तपाईंले पाउनु पर्ने कृपा नत्याग्नुहोस्
तपाईंहरूका मानवीय कमजोरीहरूका बावजुद तपाईंहरूसँग दैवी सहयोग र चङ्गाइका लागि तत्कालै पहुँच उपलब्ध छ ।
एउटा ह्वेलले—ठूलो भए तापनि—मानिसलाई निल्न सकेन किनभने ह्वेलको घाँटी सानो हुन्छ भनेर एक विद्यालयका शिक्षिकाले सिकाउनुभयो । एउटी बालिकाले आपत्ति जनाइन्, “तर योनालाई ह्वेलले निलेको थियो ।” शिक्षिकाले जवाफ दिनुभयो “यो असम्भव छ ।” अझै पनि विश्वस्त नभएकी बालिकाले भनिन्, “ठीक छ, जब म स्वर्ग जान्छु, म उहाँलाई सोध्ने छु ।” शिक्षकले जिस्किँदै सोध्नुभयो, “यदि योना पापी भएको भए र स्वर्गमा नगएको भए के गर्ने नि ?” बालिकाले जवाफ दिइन्, “त्यसो भए तपाईं उहाँलाई सोध्न सक्नुहुन्छ ।”
हामी हाँस्छौँ तर योनाको कथाले “खुसीको विनम्र खोजी गर्ने” प्रत्येकलाई विशेष गरी सङ्घर्ष गरिरहेकाहरूलाई प्रदान गर्ने शक्ति हो जुन हामीले गुमाउनु हुँदैन ।
परमेश्वरले योनालाई पश्चात्ताप घोषणा गर्न “निनवे जाऊ” भनेर आज्ञा दिनुभयो । परन्तु निनवे प्राचीन इस्राएलको क्रूर शत्रु थियो—त्यसैले योना तत्कालै ठीक विपरीत दिशामा डुङ्गा चढेर तर्शीशतर्फ लाग्छन् । उनी आफ्नो बोलावटबाट टाढा जाँदै गर्दा जहाज डुबाउने आँधी आउँछ । योनाको अनाज्ञाकारिता नै यसको कारण हो भन्ने विषय निश्चित हुन्छ, त्यसैले योनाले आफूलाई डुङ्गाबाट फ्याँकिदिनका लागि स्वेच्छा व्यक्त गर्छन् । यसले उग्र समुद्रलाई शान्त पार्छ, जसले उनका जहाजका साथीहरूलाई बचाउँछ ।
चमत्कारिक रूपमा योना मृत्युबाट बच्छन् जब परमप्रभुले “तयार पार्नुभएको” “ठूलो माछा”ले उनलाई निल्छ । परन्तु अन्ततः उनलाई सुक्खा जमिनमा नथुकिँदासम्म त्यो अविश्वसनीय अँध्यारो र दुर्गन्धित स्थानमा उनी तीन दिनसम्म रहन्छन् । त्यसपछि उनले निनवेका लागि आफ्नो बोलावटको स्वीकार गर्छन् । तैपनि, जब सहरले पश्चात्ताप गर्छ र विनाशबाट बच्छ, योनाले आफ्ना शत्रुहरू प्रति देखाइएको कृपाका लागि अप्रसन्न हुन्छन् । परमेश्वरले आफ्ना सबै सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ र बचाउन खोज्नुहुन्छ भनेर उहाँले योनालाई धीरतापूर्वक सिकाउनुहुन्छ ।
आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा एक भन्दा धेरै पटक ठक्कर खाँदै योनाले गवाही दिन्छन् कि मरणशीलतामा “सबै पतन भएका छन्” । प्रायश: हामी पतनको गवाहीका सम्बन्धमा चर्चा गर्दैनौँ । परन्तु हामीमध्ये प्रत्येक नैतिक, शारीरिक र परिस्थितिजन्य चुनौतीहरूसँग किन सङ्घर्ष गर्छौँ भन्ने विषयको सैद्धान्तिक बुझाइ र आध्यात्मिक गवाही हुनु एक महान् आशीर्वाद हो । यहाँ पृथ्वीमा नकारात्मक र अप्रिय चीजहरू हुन्छन् र सबैले “पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” परन्तु यो नश्वर अवस्था—आदम र हब्बाले गरेका छनोटहरूको परिणाम—हामी अस्तित्वमा हुनुको कारणका लागि आवश्यक छ: “ताकि [हामी]ले प्रसन्नता प्राप्त गर्न सक्छौँ”! हाम्रा प्रथम मातापिताले सिकेजस्तै, पतित संसारको तीतोपना र पीडा महसुस गरेबिना के हामीले वास्तविक खुसीको कल्पना गर्न सक्छौँ, आनन्द लिनु त परको विषय हो ।
पतनको गवाहीले पाप वा जीवनमा आफ्ना कर्तव्यहरू प्रतिको उदासीन मनोवृत्तिलाई क्षमा गर्दैन जसले सदैव लगनशीलता, सद्गुण र जवाफदेहिताका लागि आह्वान गर्छ । परन्तु बिना कारण नकारात्मक चीजहरू हुन्छन् वा हामी परिवारका सदस्य, साथी वा अगुवामा नैतिक असफलता देक्छौँ तब यसले हाम्रो निराशालाई कम गर्नु पर्छ । यस्ता धेरैजसो कार्यहरूले हामीलाई विवादास्पद आलोचना वा आक्रोशमा डुब्न बाध्य बनाउँछन् जसले हाम्रो आस्थालाई लुट्छन् । परन्तु पतनको दृढ गवाहीले हामीलाई योनाले वर्णन गर्नुभएका परमेश्वर जस्तै बन्न सहयोग गर्न सक्छ अर्थात् सबैप्रति “दयालु, क्रोधमा सुस्त र महान् दया” हुनु पर्छ—हामीस्वयम् प्रति पनि—हाम्रा अपरिहार्य अपूर्ण अवस्थामा सहयोग गर्नु पर्छ ।
पतनका प्रभावहरू प्रकट गर्नुभन्दा पनि बढी योनाको कथाले शक्तिशाली रूपमा हामीलाई उहाँतर्फ निर्देशित गर्छ जसले हामीलाई ती प्रभावहरूबाट मुक्त गर्न सक्नुहुन्छ । आफ्ना जहाजका साथीहरूलाई बचाउन योनाको आत्म-बलिदान वास्तवमा नै ख्रीष्ट जस्तै छ । अनि तीन पटकसम्म जब येशूलाई उहाँको देवत्वको चमत्कारी सङ्केतका लागि जोड दिइन्छ, उहाँले शक्तिका साथ भन्नुहुन्छ कि “योनाको चिन्हबाहेक … अरु कुनै चिन्ह दिइने छैन,” घोषणा गर्दै कि जसरी योना “तीन दिन र तीन रात ह्वेलको पेटमा थिए; त्यसरी नै मानिसका पुत्र पनि तीन दिन र तीन रात पृथ्वीको मुटुमा रहनुहुने छ ।” मुक्तिदाताको बलिदानपूर्ण मृत्यु र गौरवशाली पुनरुत्थानको प्रतीकका रूपमा योना त्रुटिपूर्ण हुन सक्छन् । परन्तु यही विषयले ह्वेलको पेटमा चढाइएको येशू ख्रीष्टप्रतिको उनको व्यक्तिगत गवाही र प्रतिबद्धतालाई यति मार्मिक र प्रेरणादायी बनाउँछ ।
