६.
परमेश्वरलाई प्रेम गर्नुहोस्, आफ्नो छिमेकीलाई प्रेम गर्नुहोस्
मत्ती २२:३७-४०
असल छनोट गर्नका लागि तपाईंहरूलाई सहयोग गर्न परमेश्वरले आज्ञाहरू दिनुहुन्छ । उहाँले यसो गर्नुहुन्छ किनभने उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । अनि परमेश्वरका आज्ञाहरू पालना गर्ने सबैभन्दा सही कारण यही हो कि तपाईंहरूले उहाँलाई प्रेम गर्नुहुन्छ । प्रेम परमेश्वरका आज्ञाहरूको केंद्रमा छ ।
अनन्त सत्यहरू
परमेश्वरले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँ तपाईंहरूका पिता हुनुहुन्छ । उहाँको पूर्ण प्रेमले उहाँलाई प्रेम गर्नका लागि तपाईंहरूलाई प्रेरित गर्न सक्छ । जब स्वर्गका पिताप्रतिको तपाईंहरूको प्रेमले तपाईंहरूको जीवनमा सबैभन्दा महत्त्वपूर्ण प्रभाव पार्छ, धेरै निर्णयहरू सहज हुन्छन् ।
सबैभन्दा महान् दुई आज्ञाहरू परमेश्वरलाई प्रेम गर्नु र आफ्ना छिमेकीलाई प्रेम गर्नु हुन् । अनि तपाईंहरूका छिमेकी को हुन् ? हरेक व्यक्ति ! धर्मशास्त्रहरूमा र अगमवक्ताहरूद्वारा सिकाइएका अन्य सबै विषयमा यी दुई आज्ञाहरूसँगै जोडिएका छन् ।
सबै मानिसहरू तपाईंहरूका दाजुभाइ दिदीबहिनी हुन्—अवश्य पनि, तपाईंहरूभन्दा फरक वा तपाईंहरूसँग असहमत व्यक्तिहरूसहित । स्वर्गका पिताले आफ्ना सन्ततिहरूले एकअर्कालाई प्रेम गरेको चाहनुहुन्छ । जब तपाईंहरू उहाँका सन्ततिहरूको सेवा गर्नुहुन्छ, तपाईंहरूले उहाँको सेवा गर्दै हुनुहुन्छ ।
आमन्त्रणहरू
परमेश्वरका आज्ञाहरू पालना गरेर उहाँप्रति प्रेम प्रकट गर्नुहोस् । उदाहरणका लागि, विश्रामको दिनलाई पवित्र राखेर, जसमा आस्थापूर्वक प्रभुभोजको तयारी र ग्रहण गर्ने समावेश छ, तपाईंहरू हप्ताको एक दिन उहाँलाई समर्पित गर्न इच्छुक हुनुहुन्छ भनेर तपाईंहरूले परमेश्वरलाई देखाउनुहुन्छ । जब तपाईंहरू उपवास बस्नुहुन्छ र दशांश र भेटीहरू तिर्नुहुन्छ, तपाईंहरूका लागि उहाँको कार्य भौतिक वस्तुहरू भन्दा बढी महत्त्वपूर्ण छ भनेर तपाईंहरूले परमेश्वरलाई देखाउनुहुन्छ । जब तपाईंहरूले व्यर्थ वा आकस्मिक तरिकाले नभई परमेश्वर र ख्रीष्टको नाम श्रद्धाका साथ प्रयोग गर्नुहुन्छ, तपाईंहरू उहाँहरूले तपाईंहरूका लागि गरेका सबै कार्यका लागि कृतज्ञ हुनुहुन्छ भनेर तपाईंहरूले देखाउनुहुन्छ ।
