७.
विधि र करारहरूले तपाईंहरूलाई परमेश्वरका आशीर्वादमा पहुँच प्रदान गर्छ
तपाईंहरूका स्वर्गका पिता तपाईंहरूलाई सिकाउन र आशीर्वाद दिन उत्सुक हुनुहुन्छ । उहाँले यसो गर्ने एउटा तरिका बप्तिस्मा, प्रमाणीकरण र प्रभुभोज जस्ता विधिहरूद्वारा हो । यस्ता विधिहरूद्वारा हामी परमेश्वरसँग करार वा प्रतिज्ञा गर्छौँ । करारहरूको पालना गर्नाले तपाईंहरूको जीवनमा परमेश्वरको शक्ति बढ्छ र तपाईंहरूलाई अनन्त जीवनका लागि तयारी गर्न सहयोग गर्छ । यसैकारण विधि र करारहरू हाम्रा लागि बहुमूल्य छन्—किनभने तिनीहरूले हाम्रा स्वर्गका पिता र हाम्रा मुक्तिदातासँगको हाम्रो सम्बन्धलाई मजबुत बनाउँछन् र हामीलाई उहाँहरू जस्तै बन्नका लागि सहयोग गर्छन् ।
अनन्त सत्यहरू
विधिहरूले तपाईंहरूलाई येशू ख्रीष्टतर्फ फर्काउँछन् । विधि भनेको येशू ख्रीष्टका सम्बन्धमा सिकाउने प्रतीकात्मक अर्थहरू भएको पवित्र समारोह हो । उदाहरणका लागि प्रभुभोज केवल रोटी र पानी मात्र होइन । यसले हामीलाई मुक्तिदाताको स्मरण गराउँछ ।
करारहरू परमेश्वरको प्रेम, भरोसा र अपेक्षाहरूका सङ्केत हुन् । तिनीहरूले परमेश्वरसँगका तपाईंहरूका सम्बन्धलाई गहन स्तरमा लैजान्छन् । करार गर्नाले तपाईंहरू परमेश्वरलाई प्रेम गर्नुहुन्छ र उहाँप्रति प्रतिबद्ध हुनुहुन्छ भनेर देखाउँछ । तपाईंहरू उहाँमाथि भरोसा गर्न सक्नुहुन्छ र उहाँले तपाईंहरूलाई भरोसा गर्न सक्नुहुन्छ । त्यो गहिरो प्रतिबद्धतासँगै तपाईंहरूले आफ्ना करारहरू पालना गर्दा उहाँको शक्ति र सहयोगमा ठूलो पहुँच प्राप्त गर्नुहुन्छ ।
तपाईंहरू बप्तिस्मा लिँदा र प्रमाणित हुँदा अनि तपाईंहरूले प्रभुभोज ग्रहण गर्नुहुँदा तपाईंहरूले परमेश्वरसँग करार गर्नुहुन्छ । जब तपाईंहरू बप्तिस्मा लिनुहुन्छ, तपाईंहरू येशू ख्रीष्टको नाम आफैँमा लिने, उहाँको सेवा गर्ने र आफ्नो जीवनभर उहाँका आज्ञाहरू पालना गर्ने प्रतिज्ञा गर्नुहुन्छ । प्रभुभोजको समयमा तपाईंहरू सदैव उहाँलाई सम्झने प्रतिज्ञा पनि गर्नुहुन्छ । यी तपाईंहरूका प्रतिज्ञाहरू हुन् । जब तपाईंहरू तिनीहरूको पालना गर्ने चाहना राख्नुहुन्छ, परमेश्वरले तपाईंहरूलाई निरन्तरको साथीका रूपमा पवित्र आत्मा प्रदान गर्ने प्रतिज्ञा गर्नुहुन्छ ।
आमन्त्रणहरू
प्रभुभोजलाई पवित्र उपहार जस्तै व्यवहार गर्नुहोस् । प्रभुभोजको समयमा पवित्र अनुभवका लागि तयारी गरेर येशू ख्रीष्टप्रति आफ्नो प्रतिबद्धता देखाउनुहोस् । यस विधिलाई आफ्नो साप्ताहिक आत्मिक आकर्षण बनाउन तपाईंहरू के गर्न सक्नुहुन्छ भन्ने विषयमा विचार गर्नुहोस् ।
