साधारण सम्मेलन
करुणा—सत्य शिष्यत्वको सङ्केत
अप्रिल २०२५ को साधारण सम्मेलन


11:29

करुणा—सत्य शिष्यत्वको सङ्केत

शिष्यत्वको वास्तविक गन्तव्य भनेको येशू ख्रीष्ट जस्तै बन्नु हो ।

अध्यक्ष रसल एम्. नेल्सनले हालसालै हामीलाई “हाम्रो शिष्यत्वलाई हाम्रो सर्वोच्च प्राथमिकता बनाउन” आमन्त्रण गर्नुभएको छ । त्यो शक्तिशाली आमन्त्रणले मलाई येशू ख्रीष्टको मेरो व्यक्तिगत शिष्यत्वमा गहन रूपमा मनन गर्न उत्प्रेरित गरेको छ ।

शिष्यत्व अभिप्रायपूर्वक गरिन्छ

शिष्य भनेको अर्काको अनुयायी वा विद्यार्थी हो । शिष्यहरू “प्रशिक्षार्थी” हुन् जसले आफ्नो जीवन आफ्नो शिक्षक जस्तै बन्न समर्पित गर्छन् । त्यसैले, येशू ख्रीष्टको शिष्य हुनु भनेको उहाँका शिक्षाहरू र सिद्धान्तमा विश्वास गर्नु भन्दा बढी जनाउँछ । यसले उहाँको देवत्वलाई र उहाँलाई हाम्रा मुक्तिदाता र उद्धारकर्ताका रूपमा स्वीकार गर्नु भन्दा पनि बढी बुझाउँछ जुन अति नै महत्त्वपूर्ण छ ।

अध्यक्ष ड्यालिन एच. ओक्सले वर्णन गर्नुभयो: “ख्रीष्टलाई अनुसरण गर्नु कुनै आकस्मिक वा कहिलेकाहीँ गरिने अभ्यास होइन । यो निरन्तर प्रतिबद्धता र जीवन शैली हो जसले हामीलाई सदैव र सबै स्थानमा मार्गदर्शन गर्नु पर्छ ।” शिष्यत्व भनेको परमप्रभुको प्रायश्चितको बलिदान र उहाँको सक्षम शक्तिका माध्यमद्वारा रूपान्तरित हुन अभिप्रायपूर्वक हामीले लिने यात्रा हो । शिष्यत्वको वास्तविक गन्तव्य भनेको येशू ख्रीष्ट जस्तै बन्नु हो—त्यो बिन्दुसम्म जहाँ हामीले “[हाम्रो] मुहारमा उहाँको प्रतिरूप” प्राप्त गर्छौँ ।

परमप्रभुका शिष्य हुनका लागि, हामीले हरेक दिन अभिप्रायपूर्वक उहाँका विचार र कार्यहरू—उदाहरणका लागि, उहाँको आज्ञाकारिता, विनम्रता र धीरताको अनुकरण गर्नु पर्छ । जब हामी यी विशेषताहरूलाई निरन्तर रूपमा हाम्रो आफ्नै पहिचानमा समावेश गर्छौँ, हामी “[उहाँको] दैवी प्रकृतिका सहभागी” बन्छौँ । मुक्तिदाताको चरित्रको यो अनुकरण उहाँको आराधनाको महत्त्वपूर्ण अंश हो । अध्यक्ष नेल्सनले सिकाउनुभयो, “येशू प्रतिको हाम्रो आराधना येशूलाई गरिने हाम्रो अनुकरणद्वारा उत्तम रूपमा व्यक्त गरिन्छ ।”

सत्य शिष्यत्वको सङ्केत

येशू ख्रीष्टका अन्य धेरैको प्रतीक, सबै दैवी विशेषताहरू मध्येको एक सर्वोपरि विशेषतालाई हामीले अनुकरण गर्नुपर्ने हुन्छ । त्यो विशेषता उहाँको विशुद्ध प्रेम वा करुणा हो । करुणा बिना, “[हामी] केही पनि होइनौँ” भनेर अगमवक्ता मोर्मोन र प्रेरित पावल दुबैले हामीलाई स्मरण गराउनुहुन्छ । अथवा अगमवक्ता जोसेफ स्मिथलाई प्रकट गरिए जस्तै, “करुणा बिना, [हामी] केही गर्न सक्दैनौँ ।”

