पवित्र वस्तुहरूका लागि सम्मान
पवित्रताप्रतिको सम्मानले वास्तविक कृतज्ञतामा वृद्धि गर्छ, सत्य खुसीलाई विस्तार गर्छ, हाम्रो मनलाई प्रकाशतर्फ अगुवाइ गर्छ र हाम्रो जीवनमा अझै बढी प्रसन्नता ल्याउँछ ।
प्रस्थानको पुस्तकमा, हामी मोशासँग होरेब पर्वतको भिरालोमा यात्रा गर्छौँ जब उहाँले आफ्नो दैनिक चिन्ताहरूमा ध्यान केन्द्रित नगर्ने छनोट गर्नुभयो—जुन हामी सबै गर्न इच्छुक हुनु पर्छ—जलिरहेको झाडी हेर्न जुन भस्म भएको थिएन । जब उहाँ नजिक पुग्नुभयो, “परमेश्वरले झाडीको बीचबाट उहाँलाई बोलाउनुभयो र भन्नुभयो, मोशा, मोशा । अनि उहाँले भन्नुभयो, म यहाँ छु । अनि [परमेश्वरले] भन्नुभयो, … आफ्नो पाउबाट जुत्ता फुकाल, किनकि जुन स्थानमा तिमी उभिरहेका छौ त्यो पवित्र भूमि हो ।” महान् सम्मान, विनम्रता र आश्चर्यका साथ, मोशाले आफ्नो जुत्ता फुकालेर परमप्रभुको वचन सुन्न र उहाँको पवित्र उपस्थिति अनुभव गर्न आफूलाई तयार पार्नुभयो ।
विस्मयकारी सम्मानले भरिपूर्ण अनुभवले त्यो पवित्र पर्वतको यात्राको उपदेशले मोशालाई आफ्नो देवी पहिचानसँग जोड्यो, वास्तवमा, विनम्र गोठालोबाट एक प्रभावशाली अगमवक्तामा उहाँको रूपान्तरणको यो एक प्रमुख तत्व थियो, जसले उहाँलाई जीवनको नयाँ मार्गमा हिँड्न अगुवाइ गर्यो । त्यसैगरी, हामी प्रत्येकले सम्मानको सद्गुणलाई हाम्रो आध्यात्मिक चरित्रको एक पवित्र अंश बनाएर हाम्रो शिष्यत्वलाई आध्यात्मिकताको उच्च नमूनामा रूपान्तरण गर्न सक्छौँ ।
सम्मान शब्द ल्याटिन क्रियापद revereri(रिभेरेरी) बाट लिइएको हो, जसको अर्थ “विस्मयमा खडा हुनु हो ।” सुसमाचारको सिद्धान्तको सम्बन्धमा, यो परिभाषा गहिरो सम्मान, प्रेम र कृतज्ञताको भावना वा मनोवृत्तिसँग समावेश हुन्छ । परमेश्वर र येशू ख्रीष्टप्रति पश्चात्तापी हृदय र गहिरो भक्तिभाव भएकाहरूका लागि पवित्रताका त्यस्ता अभिव्यक्तिले उहाँहरूको आत्मामा प्रसन्नताको वृद्धि गर्छ ।
पवित्र विषयहरूप्रतिको सम्मान आध्यात्मिक विशेषता व्यक्त गर्ने सबैभन्दा महत्त्वपूर्णअभिव्यक्ति हो; यो पवित्रतासँगको हाम्रो सम्बन्धको प्रतिफल हो र यसले स्वर्गका हाम्रा पिता र हाम्रा मुक्तिदाता, येशू ख्रीष्टप्रतिको हाम्रो प्रेम र सामिप्यतालाई प्रतिबिम्बित गर्छ । यो आत्माका सबैभन्दा उन्नत अनुभवहरू मध्येको एक हो । यस्तो सद्गुणले हाम्रो विचार, हृदय र जीवनलाई देवत्वतर्फ निर्देशित गर्छ । वास्तवमा, सम्मान केवल आध्यात्मिकताको एउटा पक्ष मात्र होइन; यो यसको सार हो—जुन आधारमा आध्यात्मिकता निर्माण हुन्छ, जसले देवत्वसँग व्यक्तिगत सम्बन्ध सिर्जना गर्छ, जुन हाम्रा सन्ततिहरूले गाउँदा सिकाउँछन्: “जब म सम्मान गर्छु, म मेरो हृदयमा बुझ्छु, स्वर्गका पिता र येशू नजिक हुनुहुन्छ ।”
