लियाहोना
मेरो परिवारले मलाई खुसी दिन्छ
मार्च २०२६ लियाहोना


एशिया क्षेत्रका अगुवाइका सन्देश

मेरो परिवारले मलाई खुसी दिन्छ

एक दिन घर फर्कँदै गर्दा, मैले अङ्ग्रेजी भाषामा लेखिएको एक बोर्ड देखेँ जसले मेरो ध्यान आकर्षित गर्यो । त्यसमा लेखिएको थियो, “परिवारको अर्थ हो, बुबा मातपाईंहरूलाईप्रेमर्छु ।" यो सङ्केतले मलाई केही प्रेरणा दियो । यसले “परिवार” शब्दको संरचनालाई वर्णन गरेको जस्तो देखिन्थ्यो । एक परिवारले आमाबाबु र छोराछोरीहरू समावेश गर्छ र त्यो भन्दा पनि महत्त्वपूर्ण विषय, यसले – “प्रेम” भनिने अत्यावश्यक कार्यलाई समावेश गर्छ । यसले यो सरलशब्दलाई धेरै भिन्न देखाउँछ र परिवारलाई आवश्यक पर्ने प्रेरणा र आशाले यसलाई भरिपूर्ण पार्छ ।

अनन्त जीवन प्रेमले भरिपूर्ण हाम्रा स्वर्गका पिताले उहाँका सन्ततिहरूलाई दिनुभएका सबै उपहारहरूमध्येको सबैभन्दा महान् उपहार हो । त्यो उपहार भनेको परमेश्वर पिता र उहाँका प्रिय पुत्रको उपस्थितिमा परिवारहरूसँगै सदाका लागि जिउनु हो । परमेश्वरको सर्वोच्च अधिराज्य, सेलेस्टियल अधिराज्यमा मात्र पारिवारिक जीवनको प्रेमपूर्ण बन्धन निरन्तर रहने छ । हामी सबैले प्रेमले भरिपूर्ण परिवारमा रहने प्रसन्नताको आशा गर्छौँ । हामी सबैले आशा गरेका छौँ कि कुनै दिन हामीले पुनः त्यो परिवारको सदस्यको न्यानो स्नेह महसुस गर्ने छौँ जसलाई हामीले धेरै प्रेम गर्यौँ र पुनः आत्मसात गर्न उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छौँ ।

हाम्रा प्रेमपूर्ण स्वर्गका पिताले हाम्रो हृदयलाई चिन्नुहुन्छ । उहाँको उद्देश्य हामीलाई खुसी दिनु हो । उहाँले उहाँका पुत्रको उपहार दिनुभयो ताकि पारिवारिक बन्धनको सुख सम्भव होस् जुन सदाका लागि रहने छ । मुक्तिदाताले मृत्युको बन्धन तोड्नुभएकाले, हाम्रो पुनरुत्थान हुने छ । उहाँले हाम्रा पापहरूको प्रायश्चित्त गर्नुभएकाले, हामी हाम्रो आस्था र पश्चात्तापद्वारा सेलेस्टियल अधिराज्यको योग्य बन्न सक्छौँ, जहाँ परिवारहरू सदाका लागि प्रेममा बाँधिएका हुन्छन् ।

एल्डर हेनरी बी. आइरिङले भन्नुभयो, "तपाईंहरूलाई मेरो प्रतिज्ञा त्यो हो जुन बाह्र प्रेरितहरूको गणका एक सदस्यले एक पटक मसँग गर्नुभएको थियो । हाम्रा विस्तारित परिवारका सदस्यहरूले गर्नुभएका छनोटहरूका कारण आगामी संसारमा हामीसँगै हुन सक्छौँ कि सक्दैनौँ भन्ने मलाई शङ्का थियो भनेर मैले उहाँलाई भनेको थिएँ । मलाई स्मरण भएअनुसार, उहाँले भन्नुभयो, "तपाईं गलत समस्याका लागि चिन्ता गर्दै हुनुहुन्छ । तपाईं सेलेस्टियल अधिराज्यको योग्य हुन मात्रै जिउनुहोस् र पारिवारिक व्यवस्था तपाईंले कल्पना गर्न सक्ने भन्दा धेरै अद्भुत हुने छ ।

