साधारण सम्मेलन
क्षतिपूर्तिका रूपमा आशीर्वादहरू
अप्रिल २०२५ को साधारण सम्मेलन


11:19

क्षतिपूर्तिका रूपमा आशीर्वादहरू

जब जीवनका धेरै परिस्थितिहरू हाम्रो नियन्त्रण बाहिर हुन सक्छन्, हामी मध्ये कोही पनि परमप्रभुको असीम आशीर्वादहरूको पहुँचबाट बाहिर छैनौँ ।

अध्यक्षता गरिरहेको बिशपरिकमा सेवा गर्दा, मैले संसारभर विभिन्न स्थानहरूमा र संस्कृतिहरूमा पछिल्ला दिनका सन्तहरूलाई भेट्ने सुअवसर प्राप्त गरेको छु । तपाईंहरूको परमप्रभु येशू ख्रीष्ट प्रतिको स्थिर आस्था र भक्तिले मलाई निरन्तर प्रेरणा दिएको छ । तपाईंहरू धेरैले सामना गर्नुहुने विभिन्न र प्रायजसो कठिन परिस्थितिहरू—चुनौतीहरू जस्तै बिरामी हुनु, असक्तता, सीमित स्रोतहरू, विवाह र शिक्षाका लागि कम अवसरहरू, अरूहरूद्वारा गरिएका दुर्व्यवहार र अन्य सीमितताहरू वा अवरोधहरूबाट म अझै विचलित भएको छु । कहिलेकाहीँ, सेवा गर्न, आराधना गर्न र पवित्र कर्तव्यहरू पूरा गर्न अझ कठिन बनाउँदै यी परीक्षाहरूले तपाईंको उन्नतीमा बाधा पुऱ्याएको र तपाईंको पूर्ण रूपमा सुसमाचारमा जिउने प्रयासलाई चुनौती दिएको महसुस हुन सक्छ ।

मेरा प्रिय मित्रहरू, यदि तपाईंहरूले कहिलेकाहिँ तपाईंहरूका जीवनका परिस्थितिहरूद्वारा सीमित वा बेफाइदा भएको महसुस गर्नुहुन्छ भने, म तपाईंहरूले यो जान्नुहोस् भन्ने चाहन्छु: परमप्रभुले तपाईंलाई व्यक्तिगत रूपमा प्रेम गर्नुहुन्छ । उहाँलाई तपाईंहरूका परिस्थितिहरू थाहा छ र तपाईंहरूले जस्तोसुकै चुनौतीहरूको सामना गर्नु परे पनि उहाँका आशीर्वादको ढोका तपाईंहरूका लागि खुला रहने छ ।

मैले यो सत्यता व्यक्तिगत अनुभवद्वारा सिकेको छु जुन, कम महत्त्वको जस्तो देखिएता पनि, ममा अविस्मरणीय छाप छोडेको छ । २२ बर्षको उमेरमा, पेरिसमा फ्रान्सेली वायु सेनामा कार्यरत रहँदा, परमप्रभुका एक प्रेरित एल्डर निल ए. म्याक्सवेलले च्याम्प्स-एलिसीसमा एक सम्मेलनमा बोल्दै हुनुहुन्छ भन्ने थाहा पाउँदा म उत्साहित भएँ । यद्यपि, कार्यक्रम भन्दा अघि, मैले एक वरिष्ठ अधिकृतलाई सम्मेलन हुन तय गरिएको त्यही समयमा विमानस्थलमा लैजानुपर्ने आदेश प्राप्त गरेँ ।

म निराश भएँ । तर सहभागी हुने दृढताकासाथ, मैले ती अधिकृतलाई विमानस्थलमा छाडेँ र हतार गरेर सम्मेलनतर्फ गएँ । पार्किङ् गर्ने स्थान भेटाएपछि, च्याम्प्स-एलिसीसबाट तल सभा भइरहेको स्थानमा गएँ र सभाको अन्त्य हुन पाँच मिनेट मात्र बाँकी रहँदा छिटो छिटो स्वास फेर्दै पुगेँ । भित्र छिर्दै गर्दा, मैले एल्डर निल ए. म्याक्सवेलले यसो भन्नुभएको सुनेँ, “अब म तपाईंहरूलाई प्रेरितको आशीर्वाद दिने छु ।” त्यस क्षणमा, मैले एक सुन्दर, बिर्सन नसकिने आत्मिक अनुभव गरेँ । म आत्माले भरिएँ र आशीर्वादका ती वचनहरू मेरै लागि मात्र भनिएको जस्तै गरी मेरो आत्माको प्रत्येक रेशालाई छेडेको जस्तो अनुभव भयो ।