हामीले परमेश्वर र उहाँका पुत्र येशू ख्रीष्टसँगको गहिरो सम्बन्धका लागि आफूस्वयम् लाई खुल्ला राख्नुका साथै हाम्रो आध्यात्मिक चरित्रलाई मजबुत बनाउनका लागि येशू ख्रीष्टका शिष्यहरूका रूपमा, हाम्रो जीवनमा सम्मानको उपहार विकसित गर्नका लागि हामीलाई आमन्त्रण गरिएको छ । यदि हाम्रा हृदयहरूमा यस्ता भावनाहरू अधिक हुने थिए भने, हाम्रो जीवनमा निस्सन्देह धेरै प्रसन्नता र आनन्द हुने थियो अनि दुःख र उदासिनताका लागि कम स्थान हुने थियो । पवित्र वस्तुहरूप्रति सम्मान देखाउनाले हामीले हरेक दिन गर्ने अधिकांश कामलाई अर्थपूर्ण बनाउँछ र हाम्रो कृतज्ञताको भावनालाई मजबुत बनाउँछ—उच्च र पवित्र वस्तुहरूप्रति विस्मय, सम्मान र प्रेमलाई प्रेरणादायी बनाउँछ भन्ने विषयलाई हामीले सम्झनु पर्छ ।
दुर्भाग्यवश, हामी यस्तो संसारमा जिइरहेका छौँ जहाँ पवित्र विषयहरूप्रति सम्मान प्रदर्शन गर्नु असामान्य बन्दै गइरहेको छ । वास्तवमा, संसारले अनादर गर्नेहरूको प्रशंसा गर्छ जस्तो कि कुनै संक्षेप पत्रिका, टेलिभिजन कार्यक्रम वा इन्टरनेटको अवलोकन गरेर प्रमाणित गर्छ । पवित्रताको सम्मानको अभावले मनोवृत्ति र आचरणमा उत्पन्न हुँदै गएको लापरवाहीमा वृद्धि गर्छ, जसले युगलाई द्रुत गतिमा उदासीनतामा पुर्याउन सक्छ र अर्को युगलाई दुःखमा धकेल्न सक्छ ।
अनादरले हामीलाई परमेश्वरसँगको करारले प्रदान गर्ने बन्धनहरूबाट टाढा लैजान सक्छ र देवत्वप्रतिको हाम्रो जवाफदेहिताको भावनालाई कम गर्न सक्छ । फलस्वरूप, हामी केवल आफ्नै सुखका सम्बन्धमा मात्रै सोच्ने; हाम्रो अनियन्त्रित भोकलाई तृप्त गर्ने; र अन्ततः पवित्र विषयहरू, परमेश्वरलाई अनि स्वर्गका पिताका सन्ततिका रूपमा हाम्रो दिव्य प्रकृतिलाई घृणा गर्ने अपवित्र स्थानमा पुग्ने जोखिम उठाउँछौँ । पवित्र विषयहरूप्रतिको सम्मानले हाम्रो समयमा हाम्रो आध्यात्मिक अस्तित्वका लागि महत्त्वपूर्ण हाम्रा संवेदनशील प्रणालीहरूमा व्यवधान पुर्याएर विरोधीको उद्देश्यलाई अगाडि बढाउँछ ।
पवित्र विषयलाई सम्मान गर्नुको अर्थ र महत्त्व धर्मशास्त्रहरूभरि राम्ररी वर्णन गरिएको छ । सिद्धान्त र करारको एउटा दृष्टान्तले सेलेस्टियल अधिराज्य प्राप्त गर्नेहरूका लागि हाम्रा स्वर्गका पिता र उहाँका पुत्र येशू ख्रीष्टप्रति सम्मान हुनु अत्यावश्यक सद्गुण हो भनेर सङ्केत गरेको जस्तो देखिन्छ ।
