साधारण सम्मेलन
करारको शिष्यत्वका माध्यमद्वारा प्रसन्नता
अप्रिल २०२५ को साधारण सम्मेलन


10:58

करारको शिष्यत्वका माध्यमद्वारा प्रसन्नता

करारका शिष्यहरूका रूपमा कार्य गर्नका लागि हामीहरूले आफूहरूलाई आवद्ध गर्दा पिता र पुत्रसँगको हाम्रो सम्बन्ध सुदृढ हुन्छ, हाम्रो प्रसन्नतामा वृद्धि हुन्छ र हाम्रो अनन्त दृष्टिकोणमा विस्तार हुन्छ ।

२०२३ मा एक दिन, उयाङ्गा अल्तानसुख डार्खानको उत्तरी मङ्गोलियाली शहरमा काम गर्दै हुनुहुन्थ्यो जब मङ्गोलियाली सुसमाचार प्रचार क्षेत्राध्यक्ष उहाँको कार्यस्थलमा प्रवेश गर्नुभयो । उहाँका शब्दमा:

“मैले उहाँलाई देखेँ र उहाँको मुहारमा यो ज्योति छ भनेर महसुस भयो । उहाँ आफ्नो वरपरका मानिसहरूप्रति धेरै दयालु र रोमाञ्चक हुनुहुन्थ्यो र मैले न्यानोपन महसुस गरेँ । उहाँ जानुपूर्व मैले उहाँलाई केही प्रश्नहरू सोधेँ । केही दिन पछि, उहाँ पुनः मेरो कार्यस्थलमा आउनुभयो र म उहाँको चर्च जान सक्छु कि भनेर सोध्नुभयो । यो उपयोगी हुन सक्छ भनेर मलाई महसुस भयो । समाज तनाव र अन्धकारले भरिएको देखिएकोले, म मेरा छोराछोरीको भविष्यका लागि चिन्तित थिएँ । मेरा छोराछोरीहरू यी मानिस जस्तै होऊन् जसको मुहारमा ज्योति छ र जसले वरपरका मानिसहरूलाई प्रसन्नता प्रशारण गर्छ भनेर म चाहन्थेँ ।

“एक दिन सुसमाचार प्रचारकहरूले हामीलाई दशांशको नियम सिकाउनुभयो । मेरा छोराछोरीहरूले उत्साहका साथ भने, ‘आमा, हामीले हाम्रो दशांश तिर्नु पर्छ ।’ त्यस क्षणमा मैले मेरा छोराछोरीहरूको आस्था देख्न सक्थेँ । चर्चमा सहभागी हुनुपूर्व, मैले साधारण सम्मेलन हेरेँ र अध्यक्ष रसल एम. नेल्सनको वक्तव्य सुनेँ । उहाँले विश्वभर नयाँ मन्दिरहरूको घोषणा गर्नुभयो र मङ्गोलियाको उलानबाटारमा नयाँ मन्दिर निर्माण गरिने घोषणा गर्नुभयो । किन भनेर मैले नबुझे तापनि म खुसी भएँ र आँसु बगाएँ । यो प्रसन्नतासँगै, मेरो आस्था र गवाही वृद्धि हुँदै गइरहेको थियो भनेर म भन्न सक्थेँ ।”

अन्य लाखौँ जस्तै, उयाङ येशू ख्रीष्टको दोस्रो आगमनको तयारीमा इस्राएलको महान् एकीकरणको अंश हुनुहुन्छ । उहाँले करारको मार्गमा आफ्नो यात्रा सुरु गर्नुभएको छ र ख्रीष्टको शिष्य बन्नुभएको छ । ख्रीष्टको शिष्य हुनुको अर्थ के हो ? मशिष्यको लागि जापानी शब्दको सम्मान गर्छु—देशीदे को अर्थ कान्छो भाइ र शि को अर्थ बच्चा हो ।

