ती एक जनालाई गरेको सेवाको शक्ति
हामीले ती एक जनालाई सेवा गर्दा हामी उहाँलाई येशू ख्रीष्टकहाँ आउन र परमप्रभुको गृहमा आराधना गर्न आमन्त्रण गर्छौँ ।
दिदीबहिनी तथा दाजुभाइहरू, यी चुनौतीपूर्ण समयहरूमा येशू ख्रीष्टकहाँ आउनुभएकोमा तपाईंहरूको आस्थावान् समर्पणका लागि धन्यवाद । तपाईंहरू अद्भुत हुनुहुन्छ; तपाईंहरू सुन्दर हुनुहुन्छ; तपाईंहरू प्रत्येक परमेश्वरका सन्तति हुनुहुन्छ । हामी येशू ख्रीष्टका समर्पित शिष्यहरू बन्दा र एकअर्कालाई पनि समर्पित बन्न सहयोग गर्दा हामीले पवित्र आत्माको प्रभावलाई पहिचान गर्न सक्ने छौँ र परमप्रभुको गृहमा आराधना गर्दा उहाँको प्रसन्नताको महसुस गर्ने छौँ भनेर मेरो प्रार्थना छ ।
अध्यक्ष रसल एम्. नेल्सनले घोषणा गर्नुभयो: “अब तपाईंहरू र मेरा लागि हाम्रा परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टको दोश्रो आगमनका लागि तयारी गर्ने समय हो । यो हाम्रो शिष्यत्वलाई सर्वोच्च प्राथमिकता दिने समय हो । सुसमाचारबाट विचलित गराउन सक्ने सांसारिक विषयहरू भएको संसारमा हामी यो कसरी गर्न सक्छौँ ?
उहाँले जवाफ दिनुभयो: “मन्दिरमा गरिने नियमित आराधनाले हामीलाई सहयोग गर्छ । परमप्रभुको गृहमा, हामी येशू ख्रीष्टमा ध्यान केन्द्रित गर्छौँ ।… हामी उहाँसँग परिचित हुन्छौँ ।… इमानदारितापूर्वक येशू ख्रीष्टलाई खोज्ने प्रत्येकले उहाँलाई मन्दिरमा भेट्टाउनुहुने छ ।.”
त्यसोभए हामी कसरी समर्पित शिष्य बन्न सक्छौँ र एकअर्कालाई येशू ख्रीष्टका समर्पित शिष्यहरू बन्नका लागि सहयोग गर्न सक्छौँ ? हामी ती एक जनालाई सेवा गर्छौँ । मुक्तिदाताको तरिकामा सेवा गर्दा करुणा, दया, धीरता र न्याय बिनाको प्रेम समावेश हुन्छ । हामीले ती एक जनालाई सेवा गर्दा, हामी उहाँलाई येशू ख्रीष्टकहाँ आउन र उहाँको उद्धारको शक्ति प्राप्त गर्नका लागि परमप्रभुको गृहमा आराधना गर्न आमन्त्रण गर्छौँ । अर्को शब्दमा, जब हामी परमप्रभुको गृहमा अगुवाइ गर्ने तरिकामा ती एक जनाको सेवा गर्छौँ, हामी एकअर्कालाई समर्पित शिष्य बन्न सहयोग गर्छौँ ।
प्रेम र न्याय बिना ती एक जनालाई गर्ने सेवाको शक्ति हामीले परमप्रभु येशू ख्रीष्टबाट सिक्छौँ । इनारमा बसेकी सामरी महिलाको तपाईंहरूलाई स्मरण छ । ती महिलाले आफूलाई महत्त्वहीन, एक्लो, निराश र वेवास्ता गरिएको महसुस गरेको हुन सक्छ । उनलाई आफू त्यहाँ हुन योग्य नभएको महसुस भएको हुन सक्छ । जीवनभर उनका पाँच जना श्रीमानहरू थिए र उनी जुन पुरुषसँग बसिरहेकी थिइन् ती उनका श्रीमान् थिएनन् । अरूहरूले उनको जीवनको परिस्थिति नबुझी अनुचित अनुमान लगाएको हुन सक्छ । दिनको सबैभन्दा गर्मी समयमा उनी एक्लै इनारमा आउनुको एउटा कारण यो पनि हुन सक्छ । अनि तैपनि, उनी पहिलो व्यक्ति थिइन् जसलाई येशू ख्रीष्टले आफू मसीह हुनुभएको घोषणा गर्नुभयो । उहाँका लागि, यी महिला परमेश्वरकी छोरी थिइन् ।
