साधारण सम्मेलन
परमेश्वरको प्रेम
अप्रिल २०२५ को साधारण सम्मेलन


10:34

परमेश्वरको प्रेम

मुक्तिदाता येशू ख्रीष्ट परमेश्वरको प्रेम हुनुहुन्छ भनेर म खुसीसाथ गवाही दिन्छु । हाम्रा लागि उहाँको प्रेम परिपूर्ण, वैयक्तिक र शाश्वत छ।

कुनै एक ग्रीष्म ऋतुमा दुर्गम क्षेत्रमा यात्रा गर्दा, हाम्रो परिवारले बाहिर बादलबिहीन आकाशमुनि सुतेर एक रात बितायो । हामीमाथि अनगिन्ती ताराहरूले भरिएको र कहिलेकाहीँ उल्का पनि देखिने भव्य आकाशगङ्गा स्पष्ट रूपमा देखिन्थ्यो । परमेश्वरको सृष्टिको महिमा देखेर हामी आश्चर्यचकित हुँदा हामीले उहाँसँग एक सम्मानपूर्ण सम्बन्ध महसुस गर्यौं । हङकङमा हुर्केका हाम्रा साना बालबालिकाहरूले यस्तो कहिल्यै अनुभव गरेका थिएनन् । के हामी घरमा हुँदा एउटै आकाशमुनि बस्थ्यौँ भनेर उनीहरूले अनभिज्ञतापूर्व सोधे । मैले उनीहरूलाई बुझाउने प्रयास गरेँ कि यो उही आकाश थियो तर हामी बसेको स्थानको वायु र प्रकाशको प्रदूषणले हामीलाई यी ताराहरू त्यहाँ भए तापनि देख्नबाट रोकेको थियो ।

“आस्था भनेको आशा गरिएका विषयहरूको सत्यता हो, नदेखिएका विषयहरूको प्रमाण हो” भनेर धर्मशास्त्रले हामीलाई सिकाउँछन् । ध्यान भङ पार्ने विषयहरू र टेरेस्ट्रियल प्रलोभनहरूले हाम्रो आध्यात्मिक दृष्टिलाई धमिलो पार्दा पनि, जब हामीले परमेश्वर र उहाँका पुत्र येशू ख्रीष्टमा आस्था राख्छौँ, हामीलाई उहाँहरूको वास्तविकता र हाम्रा लागि उहाँहरूको चासोको स्पष्ट आश्वासन प्राप्त हुन्छ ।

मोर्मोनको पुस्तकमा, अगमवक्ता लहीले “एक वृक्ष देखे, जसको फल कुनै पनि व्यक्तिलाई खुसी पार्नका लागि आकर्षक थियो” र “सबै फलहरूभन्दा स्वादिष्ट” थियो । जब उनले फलको स्वाद लिए, उनको आत्मा महान् प्रसन्नताले भरियो र उनको परिवारले पनि यसको स्वाद लियोस् भनेर उनी चाहन्थे । यो वृक्षले “परमेश्वरको प्रेम”लाई प्रतिनिधित्व गर्छ र लही जस्तै, हामीले पनि परमेश्वरलाई हाम्रो जीवनमा आमन्त्रण गर्दा उहाँको प्रसन्नतापूर्ण गवाही प्राप्त गर्न सक्छौँ भनेर हामी सिक्छौँ ।

येशू ख्रीष्टले स्वर्गका पिताको हामीप्रतिको प्रेमलाई मूर्त रूप दिनुहुन्छ । आफ्नो प्रायश्चितको बलिदानद्वारा, उहाँले हाम्रा पापहरू आफूस्वयम् मा लिनुभयो र हाम्रा दुष्टताहरूका लागि चोट सहनुभयो । उहाँले हाम्रो दुःख आफूस्वयम् ले बहन गर्नुभएको छ, हाम्रो सन्ताप बहन गर्नुभएको छ र हाम्रा पीडा र रोगहरू आफूस्वयम् ले बहन गर्नुभएको छ । हामीलाई सान्त्वना दिनका लागि उहाँले पवित्र आत्मा पठाउनुहुन्छ र आत्माको फलमा प्रसन्नता, शान्ति र आस्था समावेश छन् जसले हामीलाई आशा र प्रेमले भरिपूर्ण बनाउँछन् ।

