युवा
४. येशू ख्रीष्टले तपाईंहरूलाई सहयोग गर्नुहुने छ


येशू ख्रीष्ट

येशू ख्रीष्टले तपाईंहरूलाई सहयोग गर्नुहुने छ

भजनसङ्ग्रह १४७:३

येशू ख्रीष्ट तपाईंहरूको सामर्थ्य हुनुहुन्छ । यस जीवनमा र सदैव प्रसन्नता प्राप्त गर्नका लागि उहाँले तपाईंहरूलाई आवश्यक पर्ने सबै गर्नुभएको छ । उहाँ र उहाँको सुसमाचारलाई छनोट गरेर, तपाईंहरू अनन्त खुसी र प्रसन्नता छनोट गर्दै हुनुहुन्छ ।

जब तपाईंहरू सही छनोट गर्न सम्भव भएसम्म प्रयास गर्नुहुन्छ, कहिलेकाहीँ तपाईंहरूले गल्तीहरू गर्नुहुने छ । तपाईंहरूले त्यस्ता कार्य गर्नुहुने छ जुन तपाईंहरू गर्न चाहनुहुन्नथ्यो । सबैले गर्छन् । जब यस्तो हुन्छ, निराश महसुस गर्न वा तपाईंहरू पर्याप्त रूपमा कदापि राम्रो हुनुहुने छैन कि भनेर सोच्न सजिलो हुन्छ । परन्तु असल समाचार—अद्भुत, आशाजनक समाचार छ ! परमेश्वरले तपाईंहरूलाई प्रेम गर्नुभएको हुनाले, उहाँले आफ्ना पुत्र, येशू ख्रीष्टलाई पठाउनुभयो, जसले तपाईंहरूका पापहरू आफैँमा लिनुभयो ताकि तपाईंहरू पश्चात्ताप गर्न, क्षमा प्राप्त गर्न र प्रगति गरिरहन सक्नुहुन्छ ।

अनन्त सत्यहरू

येशू ख्रीष्टले तपाईंहरूलाई मजबुत बनाउनुहुने छ । तपाईंहरूको चाहना, विचार र कार्यहरू परिवर्तन गर्नका लागि उहाँले तपाईंहरूलाई सहयोग गर्नुहुने छ । जब तपाईंहरू चिन्तित, भयभीत भएको वा कुनै पनि तरिकाले सङ्घर्ष गरिरहनुभएको हुन्छ, उहाँले तपाईंहरूलाई सान्त्वना दिनुहुने छ । तपाईंहरूको जीवनका सबै पक्षहरूमा उहाँले तपाईंहरूलाई सहयोग गर्नुहुने छ । तपाईंहरू उहाँमाथि भरोसा गर्न सक्नुहुन्छ ।

पश्चात्ताप पापका लागि दण्ड होइन; यो मुक्तिदाताले हामीलाई पापबाट मुक्त गर्ने तरिका हो । पश्चात्ताप गर्नु भनेको परिवर्तन हुनु—पापबाट टाढा जानु र परमेश्वरतर्फ फर्कनु हो । यसको अर्थ सुधार गर्नु र क्षमा प्राप्त गर्नु हो । यस प्रकारको परिवर्तन एक पटकको घटना होइन; यो निरन्तर प्रक्रिया हो ।

आमन्त्रणहरू

येशू ख्रीष्टलाई आफ्नो जीवनको केन्द्रबिन्दु बनाउनुहोस् । तपाईंहरूले गर्ने सबै कार्यमा उहाँको सहयोग खोज्नुहोस् ।

पश्चात्ताप गर्नुहोस् । सुधार गर्ने चाहनाका साथ परमप्रभुतर्फ फर्कनुहोस् । जब तपाईंहरूले केही गलत गर्नुभएको छ, परमेश्वरका अगाडि र आवश्यकताअनुसार तपाईंहरूका बिशप र तपाईंहरूले हानि गर्नुभएका जो कोहीसामु पनि इमानदारितापूर्वक स्वीकार गर्नुहोस् । सम्भव भएसम्म सबै कार्यहरू सही बनाउनका लागि कार्य गर्नुहोस् ।

राम्रो गर्न र राम्रो बन्नका लागि उपहारमा आनन्दित हुनुहोस् । सजिलो नभए पनि र तपाईंहरूले अपेक्षा गरेको भन्दा बढी समय लागे तापनि, प्रयास गर्न कहिल्यै नछोड्नुहोस् । परमप्रभुमा कार्य गरिरहनुहोस् र भरोसा राख्नुहोस् । उहाँले तपाईंहरूलाई मार्गका हरेक पाइलामा सहयोग गर्नुहुने छ ।

