केवल मुस्कुराएका अनुहार र कृतज्ञ हृदयहरू मात्रै ।
एल्डर डी. टड क्रिस्टफरसनले यसपूर्व नै उल्लेख गरिसक्नुभएको हाम्रा धेरै युवाहरू संलग्न भएको विनासकारी ट्राफिक दुर्घटनाका कारण म पछि लेसोथो फर्किएँ । जब मैले परिवार र अगुवाहरूलाई भेटेँ, मैले उदास वातावरणको अपेक्षा गरेँ । तर त्यसको सट्टामा मैले दृढ र कोमल सन्तहरूलाई भेटेँ जसले परिस्थितिलाई उत्थान र प्रेरणादायी तरिकाले सामना गरिरहनुभएको थियो ।
यस फोटोमा दुर्घटनामा बाँचेकी पीडित १४ वर्षीया मुफु एनिसिया नुकुले यसलाई आफ्नै शब्दहरूमा राम्रोसँग चित्रण गरिन्: “येशूमा भरोसा राख्नुहोस् र सदैव उहाँलाई हेर्नुहोस् किनकि उहाँका माध्यमद्वारा तपाईंले शान्ति प्राप्त गर्नुहुने छ र उहाँले तपाईंलाई चङ्गाइ प्रक्रियामा सहयोग गर्नुहुने छ ।”
यी केही उदाहरणहरू मात्र हुन् जहाँ हामी तिनीहरूको सकारात्मक मनोवृत्ति देख्छौँ किनभने उनीहरूले आफ्नो जीवन येशू ख्रीष्टको सुसमाचारमा केन्द्रित गर्छन् । सहयोग र आशा कहाँ खोज्ने भनेर तिनीहरूलाई जानकारी छ ।
मुक्तिदाताको चङ्गाइ दिने शक्ति
मुक्तिदाताले हाम्रो जीवनको कुनै पनि परिस्थितिमा तिनीहरूलाई र हामीहरूलाई किन सहयोग गर्न सक्नुहुन्छ ? यसको उत्तर धर्मशास्त्रहरूमा पाउन सकिन्छ:
“अनि उहाँ अगाडि जानुहुने छ, प्रत्येक प्रकारका पीडाहरू र कष्टहरू र परीक्षाहरू सहेर । …
“… अनि उहाँले तिनीहरूका कमजोरीहरू आफूमाथि वहन गर्नुहुने छ ताकि उहाँको हृदय कृपाले भरियोस्, … ताकि उहाँले … आफ्ना मानिसहरूलाई तिनीहरूका कमजोरीहरूअनुसार कसरी सहायता गर्ने भनेर बुझ्न सक्नुहोस् ।
एल्डर डेभिड ए. बेड्नारले सिकाउनुभए जस्तै, मुक्तिदातालाई जानकारी नभएको हामीले अनुभव गर्ने कुनै पनि शारीरिक पीडा, वेदना वा कमजोरी छैन । “कमजोरीको क्षणमा तपाईं र म चिच्याउन सक्छौँ, ‘कसैले बुझ्दैन [म केबाट गुज्रिरहेको छु] ।’ संवभवत: कुनै पनि मानिसलाई जानकारी छैन । परन्तु परमेश्वरका पुत्रले परिपूर्ण रूपमा जान्नुहुन्छ र बुझ्नुहुन्छ ।” अनि किन ? किनभने “हामीले भन्दा पहिले नै उहाँले हाम्रो बोझ महसुस गर्नुभयो र वहन गर्नुभयो ।”
म मत्ती ११ मा पाइने ख्रीष्टका वचनहरूको मेरो गवाहीसँगै समापन गर्छु:
“मकहाँ आओ, सबै परिश्रम गर्ने र बोझले दबिएका, अनि म तिमीहरूलाई विश्राम दिने छु ।
“मेरो जूवा आफूमाथि लेओ र मसँग सिक; किनभने म विनम्र र कोमल हृदयको छु: अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम प्राप्त गर्ने छौ ।
“किनकि मेरो जूवा सजिलो छ र मेरो बोझ हलुका छ ।”
यो प्रतिज्ञा सत्य छ भनेर अफ्रिकाका ती सन्तहरूलाई जस्तै मलाई पनि थाहा छ । यो त्यहाँ सत्य छ र यो सर्वत्र सत्य छ । यो म येशू ख्रीष्टको नाममा गवाही दिन्छु, आमीन ।