युवा
५. परमेश्वरको प्रकाशमा हिँड्नुहोस्


येशू ख्रीष्ट भेडाहरूको बथानको हेरचाह गर्दै

I Shall Not Want (मलाई यो सही महसुस हुने छैन), योङसुङ किमद्वारा । हेभनलाइटको सौजन्य

५.

परमेश्वरको प्रकाशमा हिँड्नुहोस्

गलाती ५:२५

जब तपाईंले वस्तुहरू स्पष्ट रूपमा देख्न सक्नुहुन्छ, तपाईंले सही छनोटहरू गर्नुहुन्छ । त्यसैले प्रकाश धेरै महत्त्वपूर्ण छ; प्रकाशले सही मार्ग अवलोकन गर्न सहज बनाउँछ । स्वर्गका पिताले तपाईंहरूलाई स्वर्गको प्रकाशका स्रोत—पवित्र आत्माको उपहार—मा पहुँच दिनुभएको छ जसले तपाईंहरूलाई असल र खराब, सही र गलत के हो भनेर स्पष्ट रूपमा अवलोकन गर्न सहयोग गर्छ ।

अनन्त सत्यहरू

तपाईंहरूले पवित्र आत्मालाई निरन्तरको साथी बनाउन सक्नुहुन्छ । जब तपाईंहरूलाई चर्चको सदस्यका रूपमा प्रमाणित गरियो, तपाईंहरूलाई “पवित्र आत्मा प्राप्त गर्न”का लागि आमन्त्रण गरियो । आत्मालाई तपाईंहरूको निरन्तर साथीका रूपमा प्राप्त गर्ने अवसर परमेश्वरले तपाईंहरूलाई दिनुभएको सबैभन्दा महान् उपहारहरूमध्येको एक हो ।

सही छनोट गर्नाले आत्मालाई महसुस गर्ने तपाईंहरूको क्षमतामा सुधार हुन्छ । यस संसारमा धेरै असल र हितकर वस्तुहरू छन् । जसरी तपाईंहरूको शरीर तपाईंहरूले खाने र पेय पदार्थले प्रभावित हुन्छ, त्यसरी नै तपाईंहरूको मस्तिष्क र आत्मा तपाईंहरूले पढ्ने, हेर्ने र सुन्ने विषयले गहन रूपमा प्रभावित हुन्छन् ।

आमन्त्रणहरू

प्रत्येक दिन परमप्रभुका लागि समय निकाल्नुहोस् । उहाँका सम्बन्धमा सिक्नुहोस् । सदैव उहाँको स्मरण गर्नुहोस् । आफ्ना स्वर्गका पितालाई प्रार्थना गर्नुहोस् । पवित्र धर्मशास्त्रहरू र जीवित अगमवक्ताहरूका वचनहरू अध्ययन गर्नुहोस् । त्यसपछि तपाईंहरूले सिकेका विषयअनुसार जिउने प्रयास गर्नुहोस् ।

आत्मालाई उत्थान गर्ने, प्रेरणा दिने र आमन्त्रण गर्ने विषय खोज्नुहोस् । के हेर्ने, पढ्ने, सुन्ने वा सहभागी हुने भन्ने सम्बन्धमा छनोट गर्दा, यसले तपाईंहरूलाई कस्तो महसुस गराउँछ भन्ने सम्बन्ध सोच्नुहोस् । के यसले असल विचारहरूलाई आमन्त्रण गर्छ ? पवित्र विषयहरूको खिल्ली उडाउने वा अनैतिक कुनै पनि विषयवस्तुबाट टाढा रहनुहोस् । हिंसा, मदिरा र हानिकारक लागूपदार्थ जस्ता आत्माप्रति तपाईंहरूको निर्णय वा संवेदनशीलतालाई कमजोर बनाउने कुनै पनि वस्तु सेवन नगर्नुहोस् । भिडियो वा खेल बन्द गर्ने, चलचित्र वा नृत्यबाट बाहिर निस्कने, सङ्गीत परिवर्तन गर्ने वा आत्मासँग मेल नखाने कुनै पनि विषयबाट टाढा रहने साहस राख्नुहोस् ।

उत्थानका लागि सामाजिक सञ्जाल प्रयोग गर्नुहोस् । सामाजिक सञ्जाल एक प्रभावशाली सञ्चार उपकरण हुन सक्छ । यदि तपाईंहरूले यसलाई प्रयोग गर्नुहुन्छ भने, प्रकाश, आस्था र सत्यमा ध्यान केन्द्रित गर्नुहोस् । आफ्नो जीवनलाई अरू मानिसहरूले अनुभव गरिरहेको जस्तो देखिने विषयसँग तुलना नगर्नुहोस् । तपाईंहरूको मूल्य सामाजिक सञ्जालबाट नभई स्वर्गका मातापिताका सन्तति हुनुबाट आउँछ भनेर स्मरण रहोस् ।

हितकर अनुभवहरू र वास्तविक, दिगा सम्बन्धहरू खोज्नुहोस् । तपाईंहरूको प्रविधि र मिडियाको प्रयोगले परिवार र साथीहरूसँग व्यक्तिगत समय बिताउने कार्यलाई प्रतिस्थापन गर्दैन भन्ने विषयमा होसियार रहनुहोस् । सामाजिक सञ्जाल र अन्य प्रविधिले धेरै महत्वपूर्ण प्रतिफल नदिई तपाईंहरूको अधिकांश समय लिन सक्छन् । भर्चुअल संसारबाट विश्राम लिनुहोस् र वास्तविक जीवनका मानिसहरूसँग जोडिनुहोस् ।

