परमेश्वरका अगमवक्ताहरू
दोस्रो आगमन नभएसम्म हरेक असल कार्यलाई निरन्तरता दिनका लागि अगमवक्ताको आवाज सुन्नु र पालना गर्नु महत्त्वपूर्ण छ ।
प्रिय युवाहरू, हामीले कति सुन्दर सम्मेलन सत्रमा भाग लिइरहेका छौँ ! हामीले येशू ख्रीष्टका तीन जीवित प्रेरितहरूका वक्तव्यहरू यसपूर्व नै सुनिसकेका छौँ । यो कस्तो अद्भुत आशीर्वाद हो ! अनि हामी अझै पनि एल्डर हेनरी बी. आइरिङले बोल्नुहुने थप अर्को एक व्यक्तव्य सुन्ने छौँ । आध्यात्मिक भोज निरन्तर रहन्छ !
गत वर्ष मैले सम्बोधन गर्दा हामीले गोल्यतसँगको दाऊदको अनुभवबाट यस संसारको सामना कसरी गर्ने भनेर सिक्यौँ । के पाँच ढुङ्गाहरू सम्झनुहुन्छ ? आज म तपाईंहरूको उमेरमा पढेको पुरानो करारको एउटा कथा बाँड्दै छु जसले मलाई यसको प्रधान पात्र जस्तै बन्ने चाहना जगायो । बाइबलले हामीलाई उनको नाम बताउँदैन, त्यसैले हामी उनलाई शुनेमकी महिला भन्ने छौँ किनभने यो उनको सहरको नाम हो ।
एक दिन अगमवक्ता एलीशा शुनेम हुँदै जाँदै हुनुहुन्थ्यो र हामीले पढ्छौँ कि त्यहाँ “एउटी महान् महिला थिइन्; र उनले रोटी खानका लागि उहाँलाई [आमन्त्रण] गरिन् । अनि यस्तो भयो कि जब जब उहाँ त्यस मार्ग हुँदै जानुहुन्थ्यो, उहाँ रोटी खानका लागि … भित्र पस्नुहुन्थ्यो ।” मलाई लाग्छ अगमवक्ता एलीशा उनको घरमा खाना खान निम्तो पाउँदा धेरै खुसी हुनुभएको थियो होला ! उहाँ यसपूर्व पनि धेरै पटक जानुभएको थियो, जब एक दिन ती महिलाले आफ्ना पतिलाई भनिन्, “उहाँ परमेश्वरका पवित्र मानिस हुनुहुन्छ भनेर अब म बुझ्छु ।
ती महिला भन्छिन्, “अब, म बुझ्छु ।” यस्तो देखिन्छ कि उनले एलीशालाई अगमवक्ता हुनुहुन्छ भनेर नचिनेर नै आफ्नो घरमा आमन्त्रण गरेकी थिइन्; एलीशाले भन्नुभएका र सिकाउनुभएका विषयहरू ध्यानपूर्वक सुनेर उनले पवित्र आत्माद्वारा आफ्नो गवाही प्राप्त गरिन् । (स्मरण रहोस्, त्यस समयमा कुनै तस्वीरहरू थिएनन् ! त्यसैले अगमवक्तालाई उहाँको अनुहारबाट मात्र पहिचान गर्न कठीन थियो ।)
परन्तु कथा त्यहाँ समाप्त हुँदैन । एक दिन ती महिलाले आफ्ना पतिलाई भनिन्, “हामी एक सानो कोठा बनाऔँ … र त्यहाँ उहाँका लागि एक ओछ्यान, एक टेबुल, एक स्टुल र एउटा मैनबत्ती राखौँ: अनि उहाँ हामीकहाँ आउनुहुँदा उहाँ भित्र आउनुहुने छ ।”
यी आस्थावान् महिलाले आफ्नो घरमा एउटा छुट्टै कोठा बनाउन चाहिन् ताकि सहरबाट त्यही बाटो हुँदै जानुहुने अगमवक्तालाई बस्नका लागि ठाउँ मिलोस् !