येशू ख्रीष्टले ती महिलालाई सिकाउनुभयो कि उहाँद्वारा जीवित पानी पिएर कसैले पनि अनन्त जीवन प्राप्त गर्न सक्छन् । उहाँले घोषणा गर्नुभयो, “जसले मैले दिने पानी पिउँछ … ऊ कहिल्यै तिर्खाउने छैन; तर मैले दिने पानी … अनन्त जीवनका निम्ति उम्रिरहने पानीको मूल … बन्ने छ ।”
सामरियाकी महिलाले मुक्तिदाताको प्रेम महसुस गरिन् र आत्माद्वारा उहाँ मसीह हुनुहुन्छ भन्ने गवाही प्राप्त गरिन् । यो गवाहीपछि, उनी सहर फर्किन् अरुहरूलाई हेर्न आउन आमन्त्रण गरिन् र धेरैले येशूलाई “साच्चैँ ख्रीष्ट, संसारका मुक्तिदाता हुनुहुन्छ” भनेर विश्वास गरे । ख्रीष्टले ती एक जनाको प्रेमपूर्वक सेवा गर्नुभयो; फलस्वरूप, धेरै अरुहरू उहाँका समर्पित शिष्यहरू बन्नुभयो ।
करुणा सहित कुनै ती एक जनालाई गर्ने सेवाको शक्तिका सम्बन्धमा हामी ख्रीष्टका प्रेरितहरू पत्रुस र यूहन्नाबाट सिक्छौँ । तपाईंहरूलाई स्मरण छ, जन्मैदेखि लङ्गडा एक मानिस दिनहुँ मन्दिरको ढोकामा पैसा माग्दै बस्थे । यी मानिसले आफूलाई महत्त्वहीन, एक्लो, निराश र वेवास्ता गरिएको महसुस गरेको हुन सक्छ । तिनलाई आफू त्यहाँ हुन योग्य नभएको महसुस भएको हुन सक्छ ।
“तब पत्रुसले भने, सुन र चाँदी मसँग छैन; तर जे मसँग छ त्यो [म] तिमी[लाई] दिन्छु: नासरतका येशू ख्रीष्टको नाममा उठ र हिँड ।”
पत्रुसले ती मानिसलाई दाहिने हात समातेर माथि उठाउनुभयो र ती मानिसलाई निको भयो । त्यो चमत्कारको लगत्तै पछि ती मानिस पत्रुस र यूहन्नासँगै “हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै” मन्दिरमा प्रवेश गरे । पत्रुस र यूहन्नाले परमप्रभुको गृहतर्फ अगुवाइ गर्ने तरिकामा ती एक जनाको सेवा गर्नुभयो र ती मानिस ख्रीष्टको समर्पित शिष्य बने ।
मेरा मित्रहरू, मेरो जीवनमा यस्ता क्षणहरू आएका छन् जहाँ मैले पनि आफूलाई महत्त्वहीन, एक्लो, निराश र वेवास्ता गरिएको महसुस गरेको छु । मलाई आफू त्यहाँ हुन योग्य नभएको महसुस भएको छ । १९ वर्षको उमेरमा मैले पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा बप्तिस्मा लिएँ र सदस्यका रूपमा प्रमाणीकरण प्राप्त गरेँ । एक वर्ष पछि मैले पूर्णकालिन सुसमाचार प्रचारकका रूपमा सेवा गर्ने बोलावटलाई स्वीकार गरेँ तर चर्चको इतिहासका सम्बन्धमा मैले अझै धेरै विषयहरू सिकेको थिइनँ ।
त्यहाँ एक समय थियो जब अफ्रिकी मूलका काला मानिसहरूलाई परमप्रभुको घरमा आराधना गर्ने सबै आशीर्वादहरूको आनन्द लिने अनुमति थिएन भनेर मेरो सुसमाचार प्रचारको सेवाको प्रारम्भमा मैले जानेँ । पहिलो पटक यो विषय जान्दा मनमा रिस, भ्रम, शङ्का र भयको भावना उत्पन्न भयो । यी भावनाहरू यति तीव्र थिए कि पवित्र आत्माको पहिचान गर्ने मेरो क्षमता केही समयका लागि हरायो ।
