१२.
येशू ख्रीष्टले प्रसन्नता ल्याउनुहुन्छ
तपाईंहरूका स्वर्गका पिता प्रसन्नदायी हुनुहुन्छ । उहाँका सन्तति, तपाईंले सम्भव भएसम्म धेरै प्रसन्नता प्राप्त गर्नुहोस् भनेर उहाँ चाहनुहुन्छ । यस कारण उहाँले खुसीको योजना तयार गर्नुभयो । उहाँले आफ्ना पुत्र येशू ख्रीष्टलाई तपाईंहरूका मुक्तिदाता बन्न र उहाँको सुसमाचार सिकाउन पठाउनुभयो । सुसमाचार शब्दको अर्थ “शुभ समाचार” हो र येशू ख्रीष्टका कारण तपाईंहरू यस जीवनमा खुसी र अनन्तकालका लागि प्रसन्नताको पूर्णता भेट्टाउन सक्नुहुन्छ भन्नु शुभ समाचार हो ।
अनन्त सत्यहरू
तपाईंहरू खुसी र प्रसन्नता प्राप्त गर्नका लागि अभिप्रेरित हुनुहुन्छ । त्यो तपाईंहरूको जीवनको उद्देश्य हो । यो स्वर्गका पिताको खुसीको योजनाको उद्देश्य हो । यसको अर्थ यो होइन कि तपाईंहरू कहिल्यै दुःखी हुनुहुने छैन वा कठिन समय भोग्नुहुने छैन । परन्तु यसको अर्थ यो हो कि मुक्तिदाताले तपाईंहरूलाई कठिन समयबाट पार पाउन र प्रसन्नता भेट्टाउनका लागि सहयोग गर्न सक्नुहुन्छ ।
खुसी तपाईंहरूका परिस्थितिबाट आउँदैन; यो येशू ख्रीष्टलाई अनुसरण गर्दा आउँछ । तपाईंहरूका दिन खराब हुन सक्छन्, हप्ता खराब हुन सक्छन् वा वर्ष खराब हुन सक्छन् । परन्तु प्रसन्नता भनेको तपाईंहरूको जीवनमा दुःखको अनुपस्थिति होइन; यो तपाईंहरूको जीवनमा ख्रीष्टको उपस्थिति हो ।
मुक्तिदाताको प्रसन्नता अरू कुनै पनि वस्तुभन्दा महान् र स्थायी छ । सैतानले तपाईंहरूलाई स्वार्थी तरिकाले वा सांसारिक सुखसयलबाट रमाइलो र सन्तुष्टि खोज्न प्रलोभनमा पार्ने छ । येशू ख्रीष्ट र उहाँका आज्ञाहरूका विपरीत हुने कुनै पनि विषयले तपाईंहरूलाई सत्य, स्थायी प्रसन्नता र खुसी ल्याउन सक्दैन । स्मरण रहोस्, यस पृथ्वीका विषयवस्तुहरू अस्थायी छन् । येशू ख्रीष्टको सुसमाचारले गहिरो, पवित्र अनि अनन्त प्रसन्नता र खुसी प्रदान गर्छ ।
आमन्त्रणहरू
प्रसन्नता छनोट गर्नुहोस् । यद्यपि यो सत्य हो कि यस संसारमा दुःख र कठिनाइ छ, स्वर्गका पिताले संसारलाई धेरै सुन्दर, स्वस्थ चीजहरूले पनि भरिदिनुभएको छ । तिनीहरूलाई खोज्नुहोस् । हरेक दिन आनन्दित हुने कारणहरू स्मरण गर्ने प्रयास गर्नुहोस्—सम्भवतः तिनीहरूलाई लेख्नुहोस् पनि । यी स्वर्गमा तपाईंहरूका प्रिय पिताबाट प्राप्त भएका उपहारहरू हुन् ।
अरूमा प्रसन्नता र खुसी ल्याउनुहोस् । हामीलाई प्रसन्नता दिनुमा येशू ख्रीष्टले प्रसन्नताको पूर्णता प्राप्त गर्नुभयो । तपाईंहरू अरूको सेवा गर्दा प्रसन्नता र खुसी प्राप्त गरेर उहाँको उदाहरण अनुसरण गर्न सक्नुहुन्छ । कसैलाई प्रेम गरिएको महसुस गर्न सहयोग गर्नुहोस् । निष्कपट प्रशंसा गर्नुहोस् । सङ्घर्ष गरिरहेका कसैलाई प्रोत्साहन दिनुहोस् । यदि तपाईंहरूलाई कहिल्यै महसुस हुन्छ कि तपाईंहरूलाई आफ्नो जीवनमा अझै बढी प्रसन्नता आवश्यक छ भने, अरू कसैमा प्रसन्नता ल्याउने प्रयास गर्नुहोस् ।
परमप्रभुको आराधना गर्दा प्रफुल्लित हुनुहोस् । जब तपाईंहरू चर्च जानुहुन्छ, येशू ख्रीष्टले तपाईंहरूलाई दिनुभएको प्रसन्नतामा ध्यान केन्द्रित गर्नुहोस् र त्यसका लागि उहाँको प्रशंसा गर्नुहोस् ! तपाईंहरूका चर्चका सभाहरूमा प्रसन्नदायी भावना जगाउन आफ्नो भूमिका निर्वाह गर्नुहोस् । घर र चर्चमा पवित्र सङ्गीतलाई तपाईंहरूको उपासनाको अंश बनाउनुहोस् ।