येशू ख्रीष्ट घाँसको खेतमाथि भेडाहरूको बथानलाई अगुवाइ गर्दै

प्रतिज्ञा गरिएका आशीर्वादहरू

तपाईंहरूसँग सदैव आत्मा हुन सक्छ । यो प्रतिज्ञा तपाईंले हरेक पटक प्रभुभोज ग्रहण गर्दा तपाईंले गर्ने करारको अंश हो । आत्माले तपाईंहरूलाई स्वर्गका पिता र येशू ख्रीष्टको गवाही दिने छ । उसले तपाईंहरूलाई सान्त्वना दिने छ, मार्गदर्शन गर्ने छ, चेतावनी दिने छ र पवित्र पार्ने छ । उसले तपाईंहरूलाई सत्य पहिचान गर्न र संसारका असल वस्तु देख्न सहयोग गर्ने छ ।

प्रश्न र उत्तरहरू

म पवित्र आत्मा महसुस गरिरहेको छु कि छैन भनेर कसरी जान्न सक्छु ? आत्माका सम्बन्धमा सचेत हुन सिक्नका लागि समय, अभ्यास र धीरता चाहिन्छ । उसले विभिन्न मानिसहरूसँग भिन्न-भिन्न तरिकाले वार्तालाप गर्छ । सामान्य विषयहरू—कसैको गवाही सुनेर तपाईंहरूले प्राप्त गर्ने शान्तिपूर्ण भावना वा गलत छनोट गरेपछि तपाईंहरूले प्राप्त गर्ने अस्थिर भावनालाई बेवास्ता नगर्नुहोस् । आत्माले सञ्चार गर्ने विभिन्न तरिकाहरूका लागि धर्मशास्त्रहरू खोज्नुहोस्, यसका सम्बन्धमा प्रार्थना गर्नुहोस् र आत्मालाई महसुस गर्ने अवसरहरू खोजिरहनुहोस् ।

अश्लील साहित्य के हो ? म किन यसबाट सुरक्षित हुनु पर्छ ? अश्लील साहित्य भनेको चित्र वा शब्दहरूमा प्रतिनिधित्व हो, जुन यौन भावनाहरू जगाउनका लागि डिजाइन गरिएको हो । अश्लील साहित्य धेरै रूपहरूमा देखिन्छ, जसमा भिडियो, चित्र, किताब, खेल र सङ्गीत समावेश छ । यो साथीहरू बीच पठाइएका सन्देश वा चित्रहरूमा पनि हुन सक्छन् । अश्लील साहित्यले पवित्र वस्तुहरू—हाम्रो भौतिक शरीर र यौन भावनाहरू—लाई अनादरपूर्ण व्यवहार गर्छ । तपाईंहरूले नचाहँदा नचाहँदै पनि अश्लील साहित्य भेट्टाउन सक्नुहुन्छ । तपाईंहरूले जानकारीसहित वा जानकारी बिना नै अश्लील साहित्य भेट्नुभयो भने त्यसलाई नहेर्नुहोस् वा तत्कालै त्यसबाट टाढा हुनुहोस् । तपाईंहरूले अभिभावक वा अन्य विश्वसनीय वयस्कसँग पनि छलफल गर्न चाहनुहुन सक्छ । जानकारीसहित अश्लील साहित्य हेर्नु पाप हो र यसले आत्मालाई महसुस गर्ने तपाईंहरूको क्षमतालाई हानि पुर्‍याउँछ । यसले तपाईंहरूको आत्म-नियन्त्रणलाई कमजोर बनाउँछ र तपाईंहरूले आफूलाई र अरूलाई हेर्ने तरिकालाई विकृत पार्छ । येशू ख्रीष्टसँग तपाईंहरूलाई अश्लील साहित्यको प्रतिरोध र पश्चात्ताप गर्नका लागि सहयोग गर्ने शक्ति छ । उहाँतर्फ फर्कनुहोस् र अन्धकारबाट टाढा रहनुहोस् । तपाईंहरूका बिशपले तपाईंहरूलाई मुक्तिदाताद्वारा शक्ति र क्षमा प्राप्त गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ । येशू ख्रीष्ट तपाईंहरूको समार्थ्य हुनुहुन्छ !

भजनसङ्ग्रह ११९:१०५ हेर्नुहोस् (परमेश्वरका वचन हाम्रो मार्गमा ज्योति जस्तै छन्); आमोस ५:१४ (असल वस्तु खोज्नुहोस्); गलाती ५:२२-२३ (आत्माको फल); मोरोनी ७:१८-१९ (ख्रीष्टको प्रकाश); सिद्धान्त र करार ६:२३ (परमप्रभुले शान्ति अभिव्यक्त गर्नुहुन्छ); २०:७७, ७९ (प्रभुभोजका प्रार्थनाहरू) ।

मन्दिर अनुमति-पत्रका लागि प्रश्न

  • सबै चीजहरू उहाँ समक्ष “स्वच्छतामा” गर्नुपर्ने छ भनेर परमप्रभुले भन्नुभएको छ (सिद्धान्त र करार ४२:४१) । के तपाईंहरू आफ्नो विचार र व्यवहारमा नैतिक स्वच्छताका लागि सम्भव भएसम्म प्रयास गर्नुहुन्छ ?