भाग्यवश, मेरो केभिन विक नामक एक असल सुसमाचार प्रचारक मित्र हुनुहुन्थ्यो जसले मेरो प्रेम, धीरता र दयाका साथ सेवा गर्नुभयो । हरेक रात जब उहाँले मेरो शङ्का र अनिश्चितताको भावना देख्नुहुन्थ्यो, उहाँले युवा एल्डर जनसनलाई केवल यसो भन्नुहुन्थ्यो, “म तिमीलाई प्रेम गर्छु ।” लगभग दुई हप्तापछि, मैले केभिनको माया महसुस गर्न आफूलाई अनुमति दिएँ । मैले येशू ख्रीष्टको नाममा स्वर्गका पितालाई प्रार्थना गर्ने साहस प्राप्त गरेँ । प्रार्थना गर्दा म सिद्धान्त र करारको खण्ड ६, पद २१–२३ तर्फ आकर्षित भएँ, जहाँ भनिएको छ:
“हेर, म परमेश्वरको पुत्र येशू ख्रीष्ट हुँ ।… म अँध्यारोमा चम्कने ज्योति हुँ ।…
“… तिम्रो मष्तिष्कमा त्यो रात सम्झ जब तिमीले मलाई आफ्नो हृदयमा पुकार्यौ ताकि तिमीले यी विषयहरूको सत्यताका सम्बन्धमा जान्न सक्ने छौ ।
“के मैले यस विषयमा तिम्रो मस्तिष्कमा शान्तिको अभिव्यक्ति दिएको छैन ? परमेश्वरबाट यो भन्दा ठूलो गवाही के हुन सक्छ ?”
पढ्दै जाँदा मलाई स्मरण भयो । मलाई त्यो दिनको स्मरण भयो जुन दिन मैले मोर्मोनको पुस्तक परमेश्वरको वचन हो र जोसेफ स्मिथ पुनर्स्थापनाको अगमवक्ता हुनुहुन्छ भनेर जान्नका लागि उपवास बसेको र प्रार्थना गरेको थिएँ । मलाई परमप्रभुको गृहमा येशू ख्रीष्टसँग यति व्यक्तिगत र घनिष्ठ तरिकाले जोड्न गरिएका ती करारहरूको स्मरण भयो । मुक्तिदाताको प्रेम, उहाँको कृपा र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च पृथ्वीमा उहाँको अधिराज्य हो र उहाँको दोस्रो आगमनका लागि हामीलाई तयार पार्न यो आवश्यक छ भन्ने उहाँको आश्वासन मैले महसुस गरेँ । मैले स्मरण गरेको हुनाले, म पुनः पवित्र आत्माको पहिचान गर्न र येशू नै ख्रीष्ट हुनुहुन्छ र म उहाँको शिष्य हुँ भनेर पूर्ण रूपमा बुझ्न सक्षम भएँ ।
कहिलेकाहीँ हामीमा अनुत्तरित प्रश्नहरू र महत्त्वहीन, निराश, एक्लो भएको र वेवास्ता गरिएको भावना आउने छ; यद्यपि, मेरा मित्रहरू, हामीले येशू ख्रीष्टमा आस्थाका साथ अघि बढ्नु पर्छ र उहाँका शब्दहरू स्मरण गर्नु पर्छ:
“संसारमा तिमीहरूलाई सङ्कष्ट हुने छ: तर खुसी होऊ; मैले संसारलाई जितेको छु ।”
म यो वास्तविकता र मुक्तिदाताको प्रतिज्ञा गरिएको आशीर्वादको गवाही हुँ ।
त्यसोभए मुक्तिदाताको तरिकामा हामीले गर्ने ती एक जनाको सेवा सबैभन्दा प्रभावकारी होस् भनेर के गर्न सक्छौँ ? ख्रीष्टको सिद्धान्तअनुसार जीवन जिउनाले हामीलाई सहयोग मिल्ने छ । अध्यक्ष नेल्सनले वर्णन गर्नुभए जस्तै “ख्रीष्टको सिद्धान्तमा जीवन जिउनाले सबैभन्दा शक्तिशाली सद्गुण चक्र उत्पादन गरेर हाम्रो जीवनमा आध्यात्मिक गति सिर्जना गर्न सकिन्छ ।