मुक्तिदातास्वयम् ले प्रेमलाई एउटा चिन्ह वा सङ्केतका रूपमा पहिचान गर्नुभयो जसद्वारा उहाँका सत्य शिष्यहरूलाई चिनिने छ जब उहाँले घोषणा गर्नुभयो:

“नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु ताकि मैले तिमीहरूलाई प्रेम गरे जस्तै गरी तिमीहरूले पनि एक अर्कालाई प्रेम गर ।

यसबाट सबै मानिसहरूले जानकारी प्राप्त गर्न सक्छन् कि तिमीहरू मेरा शिष्य हौ, यदि तिमीहरूमा एकअर्काप्रति प्रेम छ भने ।”

करुणा एक अर्थपूर्ण अवधारणा हो जुन परिभाषित गर्न कठिन हुन सक्छ तर यसबाट प्रभावित सबैले सजिलै बुझ्न सक्नुहुन्छ । मेरो सुसमाचार प्रचार गर ले “आस्था जस्तै करुणाले कार्यमा अगुवाइ गर्छ भनेर सिकाउँछ ।” वास्तवमा, करुणालाई “व्यवहारमा प्रेम” का रूपमा वर्णन गर्न सकिन्छ । यो विवरणले मुक्तिदाताको जीवनको सारांश कथनमा ठूलो अन्तरदृष्टि प्रदान गर्छ—उहाँले “असल कार्य गर्दै जानुभयो ।”

येशू ख्रीष्टका अनुयायीहरूका रूपमा, हामीले हाम्रा मालिकले अरूहरूप्रति आफ्नो विशुद्ध प्रेम प्रदर्शन गर्नुभएको तरिका अनुकरण गर्न खोज्नु पर्छ । मुक्तिदाताले धेरै तरिकाले करुणा प्रकट गर्नुभएता पनि, म उहाँको करुणाका तीन विशेष नमूनाहरूमा ध्यान आकर्षित गर्न चाहन्छु जुन उहाँका सत्य शिष्यहरूमा सहज रूपमा देख्न सकिन्छ ।

करुणा भनेको दया देखाउनु हो

पहिलो, मुक्तिदाताले दयाले भरिपूर्ण भएर करुणा देखाउनुभयो । मोर्मोनको पुस्तकमा अभिलेख गरिएको नफीहरूमाझको आफ्नो सेवाका क्रममा परमप्रभुले मानिसहरूलाई घर फर्कन र उहाँले सिकाउनुभएका विषयहरूका सम्बन्धमा मनन गर्न अनि भोलिपल्ट उहाँको पुनरागमनका लागि तयारी गर्न आमन्त्रण गर्नुभयो । त्यसपछि अभिलेखमा भनिएको छ:

“तिनीहरू आँसुमा डुबेका थिए र तिनीहरूले उहाँलाई अझै केही समय आफूसँग बस्नका लागि आग्रह गरे जस्तै गरी एकाग्रतापूर्वक हेरिरहेका थिए ।

“अनि उहाँले तिनीहरूलाई भन्नुभयो: हेर, मेरो हृदय तिमीहरूप्रति करुणाले भरिएको छ ।”

दया भनेको करुणाको त्यो अंश हो जसले पीडा कम गर्न खोज्छ । करुणाले भरिएर परमप्रभुले मानिसहरूका माझमा बिरामी र पीडितहरूलाई चङ्गाइ दिनुभयो । पछि, स्वर्गदूतहरू स्वर्गबाट ओर्लिएर तिनीहरूलाई घेर्दा उहाँले तिनीहरूका छोराछोरीहरूलाई आशीर्वाद दिनुभयो । उहाँले यी मृदु, प्रेमयुक्त र अन्य धेरै कार्यहरू गर्नुभयो, किनभने उहाँ “दयाले भरिनुभएको थियो ।”

