तपाईंको पश्चात्ताप येशू ख्रीष्टका लागि बोझ हुँदैन; यसले उहाँको प्रसन्नता वृद्धि गर्छ ।
पश्चात्ताप गर्नका लागि आमन्त्रण परमेश्वरको प्रेमको अभिव्यक्ति हो । त्यो आमन्त्रणलाई हुन्छ भन्नु हाम्रो अभिव्यक्ति हो ।
धेरै वर्ष अगाडि, फ्लोरिडाको यात्रामा, किताब पढ्दै म बाहिर बसिरहेको थिएँ । यसको शीर्षकले सुझाव दिन्थ्यो कि हामी अहिले परिपूर्ण नभए तापनि हामी अझै पनि स्वर्गमा पुग्न सक्छौँ । हिँडिरहनुभएकी एक महिलाले सोध्नुभयो, “के यो सम्भव छ ?”
मैले अन्योलमा परेर माथि हेरेँ, त्यसपछि मलाई महसुस भयो कि उहाँले मैले पढ्दै गरेको किताबको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । मैले केही हास्यास्पद किसिमले जवाफ दिएँ जस्तै, “मैले अहिले त्यहाँसम्म पढिसकेकी छैन तर यसको अन्त्य कसरी हुन्छ म तपाईंलाई जानकारी दिने छु ।
ओहो, म कति चाहन्छु कि त्यो समयमा फर्किन पाए हुन्थ्यो! म भन्ने थिएँ, “हो, यो सम्भव छ! किनकि स्वर्ग पूर्ण भएका मानिसहरूका लागि होइन; त्यो ती मानिसहरूका लागि हो जसलाई क्षमा दिइएको छ, जसले ख्रीष्टलाई पुनः र पुनः खोज्छ ।”
आज म हामीहरू मध्येका तिनीहरूलाई बोल्न चाहन्छु जसले कहिले काहीँ महसुस गर्छन् कि, “पश्चात्ताप र क्षमाले म बाहेक सबैका लागि कार्य गरिरहेको जस्तो देखिन्छ ।” ती जो गोप्यमा आश्चर्य मान्छन्, “मैले त्यही गल्ती गरिरहेको हुनाले, हुनसक्छ म यस्तै नै हुन्छु ।” उहाँहरू जसले मैले जस्तै,करारको मार्ग धेरै ठाडो छ, त्यो लगभग करारको पदयात्रा हो भनेर महसुस गर्नुहुन्छ ।
अस्ट्रेलियामा सेवारत फिजीका एक उत्तम सुसमाचार प्रचारक, एल्डर काकाले , उहाँको घर प्रस्थानको समयमा आफ्नो गवाहीमा उस्तै अनुभव बाँड्नुभयो: “मलाई थाहा छ कि परमेश्वर मलाई प्रेम गर्नुहुन्छ तर कहिलेकाहीँ म सोच्छु, ‘के परमेश्वरलाई थाहा छ कि म उहाँलाई प्रेम गर्छु?’ किनभने म पूर्ण छैन र म अझै पनि गल्तीहरू गर्छु ।”
त्यो एक कमलो र खलबलाउने प्रश्नमा, एल्डर काकाले म प्रायसः चिन्तित हुने विषयको सारांश दिनुभयो । हुनसक्छ तपाईंहरू पनि सोचिरहनुभएको हुनुहुन्छ होला यो विचार गर्दै, “म यति धेरै प्रयास गरिरहेको छु तर के परमेश्वरलाई जानकारी छ म वास्तवमा नै प्रयास गरिरहेको छुँ? जब म असफल हुन्छु, के परमेश्वरलाई जानकारी छ म उहाँलाई अझै पनि प्रेम गर्छु?”
यो स्वीकार गर्नु पर्दा म दुःखी हुन्छु तर मैले पनि मेरो मुक्तिदातासँगको मेरो सम्बन्धलाई म कति पूर्ण रूपमा जिइरहेको छु भन्ने आधारमा मापन गर्थेँ । मैले सोचेको थिएँ कि आज्ञाकारी जीवनको अर्थ मैले कहिल्यै पनि प्रायश्चित गर्न आवश्यक नपर्नु हो । अनि जब मैले गल्तीहरू गर्थेँ, जुन हरेक दिन थियो, मैले आफूलाई परमेश्वरबाट टाढा राखेँ, यो सोच्दै, “उहाँ मदेखि धेरै निराश हुनुहुन्छ होला ।”
त्यो सत्य होइन ।
मैले यो जानेँ कि यदि तपाईं मुक्तिदाताकहाँ जानका लागि पूर्ण नहुँदासम्म वा पूर्ण नभएसम्म प्रतीक्षा गर्नुहुन्छ भने, तपाईंको बुझाइ गलत हो ।
हामीले आज्ञाहरू र आज्ञाकारिताका बारेमा भिन्न तरिकामा सोच्यौँ भने के हुन्छ?
म गवाही दिन्छु कि जब परमेश्वरले हाम्रा गल्तीहरूका बारेमा सोचविचार गर्नुहुन्छ भनेँ, उहाँले हामीले गल्ती गरिसकेपछि के हुन्छ भन्ने बारेमा अझ बढी सोचविचार गर्नुहुन्छ । के हामी उहाँमा पुनः अनि पुनः फर्कने छौँ? के हामी यो करारको सम्बन्धमा रहिरहने छौँ?
हुनसक्छ तपाईं परमेश्वरका शब्दहरू सुन्नुहुन्छ “यदि [तिमी] मलाई प्रेम गर्छौ भने, मेरा आज्ञाहरूको पालना गर” र निरुत्साहित महसुस गर्नुहुन्छ किनभने तपाईंहरूले सबै आज्ञाहरू पालना गर्नुभएको छैन । म तपाईंलाई स्मरण गराउन चाहन्छु कि पश्चात्ताप गर्नु पनि आज्ञा हो! वास्तवमा, यो धर्मशास्त्रहरूमा सबैभन्दा बढी दोहोर्याइएको आज्ञा हुन सक्छ ।
अल्माको मनोभावमा, “हे कि म स्वर्गदूत भएको भएँ र मेरो हृदयको चाहना प्राप्त भएको भएँ … र पश्चात्तापको घोषणा गर्न सक्ने थिएँ,” उहाँले हाम्रा गल्तीहरूलाई औँल्याएर हामीलाई लज्जास्पद बनाउन खोज्नुभएको थिएन । उहाँ पश्चात्ताप घोषणा गर्न चाहनुहुन्थ्यो ताकि तपाईं र म यो संसारमा पीडाबाट जोगिन सक्छौँ । अल्माले पापलाई घृणा गर्नुको एक कारण किनभने यसले हामीलाई पीडा दिन्छ ।
मेरो निधारमा टाँसिएको नोट जस्तै, कहिलेकाहीँ मैले स्मरण गर्नु पर्छ कि आज्ञाहरू पीडाबाट टाढा लैजाने मार्ग हुन् । अनि पश्चात्ताप पनि । हाम्रा अगमवक्ताले भन्नुभयो, “मुक्तिदाताले हामीलाई सधैँ प्रेम गर्नुहुन्छ तर विशेष गरी जब हामीले पश्चात्ताप गर्छौँ ।”
त्यसैले जब परमप्रभुले भन्नुहुन्छ, “पश्चात्ताप गर, पश्चात्ताप गर,” के हुन्छ यदि तपाईं उहाँले “म तिमीलाई प्रेम गर्छु भन्दै गर्नुभएको कल्पना गर्नुहुन्छ । म तिमीलाई प्रेम गर्छु ।” उहाँले तपाईंलाई बिन्ती गर्नुहुँदै गर्नुभएको कल्पना गर्नुहोस्, तपाईंलाई पीडा दिने व्यवहारलाई कसरी पछाडि छोड्ने भनेर देखाउनुहुँदै, तपाईंलाई अन्धकारबाट बाहिर गएर उहाँको प्रकाशमा फर्कन आमन्त्रण गर्नुहुँदै ।