येशू ख्रीष्टका उच्च नियमहरू पालना गर्ने प्रयास गर्दा … मुक्तिदाताले हामीलाई अधिक करुणा, विनम्रता, उदारता, दया, आत्म-अनुशासन, शान्ति र विश्रामका साथ आशीर्वाद दिएर यस पतित संसारको प्रभावबाट माथि उठाउनुहुन्छ ।”
एल्डर डेल जी. रेनलण्डले वर्णन गर्नुहुन्छ, “ख्रीष्टको सिद्धान्तमा जीवन जिएर उत्पादन गरिएको [यो आध्यात्मिक] गतिले हाम्रो दैवी प्रकृतिलाई हाम्रो अनन्त गन्तव्यमा रूपान्तरण गर्ने शक्ति मात्र प्रदान गर्दैन परन्तु यसले हामीलाई उपयुक्त तरिकामा अरूहरूलाई सहयोग गरेर [सेवा गर्न] पनि उत्प्रेरित गर्छ ।” एल्डर रेनलण्डले हामीलाई स्मरण गराउनुहुन्छ “मुक्तिदाताको कार्य चङ्गाइ दिनु हो [हामीलाई पूर्ण बनाउनु] हो । हाम्रो कार्य भनेको प्रेम गर्नु हो—अरुहरूलाई येशू ख्रीष्टतर्फ आकर्षण गरी प्रेम गर्नु र सेवा गर्नु हो ।”
मोर्मोनको पुस्तकको दैनिक अध्ययन र साप्ताहिक रूपमा प्रभुभोज ग्रहण गर्ने कार्यद्वारा ख्रीष्टको सिद्धान्तअनुसार जीवन जिउने हाम्रो क्षमता बढ्ने छ । मोर्मोनको पुस्तकले “ख्रीष्टको सिद्धान्त सिकाउँछ … [र] येशू ख्रीष्टको प्रायश्चितको पूर्ण र [स्पष्ट] बुझाइ प्रदान गर्दछ जुन कहिँ पनि प्राप्त गर्न सकिन्छ भनेर अध्यक्ष नेल्सनले घोषणा गर्नुभयो ।” मलाई यो पुस्तक मन पर्छ । अनि प्रत्येक हप्ता प्रार्थनापूर्वक प्रभुभोजको विधिमा सहभागी हुनाले येशू ख्रीष्टको प्रायश्चितका सम्बन्धमा हाम्रो बुझाइमा वृद्धि हुने छ र हाम्रो जीवनमा आध्यात्मिक नवीकरण, सान्त्वना र दैवी शक्ति प्राप्त हुने छ । स्मरण रहोस्, “[पादरित्वका] विधिहरूमा, दैवी शक्ति प्रकट हुन्छ,” र येशू ख्रीष्टबाट प्राप्त हुने यो शक्तिले हाम्रो चाहना र ती एक जनाको सेवा गर्ने हाम्रो क्षमतालाई मजबुत बनाउँछ ।
मोर्मोनको पुस्तकको मेरो अध्ययन र प्रभुभोज ग्रहण गर्नाले निराशाको भावनालाई कम गर्छ, मुक्तिदाताको तरिकामा ती एक जनाको सेवा गर्ने मेरो दृढ सङ्कल्पलाई वृद्धि गर्छ र मलाई शिष्यत्वलाई मेरो सर्वोच्च प्राथमिकतामा राख्न सहयोग गर्छ ।
मेरा मित्रहरू, जब हामी ख्रीष्टका सिद्धान्तलाई पालना गर्छौँ र परमप्रभुको गृहमा अगुवाइ गर्ने तरिकामा ती एक जनाको सेवा गर्छौँ, हामी अनुत्तरित प्रश्नहरू र महत्त्वहीन, एक्लो, निराश र वेवास्ता गरिएका भावनाहरूका बीचमा पनि येशू ख्रीष्टमा आस्था सहित अघि बढ्ने छौँ भनेर म प्रतिज्ञा गर्छु । हामी ती एक जनालाई येशू ख्रीष्टकहाँ आउन र उहाँको उद्धार गर्ने शक्ति र प्रेम प्राप्त गर्नका लागि परमप्रभुको गृहमा आराधना गर्न आमन्त्रण गर्ने छौँ । परमप्रभुको घरमा, हामी “[मुक्तिदाताको] कृपा महसुस गर्ने छौँ ।” [हामी]ले हाम्रा सबैभन्दा अप्रिय प्रश्नहरूको जवाफ प्राप्त गर्ने छौँ । [अनि हामी] उहाँको सुसमाचारको प्रसन्नतालाई अझै राम्ररी बुझ्ने छौँ ।” येशू ख्रीष्टको नाममा, आमीन ।