युवा सुसमाचारका रूपमा दक्षिण अमेरिकामा सेवा गर्दै गर्दा, मैले पनि एक प्रिय साथीको करुणाबाट लाभ उठाएँ । एक साँझ म मेरो सहकर्मीसँग गाडी चलाउँदै हाम्रो सुसमाचार प्रचार क्षेत्राध्यक्षको घर जाँदै गर्दा, साइकलमा सवार एक युवक अचानक मेरो गाडीको अगाडि मोडिएर आए । यो यति छिटो भयो कि म ठोक्किनबाट बच्न सकिँन । दुर्भाग्य, यी युवकको ठक्करबाट मृत्यु भयो । उनको ज्यान गएकोमा म अति नै मर्माहत भएँ । भर्खरै घटेको घटनाको भयानक वास्तविकताले मलाई भयभीत र स्तब्ध बनाएको थियो, मलाई कारागार लगियो र थुनियो । मैले कहिल्यै यति भयभीत र एक्लो भएको महसुस गरेको थिइँन । मेरो बाँकी जीवनभरि मलाई कैद गरिने छ भन्ने निराशा र भयले म भरिएको थिएँ ।

एक जना सहकर्मी सुसमाचार प्रचारक, एल्डर ब्रायन कोचेभरले दुर्घटनाका सम्बन्धमा जानकारी प्राप्त गर्नुभयो र करुणाले भरिपूर्ण हुनुभयो । उहाँ कारागारमा आउनुभयो र अधिकारीहरूलाई मसँगै कारागारमा बस्न अनुमति दिन आग्रह गर्नुभयो ताकि म एक्लै नहोऊँ । चमत्कारिक रूपमा, उहाँहरू सहमत हुनुभयो । आजसम्म पनि, म यी शिष्यको ख्रीष्टको जस्तै प्रेमको कार्यका लागि प्रगाढ कृतज्ञता महसुस गर्छु, जसले मेरो जीवनको सबैभन्दा ठूलो सङ्कटको क्षणमा मलाई शान्त बनायो, सान्त्वना र धीरता दियो । उहाँको परोपकारी करुणा उहाँको शिष्यत्वको एक उल्लेखनीय सङ्केत थियो । अध्यक्ष नेल्सनले अवलोकन गर्नुभए जस्तै, “येशू ख्रीष्टका वास्तविक अनुयायी पहिचान गर्ने सबैभन्दा सहज तरिका भनेको ती व्यक्तिले अरू मानिसहरूलाई कति करुणापूर्वक व्यवहार गर्छन् भनेर अवलोकन गर्नु हो ।”

अव्यक्त आवश्यकताहरूमा सेवा गर्नु करुणा हो

अरूहरूका अव्यक्त आवश्यकताहरूको निरीक्षण गर्दै सेवाका माध्यमद्वारा मुक्तिदाताले कसरी आफ्नो प्रेम प्रदर्शन गर्नुहुन्छ भन्ने अर्को उदाहरण हो । ३८ वर्षदेखि लङ्गडा भएका ती मानिसलाई सहयोग गर्ने कोही थिएन, परमप्रभुले उहाँलाई स्वस्थ बनाउनुभयो र धार्मिकतापूर्वक जिउन प्रोत्साहन गर्नुभयो । व्यभिचारमा परेकी ती महिलालाई, उहाँले तिरस्कार गर्नुको सट्टा आशा र सान्त्वना दिनुभयो । छतबाट तल झारिएका पक्षाघात भएका ती मानिसका लागि, परमप्रभुले शरीरिक चङ्गाइ मात्रै दिनुभएन पापको क्षमापन पनि दिनुभयो ।