येशू ख्रीष्टले घोषणा गर्नुभयो, “म सुरुमा पितासँग थिएँ र पहिला जन्मिएको हुँ ।” उहाँ को हुनुहुन्छ र उहाँले के गर्नुभएको छ भन्ने कारणले हामीहरू उहाँको आराधना गर्छौँ, उहाँलाई सम्मान गर्छौँ, उहाँलाई महिमा दिन्छौँ र उहाँको अनुसरण गर्छौँ । ख्रीष्टले हामीलाई उद्धार गर्नुभएको छ र हामीहरू उहाँको अपरिमित र प्रायश्चितको बलिदानका लागि सदैव आभारी छौँ ।

हामीसँग हाम्रा स्वर्गका पिता हुनुहुन्छ जसले हामीलाई आफ्ना सन्ततिहरू जस्तै प्रेम गर्नुहुन्छ । हामीहरूप्रतिको उहाँको प्रेम परिपूर्ण छ । येशू ख्रीष्ट र उहाँको उद्देश्यले हामीहरूप्रतिको परमेश्वरको प्रेमलाई चित्रण गर्छ । यूहन्नाले लेख्नुभएको जस्तै “किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने जो कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् ।”

हामीलाई जानकारी नभएको विषय बुझ्ने हाम्रो अन्वेषणमा, हामी कहिलेकाहीँ हाम्रा परिचित मरणशील अनुभवहरू वा हामीले जानकारी प्राप्त गरेका विषयहरूमा निर्भर रहन सक्छौँ । उदाहरणका लागि, हाम्रो आफ्नै अभिभावकत्व र मरणशील पारिवारिक सम्बन्धहरूका माध्यमद्वारा परमेश्वर पिताका सम्बन्धमा हामीले केही मात्रामा सिक्न सक्छौँ । यद्यपि, हाम्रा स्वर्गका पितालाई बुझ्ने हाम्रो प्रयासमा यी तुलनाहरू उपयोग गर्दा हामीले सावधानी अपनाउनु पर्छ । परमेश्वर पिताका विशेषताहरू पतित मानिसका परिपूर्ण भन्दा कम कुनै पनि विशेषताहरू भन्दा श्रेष्ठ छन् । परमेश्वर पिता परिपूर्ण पिता हुनुहुन्छ । उहाँ पूर्ण रूपमा मायालु, दयालु, धैर्यवान, समझदार र पूर्ण रूपमा महिमित हुनुहुन्छ । हामीले उहाँमा पूर्ण रूपमा भरोसा राख्न सक्छौँ । ख्रीष्टको प्रेमले परमेश्वर पिताको प्रेमलाई प्रतिबिम्बित गर्छ र त्यो प्रेमको प्रतिनिधित्व गर्छ ।

येशू ख्रीष्ट उदाहरण र माध्यम दुबै हुनुहुन्छ । ख्रीष्टमा, पिता र उहाँको योजनाका परिपूर्ण विशेषताहरूलाई हामीले अझै राम्ररी बुझ्न सक्छौँ । ख्रीष्टद्वारा, हामीलाई प्राकृतिक पुरुष र महिलाहरूको प्रवृत्तिमाथि विजय प्राप्त गर्न सक्षम बनाउने शक्ति प्रदान गरिएको छ ताकि हामी पिता जस्तै बन्न सक्छौँ ।

हाम्रा स्वर्गका पिता जस्तै, येशू ख्रीष्ट परिपूर्ण रूपमा दयालु र न्यायोचित हुनुहुन्छ । न्याय र कृपाका यी दिव्य गुणहरू एकअर्काका विपक्षमा छैनन् । यिनीहरू एकअर्काका परिपूरक हुन् । आफ्ना सन्ततिहरूप्रतिको परमेश्वरको परिपूर्ण प्रेमलाई न्याय र कृपा दुबैले चित्रण गर्छन् । हामी परमेश्वर पिता र येशू ख्रीष्टमा भरोसा गर्न सक्छौँ किनभने उहाँहरू हामी सबैसँग न्यायोचित र निष्पक्ष हुनुहुन्छ ।