योनाको पुकार सङ्कटमा परेका एक असल मानिसको जस्तै हो, जुन धेरै हदसम्म उसको आफ्नै कारणले भएको हुन्छ । एक सन्तका लागि यति धेरै अन्य असल मनसाय र धार्मिकताको निष्कपट प्रयासहरूका बावजुद जब विपत्ति कुनै पछुतोजनक बानी, टिप्पणी वा निर्णयले ल्याइन्छ विशेष गरी यो विनासकारी हुन सक्छ र कुनै एकलाई परित्याग गरिएको महसुस गराउन सक्छ । परन्तु हामीले सामना गर्ने विपत्तिका कारण वा स्तर जेसुकै भए पनि आशा, चङ्गाइ र खुसीका लागि त्यहाँ सदैव सुक्खा जमिन हुन्छ । योनालाई सुन्नुहोस्:
“मैले मेरो पीडाका कारण परमप्रभुलाई चिच्याएँ … ; नरकको पेटबाट मैले चिच्याएँ । …
“किनकि हजुरले मलाई समुद्रको बीचमा गहिरोमा फ्याँकिदिनुभएको थियो; …
“[अनि] मैले भनेँ, म हजुरको दृष्टिबाट बाहिर फ्याँकिएको छु; तैपनि म पुनः हजुरको पवित्र मन्दिरतर्फ हेर्ने छु ।
“पानीले मलाई घेरेको थियो, आत्मासम्म पनि: गहिराइले मलाई चारैतर्फबाट घेरेको थियो, मेरो शिरको वरिपरि झारपातहरू बेरिएका थिए ।
“म पहाडहरूको फेदीमा गएँ; … तैपनि हजुरले मेरो जीवनलाई भ्रष्टताबाट उठाउनुभएको छ । …
“जब मेरो आत्मा कमजोर भयो … मैले परमप्रभुलाई सम्झेँ: र मेरो प्रार्थना हजुरको पवित्र मन्दिरमा … आयो ।
“झूटा व्यर्थका विषयहरू पालना गर्नेहरूले आफूले पाउनु पर्ने कृपालाई त्याग्छन् ।
“परन्तु म कृतज्ञताको स्वरमा हजुरलाई बलिदान चढाउने छु; मैले शपथ गरेको विषय म पूरा गर्ने छु । मुक्ति परमप्रभुको हो ।”
यद्यपि यो धेरै वर्ष पहिलेको विषय भए तापनि जब व्यक्तिगत नरकको गहिराइमा मैले यो धर्मशास्त्र पत्ता लगाएँ म कहाँ बसिरहेको थिएँ र मैले कस्तो महसुस गरिरहेको थिएँ भनेर म तपाईंहरूलाई सही रूपमा बताउन सक्छु । आज जो कोहीलाई पनि मैले त्यस समयमा महसुस गरेजस्तै भइरहेको छ भने—कि तपाईंलाई फ्याँकिएको छ, गहिरो पानीमा डुबिरहेको छ, तपाईंको शिरको वरिपरि समुद्री झारपात बेरिएको छ र तपाईंका वरिपरि समुद्री पहाडहरू ठोक्किरहेका छन् भने—योनाबाट प्रेरित मेरो बिन्ती यो हो: तपाईंहरूले पाउनु पर्ने कृपा नत्याग्नुहोस् । तपाईंहरूका मानवीय कमजोरीहरूका बावजुद तपाईंहरूसँग दैवी सहयोग र चङ्गाइका लागि तत्कालै पहुँच उपलब्ध छ । यो प्रेरणादायी कृपा येशू ख्रीष्टमा र येशू ख्रीष्टका माध्यमद्वारा आउँछ । किनभने उहाँले तपाईंहरूलाई पूर्ण रूपमा बुझ्नुहुन्छ र प्रेम गर्नुहुन्छ, उहाँले यसलाई तपाईंहरूको “आफ्नै” जस्तै गरी प्रदान गर्नुहुन्छ जसको अर्थ यो तपाईंहरूका लागि पूर्ण रूपमा उपयुक्त छ, तपाईंहरूका व्यक्तिगत पीडाहरू कम गर्न र तपाईंहरूका विशेष पीडाहरू निको पार्न यसको योजना गरिएको हो । त्यसैले, स्वर्ग र तपाईंहरूका लागि त्यसबाट आफ्नो पीठ नफर्काउनुहोस् । यसलाई स्वीकार गर्नुहोस् । शत्रुका “झूटा व्यर्थताहरू” सुन्न अस्वीकार गरेर सुरु गर्नुहोस् जसले राहत तपाईंका आध्यात्मिक जिम्मेवारीहरूबाट टाढा जाँदा भेटिन्छ भनेर तपाईंलाई सोच्न प्रलोभन दिने छ । बरु, पश्चात्तापी योनाको अगुवाइलाई अनुसरण गर्नुहोस् । परमेश्वरलाई पुकार्नुहोस् । मन्दिरमा आश्रित हुनुहोस् । आफ्ना करारहरूको सम्मान गर्नुहोस् । बलिदान र आभार सहित परमप्रभु, उहाँको चर्च र अरुहरूको सेवा गर्नुहोस् ।
यी कार्यहरू गर्नाले तपाईंप्रति परमेश्वरको विशेष करारयुक्त प्रेमको बुझाइ ल्याउँछ—जसलाई हिब्रूको बाइबलले हेसेड भन्छ । तपाईंले परमेश्वरको इमानदार, अथक, अक्षय र “कोमल कृपा” को शक्ति देख्नुहुने छ र महसुस गर्नुहुने छ जसले तपाईंहरूलाई मुक्तिका लागि … कुनै पनि पाप वा कुनै पनि अवरोधबाट “शक्तिशाली …” बनाउन सक्छ । प्रारम्भिक र तीव्र पीडाका कारण कृपा र प्रेमको समझको कल्पना गर्नु कठीन हुन सक्छ । परन्तु जब तपाईंहरू “[तपाईंहरूले] सङ्कल्प गर्नुभएको चीज पूरा गर्न” निरन्तरता दिनुहुन्छ, त्यस्तो दर्शन तपाईंहरूको आत्मामा निरन्तर रूपमा चम्किने छ । अनि त्यो दर्शनका सहित तपाईंहरूले आशा र चङ्गाइ मात्रै प्राप्त गर्नुहुने छैन तर आश्चर्यजनक रूपमा तपाईंहरूले आफ्ना कठीन चुनौतीहरूका बीचमा पनि प्रसन्नता प्राप्त गर्नुहुने छ । अध्यक्ष रसल एम्. नेल्सनले हामीलाई धेरै राम्रोसँग सिकाउनुभयो: “जब हाम्रो जीवनको ध्यान परमेश्वरको मुक्तिको योजनामा हुन्छ … र येशू ख्रीष्ट र उहाँको सुसमाचारमा हुन्छ तब हाम्रो जीवनमा के भइरहेको छ—वा छैन भन्ने विषयका बावजुद पनि—हामी प्रसन्नता महसुस गर्न सक्छौँ । प्रसन्नता उहाँबाट आउँछ र उहाँकै कारणले आउँछ ।”
हामीले योना जस्तो गहिरो विपत्ति वा हाम्रो अपूर्ण संसारका दैनिक चुनौतीहरूको सामना गरिरहेका छौँ, आमन्त्रण एउटै हो: तपाईंले आफूले पाउनु पर्ने कृपा नत्याग्नुहोस् । योनाको सङ्केतलाई हेर्नुहोस्, जीवित ख्रीष्ट हुनुहुन्छ जसले आफ्नो तीन दिनको चिहानबाट उठेर तपाईंहरूका लागि—सबै चीजहरू माथि विजय प्राप्त गर्नुभयो । उहाँतर्फ फर्कनुहोस् । उहाँमा विश्वास गर्नुहोस् । उहाँको सेवा गर्नुहोस् । मुस्कुराउनुहोस् । किनकि उहाँमा र उहाँमा मात्रै पतनबाट पूर्ण र खुसीको चङ्गाइ प्राप्त हुन्छ जुन चङ्गाइ हामी सबैलाई अत्यन्तै आवश्यक छ र हामीले विनम्रतापूर्वक खोज्छौँ । म यो सत्य छ भनेर गवाही दिन्छु । येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।