साधारण सम्मेलन
सबै विषयवस्तुहरूको पुनर्स्थापना हुने समय
अप्रिल २०२५ को साधारण सम्मेलन


15:21

सबै विषयवस्तुहरूको पुनर्स्थापना हुने समय

(प्रेरित ३:२१)

सबैभन्दा महत्त्वपूर्ण र गौरवशाली “सुसमाचार” भनेको परमप्रभु येशू ख्रीष्टले पछिल्ला दिनहरूमा उहाँको सुसमाचार र चर्चको पुनर्स्थापना गर्नुभएको छ भन्ने सन्देश हो ।

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च १९५ वर्ष पहिले, अप्रिल ६, १८३० मा सङ्गठन गरिएको थियो ।

यस महत्त्वपूर्ण र आनन्दमय अवसरका लागि विश्वासी र साथीहरूको सानो समूह एकत्रित भए । प्रभुभोजको विधि सम्पन्न हुँदा, पवित्र आत्माको उपहार प्रदान गरिँदा, पादरित्वका विधिहरू सम्पन्न हुँदा र येशू ख्रीष्टका सुसमाचारका सत्यता प्रचार हुँदा, उपस्थित सबैलाई आत्माको ठूलो वर्षाले आशीर्वाद दिइयो ।

उहाँको आफ्नो चर्च पुनर्स्थापना गर्नुहुँदा परमप्रभुले २४ वर्षीय जोसेफ स्मिथलाई प्रकाशद्वारा यस पृथ्वीका अगुवा: “एक द्रष्टा, एक अनुवादक, एक अगमवक्ता, येशू ख्रीष्टका एक प्रेरित, परमेश्वर पिताको चाहना र तपाईंहरूका परमप्रभु येशू ख्रीष्टको अनुग्रहद्वारा चर्चको एक एल्डरका रूपमा नियुक्त गर्नुभयो ।”

जब हामी संसारको इतिहासमा यस एकल घटनाको महत्त्व र निरन्तर प्रभावको विचार गर्छौँ म पवित्र आत्माको सहयोगका लागि गम्भीरतापूर्वक प्रार्थना गर्छु ।

पहिलो दर्शन

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको यो औपचारिक सङ्गठन चमत्कारी अनुभवहरूको पराकाष्ठाको अनुक्रम थियो । यी मध्ये पहिलो अनुभव १० वर्ष पहिले न्यू योर्कको उत्तरी भागमा भएको थियो ।

१८२० को बसन्त ऋतुमा, जोसेफ स्मिथ नाम गरेको एक युवक प्रार्थना गर्न आफ्नो घर नजिकैको जङ्गलमा जानुभयो । उहाँको आत्माको मुक्तिका सम्बन्धमा उहाँसँग प्रश्नहरू थिए र उहाँ “सबै [चर्चहरू] मध्ये कुन सही थियो भनेर जान्न चाहनुहुन्थ्यो ताकि [उहाँ] कुनमा सहभागी हुने भनेर जान्न सक्नुहुन्छ ।” जोसेफ विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वरले उहाँको प्रार्थनाको जवाफ दिनुहुन्छ र उहाँलाई मार्गनिर्देशन गर्नुहुन्छ ।

कृपया ध्यान दिनुहोस् कि जोसेफले के सही हो भनेर जान्न मात्र प्रार्थना गर्नुभएन । बरु, उहाँले सही के हो भनेर जान्नका लागि प्रार्थना गर्नुभयो ताकि उहाँले सही कार्य गर्न सक्नुहुन्छ । जोसेफले आस्थामा सोध्नुभयो र प्राप्त जवाफहरूअनुसार कार्य गर्न दृढ संकल्प गर्नुभयो ।

“उहाँको [विनम्र] प्रार्थनाको [प्रतिउत्तर]मा, परमेश्वर पिता र उहाँको पुत्र येशू ख्रीष्ट जोसेफसामु देखा पर्नुभयो र बाइबलमा अगमवाणी गरिए जस्तै ‘सबै विषयवस्तुहरूको पुनर्स्थापना’ (प्रेरित ३:२१)को आरम्भ गर्नुभयो । यो दर्शनमा उहाँले थाहा पाउनुभयो कि मूल प्रेरितहरूको मृत्यु पछि ख्रीष्टको नयाँ करारको चर्च पृथ्वीबाट हराएको थियो । मुक्तिदाताका प्राचीन चर्चको सिद्धान्त, अधिकार र करार र विधिहरू पुनः एक पटक स्थापित गर्नको लागि जोसेफ स्मिथ औजार हुनुहुने छ ।