प्रतिज्ञा गरिएका आशीर्वादहरू
जीवन कठिन हुँदा पनि तपाईंहरू प्रसन्नता महसुस गर्न सक्नुहुन्छ । यो कसरी सम्भव छ भनेर तपाईंहरू सोच्न सक्नुहुन्छ तर यो सत्य हो । येशू ख्रीष्ट, उहाँको चङ्गाइ दिने शक्ति र उहाँका अनन्त प्रतिज्ञाहरूमा तपाईंहरूको आस्थाले तपाईंहरूलाई निरन्तर रूपमा प्रसन्नता दिन सक्छ । उहाँको प्रसन्नताले दुःखलाई ओझेलमा पार्छ र सबै समझभन्दा बाहिरको शान्ति ल्याउँछ ।
परमेश्वरको सेलेस्टियल अधिराज्यमा प्रसन्नताको पूर्णताले तपाईंहरूलाई प्रतिक्षा गरिरहेको छ । येशू ख्रीष्टले तपाईंहरूलाई अनन्त प्रसन्नता प्राप्त गर्नबाट रोक्न सक्ने सबै चीजहरूमाथि विजय हासिल गर्नुभयो । जब तपाईंहरू उहाँमाथि भरोसा गर्नुहुन्छ र उहाँलाई अनुसरण गर्नुहुन्छ, यो प्रसन्नता तपाईंहरूको हुने छ ।
प्रश्न र उत्तरहरू
यदि सुसमाचार प्रसन्नतादायी छ भने म किन यति दुःखी भएको महसुस गर्छु ? दुःखी हुनु भनेको तपाईंहरूले सुसमाचारअनुसार जिइरहनुभएको छैन भन्ने सङ्केत होइन । सबैको जीवनमा कठिनाइ, परीक्षा र दुःख समावेश छन् । येशू ख्रीष्टलाई अनुसरण गर्दा यो परिवर्तन हुँदैन तर यसले तपाईंहरूलाई मुक्तिदातासँग जोड्छ जसले तपाईंहरूलाई सान्त्वना दिन सक्छ र तपाईंहरूलाई प्रसन्नता र खुसी प्राप्त गर्नका लागि सहयोग गर्न सक्छ ।
संसारमा किन यति धेरै दुःख छ ? संसारमा केही दुःखकष्टहरू आउँछन् किनभने मानिसहरूले गलत छनोट गर्न आफ्नो छनोटको स्वतन्त्रता प्रयोग गर्छन् । यसले आफ्ना लागि र अरू मानिसहरूका लागि पनि दुःख निम्त्याउन सक्छ । अन्य अवस्थामा, दुःखकष्ट कसैको गल्ती होइन—यो केवल अपूर्ण संसारमा जिउनुको परिणाम हो । कारण जेसुकै होस्, कसैलाई, विशेष गरी तपाईंहरूले प्रेम गर्ने व्यक्तिले दुःख भोगेको देख्नु हृदयविदारक हुन सक्छ । तपाईंहरूले दुःख भोग्दा परमेश्वर पनि दुःखी हुनुहुन्छ भन्ने विषयमा ढुक्क हुनुहोस् । उहाँले मृत्युका परीक्षाहरूलाई तपाईंहरूलाई उन्नति गर्न र उहाँसँग अनन्त प्रसन्नताका लागि तयार हुन अनुमति दिनुहुन्छ तर उहाँले तपाईंहरूलाई दुःख भोग्नका लागि एक्लै छोड्नुहुन्न । उहाँले येशू ख्रीष्टलाई तपाईंहरूको पीडा आफैँमा लिन पठाउनुभयो ताकि उहाँले तपाईंहरूलाई सहयोग गर्न सक्नुहोस् । येशू ख्रीष्ट तपाईंहरूको समार्थ्य हुनुहुन्छ ! अनि उहाँका अनुयायीहरूमध्येको एकका रूपमा, अरूको दुःख कम गर्न तपाईंहरूले जे गर्न सक्नुहुन्छ त्यो गर्न उहाँले तपाईंहरूलाई आमन्त्रण गर्नुहुन्छ ।
भजन १६:११ हेर्नुहोस् (परमेश्वरको उपस्थितिमा प्रसन्नताको पूर्णता छ); ९५:१ (परमप्रभुका लागि प्रसंशागान गर्नुहोस्); यूहन्ना १६:३३ (खुसी हुनुहोस्; येशू ख्रीष्टले संसारलाई जित्नुभयो); गलाती ५:२२ (आत्माको फल प्रसन्नता हो); हिब्रू १२:२ (परमेश्वरका सन्ततिहरूलाई उद्धार गर्ने प्रसन्नताका कारले येशूले आफ्नो पीडा सहनुभयो); २ नफी २:२५ (तपाईंहरूले प्रसन्नता प्राप्त गर्नुहोस् भनेर परमेश्वर चाहनुहुन्छ); अल्मा २६:१५-१६ (परमेश्वरको कार्यले प्रसन्नतातर्फ अगुवाइ गर्छ); सिद्धान्त र करार १८:१५-१६ (अरूलाई ख्रीष्टकहाँ आउन सहयोग गर्दा तपाईंहरूको प्रसन्नता कति महान् हुने छ) ।
मन्दिर अनुमति-पत्रका लागि प्रश्न
-
के तपाईंहरूसँग ख्रीष्टको प्रायश्चित्त र मुक्तिदाता र उद्धारकर्ताका रूपमा उहाँको भूमिकाको गवाही छ ?