आफ्ना हृदयलाई कठोर नबनाउनुहोस्
यदि हामीले साँचो मनले पश्चात्ताप गर्यौँ, आफूलाई विनम्र तुल्यायौँ र परमप्रभुमा भरोसा राख्यौँ र निर्भर रह्र्यौँ भने हाम्रो हृदय कोमल हुने छ ।
येशू ख्रीष्टको सुसमाचारको पुनर्स्थापना त्यतिबेला प्रारम्भ भयो जब परमेश्वर पिता र उहाँका प्रिय पुत्र युवा जोसेफ स्मिथको विनम्र प्रार्थनाको जवाफ दिनुहुँदै उहाँसामु प्रकट हुनुभयो । पुनर्स्थापनाको अंशका रूपमा अगमवक्ता जोसेफ स्मिथले परमेश्वरको उपहार र शक्तिद्वारा एउटा प्राचीन अभिलेखको अनुवाद गर्नुभयो । यस अभिलेखमा “अमेरिकाहरूका प्राचीन बासिन्दाहरूसँगको परमेश्वरको व्यवहार समावेश छ र यसमा चिरस्थायी सुसमाचारको परिपूर्णता छ ।”
जब म सानो युवक थिएँ, परमप्रभुको स्वर्गदूत लामान र लमुएलसामु प्रकट भएर उनीहरूसँग प्रत्यक्ष वार्तालाप गर्दा पनि उनीहरूलाई दिइएको सत्यतामा किन उनीहरूले विश्वास गरेनन् भनेर मोर्मोनको पुस्तक पढ्दा मैले सोच्ने गर्थेँ । किन लामान र लमुएल आफ्ना पिता लही र कान्छो भाइ नफीका शिक्षाप्रति अझै विनम्र र आज्ञाकारी हुन सकेनन् ?
मैले यस प्रश्नको एउटा उत्तर १ नफीमा भेटाएँ, जसले नफी “तिनीहरूका हृदयको कठोरताका कारण दुःखी थिए” भनेर बताउँछ । नफीले आफ्ना दाजुहरूसँग सोधे, “कसरी तिमीहरू आफ्ना हृदयहरूमा यति कठोर र आफ्ना मस्तिष्कहरूमा यति अन्धा छौ ?”
हृदयमा कठोर हुनुको अर्थ के हो?
मोर्मोनको पुस्तकको कोरियन अनुवादमा “कठोरता” को अर्थ 완악 (वान-आक: 頑惡) हो । यो वाक्यांशले चिनिया वर्ण प्रयोग गर्छ जसमा “वान” (頑)को अर्थ “जिद्दी” र “आक” (惡)को अर्थ “दुष्टता” हो । जब हामी हाम्रा हृदयहरूलाई कठोर बनाउँछौँ, हामी अन्धा हुन्छौँ र असल विषयहरू हाम्रा हृदयहरू वा मस्तिष्कहरूमा आउन सक्दैन । हामी जिद्दी बन्छौँ र हाम्रा हृदयलाई परमेश्वरका विषयहरूमा बन्द गर्दै सांसारिक चाहनाहरूमा बढी ध्यान केन्द्रित गर्न सुरु गर्छौँ । हामीले अरूहरूका विचार र मार्गदर्शन स्वीकार नगरी आफ्नै विचारहरूमा मात्र ध्यान केन्द्रित गर्ने छनोट गर्छौँ । हामीले हाम्रा हृदयहरूलाई परमेश्वरका विषयहरूका लागि खोल्ने होइन तर संसारका विषयहरू र शत्रुको प्रभावका लागि खोल्ने छनोट गर्छौँ । जब हाम्रा हृदय कठोर हुन्छन्, हामी पवित्र आत्माको प्रभावको प्रतिरोध गर्छौँ । हामी “परमप्रभुलाई सम्झन सुस्त” छौँ र समयसँगै हामी उहाँका वचनहरूलाई “महसुस गर्न” सक्दैनौँ ।