पहिलो दर्शन ।

जोसेफले पुष्टि गर्नुभयो: “मैले दुई व्यक्तित्वहरू देखेको थिएँ, जसको चमक र महिमाले सबै विवरणलाई उपेक्षा गर्छ, म माथि हावामा उभिएर । उहाँहरू मध्ये एक जनाले मसँग बोल्नुभयो, मलाई मेरो नामले बोलाउनुहुँदै र अर्कोलाई देखाउँदै भन्नुभयो— यी मेरा प्रिय पुत्र हुन् । उहाँलाई सुन!

यस दर्शन र त्यसपछिका अलौकिक अनुभवहरूद्वारा, जोसेफ स्मिथले बुझ्नुभयो कि परमेश्वर र येशू ख्रीष्टले उहाँलाई एक व्यक्तिका रूपमा चिन्नुहुन्छ, उहाँको अनन्त मुक्तिको विचार गर्नुहुन्छ र उहाँबाट पूरा गराउन एउटा लक्ष राख्नुभएको छ । उहाँले देवप्रमुखका गुणहरू, चरित्र र पूर्णताहरूका सम्बन्धमा महत्त्वपूर्ण पाठहरू सिक्नुभयो—र पिता र पुत्र भिन्दाभिन्दै र फरक प्राणीहरू हुनुहुन्छ । येशू ख्रीष्ट आत्मा र शरीर दुबैमा परमेश्वरको वास्तविक पुत्र हुनुहुन्छ ।

स्वर्गका पिता र येशू ख्रीष्ट शरीर भएका व्यक्तित्वहरू हुनुहुन्छ भनेर जोसेफ स्मिथले घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “पिताको मानिसको जस्तै मासु र हड्डीको मूर्त शरीर छ; पुत्रको पनि; तर पवित्र आत्मामाको मासु र हड्डीको शरीर छैन तर आत्माको व्यक्तित्व हुन् ।”

म गवाही दिन्छु कि पिता र पुत्रले जोसेफ स्मिथलाई भेट्नु “संसारको प्रारम्भ देखि नै सबै पवित्र अगमवक्ताहरूको मुखबाट बोलिएका सबै विषयवस्तुहरूको पुनर्स्थापना” को भव्य प्रारम्भको घटना थियो ।”

मोर्मोनको पुस्तक

मुक्तिदाताको पुनर्स्थापित चर्चको औपचारिक सङ्गठनमा पुर्‍याउने चमत्कारी अनुभवहरूको अनुक्रमको दोस्रो अनुभव मोर्मोनको पुस्तकको अनुवाद र उदय थियो ।

मोर्मोनको पुस्तक: येशू ख्रीष्टको अर्को करार ।

“जोसेफ स्मिथलाई एक प्राचीन अभिलेख: मोर्मोनको पुस्तक—येशू ख्रीष्टको अर्को करार अनुवाद गर्न परमेश्वरको उपहार र शक्ति दिइएको थियो । यस पवित्र ग्रन्थहरूमा येशू ख्रीष्टको पुनरुत्थान लगत्तै पछि पश्चिमी गोलार्धमा भएका जनहरूका माझमा उहाँको व्यक्तिगत सेवाको विवरण समावेश छ । [मोर्मोनको पुस्तक]ले जीवनको उद्धेश्य सिकाउँछ र ख्रीष्टको सिद्धान्तको व्याख्या गर्छ, जुन त्यो उद्धेश्यको केन्द्रबिन्दु हो । बाइबलको जोडी धर्मशास्त्रका रूपमा मोर्मोनको पुस्तकले गवाही दिन्छ कि सबै मानव जाति स्वर्गमा रहनुभएका मायालु पिताका छोराहरू र छोरीहरू हुन् कि हाम्रो जीवनका लागि उहाँसँग एक दैवी योजना छ र कि उहाँको पुत्र येशू ख्रीष्टले प्राचीन दिनहरूमा जस्तै आजका दिनहरूमा पनि बोल्नुहुन्छ ।”