चर्चका रूपमा हामी पिता र पुत्रलाई हरेक पक्षमा उच्चतम पवित्रता र सम्मान दिने प्रयास गर्छौँ, जसमा हामी उहाँहरूको चित्रहरूलाई कसरी चित्रण गर्छौँ भन्ने विषय पनि समावेश हुन्छ । यी चित्रहरूले पिता र पुत्रको पवित्र प्रकृति, चरित्र र दैवी विशेषताहरूलाई कसरी प्रतिबिम्बित गर्नु पर्छ भनेर निर्धारण गर्न पवित्र आत्माको मार्गदर्शन एक महत्त्वपूर्ण अंश हो । हामी हाम्रा स्वर्गका पिता र उहाँका पुत्र येशू ख्रीष्ट र उहाँहरूको शिक्षामा हाम्रो प्राथमिक ध्यान केन्द्रित गर्नबाट विचलित पार्न सक्ने तत्वहरू चित्रण गर्नबाट पर रहन धेरै सावधान हुन्छौँ जसमा हामी सामग्री र चित्रहरू उत्पन्न गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्ने जस्ता प्रविधिद्वारा प्रस्तुत गरिएका विकसित उपकरणहरू कसरी प्रयोग गर्छौँ भन्ने विषय समावेश छ ।
चर्चको सञ्चारका आधिकारिक माध्यमहरूद्वारा उपलब्ध हुने जानकारीका कुनै पनि स्रोतमा यही सिद्धान्त लागू हुन्छ । हामीले प्रत्येक पाठ, पुस्तक, नियम सङ्ग्रह र सन्देशलाई निरन्तरता दिइरहेका छौँ भनेर सुनिश्चित गर्नका लागि येशू ख्रीष्टको सुसमाचारका पवित्र सद्गुण, मूल्यमान्यता र स्तरहरूलाई आत्माको निर्देशनमा सावधानीपूर्वक विकसित र अनुमोदन गरिन्छ । चर्चका युवा वयस्कहरूका लागि भर्खरैको सन्देशमा, एल्डर डेभिड ए. बेड्नारले सिकाउनुभयो: “आध्यात्मिकता र प्रविधिको जटिल चतुष्पदलाई परिचालन गर्न, पछिल्ला दिनका सन्तहरूले विनम्रता र प्रार्थनापूर्वक (१) कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई मार्गदर्शन गर्न सक्ने सुसमाचारका सिद्धान्तहरू पहिचान गर्नु पर्छ र (२) पवित्र आत्माको साहचर्य र प्रकाशको आध्यात्मिक उपहार प्राप्त गर्नका लागि इमानदारितापूर्वक प्रयास गर्नु पर्छ ।”
मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, आधुनिक प्रविधि जतिसुकै जटिल भएता पनि, यसले पवित्र आत्माको प्रभावबाट सिर्जना भएको सम्मानमा प्राप्त हुने आश्चर्य, विस्मय र श्रद्धा अनुकरण गर्न सक्दैन । येशू ख्रीष्टका शिष्यहरूका रूपमा, हामीले कृत्रिम बुद्धिमत्ताद्वारा सिर्जना गरिएका सामग्रीहरू र तस्वीरहरू अनुपयुक्त रूपमा प्रयोग गरेर परमेश्वर र उहाँका पुत्रसँगको हाम्रो सम्बन्धलाई कमजोर नबनाउन सावधान रहनु आवश्यक छ । आधुनिक प्रविधि “मांस रूपी बाहु” मा निर्भर रहनु भनेको पवित्र आत्माको शक्तिका माध्यमद्वारा मात्रै प्राप्त गर्न सकिने प्रेरणा, आध्यात्मिक उन्नति र गवाहीका लागि अपर्याप्त र अनुचित विकल्प हो भनेर हामीले सम्झनु पर्छ । नफीले घोषणा गर्नुभएको जस्तै: “हे परमप्रभु, मैले हजुरमा भरोसा गरेको छु र म सदासर्वदा हजुरमा भरोसा गर्ने छु । म आफ्नो भरोसा शरीरको पाखुरामा राख्ने छैनँ ।”
