दोस्रो प्रलोभनबाट सावधान रहनुहोस्
तपाईंलाई प्रेम गर्ने र समर्थन गर्नेहरूबाट नलुक्नुहोस्; बरु, यथाशीघ्र उहाँहरूकहाँ पुग्नुहोस् ।
केही वर्ष पहिले, म १२ वर्षको हुँदा, मलाई हारुनको पादरित्व गणको मेरो प्रथम रात्रीकालीन शिविरमा सहभागी हुन आमन्त्रण गरिएको थियो । यो लामो समयदेखि प्रतिक्षा गरिएको आमन्त्रण थियो किनकि मेरा बुबा गणका अगुवा हुनुहुन्थ्यो र प्रायश: मलाई घरमै छोडेर वार्डमा केटाहरूसँग क्याम्पिङ जानुहुन्थ्यो ।
त्यो दिन आउँदै गर्दा म उत्साहित थिएँ । अनि म ठूला केटाहरूसँग घुलमिल हुन अत्यन्तै चाहन्थेँ भनेर मैले स्वीकार गर्नु पर्थ्यो । म आफूलाई प्रमाणित गर्न दृढ-सङ्कल्पित थिएँ । त्यस प्रयासमा, म सँगै खेल्न सक्छु कि सक्दिनँ र समूहको अंश बन्न सक्छु कि सक्दिनँ भनेर मेरो परीक्षण गर्न धेरै समय लागेन ।
मलाई सुम्पिएको काम मेरो बुबाको कारको साँचो लिएर आउनु थियो ताकि अगुवाहरूमाथि ठट्टा गर्न सकियोस् । मेरो बुबालाई मनाउन मैले के भनेको थिएँ भनेर मलाई ठ्याक्कै याद छैन तर म मेरो उपलब्धिमा गर्व गर्दै छिट्टै हातमा साँचो लिएर केटाहरूको समूहतर्फ दौडिएँ ।
त्यसपछि अर्को कार्यभार आयो । मैले कारको ढोका खोल्नु थियो र चालकको सिट र कारको हर्नको बीचमा एउटा लट्ठी अड्काउनु पर्ने थियो । अनि मैले ढोका बन्द गर्नु थियो ताकि हर्न साँझसम्म बजोस् र त्यो साधारण उपकरण हटाउनका लागि अगुवाहरू कुनै तरिकाले कारलाई खोल्न नसक्नुहोस् ।
यहाँ नै कथा मेरा लागि लज्जास्पद रूपमा पीडादायी बन्छ । जब मैले लट्ठीलाई ठाउँमा व्यवस्थित गरे, मैले ढोका बन्द गरेँ र नजिकैको झाडीमा लुक्न म सकेसम्म छिटो दौडिएँ । जब म भुइँमा बसेँ, मलाई असह्य पीडा महसुस भयो । अन्धकारमा र मेरो हतारमा, म काँडेदार सिउँडीमा बसेको थिएँ ।
मेरो पीडाको चिच्याहट कारको हर्नका कारण कसैले सुनेनन् र मसँग विस्तारै अप्ठ्यारो मान्दै कारतर्फ फर्केर जानु, आफ्ना “दुष्कर्महरू”लाई स्वीकार गर्नु र लज्जास्पद रूपमा प्राथमिक चिकित्साको सहयोग लिनु बाहेक अन्य कुनै विकल्प थिएन ।
त्यो रातको बाँकी समय, म पालमा घोप्टो पारेर पल्टिएँ जब बुबाले चिम्टा प्रयोग गरेर मेरो …बाट सिउँडीका काँडाहरू हटाउनुभयो, त्यस पछि म धेरै दिनसम्म आरामसँग बस्न सकिँन भनेर म बताउन चाहन्छु ।