विधिहरूमा मुक्तिदातालाई खोज्नुहोस् । जब तपाईंहरू कुनै विधि अवलोकन गर्नुहुन्छ वा त्यसमा सहभागी हुनुहुन्छ, “येशू ख्रीष्टका सम्बन्धमा म यसबाट के सिक्छु ?” वा “यसले मलाई उहाँको नजिक कसरी ल्याउँछ ?” भनेर आफैँलाई सोध्नुहोस् । आत्माले तपाईंहरूलाई के सिकाउँछ भन्ने विषयमा ध्यान दिनुहोस् ।
तपाईंहरूका करारहरूले तपाईंहरूको कार्यहरूलाई निर्देशित गर्न दिनुहोस् । जब तपाईंहरूसँग छनोट गर्ने विकल्प हुन्छ, परमेश्वरसँगका तपाईंहरूका करार सम्बन्धलाई सम्झनुहोस् । उहाँप्रति इमान्दार रहनुहोस् । आफैँलाई सोध्नुहोस्: के यो मेरा करारहरूसँग मिल्दोजुल्दो छ ? उदाहरणका लागि के म अरूलाई प्रेम गर्छु र सेवा गर्छु, सान्त्वना चाहिने मानिसहरूलाई सान्त्वना दिन्छु र—जताततै र सदैव ख्रीष्टको साक्षीका रूपमा खडा हुन्छु ?
प्रतिज्ञा गरिएका आशीर्वादहरू
प्रलोभन, पाप र जीवनका परीक्षाहरूमाथि विजय प्राप्त गर्ने शक्ति तपाईंहरूसँग हुन सक्छ । करारहरू निर्माण र पालना गर्नाले तपाईंहरूलाई परमेश्वरको शक्तिमा पहुँच दिन्छ । त्यो शक्तिसहित तपाईंहरू आत्मविश्वासका साथ कुनै पनि चीजको सामना गर्न सक्नुहुन्छ । येशू ख्रीष्ट तपाईंहरूको समार्थ्य हुनुहुन्छ !
तपाईंहरू पवित्र र क्षमाशील बन्न सक्नुहुन्छ । तपाईंहरूले बप्तिस्माका करार पालना गर्नुहुँदा परमेश्वरले गर्नुहुनेप्रतिज्ञाको अंश तपाईंहरूका पापहरूबाट छुटकारा हो । यसको अर्थ जब तपाईंहरूले पश्चात्ताप गर्नुहुन्छ र परमेश्वरसँग गर्नुभएका प्रतिज्ञाहरू पालना गर्नुहुन्छ, उहाँले तपाईंहरूलाई क्षमा गर्नुहुने छ र सुधार गर्नका लागि तपाईंहरूलाई सहयोग गर्नुहुने छ ।
तपाईंहरूसँग पवित्र आत्मा सदैव रहन सक्छ । बप्तिस्मा र प्रभुभोजसँग जोडिएको अर्को प्रतिज्ञा उहाँको आत्माको निरन्तर सहचार्य र स्वर्गदूतहरूको सेवा हो । तपाईंहरूले कहिल्यै पनि एक्लै आफ्ना चुनौतीहरूको सामना गर्नु पर्दैन । परमेश्वरले आफ्ना करारका सन्ततिहरूलाई कहिल्यै त्याग्नुहुन्न—तपाईंहरू त्यसमा निर्भर रहन सक्नुहुन्छ ।
