“पृथ्वीका सबै परिवारहरूलाई आशीषित गर्ने,” लियाहोना, मार्च २०२६ ।
मासिक लियाहोना सन्देश, मार्च २०२६
पृथ्वीका सबै परिवारहरूलाई आशीर्वादआशीषित गर्ने
यदि हामीले परिवारहरूका लागि हाम्रा स्वर्गका पिताको योजनालाई पालना गर्छौँ र बाँड्छौँ भने, उहाँ हामीसँग हुनुहुने छ, हामीलाई समर्थन गर्नुहुने छ र उहाँतर्फ फर्कने हाम्रो यात्रामा हामीसँग सहभागी हुनुहुने छ ।
Jacob’s Dream at Bethel जे. केन स्पेन्सरद्वारा
हालै, सिस्टर उक्डोर्फ र म हाम्रा पनाति पनातिनीहरूको बप्तिस्मामा सहभागी भयौँ । केही पुस्ताले यो कार्यक्रमलाई खुसीसाथ मनाएको देख्दा, उहाँका सन्ततिहरूका लागि मुक्तिको योजना दिनुभएकोमा हामीले हाम्रा स्वर्गका पिताप्रति गहिरो कृतज्ञता महसुस गर्यौँ । उहाँका लागि परिवार र पवित्र करारहरू प्रारम्भदेखि नै कति महत्त्वपूर्ण छन् भनेर हामीले महसुस गर्यौँ ।
त्यो महत्त्व पुरानो करारका आस्थावान् याकूबको विवरणमा देख्न सकिन्छ, जसले पत्नी खोज्न, करारमा विवाह गर्न र परिवार स्थापना गर्न लामो र कठिन यात्रा गरे । एक साँझ, याकूब रात बिताउनका लागि रोकिए तर उनले आफ्नो तकियाका रूपमा ढुङ्गा मात्रै भेट्टाए । उनी धेरै थाकेको हुनु पर्छ किनभने अझै पनि उनी निदाउन सफल भए—र सपना देखे ।
निश्चय नै आफ्नो मस्तिष्कमा करारको विवाह र परिवारका योग्य लक्ष्यहरू राख्दै, याकूबले “पृथ्वीमा खडा गरिएको एउटा भर्याङ देखे र त्यसको टुप्पो स्वर्गसम्म पुग्यो: र परमेश्वरका स्वर्गदूतहरू त्यसमा चढ्दै र ओर्लँदै गरेको देखे ।”
“अनि, हेर, परमप्रभु त्यसको माथि उभिनुभयो र भन्नुभयो, म तिम्रा पिता अब्राहामका परमप्रभु परमेश्वर र इसहाकका परमेश्वर हुँ” (उत्पत्ति २८:१२-१३) ।
त्यसपछि परमप्रभुले याकूबलाई केही महत्त्वपूर्ण करारका प्रतिज्ञाहरू गर्नुभयो—प्रतिज्ञाहरू जुन उहाँले याकूबका पिता, इसहाक र उनका हजुरबुबा, अब्राहामसँग पनि गर्नुभएको थियो, जसमा निम्न विषय समावेश छन्:
-
याकूब “धेरै मानिसहरू”का पिता बन्ने प्रतिज्ञाहरू (उत्पत्ति २८:३; पद १४ पनि हेर्नुहोस्) ।
-
याकूबको वंशजका लागि भूमिका प्रतिज्ञाहरू (उत्पत्ति २८:४, १३ हेर्नुहोस्) ।
-
याकूब र उनको “वंशद्वारा पृथ्वीका सबै परिवारहरू आशीषित हुने छन्” (उत्पत्ति २८:१४; जोड दिएर थपिएको) ।
याकूबको अनुभव यति पवित्र थियो कि उनले घोषणा गरे: “निश्चय नै परमप्रभु यस स्थानमा हुनुहुन्छ । … यो अरू केही होइन तर परमेश्वरको गृह हो र यो स्वर्गको ढोका हो” (उत्पत्ति २८:१६-१७) । अनि त्यसैले, याकूबले त्यो क्षेत्रको नाम बेथे-ल राखे, जसको अर्थ “परमेश्वरको गृह” हो ।
याकूबको सपनामा दिइएका प्रतिज्ञा गरिएका आशीर्वादहरूका लागि वास्तविक जीवनमा याकूबले केही लाक्षणिक आरोहण गर्नु आवश्यक थियो । पछिल्ला दिनका सन्तहरूका रूपमा, याकूबको सपना, परमप्रभुका करार र परमप्रभुको गृह बीचको सम्बन्ध देख्न कठिन छैन । मन्दिरहरू याकूबले देखेको भर्याङ जस्तै हुन् । परमप्रभुको गृहका शिक्षा, विधि र करारहरूले स्वर्ग र पृथ्वीलाई जोड्छन् । करारहरूलाई भर्याङका खुड्किलाहरूसँग तुलना गर्न सकिन्छ जसले हामीलाई परमप्रभुको नजिक ल्याउँछन् । अनि, पवित्र मन्दिरहरूमा हामीले दिने पवित्र सेवाद्वारा, हामीले—विगत, वर्तमान र भविष्यका “पृथ्वीका सबै परिवारहरूलाई” आशीर्वाद दिइरहेका छौँ ।
“कस्तो आविष्कार !”