परमेश्वरको प्रेम सबैका लागि पहुँचयोग्य भए तापनि, धेरैले यसका लागि उत्सुकतापूर्वक खोजी गर्छन्, जबकि अरूहरूले परमेश्वरको प्रेम महसुस गर्न चाहन्छन् तर तिनीहरू यसका लागि योग्य छन् भनेर विश्वास गर्दैनन् । अन्य कसैले यसमा रहिरहन अति नै प्रयास गरिरहेका हुन्छन् । धर्मशास्त्र र परमप्रभुका अगमवक्ताले हामीलाई सिकाउनुहुन्छ जब हामीले येशू ख्रीष्टको अनुग्रहद्वारा निरन्तर पश्चात्ताप गर्छौँ, स्पष्ट रूपमा क्षमा दिन्छौँ, उहाँका आज्ञाहरू पालना गर्न प्रयास गर्छौँ र निस्वार्थ रूपमा अरूहरूको सेवा गर्छौँ तब हामीले निरन्तर रूपमा परमेश्वरको प्रेम अनुभव गर्न सक्छौँ । जब हामी हामीलाई उहाँको समीपमा ल्याउने कार्यहरू प्रार्थना र धर्मशास्त्र अध्ययनका माध्यमद्वारा दैनिक रूपमा उहाँसँग वार्तालाप गर्ने गर्छौँ र हामीलाई उहाँबाट टाढा राख्ने कार्यहरू घमण्डी, झगडालु र विद्रोही हुन छोड्छौँ, हामीले परमेश्वरको प्रेम महसुस गर्छौँ ।

अध्यक्ष रसल एम्. नेल्सनले हामीलाई “मुक्तिदाताको सहयोगमा हाम्रो जीवनमा रहेका पुराना अवशेषहरू हटाउन” र “तीतोपनलाई पन्छाउन” आमन्त्रण गर्नुभएको छ । उहाँले हामीलाई “मुक्तिदाता र उहाँको मन्दिरका विधिहरू र करारहरूमा हाम्रो जीवन केन्द्रित गरेर” “हाम्रो आध्यात्मिक आधारहरू मजबुत बनाउनका लागि” प्रोत्साहन गर्नुभएको छ । “जब हामी हाम्रा मन्दिरका करारहरू पालना गर्छौँ, हामीले परमप्रभुको सुदृढ पार्ने शक्तिमा अझै बढी पहुँच प्राप्त गर्छौँ…” भनेर उहाँले प्रतिज्ञा गर्नुभयो । हामीले येशू ख्रीष्ट र हाम्रा स्वर्गका पिताको विशुद्ध प्रेमलाई प्रशस्त मात्रामा अनुभव गर्छौँ!”

मेरा एक मित्र हुनुहुन्छ जसलाई एक सुन्दर परिवार र संभाव्यताहरू सहितको जीवनवृत्तिको आशीर्वाद दिइएको थियो । बिरामीपनाका कारण उहाँ काम गर्न असक्षम भए पछि यो परिवर्तन भयो, त्यस पछि सम्बन्ध विच्छेद भयो । त्यस समयपछिका वर्षहरू कठीन थिए तर आफ्ना छोराछोरीहरूप्रतिको उहाँको प्रेम र परमेश्वरसँग गरेका करारहरूले उहाँलाई उचालिराखेका छन् । उहाँकी पूर्व पत्नीले पुनर्विवाह गर्नुभएको छ र उहाँहरूको मन्दिरको सिलिङ रद्द गर्न अनुरोध गर्नुभएको छ भनेर एक दिन उहाँलाई जानकारी भयो । उहाँ चिन्तित र अलमल्लमा पर्नुभयो । उहाँले परमप्रभुको गृहमा शान्ति र समझदारी खोज्नुभयो । उहाँको भ्रमणको भोलिपल्ट, मैले उहाँबाट निम्न सन्देश प्राप्त गरेँ:

“हिजो राती मन्दिरमा मेरो अनुभव अद्भुत थियो । अझैपनि म धेरै द्वेषमा थिएँ भन्ने स्पष्ट छ भनेर मलाई महसुस भयो । म परिवर्तन हुनु पर्छ र त्यसो गर्नका लागि मैले हप्ताभरि प्रार्थना गरिरहेको छु भनेर मलाई ज्ञान आयो । … हिजो राती मन्दिरमा मैले शाब्दिक रूपमा आत्माले मेरो हृदयबाट द्वेष हटाएको महसुस गरेँ । … यसबाट मुक्त हुनु ठूलो राहतको विषय थियो । ममाथिको भयानक शारीरिक बोझ हटाइएको छ ।”

मेरा मित्रका चुनौतीहरू अझै हुँदाहुँदै पनि उहाँले परमप्रभुको गृहको त्यो अनुभवलाई सम्मान गर्नुहुन्छ जहाँ परमेश्वरको प्रेमको मुक्तिदायी शक्तिले उहाँलाई परमेश्वरको समिप्यता महसुस गर्न, जीवनका सम्बन्धमा अझै आशावादी हुन र आफ्नो भविष्यकासम्बन्धमा कम चिन्तित हुन सहयोग गरेको छ ।

जब हामी परमेश्वरको प्रेम अनुभव गर्छौँ, हामी हाम्रा बोझहरू सजिलैसँग बोक्न सक्छौँ र धीरतापूर्वक र खुसीसाथ उहाँको चाहनामा समर्पित हुन सक्छौँ । परमेश्वरले हामीसँग गर्नुभएका आफ्ना करारहरू स्मरण गर्नुहुने छ, हाम्रा कष्टहरूमा हामीलाई भेट्नुहुने छ र हामीलाई बन्धनबाट छुटकारा दिनुहुने छ भनेर हामीलाई विश्वास छ । हामी हाम्रो परिवार र प्रियजनहरूसँग हामीले महसुस गर्ने प्रसन्नता बाँढ्न पनि चाहना गर्ने छौँ । लहीको परिवार जस्तै, प्रत्येक व्यक्तिसँग फल खाने कि नखाने भनेर छनोट गर्ने अधिकार छ तर हाम्रो अवसर भनेको हामीले प्रेम गर्नेहरूलाई परमेश्वरको प्रेम महसुस गर्न सक्ने गरी प्रेम गर्नु, बाँढ्नु र आमन्त्रण गर्नु हो ।

अरूहरूलाई परमेश्वरको प्रेम महसुस गराउनका लागि सहयोग गर्न हामीले आफूमा विनम्रता, करुणा, दया र धीरता जस्ता ख्रीष्टीय विशेषताहरूको विकास गर्नु र परमेश्वरलाई प्रेम गर्ने र हाम्रा मित्रहरूलाई प्रेम गर्ने दुई महान् आज्ञाहरूको पालना गरेर अरूहरूलाई मुक्तिदातातर्फ फर्किनका लागि सहयोग गर्नु आवश्यक छ ।

हाम्रा एक छोराले किशोरावस्थामा कसैसँग वा कुनैपनि समूहमा आवद्ध हुन र आत्म-सम्मानका लागि सङ्घर्ष गरे । मेरी श्रीमती र मैले उसलाई कसरी सहयोग गर्ने भनेर प्रार्थना गर्‍यौँ र परमप्रभुले हामीलाई जे गरून् भनेर चाहनुहुन्थ्यो त्यसो गर्न हामी तयार थियौँ । मैले मेरो छोरासँगै भेट गर्न जान सक्ने आवश्यकतामा हुनुभएका कसैका सम्बन्धमा मेरा एल्डरहरूको गणका अध्यक्षलाई केही जानकारी छ कि भनेर उहाँलाई सोध्नका लागि एक दिन मलाई प्रेरणा मिल्यो । केही मनन गरे पश्चात्, उहाँले हामीलाई गम्भीर स्वास्थ्य समस्याहरू भएकी एक महिलालाई भेट्न र शाखा अध्यक्षको अनुमति लिएर हरेक हप्ता उहाँका लागि प्रभुभोज दिन भन्नुभयो । म अति नै उत्साहित भएँ तर यो साप्ताहिक प्रतिबद्धताका लागि मेरो छोराले कस्तो प्रतिक्रिया दिने छ भनेर पनि चिन्तित भएँ ।

