युवा
१. परमेश्वरको योजना तपाईंहरूका लागि हो


ख्रीष्ट खेतबाट हिँड्दै

परमेश्वरको योजना तपाईंहरूका लागि हो

अल्मा २२:१३

तपाईंहरू पृथ्वीमा आउनुभन्दापूर्व, तपाईंहरू आफ्ना स्वर्गका मातापितासँग बस्नुहुन्थ्यो । तपाईंहरू उहाँहरूका प्रिय सन्तति हुनुहुन्छ । स्वर्गमा, तपाईंहरूले उहाँको परिवारका लागि परमेश्वरको योजनाका सम्बन्धमा सिक्नुभयो । तपाईंहरूले यो योजना खुसीसाथ प्राप्त गर्नुभयो किनभने यसले तपाईंहरूलाई भौतिक शरीर प्राप्त गरेर, सांसारिक परिवारको अंश हुन र पृथ्वीमा जीवन अनुभव गरेर परमेश्वर जस्तै बन्न र प्रगति गर्नका लागि सहयोग गर्ने छ । यी मध्ये केही अनुभवहरू कठिन हुने छन् । हाम्रा पितालाई यो जानकारी थियो, त्यसैले उहाँको योजनाको अंशका रूपमा उहाँले तपाईंहरूलाई सहयोग गर्नका लागि मुक्तिदाता, येशू ख्रीष्ट पठाउनुभयो । हामी यसलाई मुक्तिको योजना वा खुसीको योजना भन्छौँ ।

अनन्त सत्यहरू

स्वर्गका पिता यस योजनाका लेखक हुनुहुन्छ । उहाँ तपाईंहरूका आत्मिक पिता हुनुहुन्छ र उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँ तपाईंहरूलाई—उहाँसँगको अनन्त जीवन, उहाँको सबैभन्दा महान् आशीर्वाद दिन चाहनुहुन्छ । अर्को शब्दमा, तपाईंहरू उहाँ जस्तै बन्नुहोस् र उहाँले जिउनुभएको प्रसन्नदायी, गौरवशाली जीवन बिताउनुहोस् भनेर उहाँ चाहनुहुन्छ । उहाँसँग सबै शक्ति छ र उहाँलाई सबै विषयहरूको ज्ञान छ । जीवन कठिन हुँदा पनि तपाईंहरू उहाँमाथि भरोसा गर्न सक्नुहुन्छ ।

येशू ख्रीष्टले योजनालाई सम्भव बनाउनुहुन्छ । संसार सृष्टि हुनुभन्दापूर्व स्वर्गका पिताले उहाँलाई तपाईंहरूका मुक्तिदाता हुन छनोट गर्नुभयो । येशू ख्रीष्ट मात्रै एक हुनुहुन्छ जसले तपाईंहरूलाई स्वर्गमा रहनुहुने तपाईंहरूका पिताकहाँ फिर्ता ल्याउन सक्नुहुन्छ । यसैले हामी उहाँलाई अनुसरण गर्ने छनोट गर्छौँ । सबै त्यो छनोटमा निर्भर गर्छ !

विवाह र परिवार परमेश्वरको योजनाका लागि आवश्यक छन् । तपाईंहरू परमेश्वरको परिवारको अंश हुनुहुन्छ र उहाँका सबै आत्मिक सन्ततिहरू आमा र बुबाद्वारा पृथ्वीमा आउँछन् । परमेश्वर आफ्ना छोरीहरू र छोराहरू अनन्त पूर्णतातर्फ सँगै प्रगति गरून् भन्ने चाहनुहुन्छ । पुरुष र महिला दुबैले प्रिय, एकताबद्ध विवाहमा समान रूपमा योगदान पुर्‍याउँछन् । पारिवारिक जीवनले—यसका सबै अपूर्णताहरू भए तापनि—यहाँ पृथ्वीमा महान् प्रसन्नता ल्याउन सक्छ । यो तपाईंहरूलाई परमेश्वरसँगको अनन्त जीवनका लागि तयार पार्न सहयोग गर्नका लागि हो ।

आमन्त्रणहरू

अनन्त दृष्टिकोण राख्नुहोस् । जब तपाईंहरू प्रलोभनहरू, परीक्षाहरू, निराशाहरू वा कठिन छनोटहरूको सामना गर्नुहुन्छ, परमेश्वरको योजनाका सम्बन्धमा आफूलाई पुनस्मरण गराउनुहोस् । उहाँको योजनाका सम्बन्धमा तपाईंहरूले जान्नुहुने अनन्त सत्यहरूले तपाईंहरूलाई आफ्ना चुनौतीहरूलाई भिन्न तरिकाले अवलोकन गर्नका लागि कसरी सहयोग गर्न सक्छ हेर्नुहोस् ।

आफ्नो जीवनमा परमेश्वरको प्रभाव खोज्नुहोस् । परमेश्वरले तपाईंहरूलाई आशीर्वाद दिइरहनुभएका तरिकाहरू स्मरण गर्नुहोस् । यो कसैबाट प्राप्त भएको कृपालु कार्य, शान्तिको क्षण वा प्रार्थनाको जवाफ हुन सक्छ ।