मुक्तिदाताका पुनर्स्थापित चर्चका सदस्यहरूका रूपमा “हामी बाइबलको सही रूपमा अनुवाद भएसम्म त्यो परमेश्वरको वचन हो भनी विश्वास गर्छौँ; हामी मोर्मोनको पुस्तकलाई पनि परमेश्वरको वचन हो भनी विश्वास गर्छौँ ।” मोर्मोनको पुस्तक येशू ख्रीष्टको अर्को गवाही हो, यसले बाइबलको सत्यतालाई पुष्टि गर्छ र बाइबलबाट हराएका स्पष्ट र मूल्यवान् विषयहरूलाई पुनर्स्थापना गर्छ ।

पादरित्वको पुनर्स्थापना भयो

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चले सिकाउँछ कि मुक्तिदाताद्वारा स्थापित दैवी अधिकार, सिद्धान्त र करार अनि विधिहरू भएको यो मूल चर्च पृथ्वीबाट हराएको थियो । पछिल्ला दिनहरूमा सबै विषयवस्तुहरूको अगमवाणी गरिएका पुनर्स्थापनाको अंशका रूपमा, प्राचीन अगमवक्ताहरू र प्रेरितहरूले व्यक्तिगत रूपमा जोसेफ स्मिथलाई पादरित्वको अधिकार प्रदान गर्नुभयो र उहाँलाई पादरित्वका साँचाहरू सुम्पनुभयो । मुक्तिदाताको पुनर्स्थापित चर्चको औपचारिक सङ्गठनको अगुवाइ गर्ने चमत्कारी अनुभवहरूको अनुक्रममा यो तेस्रो थियो ।

पादरित्वका अधिकारले परमेश्वरका सेवकहरूलाई “[उहाँ] को प्रतिनिधित्व गर्न र उहाँको नाममा कार्य गर्न” अनुमति दिन्छ ।” “पादरित्वका साँचाहरू परमेश्वरका सन्ततिहरूका तर्फबाट पादरित्वको प्रयोगलाई निर्देशित गर्ने अधिकार हुन् ।”

पादरित्वको पुनर्स्थापना ।

पिता र पुत्रको निर्देशनमा पुनरुत्थान हुनुभएका बप्तिस्मा दिने यूहन्नाले १८२९ मा पापहरूबाट छुट्काराका लागि डुबुल्कीद्वारा बप्तिस्मा दिने अधिकारको पुनर्स्थापना गर्नुभयो । त्यही वर्ष, मौलिक बाह्र प्रेरितहरू मध्येका तीन जना पत्रुस, याकूब र यूहन्नाले प्रेरितपद र थप पादरित्व अधिकार र साँचाहरू पुनर्स्थापित गर्नुभयो

कर्टल्याण्ड मन्दिरमा चर्चको औपचारिक सङ्गठनको छ वर्ष पछि, मोशा, एलियास र एलियाले पछिल्ला दिनमा परमेश्वरको कार्य पूरा गर्न आवश्यक थप अधिकार जोसेफलाई सुम्पनुभयो ।

मोशाले इस्राएलका एकिकरणका साँचाहरू सुम्पनुभयो ।

एलियासले अब्राहामको करारको पुनर्स्थापना सहित अब्राहामको सुसमाचारको समयावधि सुम्पनुभयो, ।

एलियाले सिलिङको शक्तिका साँचाहरू सुम्पनुभयो, जसले पृथ्वीमा गरिएका विधिहरूलाई अनन्ततासम्म बाँधिरहन अनुमति दिने अधिकार प्रदान गर्यो, मृत्युलाई पार गर्दै परिवारहरूलाई अनन्त सम्बन्धहरूमा एकसाथ जोड्ने कार्य जस्तै ।

येशू ख्रीष्टको चर्चको सङ्गठन भयो

जोसेफ स्मिथले मोर्मोनको पुस्तकको अनुवाद गर्नुहुँदा, येशू ख्रीष्टको चर्चको पुनर्स्थापना हुने छ भन्ने सङ्केत गर्ने प्रकाशहरू उहाँले प्राप्त गर्नुभयो । तर परमप्रभुले जोसेफलाई उहाँको चर्च तुरुन्तै सङ्गठन नगर्न निर्देशन दिनुभयो । बरु, “अगमवाणी र प्रकाशको आत्माद्वारा” परमप्रभुले जोसेफलाई “पृथ्वीमा [पुनः] एक पटक उहाँको चर्चको सङ्गठन गर्न [उहाँ] अघि बढ्नु पर्ने … त्यो सही दिन” प्रकट गर्नुभयो ।

