ख्रीष्टको पुनरागमनको तयारीका लागि सहभागी हुनुहोस्
परमेश्वरको कार्यमा लाग्ने बोलावट र अन्य तरिकाहरूले हामीलाई मुक्तिदातालाई भेट्नका लागि अद्वितीय रूपमा तयार पार्छन् ।
केही महिना अघि, म कुनै हलमा उभिरहेको थिएँ, जहाँबाट एल्डर नील एल. एन्डरसन हिँड्दै हुनुहुन्थ्यो । मलाई भर्खरै नयाँ साधारण अधिकारीका रूपमा बोलावट गरिएको थियो । संभवत: मेरो अयोग्यताको भावना महसुस गर्दै, उहाँले मुस्कुराउँदै भन्नुभयो, “ठीक छ, त्यहाँ एक जना मानिस जस्तो देखिनुहुन्छ जसलाई उहाँ के गरिरहनुभएको छ भनेर जानकारी छैन ।”
अनि मैले सोचेँ, “त्यहाँ एक जना सत्य अगमवक्ता र द्रष्टा हुनुहुन्छ ।”
त्यसपछि एल्डर एन्डरसनले मन्द आवाजमा भन्नुभयो “चिन्ता नगर्नुहोस्, एल्डर शम्वे । पाँच वा छ वर्षमा—सही हुँदै जान्छ ।”
किन हामीलाई परमेश्वरको अधिराज्यमा त्यस्ता कार्यहरू गर्न भनिएको छ जुन हाम्रो पहुँचभन्दा बाहिर छन् भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? जीवनका धेरै मागहरूसँगै, हामीलाई चर्चका बोलावट किन आवश्यक छन् भनेर के तपाईंले कहिल्यै सोध्नुभएको छ ? हो, मैले सोधेको छु ।
गत साधारण सम्मेलनमा मैले उत्तर प्राप्त गरेँ जब अध्यक्ष रसल एम्. नेल्सनले बताउनु भयो “तपाईं र मेरा लागि हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टको दोस्रो आगमनका लागि तयारी गर्ने समय अहिले हो ।” जब अध्यक्ष नेल्सनले यसो भन्नुभयो, हामी परमेश्वरको कार्यमा सहभागी हुँदा, हामीले ख्रीष्टको पुनरागमनका लागि तयारी गरिरहेका हुन्छौँ भनेर आत्माले मलाई सिकायो । बोलावटहरू, सेवा, मन्दिरका सेवा, प्रेरणाहरूको पालना गर्ने र परमेश्वरको कार्यमा संलग्न हुने अन्य तरिकाहरूले हामीलाई मुक्तिदातालाई भेट्नका लागि अद्वितीय रूपमा तयार पार्छन् भनेर परमप्रभुको प्रतिज्ञाले यस विषयमा जोड दिन्छ ।
हामी उहाँको कार्यमा संलग्न हुँदा परमेश्वर प्रसन्न हुनुहुन्छ
“यस क्षणको महिमामा” परमेश्वरको अधिराज्य विस्तार र पृथ्वीभरि मन्दिरहरू निर्माण हुँदै गर्दा, परमेश्वरको कार्यमा संलग्न हुन इच्छुक आत्माहरूको आवश्यकतामा वृद्धि हुँदै गएको छ । निःस्वार्थ सेवा गर्नु नै ख्रीष्टको जस्तो शिष्यत्वको सार हो । परन्तु सेवा गर्नु कमै मात्रामा सुविधाजनक हुन्छ । त्यसैले करारहरूको पालना गर्ने तपाईं शिष्यहरूको, साथै हाम्रा प्रिय सुसमाचार