मेरो छोरी कार्लीको वार्डमा, एक नयाँ पादरीले प्रभुभोजलाई आशीर्वाद दिनका लागि घुँडा टेक्नुभयो र यस्तो भन्नुको सट्टा, “कि तिनीहरूले हजुरको पुत्रको रगतको सम्झनामा यसो गर्ने छन्,” उहाँले अन्जानमा भन्नुभयो, “कि तिनीहरूले हजुरको पुत्रको प्रेमको सम्झनामा यसो गर्ने छन् ।” कार्लीका आँखाहरू आँसुले भरिए जब ती शब्दहरूका सत्यहरूले गहिराइमा छोए ।
हाम्रा मुक्तिदाताले उहाँको प्रायश्चित्तको पीडालाई सहन चाहनुहुन्थ्यो किनकि उहाँ तपाईंलाई प्रेम गर्नुहुन्छ । वास्तवमा, तपाईं “त्यो खुसी हुनुहुन्छ, जसलाई उहाँसामु राखिएको थियो” जब उहाँ पीडामा हुनुहुन्थ्यो ।
पश्चात्ताप गर्नका लागि निमन्त्रणा परमेश्वरको प्रेमको अभिव्यक्ति हो ।
त्यो निमन्त्रणालाई हुन्छ भन्नु हाम्रो अभिव्यक्ति हो ।
तपाईंलाई सबैभन्दा मनपर्ने ख्रीष्टको तस्वीर कल्पना गर्नुहोस् । अब हरेक पटक उहाँको उपहारको प्रयोग गर्दा उहाँ खुलेर खुसीसाथ मुस्कुराइरहनुभएको कल्पना गर्नुहोस्, किनभने उहाँ “आशाको पूर्ण चमक हुनुहुन्छ ।”
हो, तपाईंको पश्चात्ताप येशू ख्रीष्टलाई बोझ हुँदैन; यसले उहाँको प्रसन्नतालाई चम्काउँछ !
त्यही सिकाऔँ!
किनभने पश्चात्ताप हाम्रो सबैभन्दा असल समाचार हो!
हामी करारको मार्गमा कहिल्यै पनि गल्ती नगरिकन बस्दैनौँ । हामी हरेक दिन पश्चात्ताप गरेर त्यस मार्गमा बस्छौँ ।
अनि जब हामी पश्चात्ताप गर्छौँ, परमेश्वरले हामीलाई लाज नदिई, कसैसँग नदाँजीकन वा गाली नगरी क्षमा दिनुहुन्छ किनभने यो उहि अघिल्लो हफ्ता गरेको पश्चात्तापको विषय हो ।
हामीले हरेक पटक आफ्नो घुँडा टेकेको उहाँले देख्नुहुँदा उहाँ उत्साहित हुनुहुन्छ । उहाँ हामीलाई क्षमा दिन हर्षित हुनुहुन्छ किनभने उहाँका लागि हामी आनन्ददायी छौँ ।
के तपाईंलाई महसुस हुँदैन कि त्यो सत्य हो?
त्यसोभए हामीलाई यो विश्वास गर्न किन कठिन छ ?
सैतान, महान् दोषी कर्ता र धोखा दिनेले, हामीलाई परमेश्वरबाट टाढा राख्नका लागि लज्जाको प्रयोग गर्छ । लाज यति भारी अन्धकार हो जसलाई यदि तपाईंको शरीरबाट निकालियो भने, यसको वास्तविक तौल वा वजन हुन्छ ।
लाज त्यस्तो आवाज हो जसले तपाईंलाई जित्छ, यसो भन्दै, “तपाईं के सोच्दै हुनुहुन्थ्यो?” “के तपाईंले केही सही गर्नुभएको छ?”