पादरित्वको पुनर्स्थापना र मोर्मोनको पुस्तकको प्रकाशन पछि मात्र चर्चको उचित अनुक्रममा सङ्गठन गरिएको थियो । मोर्मोनको पुस्तकका प्रथम प्रतिलिपिहरू २६ मार्च, १८३० मा उपलब्ध भएका थिए र औपचारिक रूपमा ६ अप्रिलमा चर्चको सङ्गठन भएको थियो ।

मुक्तिदाता येशू ख्रीष्ट ।

“पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च … पुनर्स्थापना भएको नयाँ करारको ख्रीष्टको चर्च हो । यो चर्च आफ्नो प्रमुख आधारशीला येशू ख्रीष्टको पूर्ण जीवन र उहाँको अनन्त प्रायश्चित्त र वास्तविक पुनरुत्थानमा आधारित छ । येशू ख्रीष्टले पुनः एक पटक प्रेरितहरूलाई बोलाउनुभएको छ र उनीहरूलाई पादरित्वको अधिकार दिनुभएको छ । उहाँले हामी सबैलाई उहाँमा र उहाँको चर्चमा आउन, पवित्र आत्मा र मुक्तिका विधिहरू प्राप्त गर्न र सदैव रहने खुशियाली प्राप्त गर्न आमन्त्रण गर्नुहुन्छ ।”

समयको परिपूर्णताको समयावधि

जोसेफ स्मिथकहाँ पिता र पुत्र प्रकट हुनु, मोर्मोनको पुस्तकको अनुवाद र आगमन र पादरित्व अधिकार र साँचाहरूको पुनर्स्थापना, १९५ वर्ष अघि परमप्रभुको पुनर्स्थापित चर्चको सङ्गठनका लागि आवश्यक पूर्व शर्तहरू थिए ।

पुरानो नियममा, अगमवक्ता दानिएलले एउटा ढुङ्गाको सम्बन्धमा सपनाको व्याख्या गरे जुन हातहरू बिना नै पहाडबाट काटिने छ र सम्पूर्ण पृथ्वीलाई ढाक्ने छ । चर्चको सङ्गठनको एक वर्ष पछि परमप्रभुले जोसेफ स्मिथलाई निर्देशन दिनुभयो कि परमेश्वरका अधिराज्यका साँचाहरू पुनः “पृथ्वीका मानिसहरूलाई सुम्पिएका छन्” अनि हातहरू बिना पहाडबाट काटिएको ढुङ्गा जस्तै “[येशू ख्रीष्टको] सुसमाचार पृथ्वीका सीमान्तहरूमा फैलिने छ ।”

म गवाही दिन्छु: परमप्रभुले उहाँका प्रतिज्ञा पूरा गर्दै हुनुहुन्छ । परमप्रभुको पुनर्स्थापित चर्च संसारभरि स्थापित भइरहेको छ र यो त्यो साधन हो जसद्वारा परमेश्वरले “ख्रीष्टमा सबै विषयवस्तुहरू एकसाथ एकत्रित गर्नुहुने छ, जुन स्वर्गमा र पृथ्वी दुबैमा छन्; अनि उहाँमा पनि छन् ।”

परमप्रभुको पछिल्ला दिनका कार्य “एउटा कारण हो जसले हरेक समयावधिमा परमेश्वरका मानिसहरूमा उत्सुकता देखाएको छ; यो एउटा यस्तो विषयवस्तु हो जसमा अगमवक्ताहरू, पादरीहरू अनि राजाहरूले अनौठो आनन्दका साथ जीवन बिताएका छन्; तिनीहरूले हामी बाँचिरहेको दिनका लागि आनन्दित प्रत्याशाका साथ पर्खेका छन्; अनि स्वर्गीय र आनन्दित प्रत्याशाहरूले भरिएका छन् जुन तिनीहरूले गाएका छन्, लेखेका छन् र हाम्रो यो दिनका सम्बन्धमा अगमवाणी गरेका छन् ।