अर्को प्रकाशमा, परमप्रभुका लागि निर्माण गरिएका मन्दिरहरू उहाँको समानका स्थान हुनु पर्छ भनेर अगमवक्ता जोसेफ स्मिथलाई निर्देशन दिइएको थियो । हाम्रा प्रिय अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनले उहाँको सेवाअवधिभरि सम्मानपूर्वक पवित्र मन्दिरमा गरिने हाम्रो उपासनालाई जोड दिनुभएको छ । परमप्रभुको गृहमा हामीलाई पिता र पुत्रको पवित्र उपस्थितिमा प्रवेश गर्ने सम्बन्धमा सिकाइन्छ । मन्दिरमा प्रवेश गर्दा र त्यहाँका पवित्र विधिहरूमा सहभागी हुनका लागि आफूलाई तयार गर्दा हामीले गर्ने पहिलो काम हाम्रो जुत्ता खोल्नु र सेतो वस्त्र पहिरनु हो भन्ने विषय मलाई सदैव शिक्षाप्रद र प्रेरणादायी लागेको छ । मोशा जस्तै, यदि हामीले अभिप्रायपूर्वक गर्छौँ भने, हामीले हाम्रो सांसारिक जुत्ता खोल्नु भनेको पवित्र भूमिमा पाइला टेक्ने र उच्च र पवित्र तरिकाले रूपान्तरण हुन सुरुवात गर्नु हो भनेर बुझ्न सक्छौँ ।
दाजुभाइ तथा दिदीबहिनीहरू, पवित्र विषयहरूका लागि सम्मान पत्ता लगाउन र हाम्रो शिष्यत्वलाई आध्यात्मिकता र भक्तिको गहिरो स्तरमा रूपान्तरण गर्न हामीले मोशाले जस्तै पहाडको टुप्पोमा चढ्नु पर्दैन । उदाहरणका लागि, हामीले आफ्नो घरको वातावरणलाई सांसारिक प्रभावबाट जोगाउने प्रयास गर्दा सो पत्ता लगाउन सक्छौँ । येशू ख्रीष्टको नाममा स्वर्गका हाम्रा पितालाई इमानदारिता र लगनशीलतापूर्वक प्रार्थना गरेर अनि धर्मशास्त्र र हाम्रा अगमवक्ताहरूका शिक्षाहरूमा पाइने परमेश्वरका वचनको लगनशील अध्ययनद्वारा हाम्रा मुक्तिदातालाई अझै राम्ररी चिन्न प्रयास गरेर यसलाई प्राप्त गर्न सकिन्छ । यसका अतिरिक्त, यस्तो आध्यात्मिक रूपान्तरण तब मात्रै आउन सक्छ जब हामी उहाँका आज्ञाहरूको पालनामा जीवन यापन गरेर परमप्रभुसँग हामीले गरेका करारहरूलाई सम्मान गर्ने प्रयास गर्छौँ । यी प्रयासहरूले हाम्रो हृदयमा शान्त र सुनिश्चित स्थिरता ल्याउन सक्छन् । यस्ता कार्यहरूमा ध्यान केन्द्रित गर्नाले हाम्रा घरहरूलाई आध्यात्मिक शरणस्थानका सम्मानपूर्ण स्थानहरूमा परिणत गर्नका लागि साँच्चै नै सहयोग गर्न सक्छ—पहाडको मोशाको अनुभव जस्तै आस्थाका व्यक्तिगत तीर्थस्थलहरू जहाँ आत्मा बास गर्छ । ।
पवित्र भजनहरूको हाम्रो निष्कपट गायनका माध्यमद्वारा हाम्रो हृदयलाई परमप्रभुमा समायोजन गर्दै आस्थावान् बनेर चर्चका आराधना सेवामा सहभागी भएर पनि हामी यस्तो आध्यात्मिक परिवर्तन अनुभव गर्न सक्छौँ । सांसारिक विचलनहरू, विशेष गरी हाम्रा सेल फोनहरू वा यस पवित्र क्षणसँग सामान्जस्यता नराख्ने कुनै पनि विषयबाट मोशाले जस्तै टाढा रहँदा, मुक्तिदाता र उहाँको प्रायश्चितको बलिदानसँगै हाम्रा आफ्नै करारहरूमा हाम्रो ध्यान पूर्ण रूपमा केन्द्रित गर्दै प्रभुभोजमा सहभागी हुन हामीलाई सक्षम बनाउँछ । यस्तो पुनीत ध्यानले मुक्तिदातासँगको हाम्रो सम्पर्कको सम्मानपूर्वक नवीकरण गर्ने क्षणलाई प्रोत्साहन गर्ने छ र शबाथलाई आनन्ददायी बनाउने छ र हाम्रो जीवनलाई रूपान्तरण गर्ने छ ।
