साधारण सम्मेलन
परमेश्वरको उपस्थितिमा आत्मविश्वास
अप्रिल २०२५ को साधारण सम्मेलन


11:59

परमेश्वरको उपस्थितिमा आत्मविश्वास

जब हामी लगनशीलताका साथ हाम्रो जीवनलाई करुणा र सद्गुणले भर्ने प्रयास गर्छौँ, परमेश्वरसामु जाने हाम्रो आत्मविश्वासमा अभिवृद्धि हुने छ ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज यो महत्त्वपूर्ण साधारण सम्मेलनमा तपाईंहरूलाई सम्बोधन गर्न पाउँदा म आभारी छु । मेरो दृष्टि कमजोर हुँदै गइरहेको छ । मैले मेरो सन्देश सुनाउने क्रममा तपाईंहरूको सहिष्णुताका लागि धन्यवाद ।

हामी पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा महान् गतिको समयमा जिइरहेका छौँ । धेरै क्षेत्रहरूमा प्रगति देख्दा म खुसीले भरिपूर्ण भएको छु ।

म विशेष गरी हाम्रा युवाहरूद्वारा अभिप्रेरित छु । उहाँहरूले असङ्ख्य रूपमा सेवा प्रदान गरिरहनुभएको छ । उहाँहरूले आफ्ना पुर्खाहरूलाई खोजिरहनुभएको छ र मन्दिरमा विधिहरू निर्वाह गरिरहनुभएको छ । हाम्रा युवा र युवतीहरूले धेरै सङ्ख्यामा सुसमाचार प्रचार सेवाका लागि आवेदनहरू पेश गरिरहनुभएको छ । हुर्कदो पिँढी येशू ख्रीष्टको दृढ सङ्कल्पित अनुयायीहरूका रूपमा अगाडि बढिरहेको छ ।

पनातिनीसँग अध्यक्ष नेल्सन

हालसालै मैले एक नयाँ पनातिनीलाई भेटेँ । जब म उनले तिनको जीवनमा अनुभव गर्ने चुनौतीहरूलाई विचार गर्छु, मलाई येशू ख्रीष्टमा उनको आस्था निर्माण गर्न सहयोग गर्ने ठूलो चाहना हुन्छ । उनको भविष्यको खुसीका लागि उहाँको सुसमाचारमा जिउनु आवश्यक छ ।

हामी हरेकले जस्तै उनले पनि चुनौतीहरूको सामना गर्ने छिन् । हामी सबैले रोग, निराशा, प्रलोभन र क्षतिको अनुभव गर्ने छौँ । यी चुनौतीहरूले हाम्रो आत्मविश्वासलाई कमजोर पार्न सक्छन् । यद्यपि, येशू ख्रीष्टका शिष्यहरूसँग फरक प्रकारका आत्मविश्वासमा पहुँच छ ।

जब हामी परमेश्वरसँग करार गर्छौँ र त्यसलाई पालना गर्छौँ, आत्माबाट प्रेरित भएको आत्मविश्वास हामीमा हुन सक्छ । हाम्रो आत्मविश्वास “परमेश्वरको उपस्थितिमा बलियो हुन सक्छ भनेर परमप्रभुले अगमवक्ता जोसेफ स्मिथलाई भन्नुभयो ।” परमेश्वरको उपस्थितिमा आत्मविश्वास राख्नुको सान्त्वना परिकल्पना गर्नुहोस्!

मैले परमेश्वरमा आत्मविश्वास राख्नुका सम्बन्धमा बोल्दै गर्दा मैले अहिले नै परमेश्वरसामु पुग्ने आत्मविश्वासलाई उल्लेख गर्दै छु! म स्वर्गका पिताले हामीलाई सुन्नुहुन्छ भन्ने आत्मविश्वासका साथ प्रार्थना गर्ने विषयलाई उल्लेख गर्दै छु । उहाँले हामीले भन्दा पनि राम्रोसँग हाम्रा आवश्यकताहरूलाई बुझ्नुहुन्छ । उहाँले हामीलाई हामीले बुझ्न सक्ने भन्दा बढी प्रेम गर्नुहुन्छ भनेर आत्मविश्वास राख्ने विषयलाई म उल्लेख गर्दै छु कि उहाँले हामीसँग र हामीले माया गर्नेहरूसँग रहन स्वर्गदूतहरू पठाउनुहुन्छ । उहाँले हामी प्रत्येकलाई हाम्रो उच्चतम क्षमतामा पुग्नका लागि सहयोग गर्ने चाहना राख्नुहुन्छ भन्ने आत्मविश्वासलाई म उल्लेख गरिरहेको छु ।