लाजले हामीलाई भन्दैन हामीले गल्ती गरेका छौँ; यसले भन्छ हामी हाम्रो गलती हौँ । तपाईंले यो पनि सुन्नुहुन्छ, “लुक ।” विरोधीले भारीपन भित्र राख्नका लागि आफ्नो शक्तिमा भएको सबै गर्छ, यसो भन्दै कि यसको मूल्य धेरै छ, कि यदि यो सबै आशा हटाएर अन्धकारमा रहयो भने यो सजिलो हुन्छ ।
सैतान आशाको चोर हुन् ।
अनि तपाईंले यो सुन्नु पर्छ, त्यसैले म यी शब्दहरू ठूलो आवाजमा भन्छु: तपाईं तपाईंको भित्रको आवाज हुनुहुन्न वा तपाईं तपाईंले गर्नुभएका गल्तीहरू हुनुहुन्न । तपाईंले पनि त्यो ठूलो आवाजमा भन्नु आवश्यक हुन सक्छ । सैतानलाई भन्नुहोस्, “आज होइन ।” उसलाई तपाईंको पछाडि राख्नुहोस् ।
त्यो आकर्षण महसुस गर्नुहोस्, परमेश्वरको दुःख जसले तपाईंलाई मुक्तिदातातर्फ फर्काउँछ र उहाँको अनुग्रह तपाईंको जीवनमा र तपाईंले प्रेम गर्नुहुने तिनीहरूको जीवनमा हेर्नुहोस् । हामीले टुक्रिएको हृदयलाई हिम्मतकासाथ उहाँमा फर्काएको क्षणमा, उहाँ त्यहीँ हुनुहुने छ भनेर म प्रतिज्ञा गर्छु ।
यदि तपाईंले कसैलाई डुबीरहेको देख्नुभयो भने, के तपाईं आफ्नो हात दिएर उसलाई बचाउनुहुन्न? के तपाईं मुक्तिदातालाई तपाईंको फैलाइएको हातलाई अस्वीकार गरिरहनुभएको कल्पना गर्न सक्नुहुन्छ? म उहाँलाई पानीमा हाम्फाल्नुहुँदै र हामीले स्वच्छ सास फेर्न सकोस् भनेर हामीलाई माथि उठाउनका लागि सबैभन्दा मुनि अवतरण गरिरहनुभएको कल्पना गर्छु! ख्रीष्टको प्रकाश चम्केको भन्दा मुनि कोही डूब्न सक्दैनन् ।
मुक्तिदाता लाजको अन्धकार भन्दा सदैव चम्किलो हुनुहुन्छ । उहाँले तपाईंको मूल्यमा कहिले पनि प्रहार गर्नुहुन्न । त्यसैले नजिकबाट हेर्नुहोस् ।
-
कल्पना गर्नुहोस् कि यो हातले मूल्यको प्रतिनिधित्व गर्छ ।
-
यो हातले आज्ञाकारिताको प्रतिनिधित्व गर्छ । हुनसक्छ तपाईं आज बिहान उठ्नुभयो, अर्थपूर्ण प्रार्थना गर्नुभयो र परमेश्वरको वाणी सुन्नका लागि धर्मशास्त्र खोज्नुभयो । तपाईंले राम्रो निर्णयहरू लिनुभएको छ र तपाईंका वरिपरिका मानिसहरूलाई ख्रीष्टले जस्तै व्यवहार गर्दै हुनुहुन्छ । तपाईं साधारण सम्मेलनलाई सुन्दै हुनुहुन्छ! तपाईंको आज्ञाकारिता यहाँ छ!
-
अथवा हुनसक्छ राम्रा विषयहरू भएका छैनन् । तपाईंहरूले स्वर्गसँग जोडिनका लागि, ती साना र सरल विषयहरू गर्नका लागि हालै सङ्घर्ष गर्नुभएको छ । तपाईंले केही त्यस्ता निर्णयहरू लिनुभएको छ जसमा तपाईंलाई गर्व महसुस हुँदैन ।
-
तपाईंको मूल्य कहाँ छ? के यो हात चलेको छ?