परमेश्वर पिता र उहाँको पुत्र येशू ख्रीष्ट उद्देश्य र प्रेममा पूर्ण रूपमा समान हुनुहुन्छ । परमेश्वर र येशू ख्रीष्टले हामीलाई प्रेम गर्नुभएको हुनाले, हामीलाई सत्य शिष्यहरूका रूपमा उहाँहरूसँग करार गर्ने अवसर र सौभाग्य प्रदान गरिएको छ । यसो गर्नाले, ख्रीष्टसँगको हाम्रो सम्बन्ध विस्तार हुन्छ: “अनि अब, तिमीहरूले गरेका करारका कारण तिमीहरूलाई ख्रीष्टका छोराछोरीहरू भनिन्छ, उहाँका छोराहरू र उहाँका छोरीहरू; किनकि हेर, यो दिन उहाँले तिमीहरूलाई आत्मिकरूपमा जन्माउनु भएको छ; किनकि तिमीहरू भन्छौ कि तिमीहरूका हृदयहरू उहाँको नाउँमाथिको आस्थामार्फत् परिवर्तित भएको छ; त्यसकारण तिमीहरू उहाँबाट जन्मिएका हौ र उहाँका छोराहरू र उहाँका छोरीहरू बनेका छौ ।”

शिष्यहरूका रूपमा, जब हामी पवित्र करारहरू निर्माण र पालना गर्छौँ, हामी आध्यात्मिक शक्तिले आशीषित हुन्छौँ । हामी ख्रीष्ट र परमेश्वर पितासँग विशेष सम्बन्धमा आवद्ध छौँ र करार निर्माण र पालना गर्नुभएकाहरूका लागि आरक्षित गरिएको उहाँहरूको प्रेम र प्रसन्नता केही मात्रामा अनुभव गर्न सक्छौँ । परमेश्वरको प्रेमको पूर्ण मापन महसुस गर्ने वा उहाँको प्रेममा निरन्तर रहने हाम्रो क्षमता हाम्रो धार्मिक चाहना र कार्यहरूमा निर्भर गर्छ ।

यूहन्ना, अध्याय १५ को पद ९मा हामी पढ्छौँ, “जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु ।” अनि त्यसपछि हामीलाई आमन्त्रण गरिएको छ, “तिमीहरू मेरो प्रेममा निरन्तर रहनु पर्छ ।”

अर्को पदमा हामीलाई उहाँको प्रेममा निरन्तर रहन तरिका दिइएको छ: “यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गर्यौ भने, तिमीहरू मेरो प्रेममा रहने छौ; जसरी मैले मेरा पिताका आज्ञाहरू पालना गरेको छु र उहाँको प्रेममा रहन्छु ।”

त्यसपछि हामी पद ११मा दिइएका आज्ञाहरू पालना गर्नुको उद्देश्य बुझ्छौँ: “मैले तिमीहरूलाई यी विषयहरू भनेको छु ताकि मेरो प्रसन्नता तिमीहरूमा रहोस् र तिमीहरूको प्रसन्नता पूर्ण होस् ।”

सत्य करारको शिष्यत्वका माध्यमद्वारा हामी परमेश्वरको प्रकृति र उहाँले आफ्ना सबै सन्ततिहरूले अनुभव गरून् भनेर चाहनुभएको प्रसन्नतालाई राम्रोसँग बुझ्न सुरु गर्न सक्छौँ । प्रारम्भमा दिगभ्रमित महसुस हुन सक्ने केही सिद्धान्तहरू पनि हामी बुझ्न सुरु गर्छौँ । उदाहरणका लागि, जब परमेश्वरका केही सन्ततिहरूले यति धेरै दुःख भोगिरहेका हुन्छन् तब उहाँ कसरी प्रसन्नताको परिपूर्णताले भरिन सक्नुहुन्छ ? यसको उत्तर परमेश्वरको परिपूर्ण दृष्टिकोण र उहाँको परिपूर्ण योजनामा निहित छ । उहाँले प्रारम्भदेखि हाम्रो गौरवशाली सम्भावित भविष्यसम्म हामीलाई देख्नुहुन्छ । उहाँले आफ्ना पुत्र येशू ख्रीष्टका माध्यमद्वारा हामी सबै, उहाँका सन्ततिहरूका लागि, हाम्रो मरणशीलताको कष्ट, पीडा, पापहरू, दोष र एक्लोपनामाथि विजय प्राप्त गर्न मार्ग प्रदान गर्नुभएको छ । परमेश्वरले हामीलाई मार्ग र छनोट प्रदान गर्नुभएको छ ।