अब, हामीले यस्तो आत्मविश्वासलाई कसरी प्राप्त गर्न सक्छौँ ? परमप्रभुले यस प्रश्नको उत्तर यी शब्दहरूमा दिनुहुन्छ: “तपाईंको उदर … सबै मानिसहरूप्रति करुणाले भरिपूर्ण होस्,, … र सद्गुणले तपाईंका विचारहरूलाई निरन्तर सजाउन दिनुहोस्; त्यसपछि तपाईंको आत्मविश्वास परमेश्वरको उपस्थितिमा मजबुत हुने छ ।”

त्यहाँ नै मुख्य बुँदा छ! परमप्रभुको आफ्नै शब्दमा, करुणा र सद्गुणले परमेश्वरमा आत्मविश्वास राख्ने मार्ग खोल्छ! दाजुभाइ तथा दिदीबहिनीहरू, हामी यो गर्न सक्छौँ! वास्तवमा नै अहिले हाम्रो आत्मविश्वास परमेश्वरको उपस्थितिमा मजबुत हुन सक्छ!

करुणा र सद्गुण दुबैलाई विचार गरौँ ।

पहिलो, करुणा । दुई वर्ष अघि, मैले येशू ख्रीष्टका करारवद्ध अनुयायीहरूका रूपमा हामीलाई शान्ति निर्माताहरू बन्न आह्वान गरेको थिएँ । मैले त्यतिबेला भनेको विषय म दोहोर्‍याउँछु: “क्रोधले कहिल्यै उत्साहित गर्दैन । दुश्मनीले कसैलाई पनि निर्माण गर्दैन । विवादले कहिल्यै प्रेरित समाधानतर्फ अगुवाइ गर्दैन ।”

सबै मानिसहरूप्रतिको सत्य करुणा शान्ति निर्माताहरूको पहिचान हो! हामीले सार्वजनिक र निजी दुबै प्रकारका संवादमा करुणाको भाव राख्नु जरूरी छ । यसपूर्वको मेरो सल्लाहलाई अन्तरहृदयबाट ग्रहण गर्ने तपाईंहरूलाई म धन्यवाद दिन्छु । परन्तु हामी अझै राम्रो गर्न सक्छौँ ।

सार्वजनिक संवाद र सामाजिक सञ्जालमा वर्तमान शत्रुता चिन्ताजनक छ । घृणित शब्दहरू घातक हतियार हुन् । कलहले पवित्र आत्मालाई हाम्रो निरन्तरको मित्र हुनबाट रोक्छ ।

येशू ख्रीष्टका अनुयायीहरूका रूपमा, हामीले शान्ति निर्माताहरूका रूपमा अगुवाइ गर्नु पर्छ । जब करुणा हाम्रो स्वभावको अंश बन्छ, हामीबाट अरूहरूलाई अपमान गर्ने प्रवृत्ति हट्ने छ । हामी अरूहरूको आलोचना गर्न छोड्ने छौँ । भिन्न परिस्थिति भएका मानिसहरूका लागि हामीसँग करुणा हुने छ । हाम्रो प्रगतिका लागि सबै मानिसहरूप्रति करुणा हुनु आवश्यक हुन्छ । करुणा दैवी चरित्रको आधार हो ।

हामी हाम्रा स्वर्गका पितालाई हाम्रो हृदयलाई अझ बढी करुणाले भरिदिनुहुन बिन्ती गरौँ—विशेष गरी ती व्यक्तिहरूका लागि जसलाई प्रेम गर्न कठीन हुन्छ ।—किनकि करुणा भनेको हाम्रा स्वर्गका पिताबाट येशू ख्रीष्टका सत्य अनुयायीहरूका लागि एक उपहार हो । मुक्तिदाता शान्तिका राजकुमार हुनुहुन्छ । हामी शान्तिका लागि उहाँको औजार बन्नु पर्छ ।