प्रचारकहरूको म प्रशंसा गर्छु जसले आफ्ना चाहनाहरू र चुनौतीहरूलाई पन्छाएर उहाँका सन्ततिहरूको सेवा गरेर परमेश्वरको सेवा गर्नुहुन्छ । “[उहाँको सेवा गरेकोमा] तपाईंलाई धार्मिकतामा सम्मान गर्नका लागि परमेश्वर रमाउनु हुन्छ ।” उहाँले प्रतिज्ञा गर्नुहुन्छ, “[तपाईंको] पुरस्कार महान् हुने छ र [तपाईंको] महिमा अनन्त हुने छ ।” जब हामी सेवा गर्नका लागि हुन्छ भन्छौँ, हामी येशू ख्रीष्टलाई हुन्छ भनिरहेका हुन्छौँ । अनि जब हामी ख्रीष्टलाई हुन्छ भन्छौँ, हामी सर्वोत्कृष्ट जीवनलाई हुन्छ भनिरहेका हुन्छौँ ।
कलेजमा केमिकल इन्जिनियरिङ पढ्दै गर्दा र काम गर्दै गर्दा मैले यो सिकेँ । मलाई एकल वार्डको क्रियाकलाप योजनाकारहुन बोलाइएको थियो । यो मेरो दुःस्वप्न बोलावट थियो । तैपनि, मैले स्वीकार गरेँ र सुरुमा यो कठिन थियो । त्यसपछि एक क्रियाकालपमा मैले आइसक्रिम दिएको तरिकाले एउटी सुन्दर केटी मोहित भइन् । मेरो ध्यान आकर्षण गर्ने अपेक्षामा उनी तीन पटकसम्म फर्केर आइन् । हामी प्रेममा पर्यौँ र उनले दुई हप्ता पछि मलाई प्रस्ताव गरिन् । सही हो, सम्भवत: यो त्यति छिटो थिएन र म नै प्रस्ताव गर्ने व्यक्ति थिएँ होला तर सत्य यो हो कि यदि मैले त्यो बोलावटलाई अस्वीकार गरेको भए हाइडीलाई भेट्ने सुअवसर गुमाउने विषयलाई सोच्दा पनि म काँप्छु ।
हाम्रो सहभागिता ख्रीष्टको पुनरागमनको तयारीका लागि हो
परमेश्वरलाई हाम्रो आवश्यकता भएकोले होइन तर हामीलाई परमेश्वर र उहाँको विशाल आशीर्वादहरू चाहिएकोले हामी परमेश्वरको कार्यमा संलग्न हुन्छौँ । उहाँले प्रतिज्ञा गर्नुहुन्छ, “किनकि, हेर, म तिनीहरू सबैलाई महान् आशीष् सहित आशीर्वाद दिने छु जसले मेरो अङ्गुरको बगैँचामा श्रम गर्दछन् । परमेश्वरको कार्यमा हाम्रो सहभागिताले हामीलाई कसरी आशीष दिन्छ र मुक्तिदातालाई भेट्न तयार हुन सहयोग गर्छ भनेर सिकाउने तीन सिद्धान्तहरू म बाँढ्न चाहन्छु ।
सर्वप्रथम, जब हामी सहभागी हुन्छौँ, हामी बिस्तारै “[हाम्रो] सृष्टिको परिमाण” तर्फ अगाडि बढ्छौँ ।
सृष्टिको अभिलेखमा हामी यो नमूना सिक्छौँ । प्रत्येक दिनको परिश्रम पछि, “यो सही थियो” भन्दै परमेश्वरले प्रगतिलाई स्वीकार गर्नुभयो । उहाँले काम सम्पन्न भयो वा पूरा भयो भनेर भन्नुभएन । परन्तु उहाँले के भन्नुभएको थियो भने प्रगति भएको थियो र परमेश्वरको दृष्टिमा, त्यो सही छ!