जब हामी नियमित रूपमा परमप्रभुको गृहको पहाडमा—हाम्रा पवित्र मन्दिरहरूमा—आराधना गर्छौँ र आत्मविश्वासका साथ करार अनुरूप जिउने प्रयास गर्छौँ, विशेष गरी जब हामी मरणशील जीवनका परीक्षाहरूको सामना गर्छौँ, अन्ततः, हामीले हाम्रो शिष्यत्वमा यो आध्यात्मिक परिवर्तन अनुभव गर्न सक्छौँ ।
मेरी श्रीमती र मैले व्यक्तिगत रूपमा सम्मानमा उत्कृष्टताका केही पवित्र क्षणहरू अनुभव गरेका छौँ किनकि हामीले यी सिद्धान्तहरूलाई हाम्रो जीवनमा लागू गर्ने प्रयास गरेका छौँ, जसले हाम्रो शिष्यत्वमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । यो हिजो जस्तै लाग्छ जब हाम्रो दोस्रो सन्तानलाई चिहानमा दफन गर्नुपूर्व चिहानमा हिँड्दै गरेको मलाई स्मरण हुन्छ, हाम्रो छोरा जो समयपूर्व नै जन्मिएको थियो र जिउन सकेन, त्यस समयमा मेरी श्रीमती अस्पतालमा स्वास्थ्य लाभ गर्दै थिइन् । त्यो चुनौतीपूर्ण परीक्षाको सामना गर्नका लागि मैले परमेश्वरलाई उत्साह अनि सम्मानपूर्वक प्रार्थना गरेको र सहयोगको याचना गरेको मलाई स्मरण छ । त्यस क्षणमा, मैले मेरो हृदयमा स्पष्ट र शक्तिशाली आत्मिक आश्वासन प्राप्त गरेँ: यदि मेरी श्रीमती र मैले सह्यौँ, येशू ख्रीष्टको सुसमाचार अनुरुप जिउँदा प्राप्त हुने प्रसन्नतालाई अँगाल्यौँ भने हाम्रो जीवनमा सबै सही हुने छ । भाव विह्वल अनि दुःखद चुनौतीपूर्ण जस्तो देखिएको समय पवित्र, सम्मानयुक्त अनुभवमा परिणत भयो, एउटा यस्तो शिखर जसले हाम्रो आस्थालाई निरन्तरता दिन सहयोग गरेको छ र परमप्रभुसँग हामीले गरेका करारहरू अनि म र मेरो परिवारका लागि उहाँका प्रतिज्ञाहरूमा हामीलाई आत्मविश्वास दिएको छ ।
मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, पवित्रताप्रतिको सम्मानले वास्तविक कृतज्ञता वृद्धि गर्छ, सत्य खुसीलाई विस्तार गर्छ, हाम्रो मनलाई प्रकाशतर्फ अगुवाइ गर्छ र हाम्रो जीवनमा अझै बढी प्रसन्नता ल्याउँछ । यसले हाम्रा पाउ पवित्र भूमिमा राख्छ र हाम्रो हृदयलाई देवत्वतर्फ उचाल्छ ।
जब हामी हाम्रो दैनिक जीवनमा यस्तो सद्गुणलाई समावेश गर्ने प्रयास गर्छौँ, हामीले हाम्रो विनम्रता वृद्धि गर्न, हाम्रा लागि परमेश्वरको चाहनाका सम्बन्धमा हाम्रो बुझाइ विस्तार गर्न र परमप्रभुसँग हामीले गरेका करारहरूको प्रतिज्ञाहरूमा हाम्रो विश्वासलाई मजबुत बनाउन सक्षम हुने छौँ भनेर म तपाईंहरूलाई प्रमाणित गर्छु । जब हामीहरू पवित्र वस्तुहरूप्रतिको सम्मानको यो उपहारलाई आत्मसात गर्छौँ—चाहे त्यो परमप्रभुको गृहको पहाडमा होस्, सभागृहमा होस् वा हाम्रो आफ्नै घरमा—हामी हाम्रा स्वर्गका पिता र येशू ख्रीष्टको परिपूर्ण प्रेममा जोडिँदा हामी अनौठो आश्चर्य र विस्मयले भरिने छौँ भनेर म गवाही दिन्छु । हाम्रा मुक्तिदाता र उद्धारकर्ता येशू ख्रीष्टको पवित्र नाममा म यी सत्यहरूको सम्मानपूर्वक गवाही दिन्छु, आमीन ।