युवा
९. तपाईंहरू पादरित्वका साँचा र अधिकारद्वारा आशीषित हुनुहुन्छ


कर्टल्याण्ड मन्दिरमा पादरित्वका साँचाहरू पुनर्स्थापित गर्ने स्वर्गका सन्देशवाहकहरू

९.

तपाईंहरू पादरित्वका साँचा र अधिकारद्वारा आशीषित हुनुहुन्छ

मत्ती १६:१८-१९

जब येशूले पत्रुसलाई पादरित्वको अधिकारका सम्बन्धमा सिकाउनुभयो, उहाँले साँचाहरूका सम्बन्धमा बताउनुभयो । अनावृत्त गर्न र खोल्न साँचाहरू प्रयोग गरिन्छ । पादरित्वका साँचाहरूले तपाईंहरूको जीवनमा परमेश्वरको शक्ति, उपहारहरू र आशीर्वादहरू अनावृत्त गर्न सक्छन् ।

अनन्त सत्यहरू

सबै पादरित्वका साँचा र अधिकार येशू ख्रीष्टद्वारा आउँछन् । प्रत्येक पादरित्वबाहकले आफ्नो अधिकार उहाँमा समायोजन गर्न सक्छ । मुक्तिदाताले यो अधिकार कसले प्राप्त गर्छ र कसले प्राप्त गर्दैन भन्ने विषय निर्धारण गर्नुहुन्छ । हामी उहाँको पूर्ण ज्ञानमा भरोसा गर्छौँ ।

हाम्रो समयमा येशू ख्रीष्टले आफ्नो पादरित्व पुनर्स्थापित गर्नुभएको छ । उहाँले पादरित्व कसरी प्रयोग गरिने छ भनेर निर्देशन दिनुहुन्छ । आदम, मोशा, पत्रुस र इतिहासभरिका अन्य धेरै अगमवक्ताहरूले पादरित्वका साँचाहरू प्राप्त गर्नुभयो । हाम्रो समयमा, जोसेफ स्मिथले बप्तिस्मा दिने यूहन्ना, पत्रुस, मोशा, एलिया, एलियास र अन्यबाट पादरित्वका साँचाहरू प्राप्त गर्नुभयो । प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणका सदस्यहरूले आज पृथ्वीमा पादरित्वका सबै साँचाहरू धारण गर्नुहन्छ । स्थानीय पादरित्व अगुवाहरू र गणका अध्यक्षहरूले पनि आफ्नो बोलावटका लागि पादरित्वका साँचाहरू धारण गर्नुहन्छ । पादरित्व साँचाहरूले परमेश्वरको कार्यलाई प्रशासन गर्छन् । तिनीहरूले पुरुष र महिलाहरूलाई त्यो कार्यमा सहयोग गर्नका लागि अधिकार दिन्छन् र सशक्त बनाउँछन् ।

पादरित्वको अधिकारले परमेश्वरका सबै सन्ततिहरूलाई आशीर्वाद दिन्छ । पादरित्व पुनर्स्थापित भएको हुनाले, तपाईंहरूले विधिहरू प्राप्त गर्न र परमेश्वरसँग करार गर्न सक्नुहुन्छ । अधिकार भएका व्यक्तिबाट तपाईंहरूले कुनै कार्यभार वा बोलावट प्राप्त गर्दा तपाईंहरू परमेश्वरको नाममा कार्य गर्न सक्नुहुन्छ ।

आमन्त्रणहरू

चर्चका बोलावटहरू स्वीकार गर्नुहोस् र आस्थापूर्वक सेवा गर्नुहोस् । जब तपाईंहरूले चर्चका बोलावट प्राप्त गर्नुहुन्छ, तपाईंहरूलाई त्यो भूमिकामा सेवा गर्न परमेश्वरबाट अधिकार दिइएको हुन्छ । तपाईंहरूले आफ्नो सेवाका लागि परमेश्वरबाट मार्गदर्शन पनि प्राप्त गर्न सक्नुहुन्छ । तपाईंहरूले सेवा गर्दा, तपाईंहरू येशू ख्रीष्टको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँलाई आफ्नो सर्वोकृष्ट सेवा दिनुहोस् ।

परमेश्वरले सेवा गर्न बोलावट गर्नुभएकाहरूलाई समर्थन गर्नुहोस् । समर्थन गर्नु भनेको चर्चको सभामा नाम पढ्दा हात उठाउनु मात्र होइन । यसको अर्थ समर्थन र सहयोग गर्नु हो । तपाईंहरूले येशू ख्रीष्टले आफ्नो चर्चमा सेवा गर्न बोलावट गर्नुभएका मानिसहरूलाई समर्थन गर्नुहुन्छ भनेर देखाउने तरिकाहरू खोज्नुहोस् ।

तपाईंहरूको गण वा कक्षाका अध्यक्षताबाट—तपाईंहरूको चर्चका अगुवाहरूद्वारा दिइएका कार्यभारहरू पूरा गर्नुहोस् । उहाँहरूसँग परमेश्वरबाट प्रदत्त अधिकार छ, जुन उहाँहरूले तपाईंहरूलाई त्यो कार्यका लागि प्रत्यायोजित गर्नुहुन्छ । तपाईंहरूलाई कसैको सेवा गर्न, प्रभुभोज सभामा आइपुग्दा मानिसहरूलाई स्वागत् गर्न वा कुनै पनि क्रियाकलापमा सहयोग गर्न तोकिएको हुन सक्छ । कार्यभार जे भए तापनि, यसलाई येशू ख्रीष्टको शिष्य बन्ने र परमेश्वरका सन्ततिको सेवा गर्ने अवसरका रूपमा हेर्नुहोस् ।