त्यस दिन मैले जे अनुभव गरेँ त्यो उहाँका सन्तानका लागि परमेश्वरको योजनाको सान्त्वना दिने पक्षको सानो तर शक्तिशाली प्रकटीकरण थियो: जब हाम्रो नियन्त्रण बाहिरका परिस्थितिहरूले हामीलाई हाम्रा हृदयका धार्मिक चाहनाहरू पूरा गर्नबाट रोक्छ, परमप्रभुले हामीलाई उहाँका वाचा गरिएका आशीर्वादहरू प्राप्त गर्नका लागि भिन्न मार्गहरू प्रयोग गर्नुहुन्छ ।

यो आश्वस्त पार्ने सत्य येशू ख्रीष्टको पुनर्स्थापना गरिएको सुसमाचारमा पाइएका तीन मूल सिद्धान्तहरू मा आधारित छन् ।

  1. परमेश्वरले हामी हरेकलाई पूर्णरूपमा प्रेम गर्नुहुन्छ । “उहाँले हामीहरू सबैलाई उहाँमा आउन र उहाँको असलपना ग्रहण गर्न आमन्त्रण गर्नुहुन्छ ।” उहाँको उद्धारको योजनाले आश्वस्त गराउँछ कि सबैजनालाई, बिना अपवाद, एक दिन मुक्ति र उन्नयनका आशीर्वादहरू प्राप्त गर्नका लागि न्यायोचित अवसर दिइने छ ।

  2. किनभने परमेश्वर न्यायोचित र दयालु दुबै हुनुहुन्छ र उहाँको योजना पूर्ण छ, उहाँले हाम्रो क्षमता भन्दा बाहिरका विषयहरूका लागि हामीलाई उत्तरदायी बनाउनुहुने छैन । एल्डर निल ए. म्याक्सवेलले व्याख्या गर्नुभयो कि “परमेश्वरले … हाम्रा चाहना र कार्यलाई मात्र नभई, विभिन्न परिस्थितिहरूले गर्दा हामीमा आउन सक्ने कठिनाइका स्थितिहरूलाई पनि दयालु पूर्वक ध्यानमा राख्नुहुन्छ ।

  3. येशू ख्रीष्ट र उहाँका प्रायश्चित्तद्वारा, हामीले अन्त्यसम्म सहने र अन्ततः जीवनका चुनौतीहरूलाई पराजित गर्ने शक्ति प्राप्त गर्न सक्छौँ । अल्माले सिकाए जस्तै, मुक्तिदाताले पश्चात्ताप गर्नेहरूको पाप मात्र आफूमा लिनुभएन तर “उहाँका जनहरूका पीडाहरू र रोगहरू” र “तिनीहरूका अशक्तताहरू” पनि लिनुभयो । यसरी, हामीलाई हाम्रा गल्तीहरूबाट उद्धार गर्नु भन्दा पनि बढी, परमप्रभुको दया र कृपाले हामीलाई हाम्रो मरणशीलताको अनुभवद्वारा बाध्य बनाइएका अन्यायहरू, कमीकमजोरीहरू र सीमितताहरूबाट जोगाउँछ ।

यी क्षतिपूर्तिका रूपमा आशीर्वादहरू केही सर्तहरूसँगै आउँछन् । परमप्रभुले हामीलाई “हामीले गर्न सक्ने” सबै गर्न र [हाम्रा] सम्पूर्ण आत्मा उहाँमा अर्पण गर्न” भन्नुहुन्छ । यसो गर्नका लागि गहिरो चाहना, इमानदार र आस्थावान हृदय र उहाँका आज्ञाहरू पालना गर्न र उहाँको चाहनासँग हाम्रो चाहना मिलाउनका लागि हाम्रो उत्कृष्ट दृढता हुन आवश्यक छ

जब हाम्रा गम्भीर प्रयासहरू हाम्रो नियन्त्रण भन्दा बाहिरका परिस्थितिहरूका कारण हाम्रा अपेक्षाहरू पूरा गर्न असफल हुन्छन्, परमप्रभुले अझै पनि हाम्रा हृदयका चाहनाहरूलाई योग्य अर्पणका रूपमा स्वीकार गर्नुहुन्छ । अध्यक्ष ड्यालिन एच्. ओक्सले सिकाउनुभयो, “केही बाहिरी परिस्थितिहरूले हामीलाई ती चाहनाहरूलाई कार्यमा ल्याउन असम्भव बनाए तापनि हामी हाम्रा हृदयका धार्मिक चाहनाहरूका लागि आशीषित हुने छौँ ।”