जब मलाई बिशपका रूपमा सेवा गर्न बोलावट गरियो, हाम्रा छ स-साना छोराछोरीहरूले मेरी श्रीमती क्रिस्टिनको प्रभुभोज सभाहरूलाई चुनौतीपूर्ण बनाए, जसले तिनीहरूलाई म सभाको मञ्चमा बस्दा एक्लै व्यवस्थित राख्नुपर्थ्यो । तपाईंले परिकल्पना गर्न सक्नुहुन्छ, प्रायश: हाम्रा छोराछोरीहरू सम्मानपूर्वक बस्दैनथे । उहाँको अवस्था देखेर, हाम्रो वार्डका दुई सदस्यहरू, जन र डेबी बेनिक, सहयोग गर्नका लागि प्रत्येक आइतबार उनीसँगै बस्न सुरु गर्नुभयो । उहाँहरूको करुणा वर्षौंसम्म निरन्तर रह्यो र उहाँहरू हाम्रो परिवारका लागि हजुरबुबा हजुरआमाको प्रतिनिधि बन्नुभयो । परमप्रभु जस्तै, यी शिष्यहरूले अव्यक्त आवश्यकताको निरीक्षण गर्नुभएको थियो र प्रेम—उहाँहरूको शिष्यत्वको एक प्रमुख सङ्केतमा कार्य गर्नुभएको थियो ।

करुणा भनेको अरूहरूलाई करार मार्गमा सहयोग गर्नु हो

अन्तमा, हाम्रो दैवी क्षमता पूरा गर्न मुक्तिदाताको परिपूर्ण प्रेम परमेश्वरका सबै सन्ततिहरूलाई सक्षम बनाउनमा केन्द्रित छ ताकि हामी “उहाँको मुक्ति र उहाँको उद्धारको शक्तिको अंश बन्न सकौँ ।” हामी हाम्रा मालिक जस्तै बन्दै गर्दा, करार मार्गमा हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्ने हाम्रो चाहना स्वाभाविक रूपमा वृद्धि हुने छ ।

उदाहरणका लागि, हामी अपमानित भएको वा बिर्सिएको महसुस गर्नेहरूलाई प्रोत्साहन गर्न र उहाँहरूको मित्र बन्न सक्छौँ, हाम्रो सभामा आउने नवआगन्तुकहरूलाई स्वागत् गरिएको महसुस गर्नका लागि सहयोग गर्न सक्छौँ वा मित्रहरूलाई—सम्भवत: आगामी इस्टरमा, प्रभुभोज सभामा हामीसँगै आराधना गर्नका लागि आमन्त्रण गर्न सक्छौँ । यदि हामीले येशू ख्रीष्टले उहाँहरूलाई कुन रूपमा हेर्नुहुन्छ र महसुस गर्नुहुन्छ भनेर हेर्ने आँखाहरू र महसुस गर्ने हृदय प्राप्त गर्नका लागि स्वर्गको सहयोगको अभिप्राय र प्रार्थनापूर्वक याचना गर्यौँ भने उहाँहरूको प्रगतिमा अरूहरूलाई प्रोत्साहन र सहयोग गर्ने त्यहाँ अनगिन्ती तरिकाहरू हुन्छन् ।

अरूहरूलाई उहाँहरूको करार मार्गमा सहयोग गर्नुलाई प्रचालनमा नरहेको सेवाको कार्यका रूपमा लिन सकिन्छ । उदाहरणका लागि, फिलिपिन्समा मेरो हालको कार्यभारका क्रममा, मैले आगमाता परिवारका सम्बन्धमा जानकारी प्राप्त गरेँ । उहाँहरूले २०२३ मा बप्तिस्मा लिनुभएको थियो अनि त्यसपछि परिवारका रूपमा सिल हुनका लागि उहाँहरूले नजिकैको अर्डनेटा फिलिपिन्स मन्दिरमा उत्सुकतापूर्वक मिति निर्धारण गर्नुभयो । यद्यपि, उहाँहरूलाई दिइएको निर्धारित मितिको ठीकपूर्व, त्यस क्षेत्रमा ठूलो आँधीबेहरी आयो । धानको खेती गर्ने किसान दाजु आगमाता ठूलो आँधीबेहरीको समयमा आफ्नो बाली रोप्न असमर्थ हुनुहुन्थ्यो । अन्ततः जब आँधीबेहरी रोकियो—रोप्नका लागि उपयुक्त समय, जमिन पानीले भरिएको समयमा छिटो धान रोप्नु पर्थ्यो । दुःखद विषय, मन्दिरको यात्रा स्थगित गरिनु पर्थ्यो ।