येशू ख्रीष्टलाई यर्दन नदीमा बप्तिस्मा दिने यूहन्नाद्वारा बप्तिस्मा दिइँदै

प्रतिज्ञा गरिएका आशीर्वादहरू

तपाईंहरूले प्राप्त गर्ने विधिहरू येशू ख्रीष्टद्वारा अधिकार प्रदत्त छन् भनी तपाईंहरू भरोसा गर्न सक्नुहुन्छ । यो येशू ख्रीष्टको चर्चलाई अद्वितीय बनाउने विषयहरूमध्येको एक हो । पादरित्वका विधिहरूद्वारा, परमेश्वरको शक्ति प्रकट हुन्छ ।

तपाईंहरू परमप्रभुको बाहुका एक साधन बन्नुहुने छ । उहाँको अधिकारसहित र पादरित्वका साँचाहरू धारण गर्ने उहाँका सेवकहरूको निर्देशनमा जब तपाईंहरू परमप्रभुको सेवा गर्नुहुन्छ, उहाँले तपाईंहरूलाई उहाँको कार्यमा अरूको सेवा कसरी गर्ने भनेर जान्नका लागि सहयोग गर्नुहुने छ । येशू ख्रीष्ट तपाईंहरूको सामर्थ्य हुनुहुन्छ । तपाईंहरूको सेवाले तपाईंहरूलाई उहाँको नजिक आउन र तपाईंहरूमा प्रसन्नता ल्याउन सहयोग गर्ने छ ।

प्रश्न र उत्तरहरू

मेरो वार्डमा कसले पादरित्वका साँचाहरू धारण गर्नुहन्छ ? बिशप र एल्डरहरू, शिक्षकहरू र डिकन गणहरूका अध्यक्षहरूले पादरित्वका साँचाहरू धारण गर्नुहन्छ । यसको अर्थ परमप्रभुले उहाँहरूलाई वार्डका सबैलाई सेवा गर्न र आशीर्वाद दिन कसरी पादरित्व प्रयोग गरिन्छ भनेर निर्देशन दिनका लागि कार्यभार सुम्पनुभएको छ ।

पादरित्वका साँचाहरूले मलाई कसरी आशीषित गर्छन् ? बप्तिस्मा र प्रभुभोज जस्ता विधिहरू पादरित्वका साँचाहरूद्वारा अधिकार प्रदत्त छन् । जब तपाईंहरूले चर्चमा बोलावट प्राप्त गर्नुहुन्छ, तपाईंहरूलाई साँचा धारण गर्ने व्यक्तिको निर्देशनमा पदीय जिम्मेवारी दिइन्छ । यसले तपाईंहरूलाई त्यस बोलावटमा सेवा गर्ने अधिकारको आशीषित गर्छ । तपाईंहरूलाई सेवा गर्ने चर्चका अगुवाहरू र शिक्षकहरूले पनि साँचाहरूद्वारा पादरित्वको अधिकार प्राप्त गर्नुभयो ।

पुरुष र महिलाहरूले कसरी पादरित्वको अधिकारसहित सेवा गर्नुहुन्छ ? योग्य पुरुषहरूलाई पादरित्व प्रदान गरिएको छ र तिनीहरूलाई डिकन, शिक्षक, पादरी र एल्डर जस्ता पादरित्वका पदहरूमा नियुक्त गरिएको छ । बोलावटमा सेवा गर्न पदीय जिम्मेवारी दिइएका महिला र पुरुष दुबैले त्यो बोलावट पूरा गर्न परमेश्वरबाट प्रत्यायोजित पादरित्वको अधिकार प्राप्त गर्छन् । चर्चका अगुवाबाट कार्यभार प्राप्त गर्ने महिला र पुरुषहरूका लागि पनि यही नै सत्य हो ।

हेर्नुहोस् सिद्धान्त र करार ३५:२४-२७ (चर्च परमप्रभुले दिनुभएका साँचाहरूद्वारा अगुवाइ गरिन्छ); १०७:१८-२० (मल्कीसेदेक पादरित्व र हारुनको पादरित्वका साँचाहरू); ११०:११-१६ (मोशा, एलिया र एलियासले साँचाहरू पुनर्स्थापित गर्नुभयो) ।

मन्दिर अनुमति-पत्रका लागि प्रश्नहरू

  • के तपाईंहरू पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका अध्यक्षलाई अगमवक्ता, द्रष्टा र प्रकाशक अनि पृथ्वीमा पदारित्वका सबै साँचाहरू प्राप्त गर्न र अभ्यास गर्न अधिकार प्राप्त एक मात्र व्यक्तिका रूपमा समर्थन गर्नुहुन्छ ?

  • के तपाईंहरू प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणका सदस्यहरूलाई अगमवक्ता, द्रष्टा र प्रकाशकहरूका रूपमा समर्थन गर्नुहुन्छ?

  • के तपाईंहरू चर्चका अन्य साधारण अधिकारीहरू र स्थानीय अधिकारीहरूलाई समर्थन गर्नुहुन्छ ?