तपाईंको मूल्य आज्ञाकारितासँग गाँसिएको छैन । तपाईंको मूल्य स्थिर छ; यो कहिल्यै पनि परिवर्तन हुँदैन । यो तपाईंलाई परमेश्वरले दिनुभएको हो र यो परिवर्तन गर्नका लागि तपाईं वा कसैले केही गर्न सक्नुहुन्न । आज्ञाकारिताले आशीर्वादहरू ल्याउँछन्; जुन सत्य छ । तर मूल्य ती मध्येका एक होइनन् । तपाईंको मूल्य सदा “परमेश्वरको दृष्टिमा महान् हुन्छ,” तपाईंका निर्णयहरूले तपाईंलाई जहाँ लागेको भए पनि ।
जब म गल्तीहरू गर्छु, म ख्रीष्टसँग करारको सम्बन्धमा रहन चाहन्छु र म भन्छु किन ।
म हाम्फालेर पौडी खेल्ने शिक्षा लिँदै हुर्केको थिएँ र मैले सिकेँ कि जब निर्णायक मण्डलले डुबाइलाई मूल्याङ्कन गर्नुहुन्छ, उहाँहरूले प्रस्तुति हेर्नुहुन्छ । औँलाहरू तेर्सो पारेर र सानो छप्का मार्दै गर्दा के प्रवेश पूर्ण रूपमा ठाडो थियो ? त्यसपछि उहाँहरूले केही असाधारण गर्नुहुन्छ । उहाँहरूले कठिनाइका तहअनुसार विभाजन गर्नुहुन्छ ।
सबैजना आफ्ना कठिनाइका तहअनुसार डुबिरहेका छन् । अनि तपाईंको मुक्तिदाता एक मात्र हुनुहुन्छ जसलाई वास्तवमा थाहा छ तपाईं कुन तहको कठिनाइमा डुबिरहनु भएको छ । म मलाई बुझ्न सक्ने एकजना व्यक्तिसँग सम्बन्ध चाहन्छु, जसलाई मेरो हृदयको र म कति प्रयास गरिरहेको छु भनेर जानकारी छ!
उहाँलाई जानकारी छ अन्धकारका तुवाँलोहरू हामी सबै यात्रीहरूमा ओइरिरहेको छ अनि हाम्रो यात्राले फोहोर खोला पार गर्ने छ—त्यसैले हामी फलामको छड समाइरहँदा पनि हामीलाई छिटा पर्ने छ ।
ख्रीष्टमा आउनु भनेको यो भन्नु हो, “के तपाईं मलाई सहयोग गर्नुहुन्छ?” यो आशाकासाथ एक प्रकाश गरिएको सुनिश्चतता कि उहाँका बाहुहरू तपाईंहरूका लागि सधैँ फैलाइएका छन् । पश्चात्तापको यो नयाँ दृष्टिकोणको अर्थ हामीले निरन्तर उहाँसँग रहने छनोट गर्छौँ किनभने हामी उहाँलाई प्रेम गर्छौँ भन्ने हो । हामीसँग अहिले पूर्ण आज्ञाकारिता नभए तापनि, हामी हाल् स्नेहपूर्ण आज्ञाकारिताको प्रयास गर्छौँ भनेर म यो विश्वास गर्छु ।
राजा बेन्यामिनका जनहरूलाई सम्झनुहोस् जसको दुष्ट गर्ने कुनै स्वभाव थिएन तर निरन्तर असल कार्य मात्र गर्ने मात्रै स्वभाव थियो ? के तपाईंलाई लाग्छ कि तिनीहरूले आफ्ना पालहरू बटुलेर घर गए र कहिले पनि अन्य गल्तीहरू गरेनन्? निश्चय नै होइन! भिन्नता यो थियो कि उनीहरू अब अरू पाप गर्न चाहँदैन थिए । तिनीहरूसँग स्नेहपूर्ण आज्ञाकारीता थियो! जब तिनीहरूले सङ्घर्ष गरिरहेका थिए तिनीहरूका हृदयहरूमा परिवर्तन आयो र परमेश्वरमा केन्द्रित भयो!
एक पटक, समुद्रको किनारमा, मैले आफ्नो पखेटा जोडले फड्काउँदै, उन्मादपूर्णरूपमा तर एकै स्थानमा रहेर हावासँगै एक चरा उडिरहेको देखेँ । त्यसपछि मैले अर्को चरा माथि देखेँ । त्यसले माथिको बेग लिएको थियो र सहज रूपमा हावाको प्रवाहमा उडिरहेको थियो । हामी आफैले यो गर्ने प्रयास गर्दा र “उहाँका पखेटामा आरोग्यता लिएर” मुक्तिदातालाई हामीलाई उठाउन दिँदै उहाँकहाँ फर्कँदाको बीचमा त्यस्तो भिन्नता हुन्छ ।
अस्ट्रेलियामा सुसमाचार अगुवाका रूपमा, हरेक सुसमाचार प्रचारकसँग हाम्रो अन्तिम भेटको समयमा, हामीले ३ नफी १७बाट छलफल गर्यौँ, जहाँ मानिसहरू मुक्तिदातासँग नजिक थिए र उहाँले तिनीहरूका लागि प्रार्थना गरिरहनुभएको सुने । हामीले सोध्यौँ, “यदि तपाईंहरूले मुक्तिदाताले तपाईंका लागि प्रार्थना गरिरहनुभएको सुन्न सक्नुहुन्छ भने, तपाईंलाई उहाँले के भन्नुहुन्छ जस्तो लाग्छ?”
