मासिक युवाहरूको शक्तिका लागि सन्देश, जनवरी २०२६
मसँग हिँड
जब तपाईं परमेश्वरका नजिक रहनुहुन्छ, उहाँ—सदैव तपाईंसँग हिँड्नुहुने छ भनेर २०२६ युवाका विषयवस्तुले तपाईंलाई सम्झाउन सहयोग गर्ने छन् ।
बायाँबाट दायाँ: तमारा डब्ल्यू. रुनिया, प्रथम सल्लाहकार; एमिली बेले फ्रिम्यान, अध्यक्ष; र एन्ड्रिया मुनियोस् स्पानाउस, दोस्रो सल्लाहकार
तपाईं एक्लो हुनुहुन्न
के तपाईंलाई कहिल्यै त्यस्तो काम गर्न भनिएको छ जुन तपाईंले गर्न सक्नुहुन्छ भनेर सोच्नुभएको पनि थिएन ? सम्भवत: तपाईंले आफूलाई पर्याप्त सक्षम वा बुद्धिमान महसुस गर्नुभएन वा अरूले तपाईंलाई खिल्ली उँडाउने र आलोचना गर्ने छन् भन्ने चिन्ता गर्नुभयो । यदि तपाईंले कहिल्यै यस्तो महसुस गर्नुभएको छ भने, तपाईं एक्लो हुनुहुन्न ।
हाजारौँ वर्ष पहिले, हनोक नामका एकजना मानिस थिए । परमेश्वरले—पृथ्वीले देखेका सबैभन्दा दुष्टहरूमध्ये एक, हनोकलाई मानिसहरूलाई पश्चात्तापको प्रचार गर्न भन्नुभयो ।
उनले यसो गर्न सक्छन् भनेर हनोकले सोचेका थिएनन् । उनी धेरै साना छन्, कसैले पनि उनलाई मन पराउँदैनन् र उनी “बोल्नमा सुस्त थिए भनेर उनले परमेश्वरलाई बताए (मोशा ६:३१ हेर्नुहोस्) ।
परन्तु परमेश्वरले हनोकलाई प्रतिज्ञा गर्नुभयो । उहाँले डराएका मानिसलाई भन्नुभयो, “जाऊ र मैले तिमीलाई आज्ञा गरेअनुसार गर” र “पहाडहरू तिम्रो अगाडिबाट भाग्ने छन् र नदीहरू आफ्नो बाटोबाट फर्कने छन्; र तिमी ममा रहने छौ र म तिमीमा; त्यसैले मसँग हिँड” (मोशा ६:३२, ३४) ।
“मसँग हिँड ।” कस्तो सरल, सुन्दर आमन्त्रण ।
यदि उनी सुरु गर्न पर्याप्त रूपमा साहसी भए भने परमेश्वर बाटोको हरेक पाइलामा उनको साथमा हुनुहुने छ भनेर परमेश्वरले हनोकलाई प्रतिज्ञा गर्नुभयो । परमेश्वरले हनोकलाई शक्तिशाली बनाउनुहुने छ र उनलाई अझ धेरै गर्न र उनले कल्पना गरेको भन्दा पनि बढी बन्न सहयोग गर्नुहुने छ ।
मुक्तिदाताका धेरै नामहरू मध्ये एक इम्मानुएल पनि हो, वा “हामीसँग परमेश्वर” (मत्ती १:२३) । परमप्रभुको नाम र प्रकृतिमा हामीसँग समर्थन र मार्गदर्शन छ । छनोट हाम्रो हो—के हामी पनि उहाँसँग हिँड्ने छौँ ?
आज, हामी हनोकलाई आस्थाका मानिस र एक महान् अगमवक्ता र अगुवाका रूपमा हेर्छौँ । परन्तु अगमवक्ता हनोक भन्दा पहिले, एक जना सानो हनोक थिए जसले आफैँमा शङ्का गर्थे तर अझै पनि परमेश्वरसँग हिँड्ने छनोट गर्थे ।
जब जीवन कठिन हुन्छ, जब तपाईंलाई आफू पर्याप्त छैन जस्तो महसुस हुन्छ, हनोक र तपाईंसँगको पनि परमप्रभुको प्रतिज्ञा सम्झनुहोस् । उहाँ तपाईंसँग हिँड्नुहुने छ । उहाँले तपाईंलाई एक्लै छोड्नुहुने छैन, एक पाइलाका लागि मात्रै होइन ।
इम्मानुएल । हामीसँग परमेश्वर । तपाईंसँग परमेश्वर !