केहीले “परमेश्वरको आत्मालाई हृदयका कठोरताका कारण अस्वीकार गर्ने छन्” भनेर अल्माले अम्मोनिहाहका जनहरूलाई सिकाए । “उनीहरू जसले तिनीहरूका हृदयहरूलाई कठोर पार्ने छन् उनीहरूलाई वचनको अझै थोरै अंश दिइने छ जबसम्म तिनीहरूले उहाँका रहस्यहरूका सम्बन्धमा केही पनि जान्दैनन्” भनेर पनि उनले सिकाए । अन्ततः आत्मा हट्छ, र परमप्रभुले लामान र लमुएलबाट जस्तै आफ्नो हृदय कठोर पार्नेहरूबाट “[उहाँको] वचन फिर्ता लिनुहुने छ ।” लामान र लमुएलले निरन्तर आफ्नो हृदय कठोर बनाएका, पवित्र आत्माको प्रभावको प्रतिरोध गरेका र आफ्ना पिता र नफीका वचन र शिक्षाहरू स्वीकार नगर्ने छनोट गरेका हुनाले तिनीहरूले अन्ततः परमेश्वरबाट आएका अनन्त सत्यहरूलाई पनि अस्वीकार गरे ।
लामान र लमुएलका विपरीत नफीले परमप्रभुको आत्माबाट मार्गदर्शन खोज्दै निरन्तर आफूलाई विनम्र तुल्याए । यसको बदलामा, परमप्रभुले नफीका हृदयलाई विनम्र तुल्याउनुभयो । उनले “परमप्रभुलाई पुकारे; अनि हेर उहाँले मलाईलाई भेट गर्नुभयो र मेरो हृदयलाई कोमल तुल्याउनुभयो कि मैले मेरा पिताद्वारा बोलिएका सबै वचनहरूमा विश्वास गरेँ” भनेर नफीले बताउँछन् । परमप्रभुले नफीलाई परमेश्वरका सबै रहस्यहरू र उहाँका वचनहरू स्वीकार गर्न, बुझ्न र विश्वास गर्न सहयोग गर्नुभयो । नफी पवित्र आत्माको निरन्तर साथ प्राप्त गर्न सफल भए ।
हाम्रो हृदय कठोर नबनाउन हामी के गर्न सक्छौँ ?
पहिलो, हामी दैनिक रूपमा पश्चात्तापको अभ्यास गर्न सक्छौँ ।
हाम्रो मुक्तिदाताले सिकाउनुभयो, “जसले पश्चात्ताप गर्छ र एउटा सानो बालक जस्तै भएर मेरा सामु आउँछ, म उसलाई ग्रहण गर्ने छु ।” हाम्रा प्रिय अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभयो:
“पश्चात्ताप गर्नु भनेको प्रगतिको साँचो हो । विशुद्ध आस्थाले हामीलाई करार मार्गमा अगाडि बढाइरहन्छ ।
“कृपया पश्चात्ताप गर्न नडराउनुहोस् वा ढिला नगर्नुहोस् । सैतान तपाईंको दुःखमा खुसी हुन्छ । … प्राकृतिक मानवलाई त्याग्नुको प्रसन्नता अनुभव गर्न आज नै प्रारम्भ गर्नुहोस् । परन्तु विशेष गरी हामीले पश्चात्ताप गर्दा मुक्तिदाताले हामीलाई सदैव प्रेम गर्नुहुन्छ ।
हाम्रो हृदयलाई कोमल बनाएर र परमप्रभुकहाँ आएर हामीले प्रसन्नताअनुभव गर्दा, हामी “एक बालक जस्तै, समर्पित, विनम्र, नम्र, धीर, मायाले भरिएको, जसरी बालक उसको पितामा समर्पित हुन्छ, त्यसरी नै परमप्रभुले उसलाई दिन योग्य ठहर्याइएका सबै कष्टहरू प्रति समर्पित हुन इच्छुक हुन्छौँ ।”
दोस्रो, हामी विनम्रताको अभ्यास गर्न सक्छौँ ।
दैनिक पश्चात्तापले हाम्रो हृदयमा विनम्रता ल्याउने छ । एउटा सानो बालकले आफ्नो पिताको आज्ञा पालना गरे जस्तै हामी परमप्रभुसामु विनम्र हुन चाहन्छौँ । त्यसपछि पवित्र आत्मा हामीसँग सदैव रहिरहने छ र हाम्रा हृदयहरू कोमल हुने छन् ।