जब अगमवक्ता जोसेफ स्मिथ आफ्ना दाजु एल्वीनका लागि चिन्तित हुनुभयो, जसको आवश्यक सुसमाचारका विधीहरू प्राप्त गर्नु पहिले नै मृत्यु भएको थियो, उहाँले यो सान्त्वनादायी प्रकाश प्राप्त गर्नुभयो: “अब उपरान्त जसको [सुसमाचार]को ज्ञान बिना मृत्यु हुन्छ, जसले आफ्नो सम्पूर्ण हृदयले यसलाई प्राप्त गर्ने छ, [परमेश्वरको सेलेस्टियल राज्यको] उत्तराधिकारी हुने छन् ।” त्यसपछि परमप्रभुले थप भन्नुभयो, “किनकि म, परमप्रभुले, सबै मानिसलाई तिनीहरूका कार्यअनुसार न्याय गर्ने छु, उनीहरूका हृदयहरूका चाहनाअनुसार ।”

परमप्रभुका लागि महत्त्वपूर्ण विषय हामीले उहाँलाई मुक्तिदाताका रूपमा अनुसरण गर्नका लागि आफूले सकेको सबै गर्न सक्षम छौँ कि छैनौँ मात्र नभइ हामी चाहन्छौँ कि चाहँदैनौँ भन्ने हो ।

एक युवा सुसमाचार प्रचारक आफ्ना निस्वार्थ प्रार्थनाका बावजूद र सेवा गर्ने तीब्र चाहना भएता पनि खराब स्वास्थका कारण चाँडै घर फर्किन लागेकोमा दुःख मानिरहेको अवस्थामा एक साथीले तिनलाई सानत्वना दिनुभयो । उहाँले धर्मशास्त्रबाट बाँड्नुभयो जहाँ परमप्रभुले घोषणा गर्नुभयो कि जब उहाँका सन्तान “आफ्ना सबै सामर्थ्यका साथ जान्छन्,” र उहाँका आज्ञाहरू पालना गर्नका लागि “आफ्ना दृढता छोड्दैनन्,” र तिनीहरूका शत्रुहरूले [जसमा हाम्रा जीवनका विरुद्धका परिस्थितिहरू समावेश हुन सक्छन्] त्यो कार्य गर्नबाट रोक्छ, हेर, त्यो कार्य ती [मानिसहरू]का हातहरूबाट नगराउने तर तिनीहरूका अर्पणहरू स्वीकार गर्ने मेरो चाहना हुन्छ।”

उनले सेवा गर्ने बोलावटको प्रतिक्रिया दिएर सम्भव भएसम्मको प्रयास गरेका थिए भन्ने परमेश्वरलाई जानकारी छ भनेर मेरो साथीले ती युवकलाई गवाही दिनुभयो । उहाँले उनलाई विश्वस्त गराउनुभयो कि परमप्रभुले तिनको अर्पणलाई स्वीकार गरिसक्नुभएको छ र कि सबै आस्थावान् सुसमाचार प्रचारकहरूलाई दिइएको आशीर्वाद रोकिने छैन ।

परमप्रभुका क्षतिपूर्तिका रूपमा आशीर्वादहरू प्रायजसो दया र अरूको सेवाद्वारा आउँछ जसले हामीलाई हामी आफैले गर्न नसक्ने कार्य पूरा गर्न हामीलाई सहयोग गर्छ । म एक समयको सम्झना गर्छु जब फ्रान्समा मेरा छोरीहरू मध्येकि एकबाट टाढा बस्दा, कठिन प्रसवपछि हामी उसलाई सहयोग गर्न असमर्थ भयौँ । त्यही हप्ता, यूटामा हाम्रो वार्डमा भर्खरै जुम्ल्याहा बच्चाहरूलाई जन्म दिनुभएकी एक आमाको लागि सहयोग खोजियो । मेरी श्रीमती, भेलरीले, उहाँका लागि खाना ल्याएर सहयोग गरिन्, उनको हृदयमा यस नव आमा र वास्तवमा हाम्री छोरी दुबैका लागि प्रार्थनाका साथ । लगत्तै पछि, फ्रान्समा हाम्री छोरीको वार्डले उनको परिवारका लागि खाना उपलब्ध गराउन व्यवस्था गरेका थिए भनेर हामीले जानकारी पायौँ । हाम्रा लागि, परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनुभएको थियो, उहाँका स्वर्गदूतहरू पठाएर सान्त्वना ल्याउन जब हामीले सकेका थिएनौँ ।