आज हामी यो अनुभवबाट एक प्रभावशाली शिक्षा सिक्न सक्छौँ ।
परमप्रभुले शुनेमकी ती महिलालाई गवाही दिनुभयो कि एलीशा परमेश्वरका अगमवक्ता हुनुहुन्थ्यो र तिनले उहाँलाई स्वागत् गर्नका लागि तिनका घर खोलिन् ।
हामीले पनि आज परमेश्वरका अगमवक्ताहरूको व्यक्तिगत गवाही प्राप्त गर्न सक्छौँ र यी पछिल्ला दिनहरूमा स्वर्गका हाम्रा पिताले हाम्रा लागि राख्नुभएका सन्देशका लागि हाम्रो हृदय र मस्तिष्क—हाम्रो घर—खोल्न सक्छौँ ।
प्रिय युवाहरू, म तपाईंहरू आफैँलाई यो प्रश्न सोध्न आमन्त्रण गर्छु: “के मसँग परमेश्वरका जीवित अगमवक्ताहरूका सम्बन्धमा व्यक्तिगत गवाही छ ?”
प्रारम्भबाट सुरु गरौँ ।
अगमवक्ता भनेको को हुनुहुन्छ ? अगमवक्ता भनेको त्यस्तो मानिस हुनुहुन्छ जसलाई परमेश्वरले आफ्नो तर्फबाट बोल्न बोलावट गर्नुभएको छ । प्राचीन समयहरूमा जस्तै आज पनि पृथ्वीमा अगमवक्ताहरू हुनुहुन्छ ।
अगमवक्ताहरू द्रष्टा र प्रकाशकहरू हुनुहुन्छ । यसको अर्थ उहाँहरूले अरुहरूले देख्न नसक्ने चीज देख्न सक्नुहुन्छ र उहाँहरूले भविष्यका घटनाहरूको भविष्यवाणी गर्न सक्नुहुन्छ । उहाँहरूले हामीलाई विपत्तिहरूका लागि पनि तयार पार्न सक्नुहुन्छ । अगमवक्ताहरूले परमप्रभुबाट आज्ञा र प्रकाशहरू प्राप्त गर्नुहुन्छ । आस्थाका बुँदाहरूको नवौँ बुँदाले यी अन्तिम दिनहरूमा निरन्तर प्रकाशका सम्बन्धमा बताउँछ । यसले भन्छ, “हामी परमेश्वरले प्रकट गरिसक्नुभएका सबै विषयहरू, उहाँले अहिले प्रकट गरिरहनुभएका सबै विषयहरूमा विश्वास गर्छौँ र हामी विश्वास गर्छौँ कि उहाँले परमेश्वरको अधिराज्यसँग सम्बन्धित धेरै महान् र महत्त्वपूर्ण विषयहरू प्रकट गर्नुहुने छ ।”
एल्डर गेरी ई. स्टीभन्सनले भन्नुभयो, “परमप्रभुले आज आफ्ना अगमवक्ताहरूलाई आफ्ना आज्ञाहरू र चाहनाहरू प्रकट गरिरहनुभएको छ किनभने उहाँले हामीलाई यस जीवनमा खुसी र अर्को जीवनमा सेलेस्टियल अधिराज्यको महिमामा अगुवाइ गर्न चाहनुहुन्छ ।”
अगमवक्ताहरूले सुसमाचारको घोषणा पनि गर्नुहुन्छ र उहाँहरू पृथ्वीमा सबैका लागि परमेश्वरका प्रेरित शिक्षक र सन्देशवाहक हुनुहुन्छ ।
प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणका प्रत्येक सदस्य एक अगमवक्ता, द्रष्टा र प्रकाशक हुनुहुन्छ । परमप्रभुको निर्देशनमा परिषद्का रूपमा सेवा गर्दै गर्दा उहाँहरूसँग सिद्धान्त घोषणा गर्ने र व्याख्या गर्ने र उहाँको चर्चका लागि नीति स्थापना गर्ने अधिकार हुन्छ । उहाँहरूले ध्यानपूर्वक प्रार्थना गर्नुहुन्छ र विचार गर्नुहुन्छ किनकि यी गणहरूका निर्णयहरू सर्वसम्मत हुनु पर्छ । उहाँको चाहना पूरा हुने छ भनेर यसरी परमप्रभुले हामीलाई आश्वासन दिनुहुन्छ ।