सबैलाई परमेश्वरका सन्ततिका रूपमा व्यवहार गर्नुहोस् । येशू ख्रीष्टका शिष्यका रूपमा, तपाईंहरू सबै जाति, धर्म र अन्य कुनै पनि समूहका मानिसहरू—विशेष गरी जो कहिलेकाहीँ हानिकारक शब्दहरू र कार्यहरूको शिकार बन्छन् तिनीहरूलाई प्रेम र सम्मानका साथ व्यवहार गर्नका लागि अगुवाइ गर्न सक्नुहुन्छ। एक्लो, पृथक वा असहाय महसुस गर्न सक्नेहरूलाई सम्पर्क गर्नुहोस् । तपाईंहरूद्वारा स्वर्गका पिताको प्रेम महसुस गर्न उहाँहरूलाई सहयोग गर्नुहोस् । उहाँले तपाईंहरूलाई दिनुभएका आशीर्वाद उहाँहरूसँग बाँड्नुहोस् र उहाँहरूलाई येशू ख्रीष्टलाई अनुसरण गर्न आमन्त्रण गर्नुहोस् ।
तपाईंहरूको भाषाले परमेश्वर र अरूप्रतिको तपाईंहरूको प्रेमलाई प्रतिबिम्बित गर्छ भनी सुनिश्चित गर्नुहोस्—तपाईंहरूले व्यक्तिगत रूपमा वा भर्चुअल रूपमा वार्तालाप गर्दै हुनुहुन्छ भने पनि । उत्थान गर्ने विषयहरू भन्नुहोस्—ठट्टामा गरिने कुनै पनि चीज विभाजनकारी, हानिकारक वा आपत्तिजनक नहुन सक्छ । तपाईंहरूका शब्दहरू प्रभावशाली हुन सक्छन् । तिनीहरूलाई सही कार्यका लागि प्रभावशाली हुन दिनुहोस् ।
आफ्नो परिवारलाई प्रेम प्रकट गर्नुहोस् । परमेश्वरका सबै सन्ततिहरूलाई प्रेम गर्ने कार्य घरबाट सुरु हुन्छ । आफ्नो घरलाई यस्तो स्थान बनाउन आफ्नो भूमिका निर्वाह गर्नुहोस् जहाँ सबैले मुक्तिदाताको प्रेम महसुस गर्न सक्नुहुन्छ ।
प्रतिज्ञा गरिएका आशीर्वादहरू
उहाँका आज्ञाहरू पालना गर्दा र उहाँसँगका आफ्ना करारहरू पालना गरी तपाईंहरूले आफ्नो प्रेम व्यक्त गर्दा परमेश्वरसँगको तपाईंहरूको सम्बन्ध गहिरो बन्ने छ ।
तपाईंहरूले ख्रीष्टको जस्तै सेवाद्वारा आफ्नो प्रेम व्यक्त गर्दा अरूसँगको तपाईंहरूको सम्बन्ध गहिरो हुने छ । संसारलाई अझै प्रिय स्थान बनाउनमा तपाईंहरूले प्रसन्नता भेट्टाउनुहुने छ ।
प्रश्न र उत्तरहरू
म कसरी परमेश्वरको प्रेम महसुस गर्न सक्छु ? स्वर्गका पिताको प्रेम सदैव उपलब्ध छ । प्रार्थनाद्वारा उहाँसँग बारम्बार वार्तालाप गर्नुहोस् । उहाँसँग आफ्ना भावनाहरू बाँड्नुहोस् र उहाँबाट आएका प्रभावहरूमा ध्यान दिनुहोस् । धर्मशास्त्रहरूमा उहाँका वचनहरू पढ्नुहोस् । उहाँले तपाईंहरूका लागि गर्नुभएका सबै कार्यका सम्बन्धमा सोच्नुहोस् । उहाँको आत्मा उपस्थित भएको स्थान र क्रियाकिलापहरूमा समय बिताउनुहोस् ।
के परमप्रभुले मलाई नराम्रो व्यवहार गर्नेहरूलाई सहित सबैलाई मैले प्रेम गरेको अपेक्षा गर्नुहुन्छ ? परमप्रभुले तपाईंहरूबाट आफ्ना शत्रुहरूलाई प्रेम गरेको र तपाईंहरूलाई दुर्व्यवहार गर्नेरूका लागि प्रार्थना गरेको अपेक्षा गर्नुहुन्छ । यद्यपि, तपाईंहरू त्यस्तो अवस्थामा बस्नु पर्छ जसले तपाईंहरूलाई भावनात्मक, शारीरिक वा आध्यात्मिक हानि पुर्याउँछ भन्ने यसको अर्थ यो होइन । आफूलाई सुरक्षित राख्न स्वस्थ सीमाहरू निर्धारण गर्नुहोस् । यदि तपाईंहरू धम्की वा दुर्व्यवहारको शिकार भइरहनुभएको छ वा तपाईंहरूलाई जानकारी छ कि यो अरू कसैसँग भइरहेको छ भने, एक विश्वसनीय वयस्कसँग छलफल गर्नुहोस् ।