बोलावटहरूले व्यक्तिको महत्त्व वा योग्यतालाई निर्धारण वा प्रमाणित गर्दैनन् । बरु, जब हामी परमेश्वरसँग उहाँले सोध्नुहुने तरिकाले परिश्रम गर्छौँ, हामी हाम्रो आफ्नै सृष्टिको परिमाणमा उन्नति गर्छौँ ।
परमेश्वर हाम्रो प्रगतिमा हर्षित हुनुहुन्छ र हामीसँग कार्य गर्न अझै बाँकी भएता पनि हामीले त्यसरी नै हर्षित हुनु पर्छ । कहिलेकाहीँ, हामीसँग बोलावटमा सेवा गर्ने सामर्थ्य वा साधनको अभाव हुन सक्छ । तैपनि, हामी प्रार्थना र धर्मशास्त्र अध्ययन जस्ता अर्थपूर्ण तरिकाहरूद्वारा कार्यमा संलग्न हुन सक्छौँ र हाम्रो गवाहीलाई सुरक्षित राख्न सक्छौँ । हाम्रो स्वर्गका प्रिय पिताले हामीलाई निन्दा गर्नुहुन्न जब हामी इच्छुक तर सेवा गर्न असमर्थ हुन्छौँ ।
दोस्रो, सेवाले हाम्रा घरहरू र चर्चहरूलाई पवित्र स्थानहरूलाई माथि उठाउँछ जहाँ हामी करारयुक्त जीवनको अभ्यास गर्न सक्छौँ ।
उदाहरणका लागि, ख्रीष्टलाई सदैव स्मरण गर्ने हाम्रो करार व्यक्तिगत रूपमा निर्माण गरिएको छ तर यो करार हामीले अरूहरूको सेवा गर्दा पालना गरिन्छ । बोलाहटहरूले हामीलाई “एकअर्काको बोझ बहन … गर्ने अवसरहरू प्रदान गर्छन्, यसरी ख्रीष्टको नियम पूरा हुन्छ” । हामीले परमेश्वरलाई प्रेम गरेको र हाम्रा करारहरू अनुरूप जिउन चाहेको कारण जब हामी सेवा गर्छौँ कुनै समयमा कर्तव्यनिष्ठ र थकावटपूर्ण जस्तो लागेको सेवा आनन्ददायी र परिवर्तनकारी बन्छ ।
विधिहरूले हामीलाई बचाउँदैन किनभने तिनीहरूले स्वर्गका परीक्षण सूची पूरा गर्छन् । बरु, जब हामी यी विधिहरूसँग सम्बन्धित करारहरू अनुरूप जिउँछौँ, हामी परमेश्वरको उपस्थितिमा रहन चाहने व्यक्ति बन्छौँ । यो बुझाइले सेवा गर्ने हिचकिचाहट वा सेवा नगर्ने रुचिलाई परास्त गर्छ । जब हामी परमेश्वरले के अनुमति दिनुहुन्छ भनेर सोध्न छोड्छौँ र परमेश्वरले के चाहनुहुन्छ भनेर सोध्न सुरु गर्छौँ तब येशू ख्रीष्टलाई भेट्ने हाम्रो तयारीको गतिमा अभिवृद्धि हुन्छ ।
तेस्रो, परमेश्वरको कार्यमा सहभागी हुनाले हामीलाई परमेश्वरको अनुग्रहको उपहार प्राप्त गर्न र उहाँको महान् प्रेमको महसुस गर्न सहयोग गर्छ ।
हामीले सेवा गरेबापत आर्थिक प्रतिपूर्ति प्राप्त गर्दैनौँ । बरु, धर्मशास्त्रले सिकाउँछ कि हाम्रो “श्रमका लागि [हामी]ले परमेश्वरको अनुग्रह प्राप्त गर्नु पर्छ, ताकि [हामी] आत्मामा मजबुत हुन सक्छौँ, परमेश्वरको ज्ञान [प्राप्त गर्न] सक्छौँ [र] परमेश्वरबाट शक्ति र अधिकार सहित सिकाउन सक्छौँ ।” त्यो अति नै उत्तम तरिका हो!
