३
तपाईंहरू परमेश्वरको कार्यमा सहयोग गर्न सक्नुहुन्छ
स्वर्गका पिताले आफ्ना सबै सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ । उहाँ तिनीहरूलाई खुसी र प्रसन्नता प्राप्त गर्न, उहाँकहाँ फर्कन र अनन्त जीवन प्राप्त गर्नका लागि सहयोग गर्न चाहनुहुन्छ । यसलाई उहाँको मुक्ति र उत्कर्षको कार्य भनिन्छ र उहाँले तपाईंहरूलाई सहयोग गर्न आमन्त्रण गर्नुहुन्छ !
अनन्त सत्यहरू
परमेश्वरको कार्य र महिमा भनेको तपाईंहरूको अमरत्व र अनन्त जीवनलाई साकार पार्नु हो । अमरत्व भनेको पुनरुत्थान भएको शरीरसँग सदैव जिउनु हो । अनन्त जीवन वा उत्कर्ष, परमेश्वर जस्तै बन्नु र परिवारका रूपमा उहाँसँगै अनन्त रूपमा जिउनु हो । येशू ख्रीष्ट र उहाँको प्रायश्चितका कारण यो सबै सम्भव छ । तपाईंहरू उहाँमाथि भरोसा गर्न सक्नुहुन्छ ।
तपाईंहरू ख्रीष्टकहाँ आउन र अरूलाई पनि त्यस्तै गर्नका लागि सहयोग गरी परमेश्वरको कार्यमा सहयोग गर्न सक्नुहुन्छ । जब पनितपाईंहरू कसैलाई येशू ख्रीष्टलाई अनुसरण गर्नका लागि सहयोग गर्न केही गर्नुहुन्छ, तपाईंहरू परमेश्वरको कार्यमा सहयोग गर्दै हुनुहुन्छ ।
आमन्त्रणहरू
सुसमाचार जिउनुहोस् । येशू ख्रीष्टमा आफ्नो आस्था निर्माण गर्नुहोस् । दैनिक रूपमा पश्चात्ताप गर्नुहोस् । परमेश्वरका पादरित्वका विधिहरू प्राप्त गर्नुहोस् र आफ्ना करारहरू पालना गर्नुहोस् । बाँकी जीवनका लागि त्यसलाई तपाईंहरूको नमुना बनाउनुहोस् ।
आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने । आफ्नो परिवार, साथीभाइ र समुदाय लगायत अरूको सेवा गर्ने र परोपकारका सेवा गर्ने तरिकाहरू खोज्नुहोस् । आवश्यकतामा रहेका मानिसहरूलाई सहयोग गर्ने एउटा राम्रो तरिका भनेको उपवासको नियम पालना गर्नु र उपवास भेटी दिनु हो ।
सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्नुहोस् । तपाईंहरूका शब्द र कार्यहरूले येशू ख्रीष्टमा तपाईंहरूको आस्थालाई प्रतिबिम्बित गर्न दिनुहोस् । उहाँका शिष्यका रूपमा तपाईंहरूले महसुस गर्नुभएको आशा र प्रसन्नताका सम्बन्धमा सोध्ने जो कोहीलाई पनि बताउन तयार रहनुहोस् । युवाहरूका लागि, पूर्णकालीन सुसमाचार प्रचार सेवा गर्नु पादरित्वको उत्तरदायित्व हो । युवतीहरूका लागि, यो एक प्रभावशाली अवसर हो; परमप्रभुले तपाईंहरूलाई सेवा गर्न लगाउनुहुने छ कि भनेर जान्न प्रार्थना गर्नुहोस् । आफ्नो जीवनभर सुसमाचार बाँड्न तयार हुनुहोस् ।
पारिवारिक इतिहास र मन्दिरको कार्य गरेर अनन्तकालका लागि परिवारहरूलाई एकताबद्ध गर्नुहोस् । आफ्ना पुर्खाहरूका सम्बन्धमा जान्नुहोस् । कसलाई मन्दिरका विधि आवश्यक छन् भनेर पत्ता लगाउनुहोस् । उहाँहरूका लागि बप्तिस्मा लिन र प्रमाणित गर्न सम्भव भएसम्म धेरै पटक मन्दिरमा जानुहोस् । यदि तपाईंहरूलाई सहयोग आवश्यक भएमा, मा जानुहोस् FamilySearch.org.