अब, हामी सद्गुणका सम्बन्धमा कुरा गरौँ । परमप्रभुले हामीलाई हाम्रा विचारहरूलाई निरन्तर सद्गुणले सुस्वजित पार्न भन्नुहुन्छ । तपाईंले कुनै पनि सकारात्मक विचारलाई सद्गुणले अभिवृद्धि गर्दा आफूले प्राप्त गर्ने प्रोत्साहनको परिकल्पना गर्नुहोस् । सद्गुणले सबै वस्तुलाई अझै राम्रो र खुसी बनाउँछ! अर्कोतर्फ, जब तपाईं अपवित्र विचार, क्रूर विचार वा निराशाजनक विचारमा सद्गुण थप्नुहुन्छ तब के हुन्छ भनेर परिकल्पना गर्नुहोस् । सद्गुणले ती विचारहरूलाई बाहिर निकाल्ने छ । सद्गुणले तपाईंलाई व्याकुल, समस्याग्रस्त विचारहरूबाट मुक्त गर्ने छ ।

दाजुभाइ तथा दिदीबहिनीहरू, संसार जति पतीत हुँदै जान्छ, हामी अझै बढी विशुद्ध बन्नु आवश्यक हुन्छ । हाम्रा विचारहरू, शब्दहरू र कार्यहरू निरन्तर रूपमा सद्गुणी हुनु पर्छ र सम्पूर्ण मानिसहरूप्रति ख्रीष्टको विशुद्ध प्रेमले भरिपूर्ण भएको हुनु पर्छ । हामीहरूसामु रहेको महान् अवसर भनेको हामी परमेश्वरले चाहनुभएको जस्तै मानिसहरू बन्नु हो ।

परमप्रभुको गृहमा नियमित आराधना गर्नाले करुणा र सद्गुण दुबैका लागि हाम्रो क्षमतामा अभिवृद्धि हुन्छ । यसरी, मन्दिरमा समय बिताउँदा परमप्रभुसामु हाम्रो आत्मविश्वासमा वृद्धि हुन्छ । मन्दिरमा अधिक समय बिताउनाले हामीलाई हाम्रा मुक्तिदाता, येशू ख्रीष्टको दोस्रो आगमनका लागि तयारी गर्न सहयोग गर्ने छ । हामीलाई उहाँको आगमनको दिन वा समयको जानकारी छैन । परन्तु परमप्रभुले मलाई त्यो “विशाल र भयङ्कर दिन”का लागि तयार हुन आग्रह गरिरहनुभएको छ भनेर मलाई जानकारी छ ।

जब हामी लगनशीलताका साथ हाम्रो जीवनलाई करुणा र सद्गुणले भर्ने प्रयास गर्छौँ, परमेश्वरसामु जाने हाम्रो आत्मविश्वासमा अभिवृद्धि हुने छ । परमप्रभुसामु आफ्नो आत्मविश्वासमा अभिवृद्धि गर्नका लागि म तपाईंलाई अभिप्रायपूर्वक कदम चाल्न आमन्त्रण गर्छु । त्यसपछि, हामी अभिवृद्धि भएको आत्मविश्वास सहित हाम्रा स्वर्गका पिताकहाँ जाँदा, हामी अझै बढी प्रसन्नताले भरिपूर्ण हुने छौँ र येशू ख्रीष्टमा हाम्रो आस्थाको वृद्धि हुने छ । हामीले हाम्रो सबैभन्दा महान् आशाभन्दा पनि बढी आध्यात्मिक शक्ति अनुभव गर्न सुरु गर्छौँ ।

हालसालैका वर्षहरूमा मन्दिर निर्माणको गतिका लागि हामी परमप्रभुप्रति आभारी छौँ । उहाँको निर्देशनमा, आज हामी यी प्रत्येक स्थानहरूमा मन्दिर निर्माण गर्ने योजनाहरूको घोषणा गर्छौँ:

  • रेनोसा, मेक्सिको

  • चोरियोस, पेरू

  • रिभेरा, उरुग्वे

  • क्याम्पो ग्रान्जे, ब्राजील

  • पोर्टो, पोर्चुगल

  • उयो, नाइजेरिया

  • स्यान होजे डेल मन्टे, फिलीपिन्स

  • नुमेया, न्यू क्यालेडोनिया

  • लिभरपुल, अस्ट्रेलिया

  • काल्डवेल, आइडाहो

  • फ्ल्यागस्टयाफ, एरिजोना

  • रियापीड सिटी, साउथ डकोटा

  • ग्रिनभिल, साउथ केरोलाइना

  • नोर्फोक, भर्जिनिया

  • स्प्यानिश फोर्क, यूटा

इस्राएलका उद्धारकर्ता येशू ख्रीष्टले यो, उहाँको चर्चको नेतृत्व गर्नुहुन्छ भनेर म गवाही दिन्छु । उहाँ पुनः आउने तयारी गर्दै हुनुहुन्छ । हामी पनि उहाँलाई ग्रहण गर्न त्यस्तै तयारी गरौँ । यसका लागि म येशू ख्रीष्टको नाममा प्रार्थना गर्छु, आमीन ।