मैले विपरीत लिङ्गका सदस्यहरूलाई कहिले र कसरी चिन्ने ? साँचो मित्रता अरूलाई चिन्ने सबैभन्दा सही तरिका हो । तपाईंहरू जवान छँदा, धेरै मानिसहरूसँग राम्रो मित्रता निर्माण गर्नुहोस् । केही संस्कृतिहरूमा, युवाहरूले समूहका स्वस्थ क्रियाकिलापहरूद्वारा विपरीत लिङ्गका सदस्यहरूलाई चिन्छन् । तपाईंहरूको भावनात्मक र आत्मिक विकास र सुरक्षाका लागि, तपाईंहरू परिपक्व नभएसम्म एक्लै-एक्लै गरिने क्रियाकिलापहरू स्थगित गर्नुहोस्—१६ वर्षको उमेर सही मार्गदर्शन हो । आफ्नो परिवार र अगुवाहरूसँग परामर्श गर्नुहोस् । तपाईंहरूका विशेष सम्बन्धहरू भविष्यका लागि सुरक्षित राख्नुहोस् । येशू ख्रीष्टप्रतिको तपाईंहरूका प्रतिबद्धताहरू कायम राख्नका लागि सहयोग गर्नेहरूसँग समय बिताउनुहोस् ।
यदि मेरो घर प्रेमको स्थान होइन भने मैले के गर्न सक्छु ? तपाईंहरूका मुक्तिदातालाई तपाईंहरूको अवस्थाका सम्बन्धमा जानकारी छ र उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । धीरता राख्नुहोस्, परमेश्वरका आज्ञाहरू पालना गरिरहनुहोस् र तपाईंहरूको परिवारका लागि असल उदाहरण बन्नुहोस् । तपाईंहरूको प्रेमका सामान्य कार्यहरूले ठूलो भिन्नता ल्याउन सक्छ । आफ्नो वार्ड परिवार भित्र पनि तपाईंहरूले सम्बन्ध निर्माण गर्न सक्नुहुन्छ । येशू ख्रीष्टको शिक्षामा आधारित आफ्नो परिवार निर्माण गर्नका लागि अहिलेदेखि नै तयारी गर्नुहोस् । स्मरण गर्नुहोस्: येशू ख्रीष्ट तपाईंहरूको सामर्थ्य हुनुहुन्छ !
यशैया ५८:३-११ (उपवासको उद्देश्य); ५८:१३-१४ (शबाथको सम्मान गर्दाका आशीर्वादहरू); मलाकी ३:८-१० (दशांश तिर्दाका आशीर्वादहरू); लूका ६:२७-२८ (आफ्ना शत्रुहरूलाई प्रेम गर्नुहोस्); १०:२५–३७ (मेरा छिमेकी को हुन् ?); यूहन्ना ३:१६–१७ (परमेश्वरले हामीलाई प्रेम गर्नुभयो, त्यसैले उहाँले आफ्ना पुत्र पठाउनुभयो); १४:१५ (हामी आज्ञाहरू पालना गर्छौँ किनभने हामी परमेश्वरलाई प्रेम गर्छौँ); १ यूहन्ना ४:१९ (हामी परमेश्वरलाई प्रेम गर्छौँ किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ); मोसीयाह २:१७ (जब हामी अरूको सेवा गर्छौँ, हामी परमेश्वरको सेवा गरिरहेका हुन्छौँ) ।
मन्दिर अनुमति-पत्रका लागि प्रश्नहरू
-
के तपाईंहरू आफ्नो परिवारका सदस्यहरू र अरूहरूसँग तपाईंहरूका व्यक्तिगत र सार्वजनिक व्यवहारमा येशू ख्रीष्टको चर्चका शिक्षाहरू अनुसरण गर्नुहुन्छ ?
-
के तपाईंहरू पूर्ण दशांश तिर्नुहुन्छ ?