प्रथम अध्यक्षताबाट सन्देश
हाम्रा प्रिय युवा भाइबहिनीहरू,
हामी तपाईंहरूलाई प्रेम गर्छौँ र हामीलाई तपाईंहरूमा आत्मविश्वास छ । वास्तवमा नै तपाईंहरू यस समयमा महत्त्वपूर्ण कार्यहरू गर्न पृथ्वीमा पठाइएका स्वर्गका पिताको छनोटका आत्माहरूमध्येका एक हुनुहुन्छ ।
आफूले महसुस गर्नुभएको भन्दा बढी तपाईंहरू मजबुत र सक्षम हुनुहुन्छ । अनि जब तपाईंहरू मुक्तिदातामा निर्भर रहनुहुन्छ, तपाईंहरूको सामर्थ्य अझै बढ्छ । उहाँ “युवाहरूको शक्ति” हुनुहुन्छ ।
यो मार्गदर्शनले तपाईंहरूलाई अनन्त जीवनतर्फ अगुवाइ गर्ने मार्गमा रहनका लागि छनोट गर्ने मजबुत आधार निर्माण गर्न सहयोग गर्ने छ । यसले मन्दिरमा पवित्र करारहरू गर्न, सुसमाचार प्रचार सेवा गर्नका लागि तयार रहन र आफ्नो जीवनभर येशू ख्रीष्टलाई अनुसरण गर्दा प्राप्त हुने प्रसन्नता प्राप्त गर्नका लागि तपाईंहरूलाई सहयोग गर्ने छ । उहाँको चर्चमा तपाईंहरूको महत्त्वपूर्ण स्थान छ । येशू ख्रीष्टले तपाईंहरूका लागि उहाँका उद्देश्यहरू पूरा गर्न सहयोग गर्नुहुने छ ।
परमेश्वर जीवित हुनुहुन्छ भनेर हामीलाई जानकारी छ । तपाईंहरू करार मार्ग—परमेश्वरसँग पवित्र करारहरू निर्माण र पालना गर्ने मार्गमा दृढतापूर्वक रहनुहुने छ भन्ने हाम्रो प्रार्थना छ । यो नै त्यो मार्ग हो जसले स्वर्गमा रहनुहुने तपाईंहरूका पिताकहाँ अगुवाइ गर्छ । जब तपाईंहरू यसो गर्नुहुन्छ, प्रसन्नतापूर्वक सुसमाचार बाँड्दै, परमेश्वरका सन्ततिहरूलाई एकत्रित गर्दै र मुक्तिदाताको दोस्रो आगमनका लागि संसारलाई तयार पार्दै तपाईंहरू असलका लागि प्रभावशाली हुनुहुने छ । स्मरण गर्नुहोस्: येशू ख्रीष्ट तपाईंहरूको सामर्थ्य हुनुहुन्छ !
प्रथम अध्यक्षता