विगत चार वर्षदेखि मेरी धर्मपत्नी सु र मैले एक अद्भुत जोडीलाई चिनेका छौँ । हामीले प्रारम्भमा उहाँहरूलाई भेट्दा, श्रीमान् चाहिँ चर्चको नयाँ सदस्य हुनुहुन्थ्यो अनि उहाँकी श्रीमती सुसमाचार अध्ययन गर्न सुसमाचार प्रचारकहरूसँग भेट्दै हुनुहुन्थ्यो । ख्रीष्टमा आउनका लागि उहाँलाई सहयोग गर्न धेरै सुसमाचार प्रचारकहरूले उहाँलाई भेटे । उहाँसँग सुसमाचारको जीवन्त गवाही थियो र चर्च सत्य छ भनेर उहाँलाई जानकारी थियो भनेर हामीले महसुस गर्यौँ । हाम्रो भेटको समयमा उहाँले प्रायश: आत्माको अनुभूति गर्नुभयो र सबै सभाहरूमा सक्रिय रूपमा सहभागी हुनुभयो । उहाँलाई वार्डका असल सदस्यहरूसँग अन्तरक्रिया गर्न मन पर्थ्यो । यद्यपि, उहाँलाई बप्तिस्माको पानीमा प्रवेश गर्न आफूलाई प्रतिबद्ध गर्न कठीन महसुस भयो । एक दिन उहाँ मोरोनी ७:४३-४४ पढ्दै हुनुहुन्थ्यो:
“अनि फेरि, हेर म तिमीहरूलाई भन्छु कि यदि ऊ विनम्र र हृदयको कोमल नभए उससँग कुनै आस्था र आशा हुन सक्दैन ।
“यदि त्यसो भए, [तपाईं]को आस्था र आशा व्यर्थ छ, किनकि विनम्र र हृदयमा कोमल नभए परमेश्वरअगाडि कोही पनि स्वीकार्य छैन ।”
यी पदहरू पढ्नुभए पछि, उहाँले के गर्नु पर्छ भनेर महसुस गर्नुभयो । कोमल र विनम्र हुनुको अर्थ उहाँले बुझ्नुभएको थियो भनेर उहाँले महसुस गर्नुभयो । यद्यपि, परमेश्वरको आज्ञा पालना गर्न चाहिने आस्था र आशा राख्न उहाँको बुझाइ पर्याप्त थिएन । उहाँले आफ्नो हठीपना र आफ्नो ज्ञानलाई त्याग्नु पर्थ्यो । उहाँले इमानदार पश्चात्तापद्वारा आफूलाई विनम्र बनाउन सुरु गर्नुभयो । उहाँले परमेश्वरको दृष्टिकोणबाट विनम्रता बुझ्न सुरु गर्नुभयो । उहाँ स्वर्गका पितामा निर्भर रहनुभयो र उहाँको हृदयलाई कोमल बनाउन प्रार्थना गर्नुभयो । यी प्रार्थनाहरूका माध्यमद्वारा, स्वर्गका पिताले उहाँले बप्तिस्मा लिएको चाहनुहुन्छ भनेर आत्माले उहाँलाई गवाही दिएको महसुस गर्नुभयो ।
उहाँहरू जति धेरै विनम्र बन्दै जानुभयो, त्यति नै धेरै उहाँहरूले परमेश्वरका वचनहरूलाई बुझ्न सक्नुभयो र हाम्रा परमप्रभु येशू ख्रीष्टको शिक्षाहरू पालना गर्न उहाँहरूका हृदयहरू कोमल हुँदै गए भनेर पति र पत्नी दुबैले बताउनुभयो ।
तेस्रो, हामी हाम्रो मुक्तिदातामाथि भरोसा गर्न र निर्भर रहन सक्छौँ ।