युवती महिलाहरूको साधारण अध्यक्षता
बायाँबाट दायाँ: डेभिड जे. वन्डली, पहिलो सल्लाहकार; तिमोथी एल. फार्नेस, अध्यक्ष; र शन आर. डिक्सन, दोस्रो सल्लाहकार
उहाँको सहयोगले सबै चीज गर्न तपाईं सक्षम हुनुहुन्छ
तपाईं युवाहरू जस्तै, परमप्रभुले हनोकलाई पादरित्वका महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न भन्नुभयो । उहाँको कार्य दुष्ट मानिसहरूलाई पश्चात्तापको प्रचार गर्नु थियो । हनोकले आफ्नो शङ्का व्यक्त गरे । “[म] केवल एक बालक हुँ,” उनले भने । “सबै मानिसहरूले मलाई घृणा गर्छन् … म बोल्नमा सुस्त छु; के म हजुरको सेवक हुँ ?” (मोशा ६:३१)
परमप्रभुले शक्ति र आश्वासनका साथ जवाफ दिनुभयो । “अगाडि जाऊ र मैले तिमीलाई आज्ञा गरेअनुसार गर । … आफ्नो मुख खोल र यो भरिने छ … । मेरो आत्मा तिमीमाथि छ … ; पहाडहरू तिम्रा अगाडि भाग्ने छन् … ; त्यसैले मसँग हिँड” (मोशा ६:३२, ३४) ।
जब परमप्रभुले हामीलाई काम दिनुहुन्छ, हामीले एक्लै यसको सामना गर्दैनौँ भनेर हनोकले सिके । जब हामी ख्रीष्टसँग करार गर्छौँ र पालना गर्छौँ, हामी उहाँसँग हिँड्छौँ र उहाँको शक्तिमा सहभागी हुन्छौँ—हामी उहाँका हातका औजार बन्छौँ ।
हनोक जस्तै परोपकारको सेवा गर्ने, मन्दिरमा सेवा गर्ने, प्रभुभोजको प्रशासन गर्ने, धर्मशास्त्रको अध्ययन गर्ने, सुसमाचारका स्तरहरू अनुरुप जिउने, पश्चात्ताप गर्ने, सुसमाचार प्रचारहरूका लागि तयारी गर्ने र अन्य धेरै कार्यहरूमा तपाईंको पनि महत्त्वपूर्ण भूमिका छ । यो बोझिलो महसुस हुन सक्छ । तपाईंलाई अपर्याप्त भएको महसुस हुन सक्छ । त्यो सही छ । यो एक्लै गर्ने सम्बन्धमा होइन । यो आज छनोट गर्ने—आजको दिन र हरेक दिन—परमेश्वरसँग हिँड्ने सम्बन्ध हो ।
उहाँको सहयोगले, तपाईं सबै चीज गर्न सक्नुहुन्छ । उहाँले तपाईंलाई मजबुत बनाउनुहुने छ, क्षमा गर्नुहुने छ र तपाईंको प्राकृतिक क्षमताभन्दा पनि पर सक्षम बनाउनुहुने छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ ! युवाका साधारण अध्यक्षताका रूपमा, हामी तपाईंलाई प्रेम गर्छौँ र प्रेरणादायी २०२६ को विषयवस्तुको अन्वेषणमा तपाईंसँग सहभागी हुन तत्पर छौँ: “मसँग हिँड्नुहोस् ।”
युवाहरूका साधारण अध्यक्षता
© २०२६ Intellectual Reserve, Inc. द्वारा All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । युवाहरूका शक्तिको लागि मासिक सन्देश, जनवरी २०२६Monthly For the Strength of Youth Message, January २०२६. को अनुवाद Nepali. 19934 372