येशू सामरी महिलासँग इनारमा बसिरहनुभएको

प्रतिज्ञा गरिएका आशीर्वादहरू

पश्चात्ताप गर्दा स्वर्गका पिताले तपाईंहरूलाई क्षमा गर्नुहुने छ र चङ्गाइ प्रदान गर्नुहुने छ । उहाँले तपाईंहरूको दोषलाई शान्ति र प्रसन्नतामा परिवर्तन गर्नुहुने छ । उहाँले तपाईंहरूका पापहरूलाई पुनः कहिल्यै सम्झनुहुने छैन । येशू ख्रीष्ट तपाईंहरूको सामर्थ्य हुनुहुन्छ र उहाँको शक्तिले, उहाँका आज्ञाहरू पालना गर्ने तपाईंहरूको चाहना वृद्धि हुने छ ।

उहाँले तपाईंहरूको हृदय र तपाईंहरूको जीवन परिवर्तन गर्नुहुने छ । बिस्तारै, तपाईंहरूको उन्नति हुँदै जाने छ र उहाँ जस्तै बन्नुहुने छ ।

प्रश्न र उत्तरहरू

परमेश्वरले मलाई क्षमा गर्नुभएको छ भनेर मलाई कसरी जानकारी हुन्छ ? पश्चात्ताप गर्नेहरूलाई उहाँले क्षमा गर्नुहुने छ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ । जब तपाईंहरू आत्माबाट सान्त्वना महसुस गर्नुहुन्छ, मुक्तिदाताको उद्धार गर्ने शक्तिले तपाईंहरूको जीवनमा कार्य गरिरहेको छ भनेर तपाईंहरू जान्न सक्नुहुन्छ ।

पश्चात्ताप गर्नका लागि कहिले मलाई बिशपको सहयोग आवश्यक हुन्छ ? तपाईंहरूका बिशपसँग पादरित्वका साँचाहरू र पश्चात्ताप गर्नका लागि तपाईंहरूलाई सहयोग गर्न आत्मिक उपहारहरू छन् । जुनसुकै समयमा तपाईंहरू उहाँको सहयोग र सल्लाह लिन सक्नुहुन्छ । यदि तपाईंहरूले पवित्रताको विधि तोड्ने जस्ता गम्भीर गल्तीहरू गर्नुभएको छ भने, आफ्ना बिशपलाई भेट्नुहोस् । उहाँले तपाईंहरूलाई दोषी ठहर्‍याउनुहुने छैन । उहाँ येशू ख्रीष्टको प्रतिनिधि हुनुहुन्छ र तपाईंहरूलाई पूर्ण रूपमा पश्चात्ताप गर्ने र मुक्तिदाताको उपचार र मजबुत बनाउने शक्ति कसरी प्राप्त गर्ने भनेर जान्नका लागि सहयोग गर्नुहुने छ ।

म पश्चात्ताप गर्नका लागि प्रयास गरिरहेको छु तर म उही गल्तीहरू गरिरहन्छु । मैले के गर्नु पर्छ ? हार नमान्नुहोस् ! ख्रीष्टतर्फ फर्कनुहोस् र उहाँमा आस्था राख्नुहोस् । उहाँको अनुग्रह पर्याप्त छ । पुन: प्रयास गर्नुहोस् । तपाईंहरू प्रगति गर्ने आफ्नो प्रयासमा कहिल्यै एक्लो हुनुहुन्न । येशू ख्रीष्ट सदैव तपाईंहरूसँग हुनुहुन्छ ।

हेर्नुहोस् एनोश १:६ (दोषहरूलाई बगाउन सकिन्छ); मोसीयाह ४:३ (तपाईंहरूले क्षमा प्राप्त गर्नुभएको छ भनेर पवित्र आत्माद्वारा, परमेश्वरले तपाईंहरूलाई जानकारी दिनुहुन्छ); २६:३० (हामीले पश्चात्ताप गर्दा मुक्तिदाताले जति पटक पनि क्षमा गर्नुहुन्छ); एतेर १२:२७ (मुक्तिदाताको अनुग्रहले कमजोर वस्तुहरूलाई मजबुत बनाउन सक्छ); मोरोनी ६:८ (पश्चात्ताप गर्नेहरूलाई क्षमा गरिन्छ); १०:३२ (ख्रीष्टमा पूर्ण हुनुहोस्); सिद्धान्त र करार १:३२ (पश्चात्ताप गर्नेहरूलाई परमप्रभुले क्षमा गर्नुहुन्छ); ५८:४२-४३ (पश्चात्तापमा पापलाई स्वीकार गर्नु र त्याग्नु समावेश छ) ।

मन्दिर अनुमति-पत्रका लागि प्रश्नहरू

  • के तपाईंहरूसँग ख्रीष्टको प्रायश्चित्त र मुक्तिदाता र उद्धारकर्ताका रूपमा उहाँको भूमिकाको गवाही छ ?

  • के तपाईंहरूको जीवनमा गम्भीर पापहरू भएका छन् जसलाई तपाईंहरूको पश्चातापको अंशका रूपमा पादरित्व अधिकारीहरूसँग समाधान गर्नु आवश्यक छ ?