मैले त्यो अनुभवलाई धेरै पटक मनन गरेको छु । केही अन्तर्निहित सिद्धान्तहरू मलाई स्पष्ट भइसकेको अवस्थामा अब म मेरो युवावस्थाको मूर्खतापूर्ण कार्यमा हाँस्न सक्छु ।
घुलमिल हुने चाहना, आफूस्वयम् लाई प्रमाणित गर्ने चाहना, बहिष्कृत हुने भय र परिणामहरूबाट जोगिन लुकाउनुपर्ने बाध्यात्मक आवश्यकता—मानव व्यवहारका धेरै ढाँचाहरू प्राकृतिक मानिसमा सामान्य देखिन्छन् । हामीले गर्न नहुने कार्य गरे पछि लुकाउनु पर्ने बाध्यताका विषयलाई—आज म त्यही यो अन्तिम व्यवहारमा ध्यान केन्द्रित गर्ने छु ।
अब, म मेरो बाल्यकालको ठट्टालाई गम्भीर पापसँग तुलना गरिरहेको छैन तरपनि हामीले केही सिद्धान्तहरू सिक्न सक्छौँ जुन हाम्रो मरणशील जीवनमा परीक्षाहरूको सामना गर्दा उपयोगी हुन सक्छ ।
अदनको बगैँचामा, आदम र हब्बाको सुखद परिस्थिति थियो—खानाको प्रशस्तता, बगैँचाको अतुलनीय सुन्दरता—सुन्दरताको बगैँचा मात्रै नभई झारपात वा काँडेदार सिउँडी नभएको बगैँचा ।
यद्यपि, बगैँचाको जीवनले उनीहरूको आवश्यक प्रगतिलाई सीमित गरेको थियो भनेर पनि हामीलाई जानकारी छ । त्यो बगैँचा अन्तिम गन्तव्य थिएन तर धेरै मध्ये पहिलो परीक्षण थियो, जसले तिनीहरूलाई पिता र पुत्रको उपस्थितिमा फर्कने अन्तिम गन्तव्यमा प्रमाणित गर्न, तयार गर्न र प्रगति गर्न अनुमति दिने छ ।
बगैँचामा विपक्ष थियो भनेर तपाईंलाई स्मरण हुने छ । लुसिफरलाई आदम र हब्बालाई परीक्षा लिन अनुमति दिइएको थियो । उसले पहिले आदमलाई असल र खराबको ज्ञानको वृक्षको फल खान प्रलोभन दिएको थियो । त्यसबाट नखानू भन्ने आज्ञालाई सम्झँदै, आदमले प्रतिरोध गरे । त्यसपछि धन्य हब्बा आइन्, जसले फल खान छनोट गरिन्, आदमलाई पनि त्यस्तै गर्न मनाइन् ।
पछि, स्वर्गका पिताको योजना पूरा गर्न यो निर्णय आवश्यक थियो भनेर आदम र हब्बाले घोषणा गरे । परन्तु फल खाएर, तिनीहरूले नियम उल्लङ्घन गरेका थिए—पिताबाट सिधै दिइएको नियम । असल र खराबको परिणाम र अपरिहार्य समझ पछि पिता बगैँचामा फर्कनुहुने घोषणा सहितको उहाँको वाणीले तिनीहरूमा पीडामा पारेको हुनु पर्छ । तिनीहरू नग्न थिए भनेर तिनीहरूले महसुस गरे किनकि तिनीहरूले वास्तवमा नै बिना वस्त्रमा, अनभिज्ञताको अवस्थामा जिएका थिए । परन्तु संभवत: त्यो क्षण उनीहरूको नग्नता उजागर हुनु भन्दा पनि तिनीहरूको उल्लङ्घनको पर्दाफास भएकोमा बढी पीडादायी थिए । तिनीहरू रक्षाहीन र कमजोर थिए । तिनीहरू शाब्दिक र लाक्षणिक दुबै रूपमा नग्न थिए ।