शिष्यत्वका माध्यमद्वारा प्रसन्नता अनुभव गरेका व्यक्तिहरूको उदाहरणले हामीलाई यो अवधारणालाई राम्रोसँग बुझ्न सहयोग गर्न सक्छ । सम्भवत: हामी हाम्रो सबैभन्दा दुःखी सन्तान जत्तिकै खुसी छौँ भन्ने वाक्यांश तपाईंले सुन्नुभएको हुन सक्छ । यस्तो हुनु आवश्यक छैन भनेर मैले देखेको छु । ९४ वर्षकी मेरी आमाका २०० भन्दा बढी जीवित सन्ततिहरू छन् । कुनै पनि बिन्दुमा, २०० मध्ये कम्तिमा पनि एक जना दुःखी हुने छ । यदि यो भनाइ सत्य भएको भए, मेरी आमा सदैव दुःखी हुनुहुन्थ्यो, जुन उहाँ हुनुहुन्न । उहाँलाई चिन्नेहरूलाई जानकारी छ उहाँ कति प्रसन्न हुनुहुन्थ्यो भनेर ।

अब म अर्को अनुभव बाँढ्न चाहन्छु । २०१९ को जनवरीमा, मेरी श्रीमती डेबी र मलाई अध्यक्ष नेल्सनको कार्यालयमा आमन्त्रण गरिएको थियो । उहाँले हाम्रो नजिकै कुर्सी राख्नुभएको थियो र हामी घुँडा जोडेर बस्यौँ । हामीलाई हालको हाम्रो बोलावट विस्तार गरेपछि, अध्यक्ष नेल्सनले डेबीतर्फ फर्किनुभएर उहाँमाथि ध्यान केन्द्रित गर्नुभयो । एक आदर्श बुबा वा हजुरबुबा जस्तै उहाँ दयालु, मायालु, कोमल र प्रसन्नताले भरिपूर्ण हुनुहुन्थ्यो । सबै ठीक हुने छ र हाम्रो परिवार आशीषित हुने छ भनेर आश्वस्त दिँदै उहाँले डेबीका हात समात्नुभयो र सुम्सुम्याउँनुभयो । हामीहरू उहाँका लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू हौँ र उहाँसँग संसारको सबै समय हाम्रा लागि थियो भनेर त्यस क्षणमा हामीलाई महसुस भयो । शुक्रबार दिउँसो आश्वस्त, मायालु र प्रसन्नता पूर्ण हुँदै हामी उहाँको कार्यालयबाट निस्कियौँ ।

सोमबार हामीले समाचार देख्यौँ । अध्यक्ष नेल्सनले हामीसँग बिताउनुभएको त्यही दिन, उहाँकी छोरीहरू मध्येकी एक छोरीको क्यान्सरबाट मृत्यु भएको थियो । हामी स्तब्ध थियौँ । हामीले उहाँ र उहाँको परिवारका लागि शोक गर्दै गर्दा हाम्रो हृदय शोकले भरिएको थियो । पीडित छोरीका लागि विलाप गर्दै गर्दा उहाँले हामीप्रति देखाउनुभएको ख्रीष्टको जस्तो सद्भावका लागि हाम्रो हृदय पनि कृतज्ञताले भरिएको थियो ।

यो अनुभवलाई मनन गर्दै गर्दा, हामीले आफुलाई सोध्यौँ, “यस्तो कठीन समयमा पनि उहाँ कसरी यति दयालु, मायालु र प्रसन्नताले पूर्ण हुन सक्नुहुन्छ ?” उत्तर यो हो किनभने उहाँलाई जानकारी छ । ख्रीष्टले विजय प्राप्त गर्नुभएको छ भनेर उहाँलाई जानकारी छ । उहाँ पुनः आफ्नी छोरीसँगै हुनुहुने छ र उहाँसँगै अनन्त जीवन जिउनु हुने छ भनेर उहाँलाई जानकारी छ । मुक्तिदातासँग आवद्ध भएर करारहरू निर्माण र पालना गरेर र ख्रीष्टको शिष्यत्वद्वारा प्रसन्नता र अनन्त दृष्टिकोण प्राप्त हुन्छ ।