परमप्रभुमा भरोसा गरेर आफ्नो हृदयलाई कोमल हुन दिने सन्दर्भमा नफी एक उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो । उहाँले सिकाउनुभयो, “मैले हजुरमा भरोसा गरेको छु र म सदासर्वदा हजुरमा भरोसा गर्ने छु । म आफ्नो भरोसा शरीरको पाखुरामा राख्ने छैनँ ।” त्यसैगरी, अगमवक्ता जोसेफ स्मिथलाई दिइएको प्रकाशमा, परमप्रभुले भन्नुभयो, “तिम्रो आस्था त्यो आत्मामा राख जसले सत्कर्म गर्न—हो, न्यायसङ्गत कार्य गर्न, विनम्रतापूर्वक हिँड्न प्रभावित गर्छ ।” हामीले परमप्रभुमा भरोसा राख्यौँ र उहाँमा निर्भर रह्यौँ भने उहाँले हाम्रो हृदयलाई कोमल बनाउनुहुने छ र हाम्रा परीक्षा, समस्या अनि कष्टहरूमा हामीलाई सहयोग गरिने छ ।
यदि हामीले साँचो मनले पश्चात्ताप गर्यौँ, आफूलाई विनम्र तुल्यायौँ र परमप्रभुमा भरोसा राख्यौँ र निर्भर रह्र्यौँ भने हाम्रो हृदय कोमल हुने छ । त्यसपछि उहाँले उहाँको आत्मा खन्याउनुहुने छ र हामीलाई स्वर्गका रहस्यहरू देखाउनुहुने छ । उहाँले सिकाउनुभएका सबै वचनहरूमा हामी विश्वास गर्ने छौँ र हाम्रो बुझाइ गहन हुने छ ।
हाम्रा मुक्तिदाता, येशू ख्रीष्ट विनम्रताको परम उदाहरण हुनुहुन्थ्यो । २ नफी ३१:७मा हामी पढ्छौँ, “उहाँ पवित्र हुँदाहुँदै पनि मानिसका छोराछोरीहरूसामु, उहाँको शरीरअनुसार पिताका अगाडि विनम्र हुनहुन्छ, अनि पितासमक्ष गवाही हुनुहुन्छ कि उहाँ पिताले दिनुभएका आज्ञाहरू पालना गर्नमा आज्ञाकारी हुनुहुने छ ।” उहाँ पवित्र र परिपूर्ण हुनुभए तापनि उहाँले पितासामु आफूलाई विनम्र तुल्याउनुभयो र बप्तिस्मा लिएर उहाँप्रति आज्ञाकारी हुनुभयो ।
उहाँको नश्वर जीवनको अन्त्यमा येशू ख्रीष्टले तीतो प्यालाबाट पिएर आफ्नो चाहना उहाँको पितालाई सुम्पनुभयो । यो पीडाले उहाँलाई “पीडाका कारण काँप्नु पर्यो अनि हरेक रोमकूपबाट रगत निस्क्यो अनि शरीर र आत्मा दुबै पीडित भए ।” मुक्तिदाताले “त्यो तीतो प्यालाबाट पिउन अनि सङ्कोच मान्न नपरोस् भन्ने इच्छा गर्नुभयो ।” “यद्यपि,” उहाँले भन्नुभयो, “पितालाई महिमा होस् अनि [उहाँ]ले ग्रहण गर्नुभयो र मानिसहरूका छोराछोरीहरूका लागि [उहाँ]को तयारी पूरा गर्नुभयो ।”
दाजुभाइ तथा दिदीबहिनीहरू, हामीलाई नैतिक छनोटको स्वतन्त्रता दिइएको छ । हामी हाम्रा हृदयहरूलाई कठोर तुल्याउन अथवा कोमल बनाउन छनोट गर्न सक्छौँ । हाम्रा दैनिक जीवनमा, हामी त्यस्ता कार्यहरू गर्न छनोट गर्न सक्छौँ जसले परमप्रभुको आत्मालाई हाम्रो हृदयमा आउन र बास गर्न आमन्त्रण गर्छ । यी छनोटहरूमा शान्ति र प्रसन्नता छ भनेर मलाई थाहा छ ।
हाम्रा मुक्तिदाता येशू ख्रीष्टको उदाहरणलाई अनुसरण गरौँ जसले पिताको चाहनालाई पालना गर्नुभयो । हामीले त्यसो गर्दा, परमप्रभुले हामीलाई प्रतिज्ञा गर्नुभएको छ, “किनकि हेर, यदि तिनीहरूले आफ्ना हृदय कठोर बनाएनन् भने, म तिनीहरूलाई पोथीले आफ्ना चल्लाहरूलाई पखेटाहरूमुनि बटुले जस्तै बटुल्ने छु ।” येशू ख्रीष्टको नाममा, आमीन ।