उहाँहरूको उत्तर सुन्नु मेरो जीवनको सबैभन्दा आत्माले भरिपूर्ण अनुभवहरू मध्येको एक थियो । प्रत्येक सुसमाचार प्रचारकहरू रोकिए र उनीहरूका आँखाहरू आँसुले भरिए जब हामीले तिनीहरूलाई स्मरण गरायौँ, “तपाईंका मुक्तिदातालाई तपाईंले अनुभव गरिरहनुभएको कठिनाइको तहको जानकारी छ । उहाँले त्यो महसुस गर्नुभएको छ!”
ती सुसमाचार प्रचारकहरूले शान्त र कोमलतापूर्वक बाँड्नुभएको यो थियो: एक बहिनीले भन्नुभयो “येशूले पितालाई भन्नुहुन्छ, ‘उनले सक्दो प्रयास गरिरहेकी छिन् । मलाई थाहा छ उहाँले कति प्रयास गरिरहनु भएको छ । एउटा एल्डरले भन्नुभयो, “उहाँको जीवनमा भएका सबै विषयहरूका कारण, म उहाँको गर्व गर्छु ।”
यो प्रयास गरौँ । आज राति, तपाईंले प्रार्थना गर्नु भन्दा अगाडि, येशू ख्रीष्ट तपाईंको नजिक हुनुभएको कल्पना गर्नुहोस् । उहाँ पितासँग तपाईंको अधिवक्ता हुनुहुन्छ । तपाईं आफैलाई सोध्नुहोस्, “मेरो मुक्तिदाताले पितालाई मेरो बारेमा के भन्नुहुने छ?”
अनि शान्त हुनुहोस् ।
त्यो आवाजलाई सुन्नुहोस् जसले तपाईंका बारेमा राम्रा विषयहरू भन्छन्—मुक्तिदाताको आवाज, तपाईंको सबैभन्दा उत्तम मित्र र तपाईंको स्वर्गका पिता जो वास्तवमा त्यहाँ हुनुहुन्छ । सम्झनुहोस्, उहाँहरूको प्रेम र तपाईंको मूल्य सदा महान् छन्, जे भएता पनि ।
म यहाँ गवाही दिनका लागि उभिएको छु कि येशू ख्रीष्टले तिनीहरूलाई प्रकाश दिनुहुन्छ जो अन्धकारमा बस्छन् । त्यसकारण, ती दिनहरूमा जब तपाईं त्यो आवाजले तपाईंलाई लुक्नका लागि भनेको महसुस गर्नहुन्छ, कि तपाईं त्यो अन्धकार कोठामा एक्लै लुक्नु पर्छ, म तपाईंलाई सहासी हुन र ख्रीष्टलाई विश्वास गर्न आमन्त्रण गर्छु! हिँड्नुहोस् र बत्ती बाल्नुहोस्—हाम्रो आशाको पूर्ण चमक ।
उहाँको प्रकाशमा ढाकिएर, तपाईंले तपाईंको वरिपरि ती मानिसहरूलाई देख्नुहुने छ जसले एक्लो महसुस गर्नुभएका छन् तर अहिले बलेको बत्ती सँगै, तपाईं र तिनीहरूले सोच्नुहुने छ, “हामी अन्धकरमा किन त्यति डराएका थियौँ? अनि हामी त्यहाँ किन त्यति धेरै समय रहयौँ?”
“प्रकाशहरूका परमप्रभुले तपाईंलाई उहाँका बाहुमा लिनुहोओस् र तपाईलाई निरन्तर रूपमा सान्त्वना र प्रेम गर्नुहोओस् ।” हामी उहाँलाई निरन्तर प्रेम गरौँ र बारम्बार छनोट गरौँ । येशू ख्रीष्टको नाममा, आमीन ।