सत्तरीका अवकाशप्राप्त सदस्य एल्डर ब्रुस सी. हाफेनलाई राष्ट्रिय समाचार पत्रिकाका सम्पादकले कुनै समयमा फोन गर्नुभयो । सम्पादकले हालैसालै प्रकाशित भएको एउटा पुस्तकका सम्बन्धमा संवाद गर्न चाहन्थे जसले स्वर्गका सम्बन्धमा विभिन्न धर्महरूमा गारिएको विश्वासको इतिहासको अन्वेषण गरेको थियो ।
जनसमुदायले स्वर्ग—र स्वर्गमा परिवारहरूका लागि तीव्र अभिलाषा महसुस गर्छन्,” भन्ने विषय लेखकहरूले पत्ता लगाए भनेर एल्डर हफेनले लेख्नुभयो । परन्तु जब धेरैजसो मानिसहरूले अझै पनि मृत्युपछिको जीवन, अनन्त प्रेम र स्वर्गको पारिवारिक पुनर्मिलनमा विश्वास गर्दा, “अधिकांश क्रिश्चियन चर्चहरू—एउटा अपवाद: पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चले बाहेक यो आन्तरिक अभिलाषाका लागि थोरै प्रतिक्रिया दिन्छन्” ।
मुक्तिदाताको पुनर्स्थापित चर्चमा, हामीसँग पवित्र मन्दिरहरू छन् । हामीसँग अनन्त विवाह छ, जसमा भौतिक मृत्युभन्दा बाहिर आशीर्वाद दिनका लागि बाँध्ने अधिकार छ । हामीसँग पिता र पुत्रको उपस्थितिमा प्रियजनहरूसँगको अनन्त भविष्यको प्रतिज्ञा छ । यी सबै विषयलाई मध्यनजर गर्दै पछिल्ला दिनका सन्तहरूको स्वर्गको अवधारणा सबैभन्दा पूर्ण—र खुसी छ भनेर म थप्छु भन्ने लेखकहरूले निष्कर्ष निकाले ।
“कस्तो आविश्कार ! एल्डर हाफेनले अवलोकन गर्नुभयो । “आज धेरैजसो मानिसहरू अनन्त परिवारहरूको चाहना गर्छन् र [येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचार] ले अन्य कुनै पनि ज्ञात विचारहरू [वा धार्मिक विश्वासहरू] भन्दा सही रूपमा त्यो चाहनालाई पूरा गर्छ । सम्पूर्ण संसारले ‘परिवारहरू सदैव सँगै रहन सक्छन् भनेर [हाम्रा] सन्ततिहरूले खुसीको खबर गाएको सुन्न सकोस् भन्ने म चाहन्छु । ’”
परिवारहरू केवल एक सुविधाजनक सामाजिक व्यवस्था मात्रै होइनन् । तिनीहरू स्वर्गका अनन्त ढाँचा हुन् । तिनीहरू “आफ्ना सन्ततिहरूको अनन्त गन्तव्यका लागि सृष्टिकर्ताको योजनाका केन्द्रबिन्दु हुन् । ” अध्यक्ष रसेल एम. नेल्सन (१९२४-२०२५) ले हामीलाई सिकाउनुभयो: “[परमप्रभुले] पृथ्वी सृष्टि गर्नुभयो [ताकि] हामी भौतिक शरीरहरू प्राप्त गर्न सकौँ र परिवारहरू सिर्जना गर्न सकौँ । उहाँले परिवारहरूलाई उत्थान गर्न आफ्नो चर्च स्थापना गर्नुभयो । उहाँले मन्दिरहरू प्रदान गर्नुहुन्छ ताकि परिवारहरू सदैव सँगै रहन सकून् । ”