परमेश्वरको योजना पालना गर्ने छनोट गर्नुहोस् । तपाईंहरूका स्वर्गका पिताले तपाईंहरूलाई के गरून् भनेर चाहनुहुन्छ भन्ने सम्बन्धमा बुझ्नुहोस् । धर्मशास्त्र, जीवित अगमवक्ताहरूका वचनहरू, पारिवारिक घोषणा र तपाईंहरूको कुलपिताको आशीर्वाद अध्ययन गर्दा उहाँको मार्गदर्शन खोज्नुहोस् । यसले तपाईंहरूलाई सुसमाचार प्रचारकका रूपमा र तपाईंहरूको जीवनभर परमप्रभुको सेवा गर्नका लागि तयार हुन सहयोग गर्ने छ । परमप्रभुको सेवा, अनन्त विवाह र सन्ततिहरू हुर्काउनुलाई उच्च प्राथमिकता दिनुहोस् । येशू ख्रीष्टको शिक्षा पालना गरेर अहिले नै सुखी परिवारका लागि आफ्नो भूमिका निर्वाह गर्नुहोस् ।

येशू ख्रीष्ट घाँसको खेतमा हिँड्दै हुनुहुन्छ जहाँ उहाँबाट प्रकाश चम्किरहेको छ

प्रतिज्ञा गरिएका आशीर्वादहरू

ख्रीष्टमा साहस र आशाका साथ तपाईंहरूले जीवनका परीक्षाहरूको सामना गर्न सक्नुहुन्छ । किनकि तपाईंहरूलाई परमेश्वरको अनन्त योजनाका सम्बन्धमा जानकारी छ, तपाईंहरूसँग एउटा बहुमूल्य उपकरण छ जसले तपाईंहरूलाई कठिन समयमा सहयोग गर्न सक्छ । जन्म र मृत्युको बीचमा हुने कार्यहरू भन्दा जीवनमा धेरै महत्वपूर्ण कार्यहरू छन् भनेर तपाईंहरूलाई जानकारी छ । तपाईंहरू वास्तवमा को हुनुहुन्छ, तपाईंहरूको उद्देश्य के हो र मुक्तिदाताको सहयोगले तपाईंहरू को बन्न सक्नुहुन्छ भनेर तपाईंहरूलाई जानकारी छ । येशू ख्रीष्ट तपाईंहरूको समार्थ्य हुनुहुन्छ !

येशू ख्रीष्टलाई अनुसरण गर्दा तपाईंहरूले अनन्त जीवन प्राप्त गर्न सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई उहाँ जस्तै बन्न, आफ्ना स्वर्गका मातापिताकहाँ फर्कन र आफ्ना प्रियजनहरूसँगै अनन्त रूपमा प्रसन्नतामा जिउन शक्ति दिनुहुने छ । येशू ख्रीष्टमा भरोसा गर्नुहोस् ।

प्रश्न र उत्तरहरू

किन जीवन कहिलेकाहीँ यति कठिन हुन्छ ? म कसरी सामर्थ्य प्राप्त गर्न सक्छु ? यस जीवनमा तपाईंहरूका अनुभवहरू—सबैभन्दा कठिन अनुभवहरू पनि—तपाईंहरूको लाभका लागि हुन सक्छन् । तपाईंहरू मुक्तिदातातर्फ फर्कँदा तिनीहरूले तपाईंहरूलाई उन्नति र प्रगति गर्नका लागि सहयोग गर्न सक्छन् । आफ्नो प्रायश्चितको बलिदानका कारण तपाईंहरू कुन परिस्थितिमा हुनुहुन्छ भनेर येशू ख्रीष्टले बुझ्न नसक्ने कुनै पनि विषय छैन । तपाईंहरूलाई कसरी सहयोग गर्ने भन्ने विषय उहाँलाई राम्ररी जानकारी छ । उहाँमा आफ्नो जीवन केन्द्रित गर्नुहोस् र उहाँले तपाईंहरूलाई सबै शङ्का र भयहरूभन्दा माथि उठाउनुहुने छ ।

कहिलेकाहीँ, परिवार र विवाहमा खुसीको भावना धेरै टाढा देखिन्छ । म कसरी आत्मविश्वास प्राप्त गर्न सक्छु ? तपाईंहरूको परिस्थिति जस्तोसुकै भए पनि, स्वर्गका पिताको योजनालाई नत्याग्नुहोस् । उहाँले तपाईंहरूलाई त्याग्नुहुने छैन । यदि तपाईंहरू मुक्तिदाता र तपाईंहरूका करारहरूप्रति इमानदार हुनुहुन्छ भने, तपाईंहरूले येशू ख्रीष्टको शिक्षामा जवाफ भेट्टाउनुहुने छ । उहाँले तपाईंहरूले अनुभव गर्नुभएका सबै विषयवस्तु बुझ्नुहुन्छ । उहाँद्वारा, तपाईंहरूले परमेश्वरका आज्ञाहरू पालना गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका आशीर्वाद प्राप्त गर्न सामर्थ्य प्राप्त गर्नुहुने छ । उहाँ र उहाँको सुसमाचारमा भरोसा गर्नुहोस् ।

हेर्नुहोस् २ नफी ९:१३ (हाम्रा परमेश्वरको योजना कति महान् छ !); मोसीयाह २:४१ (आज्ञा पालना गर्नेहरू कदापिअन्त्य नहुने खुसीमा परमेश्वरसँगै बस्न सक्छन्); अल्मा १२:२८-३४ (परमेश्वरले आफ्ना सन्ततिहरूलाई उद्धारको योजना निर्माण गर्नुभयो); अब्राहाम ३:२२-२६ (परमेश्वरको योजनामा हामीलाई पृथ्वीमा पठाउनु समावेश थियो, जहाँ हामी उहाँका आज्ञाहरू पालना गर्न आफैँले छनोट गर्न सक्छौँ) ।

मन्दिर अनुमति-पत्रका लागि प्रश्न

  • के तपाईंहरूसँग अनन्त पिता परमेश्वर, उहाँका पुत्र, येशू ख्रीष्ट; र पवित्र आत्माको आस्था र गवाही छ ?