हाम्रो पहिलो भ्रमणमा, यी प्रिय महिलाका लागि हाम्रो हृदय दु:खित बन्यो किनकि उहाँ निरन्तर पीडामा हुनुहुन्थ्यो । उहाँ प्रभुभोजका लागि धेरै आभारी हुनुहुन्थ्यो र हामीले उहाँ र उहाँका श्रीमानलाई भेट्दा हामीलाई रमाइलो खुसी महसुस भयो । केही भेटघाटहरू पछि, एक आइतबार म बाहिर गएको थिएँ र म मेरो छोरासँगै जान सकिनँ तर उसलाई हाम्रो कार्यभारको स्मरण गराएँ । घर पुग्नासाथ त्यो भेट कस्तो भयो भनेर सुन्नका लागि मैले प्रतीक्षा गर्न सकिनँ । मेरो छोराले जवाफ दियो कि उसका साथीहरूले यस्ता असल कार्यहरू गर्न पाउँछन् भन्ने उसलाई लाग्दैन । अनि सहयोगका लागि उसले आफ्नो भाइलाई सँगै ल्याएको र प्रभुभोज सहज रूपमा सम्पन्न भएको भन्दै विस्तारमा बताए तर यी प्रिय दिदी हप्ताभरि दुःखी थिइन् किनभने फिल्म हेर्नका लागि उनले आफ्ना साथीहरूलाई आफ्नो घरमा आमन्त्रण गरेकी थिइन् तर उनको भिडियो प्लेयरले काम गरेको थिएन । मेरो छोराले भने कि उसले यसबारेमा अनलाइनमा खोजे, समस्या पत्ता लगाए र तिनको समस्या तत्कालै समाधान गरे । उसले उपयोगी, खुसी बनाउने र आश्वस्त पार्ने जस्ता केही गर्ने विचार गरे जसले तिनलाई हर्षित बनाउन सक्यो । उसले आफ्ना लागि परमेश्वरको प्रेम महसुस गरे ।

यदि, उत्तम प्रयास गर्दागर्दै पनि, तपाईंले जीवनका चुनौतीहरूको सामना गरिरहँदा तपाईंका प्रार्थना सुनिएका छैनन् भनेर यदि तपाईंलाई महसुस हुन्छ वा तपाईंले परमेश्वरको प्रेम महसुस गर्न सक्नुहुन्न भने कृपया बुझ्नुहोस् कि हामी माथिका ताराहरू साच्चैँ भए जस्तै तपाईंको हरेक प्रयास महत्त्वपूर्ण छ र स्वर्गका पिता अनि येशू ख्रीष्टले तपाईंलाई चिन्नुहुन्छ, सुन्नुहुन्छ र प्रेम गर्नुहुन्छ।

कुनै एक अवसरमा जब उहाँका शिष्यहरू “छालहरूले [फ्याँकिदै] डुङ्गामा जाँदै थिए”, मुक्तिदाता पानीमाथि तिनीहरूतर्फ हिँड्नुभयो र तिनीहरूलाई आश्वासन दिँदै भन्नुभयो, “साहस गर; यो म हुँ; नडराओ ।” जब पत्रुस पानीमाथिबाट मुक्तिदाताकहाँ जान चाहन्थे, येशूले उनलाई “आऊ” भनेर इशारा गर्नुभयो । अनि जब पत्रुसले आफ्नो ध्यान गुमाए र डुब्न सुरु गरे, मुक्तिदाताले तत्कालै उनलाई समात्न आफ्नो हात अगाडि बढाउनुभयो र सुरक्षित स्थानमा लैजानुभयो र भन्नुभयो, “हे अल्पविश्वासी, तिमीले किन शङ्का गर्‍यौँ ?”

हामीले हाम्रो जीवनका चुनौतीहरूको सामना गरिरहँदा के हामी हर्षित र साहसी हुन इच्छुक छौँ ? सम्भवत: हामीले पहिचान गर्न नसकेका तरिकाहरूमा मुक्तिदाताले हामीलाई त्याग्नुहुन्न र उहाँ हाम्रो समीपमा हुनुहुन्छ भनेर हामी कसरी बुझ्न सक्छौँ ? विशेष गरी हामी अगाडिको मार्ग असम्भव देखिँदा पनि के हामी आस्थामा उहाँकहाँ जान इच्छुक छौँ ? अनि हामी लड्खडाउँदा उहाँले हामीलाई कसरी चुनौतीहरूको सामना गर्न सहयोग गर्नुहुन्छ ? शङ्का र भयबिना हरेक विचारमा हामी कसरी आस्थावान् बनेर उहाँलाई हेर्न सक्छौँ ?