सबैभन्दा अवसरवादी, लुसिफरले तिनीहरूको खुला र कमजोर अवस्थाको जानकारी प्राप्त गरेर, तिनीहरूलाई—यस पटक परमेश्वरबाट लुक्न पुनः प्रलोभनमा पार्यो ।
यो प्रलोभन—म यसलाई “दोस्रो प्रलोभन” भन्ने छु—यदि हामी हार मान्यौँ भने सबैभन्दा ठूलो परिणाम ल्याउन सक्ने प्रलोभन हो । निस्सन्देह, परमेश्वरको नियमलाई तोड्ने सबै प्रथम प्रलोभनहरूलाई परित्याग गर्नु उत्तम हुन्छ तर पृथ्वीका विभिन्न प्रकारका प्रथम प्रलोभनहरूबाट सबैले हार मान्ने छन् भनेर हामीलाई जानकारी छ । हाम्रो परिपक्वता र समझमा हामीले प्रगति गर्दै जाँदा, प्रथम प्रलोभनहरूलाई परित्याग गर्ने हाम्रो शक्तिमा निरन्तर सुधार हुँदै जाने छ भनेर हामी आशा गर्छौँ किनकि हामी हाम्रा मुक्तिदाता, येशू ख्रीष्ट जस्तै बन्ने प्रयास गर्छौँ ।
कसैले परमेश्वरबाट लुक्ने प्रयास गर्न सक्छन् किनभने तिनीहरू पत्ता लगाइन वा पर्दाफास गरिन अनि लज्जित वा दोषी महसुस गर्न चाहँदैनन् । यद्यपि, परमेश्वरबाट लुक्नु असम्भव छ भनेर धेरै धर्मशास्त्रहरूले हामीलाई सिकाउँछन् । मैले ती मध्ये केही मात्रै बाँढ्ने छु:
यर्मियालाई परमप्रभुले निम्न प्रश्नहरूद्वारा सिकाउनुहुन्छ: “के कोही गुप्त ठाउँहरूमा लुक्न सक्छ र जहाँ म उसलाई देख्न सक्दिनँ? परमप्रभु भन्नुहुन्छ । के स्वर्ग र पृथ्वी दुबैलाई म भर्दिनँ र?”
अनि अय्यूबलाई सिकाइएको छ:
“किनकि उहाँको दृष्टि मानिसको चालमाथि रहेको हुन्छ र तिनीहरू हिँडेको सबै चालहरू उहाँले देख्नुहुन्छ ।
“त्यहाँ कुनै अन्धकार छैन, न त मृत्युको छाया छ, जहाँ दुष्ट कार्य गर्नेहरूले आफूलाई लुकाउन सक्छन् ।”
भजन रचयिता दाऊदले सबैभन्दा काव्यात्मक रूपमा बताउँछन्:
“हे परमप्रभु, हजुरले मलाई खोज्नुभएको छ र मलाई चिन्नुभएको छ ।
“हजुर मेरो जीवनयापनको तरिका सँग परिचित हुनुहुन्छ, हजुरले टाढाबाट मेरो विचार बुझ्नुहुन्छ । …
“किनकि मेरो जिब्रोमा एउटा पनि शब्द छैन तर, हे परमप्रभु, हजुरले यसलाई पूर्ण रूपमा जान्नुहुन्छ ।” …
“म हजुरको आत्माबाट कहाँ जाऊँ ? अथवा हजुरको उपस्थितिबाट कहाँ भागूँ ?