परमेश्वरको अनुग्रहका कारण, हाम्रो क्षमता वा असमर्थता बोलावटलाई विस्तार गर्ने वा स्वीकार गर्ने प्रमुख आधार होइन । परमेश्वरले उहाँको कार्यमा सहभागी हुनका लागि उत्तम प्रदर्शन वा असाधारण प्रतिभाको अपेक्षा गर्नुहुन्न । यदि त्यसो हो भने, रानी एस्तरले आफ्नो राष्ट्रलाई बचाउनुहुने थिएन, पत्रुसले प्रारम्भिक चर्चको नेतृत्व गर्नुहुने थिएन र जोसेफ स्मिथ पुनर्स्थापनाको अगमवक्ता हुनुहुने थिएन ।
जब हामी आफ्नो क्षमताभन्दा बाहिरको कार्य गर्नका लागि आस्थामा कार्य गर्छौँ, हाम्रो कमजोरी उजागर हुन्छ । यो कहिल्यै सहज हुँदैन तर “यो [परमेश्वरको] अनुग्रहका कारण, … हामीसँग यी कार्यहरू गर्ने शक्ति छ” भनेर हामीले जान्नु आवश्यक छ ।
हामी परमेश्वरको कार्यमा संलग्न हुँदा धेरै पटक असफल हुने छौँ । परन्तु हाम्रो प्रयासमा, येशू ख्रीष्टले हामीलाई समाउनुहुन्छ । उहाँले हामीलाई हाम्रा असफलताहरू र भयहरूबाट मुक्ति अनुभव गर्न र हामी कदापि पूर्ण हुने छैनौँ भन्ने सोचबाट बिस्तारै उठाउनुहुन्छ । जब हामी हाम्रो सानो तर उत्तम प्रयासलाई समर्पित गर्छौँ परमेश्वरले यसलाई व्यापक बनाउनुहुने छ । जब हामी ख्रीष्टका लागि बलिदान दिन्छौँ, उहाँले हामीलाई पवित्र बनाउनुहुन्छ । यो परमेश्वरको अनुग्रहको परिवर्तनकारी शक्ति हो । जब हामी सेवा गर्छौँ, हामी पिताको अनुग्रहमा विकसित हुन्छौँ जबसम्म हामी “पिताद्वारा माथि उठाइने [येशू ख्रीष्ट]कहाँ खडा हुन” तयार हुँदैनौँ ।
अरूहरूलाई बोलावटको उपहार प्राप्त गर्न र आनन्दित हुन सहयोग गर्नुहोस्
जब म मुक्तिदातासामु खडा हुन्छु तब उहाँले मलाई सोध्नुहुने सबै विषयहरू मलाई थाहा छैन परन्तु सम्भवत: एउटा प्रश्न यो हुने छ, “तिमीले आफूसँग कसलाई ल्यायौ ?” बोलावटहरू स्वर्गका प्रिय पिताबाट पवित्र उपहारहरू हुन् जसले हामीलाई अरूहरूलाई ख्रीष्टमा ल्याउन सहयोग गर्छन् । त्यसकारण म अगुवाहरूलाई र हामी प्रत्येकलाई, अभिप्रायपूर्वक बोलावट नभएकाहरूलाई खोज्न आमन्त्रण गर्छु । ख्रीष्टको पुनरागमनमा तयारी गर्नका लागि सहयोग गर्न परमेश्वरको कार्यमा संलग्न हुन प्रोत्साहन र सहयोग गर्नुहोस् ।
जब जनका बिशपले उहाँलाई भेट्न आउनुभयो र परमप्रभुले उहाँलाई एउटा कार्य गर्न दिनुभएको छ भनेर बताउनुभयो, त्यतिबेला जन चर्चमा सक्रिय हुनुहुन्नथ्यो । उहाँले जनलाई धूमपान छोड्न आमन्त्रण गर्नुभयो । यद्यपि जोनले धेरै पटक छोड्न प्रयास गरिरहनुभएको भए तापनि यस पटक उहाँले आफूलाई सहयोग गरिरहेको अदृश्य शक्ति महसुस गर्नुभयो ।
ठीक तीन हप्ता पछि, किल्ला अध्यक्ष जोनलाई भेट्न आउनुभयो । उहाँले उहाँलाई बिशपरिकमा सेवा गर्न बोलावट गर्नुभयो । जन छक्क पर्नुभयो । उहाँले आफूले भर्खरै धूम्रपान त्यागेको विषय किला अध्यक्षलाई बताउनुभयो । यदि यसको अर्थ उहाँले आइतबार हुने व्यावसायिक फुटबल खेलहरूमा सहभागी हुने उहाँको निरन्तर प्रक्रियालाई त्याग्नु पर्ने थियो भने, सम्भवत: त्यो अत्यधिक माग थियो । किला अध्यक्षको प्रेरित प्रतिक्रिया सरल थियो: “जोन, म तपाईंलाई सोधिरहेको छैन; परमप्रभुले सोध्नुभएको छ ।”