प्रतिज्ञा गरिएका आशीर्वादहरू
तपाईंहरूलाई परमेश्वरको सहयोग प्राप्त हुने छ । स्वर्गका पिताले तपाईंहरूले यो कार्य आफैँले गर्ने अपेक्षा गर्नुहुन्न । उहाँ तपाईंहरूसँगै हुनुहुन्छ । जब तपाईंहरू विनम्रतापूर्वक आफ्नो समय र हृदय अर्पण गर्नुहुन्छ, उहाँले तपाईंहरूद्वारा अद्भुत कार्यहरू गर्नुहुने छ । येशू ख्रीष्ट तपाईंहरूको समार्थ्य हुनुहुन्छ !
तपाईंहरू प्रसन्नताले भरिपूर्ण हुनुहुने छ । परमेश्वरको कार्य प्रसन्नतादायी कार्य हो ! जब तपाईंहरू यसमा सहभागी हुनुहुन्छ, तपाईंहरूले उहाँले महसुस गर्नुभएको प्रसन्नता महसुस गर्न सक्नुहुन्छ । स्वर्गका पिता र उहाँका सन्ततिहरूसँग तपाईंहरूले बाँड्नुभएको प्रसन्नताको कल्पना गर्नुहोस् जसलाई तपाईंहरूले उहाँकहाँ ल्याउन सहयोग गर्नुभयो !
प्रश्न र उत्तरहरू
के परमेश्वरले वास्तवमा नै मलाई आफ्नो कार्यमा प्रयोग गर्न सक्नुहुन्छ ? हो ! कार्यमा सहयोग गर्ने त्यहाँ धेरै तरिकाहरू छन् । अन्य मानिसहरू बढी प्रतिभाशाली वा कुशल छन् जस्तो महसुस हुन सक्छ तर तपाईंहरूका स्वर्गका पिताले तपाईंहरूको क्षमता देख्नुहुन्छ । उहाँले तपाईंहरूलाई उपहारहरू दिनुभएको छ जुन तपाईंहरूले उहाँका सन्ततिहरूको सेवा गर्न र उहाँहरूलाई एकत्रित गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । यदि यी उपहारहरू अरू मानिसहरूसँग भएका भन्दा भिन्न छन् भने पनि ठिकै छ । वास्तवमा, त्यसैले तपाईंहरूका उपहारहरू धेरै मूल्यवान छन् । तपाईंहरू आवश्यक हुनुहुन्छ !
हेर्नुहोस् मत्ती १०:३९ (यदि तपाईंहरूले मुक्तिदाताको सेवामा आफ्नो जीवन गुमाउनुभयो भने, तपाईंहरूले त्यसलाई भेट्टाउनुहुने छ); १ कोरिन्थी १२:१४-२७ (ख्रीष्टको शरीरमा सबै सदस्यहरू आवश्यक छन्); फिलिप्पी १:६ (परमेश्वरले तपाईंहरूद्वारा कार्य गरिरहनुभएको छ भन्ने विषयमा विश्वस्त हुनुहोस्); याकूब ५:७२ (अङ्गुरको बगैँचाका मालिक तपाईंहरूसँग परिश्रम गर्नुहुन्छ); सिद्धान्त र करार १८:१५-१६ (तपाईंहरूले ख्रीष्टमा ल्याउनुहुनेहरूसँग तपाईंहरूको प्रसन्नता महान् हुने छ); ६४:३३-३४ (साना र साधारण चीजहरूबाट ठूलो कार्य हुन्छन्); मोशा १:६ (“तपाईंहरूका लागि मसँग एक कार्य छ”); ६:३१-३४ (तिनीहरूले अपर्याप्त महसुस गरे तापनि परमेश्वरले आफूले बोलावट गर्नुभएकाहरूलाई योग्य बनाउनुहुन्छ) ।
मन्दिर अनुमति-पत्रका लागि प्रश्न
-
के तपाईंहरूसँग पुनर्त्थापित सुसमाचारको गवाही छ ?