सुसमाचार प्रचारकहरूले धान रोप्न सहयोग गरे ।
सुसमाचार प्रचारकहरू धान रोप्दै ।

दुई शिष्यहरू, तीन युवा सेवा सुसमाचार प्रचारकहरू सहित एल्डर र सिस्टर कोइलानले आगमाता परिवारको सङ्घर्षका सम्बन्धमा सुन्नुभयो र खेतीपातीको अनुभव नभए तापनि सहयोग गर्ने प्रस्ताव गर्नुभयो । सूर्यको प्रचण्ड तापमा धान रोप्ने उहाँहरूको काम पूरा गर्न आगमाताहरूलाई सहयोग गरेर उहाँहरूले निर्धारित समयमा उपस्थित भई मन्दिरमा सिल हुनका लागि उहाँहरूलाई सहयोग गर्नुभयो । एल्डर कोइलानले निरीक्षण गर्नुभयो “हामीले [आगमाताहरू]लाई परमप्रभुको गृहमा सेतो पहिरनमा देख्दा उहाँहरूको मुहार चहकिलो देखिन्थ्यो । एक जनाको सेवा गर्दा हामीले महसुस गरेको प्रसन्नता अतुलनीय प्रसन्नता थियो!”

आगमाता परिवार मन्दिर बाहिर ।

अनन्त परिवारका रूपमा सिल भएका आगमाताहरूले अब महान् आशीर्वादहरूको आनन्द लिइरहनुभएको छ किनभने —उहाँहरूको शिष्यत्वको सङ्केतका रूपमा करुणाले भरिपूर्ण केही सह-शिष्यहरू—आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई उहाँहरूको करारको मार्गमा अगाडि बढ्नका लागि सहयोग गर्न दृढ हुनुहुन्थ्यो ।

दाजुभाइ तथा दिदीबहिनीहरू, येशू ख्रीष्टको शिष्यत्व नै अनन्त खुसी प्राप्त गर्ने एक मात्र तरिका हो । यो अरूहरू प्रति अभिप्रायपूर्वक र उद्देश्यपूर्ण रूपमा गरिएका प्रेमको कार्यहरूले भरिपूर्ण मार्ग हो । शिष्यत्वको मार्ग कठिन र चुनौतीपूर्ण हुन सक्छ र कहिलेकाहीँ हामी सङ्घर्ष गर्न र असफल हुन सक्छौँ, परमेश्वर हाम्रा सम्बन्धमा सचेत हुनुहुन्छ र हामीले प्रयास गर्दा हरेक पटक हामीलाई सहयोग गर्न चाहनुहुन्छ भनेर हामीले सान्त्वना लिन सक्छौँ । “परमेश्वरले [हाम्रा] हात समात्नुहुने छ, यसो भन्दै … , नडराऊ; म तिमीलाई सहयोग गर्ने छु” भनेर यशैयाले हामीलाई स्मरण गराउनुहुन्छ ।

स्वर्गमा हाम्रा पिताबाट प्राप्त यो आश्वासनलाई मनन गर्दा हामी हाम्रो शिष्यत्वलाई प्राथमिकता दिन अध्यक्ष नेल्सनको आमन्त्रण पालना गर्न सकौँ भनेर म हार्दिक प्रार्थना गर्छु । “उहाँले उहाँका पुत्र, येशू ख्रीष्टका सबै सत्य अनुयायीहरूलाई प्रदान गर्नुहुने, यो प्रेमले भरिपूर्ण हुन,” हामी “हृदयको सम्पूर्ण ऊर्जाले पितालाई प्रार्थना गरौँ; … ताकि जब उहाँ प्रकट हुनुहुने छ हामी उहाँ जस्तै हुने छौँ” किनभने हामी सत्य शिष्यत्वको सङ्केत बोक्छौँ, जुन “करुणा … ख्रीष्टको विशुद्ध प्रेम” हो ।