अध्यक्ष नेल्सनले सिकाउनुभएको छ: “जसरी मुक्तिदाताले ‘सबै समझभन्दा बाहिरको’ शान्ति प्रदान गर्नुहुन्छ [फिलिप्पी ४:७], उहाँले मानव तर्क वा नश्वर बुझाइलाई चुनौती दिने प्रसन्नताको तीव्रता, गहनता र विस्तृतता पनि प्रदान गर्नुहुन्छ । उदाहरणका लागि, तपाईंको शिशु निको नहुने रोगले ग्रस्त हुँदा वा तपाईंले आफ्नो जागिर गुमाउँदा वा तपाईंको जीवनसाथीले तपाईंलाई धोका दिँदा प्रसन्नता महसुस गर्न सम्भव छैन । यद्यपि मुक्तिदाताले प्रदान गर्नुहुने प्रसन्नता यही नै हो ।”

जब हामी करार गर्छौँ र पालना गर्छौँ, हामी स्वाभाविक रूपमा भिन्न हुने छौँ र अरूहरूलाई हाम्रो करारका सम्बन्धमा हामीले महसुस गर्ने प्रसन्नता र प्रेमको परिणाम महसुस गर्न सहयोग गर्ने चाहना राख्ने छौँ । हामी आज पृथ्वीको सर्वश्रेष्ठ उद्देश्य—इस्राएलको एकीकरणको अंश बन्न सक्छौँ । हामीहरूले परमेश्वरका सन्ततिहरूलाई ख्रीष्टकहाँ ल्याउन सहयोग गर्न सक्छौँ । अगमवक्ता याकूबले सिकाउनुभए जस्तै “अनि तिमी धन्य छौ; किनकि तिमीले मेरो अङ्गुरको बगैँचामा मसँग परिश्रम गरेर मेरा आज्ञाहरू पालना गरेका छौ र प्राकृतिक फल पुनः मकहाँ ल्याएका छौ, … मेरो अङ्गुरको बगैँचाको फलको कारणले तिमी मसँग प्रसन्न हुने छौ ।”

हाम्रो क्षमता जुनसुकै स्तरको भए तापनि, करारका शिष्यहरूका रूपमा कार्य गर्नका लागि हामीहरूले आफूहरूलाई आवद्ध गर्दा पिता र पुत्रसँगको हाम्रो सम्बन्ध सुदृढ हुन्छ, हाम्रो प्रसन्नतामा वृद्धि हुन्छ र हाम्रो अनन्त दृष्टिकोण विस्तृत हुन्छ । त्यसपछि हामी शक्तिले सुसम्पन्न हुन्छौँ र परमेश्वरका सत्य करारका शिष्यहरूका लागि संरक्षण गरिएको परिणाममा प्रसन्नता महसुस गर्न सक्छौँ । येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।

सूचीहरू

  1. सिद्धान्त र करार ९३:२१

  2. हेर्नुहोस् मत्ती २:२१; २ नफी २:६

  3. यूहन्ना ३:१६

  4. मोसीयाह ५:७

  5. हेर्नुहोस् रसल एम् नेल्सन, “The Everlasting Covenant,” Liahona, अक्टोबर २०२२, ४-११ ।

  6. हेर्नुहोस् डेल जी. रेनलण्ड, “Experience God’s Love” (Brigham Young University devotional, Dec. 3, 2019), speeches.byu.edu.

  7. यूहन्ना १५:९-११ |

  8. हेर्नुहोस् अल्मा ७:११-१३

  9. रसल एम् नेल्सन, “Joy and Spiritual Survival,” Liahona, नोभेम्बर २०१६, ८२ ।

  10. हेर्नुहोस् रसल एम् नेल्सन, “Hope of Israel” (worldwide youth devotional, जुन ३ २०१८), सुसमाचारको पुस्तकालय

  11. याकूब ५:७५

  12. हेर्नुहोस् “Hesed, God’s Covenant Love, Is the Reason We Build Temples and Perform Ordinances: Instruction from President Russell M. Nelson,” general conference leadership meeting, अक्टोबर २०२४, सुसमाचारको पुस्तकालय ।