यदि तपाईं आफ्नो जीवनमा परमेश्वरको प्रेमलाई प्रचुर मात्रामा महसुस गर्न चाहनुहुन्छ भने, के म तपाईंलाई निम्न विषयहरू मनन गर्नका लागि आमन्त्रण गर्न सक्छु:

  • पहिलो, तपाईं परमेश्वरको सन्तति हुनुहुन्छ भनेर स्मरण गर्नका लागि बारम्बार रोकिनुहोस् र तपाईं कृतज्ञ हुनुहुन्छ भन्ने विषयहरूका सम्बन्धमा सोच्नुहोस् ।

  • दोस्रो, दैनिक प्रार्थना गर्नुहोस्, तपाईंको वरपरका कसलाई उहाँको प्रेम महसुस गर्नु आवश्यक छ भनेर जान्नका लागि सहयोग गर्न स्वर्गका पितालाई सोध्नुहोस् ।

  • तेस्रो, त्यो व्यक्तिलाई परमेश्वरको प्रेम महसुस गर्नका लागि सहयोग गर्न तपाईंले के गर्न सक्नुहुन्छ भनेर इमानदारीपूर्वक सोध्नुहोस्

  • अनि चौथो, तपाईंले प्राप्त गर्नुभएको प्रेरणामा तत्कालै कार्य गर्नुहोस्

यदि हामी निरन्तर प्रार्थना गर्छौँ र अरूहरूको तर्फबाट माग्छौँ भने, परमेश्वरले हामीलाई हामीले सहयोग गर्न सक्ने मानिसहरू देखाउनुहुने छ । अनि यदि हामीले तत्कालै कार्य गर्छौँ भने, हामी तिनीहरूका लागि उहाँको प्रार्थनाको उत्तर दिने माध्यम बन्न सक्छौँ । समयसँगै, त्यसो गरेर, हामीले हाम्रा प्रार्थनाहरूको उत्तर प्राप्त गर्ने छौँ र हामीले आफ्नै जीवनमा परमेश्वरको प्रेम महसुस गर्ने छौँ ।

हवाईजहाजको झ्यालबाट बाहिरको दृश्य

केही महिना अघि भियतनाममा यात्रा गर्दा, मेरी श्रीमती र म एउटा विमानमा थियौँ जुन एउटा ठूलो आँधीबेहरीबाट गुज्रियो । विमानलाई गम्भीर रूपमा हल्लायो अनि हाम्रो झ्यालबाट कालो बादल, भारी वर्षा र चट्याङ देख्न सकिन्थ्यो । लामो र अस्थिर आरोहण पछि, हाम्रो विमान अन्ततः आँधीबेहरीको बादल माथि उठ्यो र यो गौरवशाली दृश्यमा देखा पर्यो । हामीलाई पुनः एक पटक हाम्रा स्वर्गका पिता र येशू ख्रीष्टको स्मरण गराइयो र हामीप्रति उहाँको महान् प्रेम महसुस भयो ।

प्रिय मित्रहरू, मुक्तिदाता येशू ख्रीष्ट परमेश्वरको प्रेम हुनुहुन्छ, परमेश्वरको प्रेम अनुभव गरेको व्यक्तिका रूपमा म खुसीसाथ गवाही दिन्छु । हाम्रा लागि उहाँको प्रेम परिपूर्ण, वैयक्तिक र शाश्वत छ। जब हामी आस्थावान् रूपमा उहाँलाई अनुसरण गर्छौँ, हामी उहाँको प्रेमले भरिपूर्ण हुन सकौं र हामी अरूहरूलाई उहाँको प्रेम पाउने माध्यम बन्न सकौं जसले अरूहरूलाई मार्गदर्शन गर्छ । येशू ख्रीष्टको नाममा, आमीन ।