येशू ख्रीष्ट हाम्रा जीवित गौरवशाली मुक्तिदाता, उद्धारकर्ता, उदाहरणीय व्यक्तित्व र मित्र हुनुहुन्छ भनेर म गवाही दिन्छु । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. रसल एम् नेल्सन, “The Lord Jesus Christ Will Come Again,” Liahona, नोभेम्बर २०२४, १२१ ।

  2. हेर्नुहोस् Merriam-Webster.com Dictionary, “disciple.”

  3. ड्यालिन एच ओक्स, “Following Christ,” Liahona, नोभेम्बर २०२४, २३ ।

  4. अल्मा ५:१४; अल्मा ५:१९ पनि हेर्नुहोस् ।

  5. हेर्नुहोस् २ पत्रुस १:३–८

  6. रसल एम् नेल्सन, “Perfection Pending,” Liahona, नोभेम्बर १९९५, ८७ ।

  7. मोरोनी ७:४५; १ कोरिन्थी १३:३ पनि हेर्नुहोस् ।

  8. सिद्धान्त र करार १८:१९; जोड दिएर थपिएको ।

  9. यूहन्ना १३:३४-३५; जोड दिएर थपिएको ।

  10. Preach My Gospel: A Guide to Sharing the Gospel of Jesus Christ (२०२३), १२७ ।

  11. प्रेरित १०:३८

  12. हेर्नुहोस् ३ नफी १७:३

  13. ३ नफी १७:५–६

  14. हेर्नुहोस् Merriam-Webster.com Dictionary, “compassion.”

  15. हेर्नुहोस् ३ नफी १७:७–२५

  16. मत्ती ९:३६; १४:१४; मर्कूस १:४१, ६:३४

  17. प्रहरी अधिकारीहरूले दुर्घटनाका कारण मृत्यु भएकोमा आफ्नो मानक प्रक्रियाको रूपमा मलाई कारागारमा राखे । म चालक भएकाले उनीहरूले मलाई मेरा सहकर्मीबाट अलग गरे । म दुई दिन कारागारमा थिएँ । दुर्घटनाको समयमा यो युवकले मादक पदार्थ सेवन गरेको थियो र यसले सम्भवतः हाम्रो चलिरहेको गाडीको अगाडि अचानक मोडिनुमा सहयोग गरेको हुन सक्छ भनेर प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगायो । म औपचारिक सुनुवाइका लागि न्यायाधीश समक्ष उपस्थित भएँ, जहाँ गल्ती वा लापरवाहीको कुनै प्रमाण थिएन बरु यो केवल एक दुर्भाग्यपूर्ण र दु:खद दुर्घटना थियो भनेर निर्धारण गरियो ।

  18. हेर्नुहोस् मत्ती २५:३१–४०, विशेष गरी पद ३६

  19. रसल एम्. नेल्सन, “Peacemakers Needed,” Liahona, मे २०२३, ९८ ।

  20. हेर्नुहोस् यूहन्ना ५:२-९, १४

  21. हेर्नुहोस् यूहन्ना ८:१–११

  22. हेर्नुहोस् मर्कूस २:१-१२

  23. ओम्नी १:२६

  24. हेर्नुहोस् सिद्धान्त र करार ७६:१२

  25. हेर्नुहोस् २ नफी २६:२४

  26. डार्विन सेरानो कोइलानसँग व्यक्तिगत वार्तालाप, डिसेम्बर १, २०२४ ।

  27. यशैया ४१:१३

  28. मोरोनी ७:४८

  29. मोरोनी ७:४७