जसको प्रतिउत्तरमा जोनले भन्नुभयो, “ठीक छ, यदि त्यसो हो भने, म सेवा गर्ने छु ।”
सेवा गर्नका लागि गरिएका यी बलिदानहरू उहाँ र उहाँको परिवारका लागि आध्यात्मिक घुम्तीहरू थिए भनेर जोनले मलाई भन्नुभयो ।
हाम्रो मरणशील दृष्टिकोणले असम्भव वा अयोग्य देखिने व्यक्तिहरूलाई बोलावट विस्तार गर्न असफल हुनुमा हामीमा कुनै अन्धविश्वास छ कि भनेर मलाई आश्चर्य लाग्छ । अथवा मुक्तिदाताले असम्भव र अप्रमाणितहरूलाई सेवा गर्ने अवसर दिएर कसरी क्षमता अभिवृद्धि गराउनुहुन्छ भनेर मनन गर्न बेवास्ता गर्दैहामी प्रगतिको सिद्धान्त भन्दा प्रदर्शनको संस्कृतिमा बढी चिन्तित हुन सक्छौँ ।
“प्रत्येक [महिला र] पुरुषलाई [आफ्नो] कर्तव्य सिक्न र कार्य गर्न अनुमति दिनुहोस् भनेर एल्डर डेभिड ए. बेडनारले धर्मशास्त्रीय आदेशको महत्त्व सिकाउनुहुन्छ ।” के हामी यसो गर्छौँ ? जब अगुवाहरू र अभिभावकहरूले अरूहरूलाई सिक्न र आफ्नै लागि कार्य गर्न दिनुहुन्छ, तिनीहरूको उन्नति र प्रगति हुन्छ । आस्थावान् सदस्यहरूलाई दोस्रो बोलावट दिनु सहज तरिका हुन सक्छ परन्तु अझै उत्कृष्ट तरिका भनेको सेवा गर्नका लागि तयार नभएका व्यक्तिहरूलाई सेवा गर्न आमन्त्रण गरेर उहाँहरूलाई सिक्न र वृद्धि हुन दिनु हो ।
यदि ख्रीष्ट शारीरिक रूपमा यहाँ हुनुभएको भए, उहाँले बिरामीहरूलाई भेट्नुहुने थियो, शबाथको शिक्षालयमा सिकाउनुहुने थियो, विक्षिप्त हृदय भएकी युवतीसँग बस्नुहुने थियो र बालबालिकाहरूलाई आशीर्वाद दिनुहुने थियो । उहाँले आफ्नो कार्य गर्न सक्नुहुन्छ । परन्तु हामीलाई कार्य गर्ने र सिक्न दिने यो सिद्धान्त अनुरुप उहाँ जिउनुहुन्छ, त्यसैले उहाँले हामीलाई आफ्नो स्थानमा पठाउनुहुन्छ ।
परमेश्वरको कार्यमा सहभागितासँगै “परमप्रभु [येशू ख्रीष्ट]को प्रतिनिधित्व गर्ने अधिकार, सौभाग्य र उत्तरदायित्व” आउँछ । जब हामी आफैंलाई नभइ ख्रीष्टलाई महिमित पार्न सेवा गर्छौँ, हाम्रो सेवा आनन्ददायी हुन्छ । जब अरूहरूले हाम्रो कक्षा, सभा, सेवा भेट वा क्रियाकिलापहरूमा भाग लिएर हामीलाई सम्झनु भन्दा बढी ख्रीष्टलाई सम्झँदै निस्कनुहुन्छ, कार्य ऊर्जादायक हुन्छ ।
उत्सुकतापूर्वक मुक्तिदाताको प्रतिनिधित्व गर्ने प्रयास गर्दा हामी उहाँ जस्तै बन्छौँ । त्यो पवित्र क्षणका लागि उत्तम तयारी हो जब हामी प्रत्येकले घुँडा टेक्ने छौँ र येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर स्वीकार गर्ने छौँ, उहाँ हुनुहुन्छ भनेर म गवाही दिन्छु र अध्यक्ष रसल एम्. नेल्सन उहाँको “पृथ्वीका सीमान्तहरूको आवाज” हुनुहुन्छ जसले हामीलाई “आगामी विषयका लागि तयार … गर्न सहयोग गर्नुहुन्छ।” येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।