तपाईंहरूसँग परमेश्वरका करारका जनहरूको सहयोग हुन सक्छ । तपाईंहरू मुक्तिदाताको चर्चमा करारका जनहरूको समुदायसँग सम्बन्धित हुनुहुन्छ । तपाईंहरू एकअर्कालाई उठाउनुहुन्छ र प्रोत्साहन गर्नुहुन्छ । तपाईंहरू सँगै शोक गर्नुहुन्छ र सँगै प्रसन्नता मनाउनुहुन्छ । तपाईंहरूले एकअर्काको बोझ बोक्नुहुन्छ । तपाईंहरूका परिवार, बिशप, अगुवाहरू र चर्चका अन्य सदस्यहरू तपाईंहरूलाई सहयोग गर्नका लागि यहाँ हुनुहुन्छ र तपाईंहरू उहाँहरूलाई सहयोग गर्न सक्नुहुन्छ ।
प्रश्न र उत्तरहरू
के म विधि र करार बिना येशू ख्रीष्टको असल अनुयायी बन्न सक्छु ? धेरै असल मानिसहरू छन् जसले इमान्दारितापूर्वक येशू ख्रीष्टलाई अनुसरण गर्छन्, यद्यपि तिनीहरूले कहिल्यै बप्तिस्मा लिएका छैनन् वा मन्दिरमा गएका छैनन् । यद्यपि, स्वर्गका पिताले उहाँका सबै सन्ततिहरूले उहाँका विधिहरू प्राप्त गरून् र उहाँसँग करारहरू गरून् भन्ने चाहनुहुन्छ ताकि तिनीहरूले उहाँको सहयोग, कृपा र शक्तिमा बढी पहुँच प्राप्त गर्न सक्छन् । त्यो येशू ख्रीष्टले आफ्नो चर्च पुनर्स्थापित गर्नुभएका प्रमुख कारणहरूमध्येको एक हो ! परमेश्वरका प्रत्येक सन्ततिले—यस जीवनमा वा अर्को जीवनमा—अनन्त जीवनका लागि आवश्यक विधि र करारहरू स्वीकार गर्ने अवसर प्राप्त गर्ने छन् ।
म सदैव मेरा करारहरूप्रति आस्थावान् भएको छैन । के मेरा लागि कुनै आशा छ ? छ ! येशू ख्रीष्टको सुसमाचार आशा र नयाँ सुरुवातको सुसमाचार हो ! यसैकारण हामी हरेक हप्ता प्रभुभोज ग्रहण गर्छौँ । हामीले गल्ती गर्ने छौँ र नयाँ सुरुवातको आवश्यकता छ भनेर स्वर्गका पितालाई जानकारी थियो । तपाईंहरूलाई फर्कने मार्ग दिन मुक्तिदाताले आफ्नो जीवन दिनुभयो । जब तपाईंहरू येशू ख्रीष्टमा विश्वास गर्नुहुन्छ र पश्चात्ताप गर्नुहुन्छ, तपाईंहरूले परमेश्वरको शक्तिमा पहुँच पुनः प्राप्त गर्न सक्नुहुन्छ ।
१ कोरिन्थी ११:२३-२६ हेर्नुहोस् (प्रभुभोज ग्रहण गर्नुले हामी येशू ख्रीष्ट र उहाँको प्रायश्चितमा विश्वास गर्छौँ भनेर देखाउँछ); मोसीयाह १८:१०, १३ (बप्तिस्माका करार); सिद्धान्त र करार १३ (हारुनको पादरित्वमा पश्चात्ताप, बप्तिस्मा र स्वर्गदूतहरूको परोपकारका सेवाका साँचाहरू समावेश छन्); २०:३७ (बप्तिस्माका लागि आवश्यकताहरू); २०:७७, ७९ (प्रभुभोजको प्रार्थना) ।
मन्दिर अनुमति-पत्रका लागि प्रश्न
-
के तपाईंहरू आफ्ना सभाहरूमा सहभागी भएर; योग्य रूपमा प्रभुभोज ग्रहण गर्नका लागि तयार भएर अनि सुसमाचारका विधि र आज्ञाहरू अनुरुप तपाईंहरूको जीवन जिएर घर र चर्च दुबैमा शबाथको दिनलाई पवित्र राख्न सम्भव भएसम्म प्रयास गर्नुहुन्छ ?