अगमवक्ताहरूले ख्रीष्टको गवाही दिनुहुन्छ—उहाँको अस्तित्व, उहाँको सेवा र उहाँको देवत्वको गवाही दिनुहुन्छ ।
मोर्मोनको पुस्तकका अगमवक्ताहरूका केही गवाहीहरू पढौँ ।
अबिनादीले घोषणा गर्नुभयो:
“परमेश्वरस्वयम् मानिसहरूका सन्ततिहरूका बीचमा तल आउनुहुने छ र आफ्ना मानिसहरूलाई छुटकारा दिनुहुने छ ।
“अनि किनभने उहाँ मरणशील शरीरमा बास गर्नुहुने हुनाले उहाँ परमेश्वरका पुत्र कहलाइनुहुने छ ।”
शमूएल लामानीले पनि येशू ख्रीष्ट “परमेश्वरका पुत्र, स्वर्ग र पृथ्वीका पिता, प्रारम्भ देखि नै सबै चीजका सृष्टिकर्ता” हुनुहुन्छ भनेर गवाही दिनुभयो ।
अनि अगमवक्ता मोरोनीले भन्नुभयो, “मैले येशूलाई देखेको छु र … उहाँले मसँग आमनेसामने वार्तालाप गर्नुभएको छ ।
जब ख्रीष्टले नफीहरूलाई भेट्नुभयो उहाँले गर्नुभएका कार्यहरू मध्येका एक कार्य बाह्र प्रेरितहरूको बोलावट गर्नु थियो । अनि उहाँले मानिसहरूलाई भन्नुभयो, “यदि तिमीहरूले मैले छनोट गरेका यी बाह्र जनाका वचनहरूमा ध्यान दियौ भने तिमीहरू आशीषित हुन्छौ ।”
अब, म आमाबाबु वा केटाकेटीहरू हुर्काउने परिवारका अन्य सदस्यहरूका लागि केही शब्दहरू बाँड्न चाहन्छु । परमप्रभुस्वयम् ले आदम र हब्बालाई मुक्तिको योजनाको सत्यता सिकाउनुभयो । अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एक आज्ञा दिन्छु, आफ्ना छोराछोरीहरूलाई यी विषयहरू स्वतन्त्रतापूर्वक सिकाऊ ।”
स्वतन्त्र रूपमा सिकाउनुको अर्थ के हो ? यो सुसमाचारका सत्यहरू सिक्नु, तिनीहरूका सम्बन्धमा व्यक्तिगत गवाही हुनु र त्यो ज्ञान हाम्रा छोराछोरीहरूसँग बाँड्नु हो । यसले औपचारिक र अनौपचारिक दुबै शिक्षण क्षणहरूलाई प्रवर्द्धन गरिरहेको छ । यो त्यो ज्ञान र गवाहीअनुसार जिउनु हो ।
मोर्मोनको पुस्तकले २,०६० नवयुवक योद्धाहरूलाई “सत्य र संयमी मानिसहरू” भनेर वर्णन गर्छ “किनकि उनीहरूलाई परमेश्वरका आज्ञाहरू पालना गर्न र उहाँका अगाडि इमानदारीपूर्वक हिँड्न सिकाइएको थियो ।” यी युवाहरूले आस्थावान् भएर हेलामानको आज्ञा पालना गरे, जो त्यस समयमा तिनीहरूका सैन्य अगुवा र तिनीहरूका अगमवक्ता पनि थिए र तिनीहरूले बुझे कि तिनीहरूका आमाहरूले तिनीहरूको हृदय सत्य र आस्थाले भरिदिएका थिए ।