ह्यारोल्ड बी. लीले हामी सबैलाई हाम्रो घरमा अझ बढी प्रेम, शक्ति र खुसी प्राप्त गर्नका प्रोत्साहन गर्नुभयो । उहाँले भन्नुभयो, "आफ्नो पारिवारिक सम्बन्धलाई बलियो बनाउनुहोस् र आफ्ना छोराछोरीहरूका सम्बन्धमा सचेत हुनुहोस् . . . यो समस्या र अशान्तिको समयमा छोराछोरीहरूलाई आवश्यक पर्ने सहाराका लागि घरलाई एक मजबुत स्थान बनाउन सुनिश्चित हुनुहोस् । तब प्रेम प्रशस्त हुने छ र तपाईंहरूको प्रसन्नता बढ्ने छ ।" हामीले पारिवारिक प्रार्थनाहरू गर्नु पर्छ र हाम्रा चर्चका बोलावटमा सेवा गर्नु पर्छ भनेर उहाँले सुझाव दिनुभयो । परिवारका सदस्यहरूले एकअर्कालाई सम्मान गर्नु पर्छ । आमाबाबुहरूले झगडा गर्नु हुँदैन र मिथ्याबोधहरूलाई समझदारीपूर्वक सँगै छलफल गर्नु आवश्यक छ । परिवारका अरूलाई सहयोग गर्नका लागि प्रत्येक व्यक्तिले दिनहुँ त्यागहरू गर्ने प्रयास गर्नु पर्छ ।

ह्यारोल्ड बी. लीले भन्नुभयो, “परमेश्वरको प्रेम भनेको याचना गरेर मात्रै प्राप्त हुने विषय होइन । यूहन्नाले भनेका थिए, “यदि कसैले भन्छ, म परमेश्वरलाई प्रेम गर्छु र आफ्नो भाइलाई घृणा गर्छु भने, त्यो व्यक्ति झूटो हो: किनकि जसले आफ्नो भाइलाईप्रेम गर्दैन जसलाई उसले देखेको छ भने उसले नदेखेका परमेश्वरलाई कसरी प्रेम गर्न सक्छ ?” तपाईंले परमेश्वरलाई प्रेम गरेर आफ्नो भाइलाई घृणा गर्न सक्नुहुन्न जससँग तपाईं सम्बन्धित हुनुहुन्छ । कुनै पनि पुरुष जसले आफूलाई आध्यात्मिक रूपमा महाशक्तिशाली महसुस गर्छ र उपेक्षाका कारण उसको घर अव्यवस्थित छ र आफ्नी श्रीमती र आफ्ना छोराछोरीहरूको हेरचाह गर्न असफल भएको छ, त्यो मानिस परमेश्वरप्रति प्रेम विकास गर्ने मार्गमा अग्रसर छैन ।"

“परिवार: संसारका लागि एक घोषणा” ले तपाईंको परिवारलाई मजबुत बनाउन र एकताबद्ध गर्नका लागि सहयोग गर्न सक्छ । प्राथमिकका बालबालिकाहरूलाई निम्न सुझावहरू दिइएको थियो ।

  • तपाईं एक अनन्त परिवारको अंश हुनुहुन्छ जसलाई तपाईंको सहयोगको आवश्यकता छ ।

  • तपाईंले आफ्नो परिवारमा खुसी, दया र प्रेम ल्याउन सक्नुहुन्छ ।

  • तपाईं एकअर्कालाई सुन्न सक्नुहुन्छ, सँगै काम गर्न र खेल्न सक्नुहुन्छ, क्षमा गर्न सक्नुहुन्छ र एकअर्कालाई सहयोग गर्न सक्नुहुन्छ ।

  • तपाईं आफ्नो परिवारसँग धर्मशास्त्र पढ्न सक्नुहुन्छ ।

  • प्रार्थनागरेर र आज्ञाहरू पालना गरेर तपाईं आफ्नो परिवारका लागि एक असल उदाहरण बन्न सक्नुहुन्छ ।

जब तपाईं सेलेस्टियल अधिराज्यको योग्य हुन जिउनुहुन्छ, “पारिवारिक व्यवस्थापन तपाईंले कल्पना गर्न सक्ने भन्दा अद्भुत हुने छ” भन्ने अगमवाणीयुक्त प्रतिज्ञा तपाईंको हुने छ भनेर म गवाही दिन्छु । ■

सन्दर्भहरू

  1. सि र क १४:७

  2. २ नफी २:२५

  3. हेनरी बी. आइरिङ, "एउटा घर जहाँ परमप्रभुको आत्मा रहन्छ," एनसाइन, मे २०१९, २५

  4. अगमवक्ताहरूका शिक्षा: ह्यारोल्ड बी. ली [२०११] १३१

  5. १ यूहन्ना ४:२०

  6. अगमवक्ताहरूका शिक्षा: ह्यारोल्ड बी. ली, १३०-१३१

  7. एरिन स्यान्डरसन र जीन बिङघम,लियाहोना, अक्टोबर २०१४, बालबालिकाहरूको खण्ड

  8. हेनरी बी. आइरिङ, “एक घर जहाँ परमप्रभुको आत्मा रहन्छ,” २५