सुसमाचारका सबै समयावधिहरू मध्येका यस महान् र अन्तिम समयावधिमा, “सम्पूर्ण र पूर्ण र सिद्ध मिलन र समयावधिहरू, साँचाहरू र शक्तिहरू र महिमाहरूको एकता हुनु पर्छ र आदमको दिनदेखि वर्तमान समयसम्म पनि प्रकट हुनु पर्छ । अनि यो मात्र होइन तर संसारको उत्पत्तिदेखि कहिल्यै प्रकट नभएका ती विषयहरू … प्रकट हुने छन् … यसैमा, समयको परिपूर्णताको समयावधिमा ।”

अगमवक्ता जोसेफ स्मिथले थप वर्णन गर्नुभयो, “कुनै पनि समयावधिमा सर्वशक्तिमानको निर्देशन र आज्ञाहरू अन्तर्गत पादरित्वद्वारा आवश्यक पर्ने सबै विधि र कर्तव्यहरू, सबै अन्तिम समयावधिमा प्राप्त हुने छन् … जसले सबै पवित्र अगमवक्ताहरूको मुखबाट बोलिएको पुनर्स्थापनालाई पूरा गर्ने छ ।”

प्रतिज्ञाहरू र गवाही

मैले संसारको जुनसुकै स्थानमा पनि प्राप्त गर्न सकिने सबैभन्दा महत्त्वपूर्ण र गौरवशाली “सुसमाचार”का आधारभूत तत्वहरूलाई संक्षेपमा प्रस्तुत गर्ने प्रयास गरेको छु—त्यो सन्देश जुन परमप्रभु येशू ख्रीष्टले पछिल्ला दिनहरूमा उहाँको सुसमाचार र चर्चको पुनर्स्थापना गर्नुभएको छ ।

म सबैलाई यो सन्देशका सम्बन्धमा जान्न र प्रमाणित गर्न आमन्त्रण गर्छु । म प्रतिज्ञा गर्छु कि हरेक व्यक्ति “जसले प्रार्थनापूर्वक पूनर्स्थापनाको सन्देशलाई अध्ययन गर्छ र आस्थामा कार्य गर्छ उसले [पवित्र आत्माको शक्ति मार्फत] यसको दैवी अनि हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टको प्रतिज्ञा गरिएको दोस्रो आगमनका लागि संसारलाई तयार पार्ने यसको उद्देश्यका सम्बन्धमा आफ्नै साक्षी प्राप्त गरेर आशीषित हुने छन् ।” जब तपाईं युवा जोसेफ स्मिथले प्रार्थना गर्नुभए जस्तै परमेश्वरबाट जवाफ प्राप्त गर्ने र त्यसमा कार्य गर्ने अपेक्षाका साथ तपाईंले गम्भीरतापूर्वक प्रार्थना गर्नुहुन्छ, त्यो दैवी साक्षीलाई चिन्ने र प्रतिक्रिया दिने तपाईंको क्षमता बढ्ने छ ।

म परमेश्वर, अनन्त पिता हाम्रा पिता हुनुहुन्छ भनेर गवाही दिन्छु । म गवाही दिन्छु र साक्षी बन्छु कि येशू ख्रीष्ट पिताका प्रिय पुत्र र उहाँका शरीरमा जन्माइएका एकमात्र पुत्र हुनुहुन्छ । उहाँ हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ ।

अनि पिता र पुत्र युवक जोसेफ स्मिथकहाँ प्रकट हुनुभयो, यसरी पछिल्ला दिनहरूमा येशू ख्रीष्टको सुसमाचारको पुनर्स्थापनाको प्रारम्भ भयो भनेर म खुसीसाथ गवाही दिन्छु । मोर्मोनको पुस्तक येशू ख्रीष्टको अर्को करार हो र यसमा परमेश्वरको वचन समावेश छ । मुक्तिदाताको प्रतिनिधित्व गर्ने र उहाँको नाममा कार्य गर्ने पादरित्वको अधिकार पुनः पृथ्वीमा पाइन्छ । अनि पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च ख्रीष्टको पुनर्स्थापना भएको नयाँ करारको चर्च हो । म यी सबै विषयवस्तुहरू सत्य छन् भनेर मेरो साँचो गवाही दिन्छु, परमप्रभु येशू ख्रीष्टको पवित्र नाममा, आमीन ।