आमाबाबु, यस संसारमा जहाँ धेरै आवाजहरू छन् र कहिलेकाहीँ धेरै अन्धकार छ, परमेश्वर आफूस्वयम् ले हामीलाई हाम्रा छोराछोरीहरूलाई प्रकाश र सत्यमा हुर्काउन आज्ञा दिनुभएको छ । उहाँले हाम्रा छोराछोरीहरूलाई सुसमाचारको रक्षा गर्ने सत्यताहरू सिकाउने जिम्मेवारी हामीलाई सुम्पनुभयो । यदि हामीले त्यसो गर्न असफल भयौँ भने, संसारले सिकाउने छैन ।
प्रिय युवा साथीहरू, मसँग तपाईंहरूका लागि एक आमन्त्रण छ: आगामी दिनहरूमा, म तपाईंहरूलाई घुँडा टेक्न, आफ्नो हृदय खोल्न र आस्थाका साथ स्वर्गका पितालाई प्रार्थना गर्न र उहाँलाई उहाँले छनोट गर्नुभएका अगमवक्ता र प्रेरितहरू आज पृथ्वीमा येशू ख्रीष्टको वाणी हुनुहुन्छ भनेर तपाईंहरूलाई प्रमाणित गरिदिनका लागि आग्रह गर्न आमन्त्रण गर्छु ।
शुनेमकी महिलाले हामीलाई पवित्र आत्माका माध्यमद्वारा हामीले त्यो गवाही प्राप्त गर्न सक्छौँ भनेर सिकाउनुभयो । म तपाईंहरूलाई प्रतिज्ञा गर्छु कि उहाँहरू परमेश्वरका अभिषिक्त जनहरू हुनुहुन्छ भनेर एकपटक हामीले जान्यौँ भने हाम्रा निरन्तर चुनौतीहरूका बावजुद पनि हाम्रो जीवन सहज हुने छ किनकि हामी विश्वास, आस्था र आशाका साथ उहाँहरूको वाणी पालना गर्ने छौँ । हाम्रा मुक्तिदाताको दोस्रो आगमन नहुँदासम्म हरेक असल कार्यलाई अनुसरण गर्नु अगमवक्ताको आवाज सुन्नु र पालना गर्नु महत्त्वपूर्ण छ ।
संसारको दुष्टता बढ्दै छ तर येशू ख्रीष्टको चर्च र उहाँको अधिराज्य पहिलेभन्दा मजबुत भएका छन् । सियोनले आफ्नो सुन्दर पोशाक लगाइरहेको छ र ख्रीष्टको सिंहासन ढल्ने छैन । परमप्रभुले हामी हाम्रा गवाहीहरूमा मजबुत भएको, आस्थाले भरिपूर्ण भएको र दैनिक पश्चात्ताप गरेको चाहनुहुन्छ । हाम्रा मुक्तिदाता येशू ख्रीष्टले हामी प्रत्येकलाई उहाँको कार्य अगाडि बढाउन कार्यमा भरोसा गरिरहनुभएको छ ।
एक पटक, अगमवक्ता जोसेफ स्मिथले भन्नुभयो, “दाजुभाइहरू, के हामी यति ठूलो कार्यमा अगाडि बढ्ने छैनौँ ?” यद्यपि, मेरो सन्देश मुख्यतया तपाईंहरू, युवाहरूका लागि भएकाले, म दाजुभाइहरू को सट्टा युवा शब्द प्रयोग गर्न चाहन्छु । तयार हुनुहुन्छ ?
[युवाहरू], के हामी यति ठूलो उद्देश्यमा अगाडि बढ्ने छैनौँ ? अगाडि बढ्नुहोस् र पछाडि होइन । साहस, [युवाहरू]; अगाडि विजयका लागि अगाडि बढ्नुहोस् ! तपाईंहरूको हृदय आनन्दित होस् र अत्यन्तै खुसी होस् ।”
जीवित अगमवक्ताहरूको मार्गदर्शन र पवित्र प्रयासका लागि म कृतज्ञ छु । उहाँहरूलाई आज पृथ्वीमा उहाँको राज्यलाई अगाडि बढाउन, स्थापना गर्न र नेतृत्व गर्न परमेश्वरले बोलाउनुभएको हो भनेर म मेरो उत्कृष्ट गवाही दिन्छु । अनि यो सदैव यस्तै हुने छ । सेवकहरूलाई छनोट गर्ने सदैव परमप्रभु नै हुनुहुने छ । येशू ख्रीष्टको नाममा, आमीन ।