“यदि म स्वर्गमा उक्लिएँ भने, हजुर त्यहाँ हुनुहुन्छ: यदि मैले नर्कमा मेरो ओछ्यान बनाएँ भने, हेर्नुहोस्, हजुर त्यहाँ हुनुहुन्छ ।”
भर्खरै परिवर्तन हुनेहरू
पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा भर्खरै आवद्ध हुनुभएकाहरूका लागि विशेष गरी दोस्रो प्रलोभन चुनौतीपूर्ण महसुस हुन सक्छ । आफ्नो बप्तिस्माका माध्यमद्वारा तपाईंले येशू ख्रीष्टको नाम लिने करार गर्नुभएको छ, जसमा धेरैका लागि जीवनशैलीमा परिवर्तन गर्नुपर्ने आवश्यकता समावेश हुन्छ । आफ्नो जीवनशैली परिवर्तन गर्नु सहज छैन । प्रायश: तपाईंले स्वर्गका आफ्ना प्रिय पितातर्फ अगाडि बढ्न तपाईंले बानीव्यहोरा र अभ्यासहरू अनि सङ्गतहरू पनि परिवर्तन गर्नु आवश्यक हुन्छ ।
तपाईं उसको सूक्ष्म आक्रमणहरूबाट कमजोर हुन सक्नुहुन्छ भनेर शत्रुलाई जानकारी छ । उसले तपाईंलाई धेरै तरिकाले असन्तुष्ट बनाएको तपाईंको विगतको जीवन प्रति अब अवास्तविक रूपमा आकर्षण गराउने छ । प्रकाशको पुस्तकमा दोषारोपक भनिएको त्यही व्यक्तिले तपाईंलाई यस्ता विचारहरूद्वारा प्रलोभन दिने छ: “तपाईं आफ्नो जीवन परिवर्तन गर्न पर्याप्त रूपमा मजबुत हुनुहुन्न; तपाईं यो गर्न सक्नुहुन्न; तपाईं यी मानिसहरूसँग सम्बन्धित हुनुहुन्न; तिनीहरूले तपाईंलाई कहिल्यै स्वीकार गर्ने छैनन्; तपाईं धेरै कमजोर हुनुहुन्छ ।”
यदि यी विचारहरू भर्खरै करार मार्गमा हिँड्दै गर्नुभएका तपाईंहरूलाई उपयुक्त लाग्छन् भने, हामी तपाईंलाई दोषारोपकको आवाज नसुन्न बिन्ती गर्छौँ । हामी तपाईंलाई प्रेम गर्छौँ; तपाईं यो गर्न सक्नुहुन्छ; हामी तपाईंलाई स्वीकार गर्छौं; र मुक्तिदातासँगै, तपाईंसँग सबै गर्न शक्ति हुने छ । जब तपाईंलाई हाम्रो प्रेम र समर्थनको सबैभन्दा बढी आवश्यकता हुन्छ, यदि तपाईंले यसपूर्वको आफ्नो जीवनशैलीतर्फ अपनाउनुभयो भने हामीले तपाईंलाई अस्वीकार गर्ने छौँ भन्ने सोचमा नपर्नुहोस् । येशू ख्रीष्टको प्रायश्चितको अतुलनीय शक्तिका माध्यमद्वारा, तपाईं पुनः चङ्गाइ प्राप्त गर्न सक्नुहुन्छ । परन्तु यदि तपाईं उहाँबाट लुक्नुहुन्छ र आफ्नो आस्थाको नयाँ समुदायबाट आफूलाई टाढा राख्नुहुन्छ भने तपाईं आफूलाई त्यो स्रोतबाट टाढा राख्नुहुन्छ जसले तपाईंलाई पार गर्न शक्ति दिन सक्छ र दिने छ ।
हालसालै परिवर्तन हुनुभएका, मेरा एक प्रिय मित्रले एक्लोपनमा आस्थालाई निरन्तरता दिनु कति कठीन छ भनेर बताउनुभयो । हरेकले गल्ती गरेर पनि प्रगति गर्दै येशू ख्रीष्टको प्रेमले आशीषित भएर—एक सहयोगी समुदायको अंश बन्न र त्यसैमा निरन्तर रूपमा रहिरहनमा ठूलो शक्ति छ ।
अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनुभएको छ कि “संसारमाथि विजय प्राप्त गर्नु एक वा दुई दिनमा हुने घटना होइन । हामीले ख्रीष्टका सिद्धान्तलाई अपनाउँदा जीवनभर यो बारम्बार हुन्छ । दिनहुँ पश्चात्ताप गरेर र हामीलाई शक्ति प्रदान गर्ने करारहरू पालन गरेर हामीले येशू ख्रीष्टमा आस्था विकास गर्छौँ । हामी करार मार्गमा रहन्छौँ र आत्मिक शक्ति, व्यक्तिगत प्रकाश, वृद्धि भएको आस्था र स्वर्गदूतहरूको सेवा सहित आशीषित हुन्छौँ ।
यदि तपाईंलाई शारीरिक चोट लागेको छ भने, तपाईंको अवस्था बिग्रने छ र यदि उचित चिकित्सा अपनाउनुभएन भने त्यसले तपाईंको जीवनलाई खतरामा पार्न सक्छ । यो आध्यात्मिक चोटहरूका लागि पनि सत्य हुन्छ । उपचार नगरिएका आध्यात्मिक चोटहरूले नै तपाईंको अनन्त मुक्तिलाई खतरामा पार्न सक्छन् । तपाईंलाई प्रेम गर्ने र समर्थन गर्नेहरूबाट नलुक्नुहोस्; बरु, यथाशीघ्र उहाँहरूकहाँ पुग्नुहोस् । असल बिशपहरू, शाखा अध्यक्षहरू र अगुवाहरूले तपाईंलाई येशू ख्रीष्टको प्रायश्चितको उपचार शक्तिमा पहुँच राख्नका लागि सहयोग गर्न सक्नुहुन्छ ।
लुकेर बस्नुभएका तपाईंहरूलाई, हामी फर्केर आउन आग्रह गर्छौँ । येशू ख्रीष्टको सुसमाचार र प्रायश्चितले के दिन्छ त्यो तपाईंलाई आवश्यक छ र तपाईंले के अर्पण गर्नुहुन्छ त्यो हामीलाई आवश्यक छ । तपाईंका पापहरूका सम्बन्धमा परमेश्वरलाई जानकारी छ; तपाईं उहाँबाट लुक्न सक्नुहुन्न । उहाँसामु आफूलाई अनुबन्ध गर्नुहोस् ।
उहाँका सन्तहरूका रूपमा, हामी प्रत्येकले चर्चमा आत्मीयताको संस्कृतिलाई बढावा दिनु पर्छ जुन उहाँको मार्गमा अगाडि बढ्न चाहने सबैलाई प्रेम गर्ने, स्वीकार गर्ने र प्रोत्साहन दिने हो ।
यो दोस्रो प्रलोभनबाट सावधान रहनुहोस्! प्राचीन र आधुनिक दुबै अगमवक्ताहरूको सल्लाह पालना गर्नुहोस् र प्रिय पिताबाट तपाईंहरू लुक्न सक्नुहुन्न भनेर जान्नुहोस् ।
बरु, येशू ख्रीष्टको प्रायश्चितको चमत्कारिक चङ्गाइ दिने शक्तिबाट आफ्ना लागि लाभ उठाउनुहोस् । हाम्रो अस्तित्वको उद्देश्य नै “सबै प्रकारका कमजोरीहरूको अधीनमा” रहेको कमजोर र मरणशील शरीर प्राप्त गर्नु हो । अनि दुःखको विषय त्यो हार मान्ने छ र धेरै प्रथम प्रलोभनहरूको शिकार हुने छ; हामी यी प्रलोभनहरूमा पर्दा पनि प्रगति गर्न; र त्यसो गरे पछि दैवी सहयोग अन्वेषण गर्न सक्छौँ ताकि हामी हाम्रा मुक्तिदाता र स्वर्गमा रहनुहुने हाम्रा पिता जस्तै बन्न सक्छौँ । यो उहाँको मार्ग हो । यो एक मात्र तरिका हो । यी सत्यहरू म येशू ख्रीष्टको नाममा गवाही दिन्छु, आमीन ।