सूचीहरू

  1. अगमवक्ता दानिएलले सपनामा देख्नुभएको पछिल्ला दिनहरूका सानो ढुङ्गा संसार भर्नका लागि गुडिरहेको छ (हेर्नुहोस् दानिएल २:३१-४५; सिद्धान्त र करार ६५:२ ) ।

  2. सिद्धान्त र करार १२१:४५

  3. “किनकि म तिम्रा अगाडि जाने छु । म तिमीहरूको दाहिने हाततर्फ र देब्रे हाततर्फ हुने छु र मेरो आत्मा तिमीहरूको हृदयमा हुने छ र मेरा स्वर्गदूतहरू तिमीहरूलाई समर्थन गर्न तिमीहरूको वरिपरि हुने छन्” (सिद्धान्त र करार ८४:८८) ।

  4. सिद्धान्त र करार १२१:४५; जोड दिएर थपिएको; पद ४६ पनि हेर्नुहोस् ।

  5. रसल एम्. नेल्सन, “शान्ति निर्माताहरूको आवश्यकता छ,” लियाहोना, May 2023, 98.

  6. अरूहरूसँग झगडा गर्ने छनोट गर्नु भनेको पवित्र आत्माको मार्गदर्शन बिना जिउने छनोट गर्नु हो ।

  7. हामीले “सबै मानिसहरूप्रति र आस्थावान् को घरानाप्रति” करुणा देखाउनु पर्छ (सिद्धान्त र करार १२१:४५) ।

  8. यसको अर्थ “हृदयको सम्पूर्ण ऊर्जाले” प्रार्थना गर्नु हो (मोरोनी ७:४८) ।

  9. हेर्नुहोस् मोरोनी ७:४८

  10. हेर्नुहोस् यशैया ९:६

  11. जोसेफ स्मिथले सिकाउनुभयो, “यदि [हामी] परमेश्वर जहाँ हुनुहुन्छ त्यहाँ जान चाहन्छौँ भने, [हामी] परमेश्वर जस्तै हुनु पर्छ वा परमेश्वरसँग भएका सिद्धान्तहरू प्राप्त गर्नु पर्छ” (Teachings of Presidents of the Church: Joseph Smith [2007], 72). त्यस्तै गरी, प्रेरित पावलले हामीलाई “अनुग्रहको सिंहासनमा साहसपूर्वक आउनु पर्छ, ताकि हामीले दया प्राप्त गर्न सक्छौँ र आवश्यकताको समयमा सहयोगका लागि अनुग्रह प्राप्त गर्न सक्छौँ” भनेर सल्लाह दिनुभयो (हिब्रू ४:१६) ।

  12. हेर्नुहोस् मत्ती २४:३६-३७

  13. मलाकी ४:५; यो पनि हेर्नुहोस् सपन्याह १:१४–१८

  14. परमप्रभुले हामीलाई “आस्था, सद्गुण, ज्ञान, संयम, धीरता, भ्रातृ स्नेह, भक्ति, करुणा, विनम्रता, [र] लगनशीलता सम्झन” भन्नुभएको छ (सिद्धान्त र करार ४:६) । जब हामी त्यसो गर्छौँ, हाम्रो आत्मविश्वासमा अभिवृद्धि हुने छ र त्यसपछि, उहाँका आफ्नै शब्दहरूमा, जब हामीले माग्छौँ, हामीले प्राप्त गर्ने छौँ । अनि जब हामीले ढकढक्याउने छौँ यो हाम्रा लागि उघारिने छ । (हेर्नुहोस् सिद्धान्त र करार ४:७ ।)

  15. हामीले राजा बेन्यामिनका मानिसहरूले के गरे भनेर अनुभव गर्न सक्छौँ: “येशू ख्रीष्टमा भएको अथाह आस्थाका कारण उहाँहरू आफ्ना पापहरूको क्षमा र विवेकको शान्ति प्राप्त गरेर प्रसन्नताले भरिपूर्ण भएका थिए” (मोसियाह ४:३) ।