जब सीमितता र चुनौतीहरूको सामना गर्छौँ, हामीले हाम्रो आफ्नै आशीर्वादहरू चिन्न सकौँ—हाम्रा उपहारहरू, स्रोतहरू र समय—र तिनीहरूलाई आवश्यकतामा परेकाहरूलाई सेवा गर्नका लागि प्रयोग गरौँ । यसो गर्नाले, हामीले अरूहरूलाई मात्र अशीषित गर्दैनौँ तर हाम्रो आफ्नो जीवनमा उपचार र क्षतिपूर्तिलाई आमन्त्रण गर्छौँ ।

परमेश्वरका क्षतिपूर्तिका रूपमा आशीर्वादहरूका लागि हामीले योगदान गर्न सक्ने सबैभन्दा शक्तिशाली तरीकाहरू मध्येका एक परमप्रभुको गृहमा हाम्रो पितापुर्खाहरूका लागि हामीले गर्ने प्रतिनिधित्वको कार्य हो । जब हामी उहाँहरूका लागि विधिहरू निर्वाह गर्छौँ, हामी परमप्रभुको मुक्तिको महान् कार्यमा सक्रियरूपमा सहभागी हुन्छौँ, हाम्रा उपहारहरू र क्षमताहरूको प्रयोग गरेर तिनीहरूलाई आशीर्वाद प्रदान गराउनका लागि जसले आफ्नो मरणशील जीवनको समयमा ती प्राप्त गर्न सकेका थिएनन् ।

मुक्तिदाताको अनुग्रह यो जीवन भन्दा पछिसम्म फैलिएको छ भनेर पवित्र मन्दिरहरूमा हामीले अर्पण गर्ने प्रेमपूर्ण सेवाले हामीलाई स्मरण गराउँछ । आउने जीवनमा हामीलाई ती विषयहरू प्राप्त गर्नका लागि नयाँ अवसरहरू दिइन सक्छ जुन हामीले यस मरणशील जीवनमा गर्न सकेका थिएनौँ । अध्यक्ष लोरेन्जो स्नोले प्रेमपूर्वक ती दिदीबहिनीहरूलाई भन्नुभयो जसले आफ्नो अनन्त साथी भेट्टाउनु भएको छैन: “त्यहाँ त्यस्ता कुनै पछिल्ला दिनका सन्त छैनन् जसको आस्थावान् जीवन जिएपछि मृत्यु हुन्छ जसले अवसर नपाएका कारण केही कार्यहरू गर्न असफल भएर केही गुमाउँछन् । … उनीहरूले यी अवसर प्राप्त गरेका कुनै पनि पुरुष वा महिलाले जस्तै ती सबै आशीर्वादहरू, उन्नयन र महिमा प्राप्त गर्ने छन् ।”

यो आशा र सान्त्वनाको सन्देश परमेश्वरका सन्तान सबैका लागि हुन् । हामी मध्ये कोही पनि मरणशीलताको सीमितताको चुनौतीहरूबाट उम्कन सक्दैनौँ । अन्ततः हामी सबै आफैलाई मुक्त गर्न अन्तरनीर्हित असमर्थता लिएर जन्मेका छौँ । तर पनि, हामीसँग प्रेम गर्ने मुक्तिदाता हुनुहुन्छ र “यो [उहाँको] अनुग्रहद्वारा हो कि हामीले गर्न सक्ने गरेपछि हामीलाई मुक्त गरिन्छ भनेर हामीलाई जानकारी छ ।”

जब जीवनका धेरै परिस्थितिहरू हाम्रो नियन्त्रण बाहिर हुन्छन्, हामी मध्ये कोही पनि परमप्रभुको असीम आशीर्वादहरूको पहुँचबाट बाहिर हुँदैनौँ भनेर म गवाही दिन्छु । उहाँको प्रायश्चित्तको बलिदानद्वारा, यदि हामीले हाम्रो पूर्ण हृदय उहाँलाई अर्पण गर्यौँ भने मुक्तिदाताले हरेक असमर्थता र अन्यायको क्षतिपूर्ति गर्नुहुन्छ । येशू ख्रीष्टको नाममा, आमीन ।