परन्तु मजबुत परिवारहरूमा हाम्रो चासो केवल अनन्त गन्तव्यका सम्बन्धमा मात्रै होइन । हाम्रो मरणशील खुसीमा पनि परिवारले महत्त्वपूर्ण भूमिका खेल्छ । हाम्रा स्वर्गका पिता, जसलाई अहिले र अनन्तसम्म खुसी के ले ल्याउँछ भन्ने विषय पूर्ण रूपमा जानकारी छ, —तिनीहरू जतिसुकै अपूर्ण किन नहून्, उहाँले आफ्ना सन्ततिहरूलाई परिवारहरूमा पठाउनुहुन्छ—र हामीलाई मजबुत परिवारहरू निर्माण र पालनपोषण गर्न आमन्त्रण गर्नुहुन्छ । निस्सन्देह, “अपाङ्गता, मृत्यु वा अन्य परिस्थितिहरूले व्यक्तिगत अनुकूलन आवश्यक पर्न सक्छ ।” परन्तु पति र पत्नी, बुबा र आमाको आवश्यकता, दैवी रूपमा नियुक्त उत्तरदायित्वहरूलाई कुनै पनि रूपमा प्रतिस्थापन गर्न सक्दैन ।
“जैविक, बन्धनयुक्त, दुई-अभिभावक रहेका परिवारहरू”मा भएको अनुसन्धानले “प्रेम र स्नेहको गहिरो बन्धन” जोगाउनका लागि परिवार अपरिहार्य छ भनेर निरन्तर रूपमा देखाउँदै आएको छ । यो “स्थिर, सही रूपमा समायोजित र सामाजिक रूपमा सचेत व्यक्तिहरूका लागि प्रमुख तरिका हो ।”
परिवारका लगनशील रक्षकहरू
निस्सन्देह, परमेश्वरको योजनाका लागि यति महत्त्वपूर्ण विषयले पनि विरोधको सामना गर्नु पर्छ भन्दा हामी आश्चर्यचकित हुनु पर्दैन । सैतान कहिल्यै पनि परिवारमैत्री भएको छैन र उसका प्रयासहरू झन् झन् जरुरी हुँदै गइरहेका छन् “किनभने उसको समय थोरै मात्रै छ भनेर उसलाई जानकारी छ” (प्रकाश १२:१२) । बाह्र प्रेरितहरूको गणका कार्यवाहक अध्यक्ष एम. रसल बलार्ड (१९२८-२०२३) ले भन्नुभए जस्तै परमप्रभुको कार्यमा बाधा पुर्याउने सबैभन्दा सुनिश्चित र प्रभावकारी तरिका भनेको परिवारको प्रभावकारिता र घरको पवित्रतालाई घटाउनु हो भनेर “सैतानलाई जानकारी छ ।”
परमेश्वरका अनन्त परिवार, उहाँका सन्ततिहरूका लागि उहाँको योजना र पारिवारिक सम्बन्धको अनन्त महत्त्वका सम्बन्धमा हामीलाई के जानकारी छ भन्ने सम्बन्धमा जानकारी भएका कारण हामी परिवारका लागि संसारका सबैभन्दा लगनशील रक्षकहरूमध्येका एक हुनु पर्छ ।
हामीले यो कसरी गर्छौँ ?
अध्यक्ष ड्यालिन एच. ओक्सले यो सल्लाह दिनुभयो: “पारिवारिक घोषणा … हामीले चाहिने परमप्रभुको सुसमाचारको सत्यताहरूको पुनः जोड दिनु हो जसको हाम्रा परिवारसामु रहेका चुनौतीहरूको सामना गर्नको लागि आवश्यक छ ।”
हाम्रो व्यक्तिगत जीवनमा, हामी पारिवारिक सम्बन्धलाई मजबुत बनाउने “साना र सरल कार्यहरू” (अल्मा ३७:६) गर्न सक्छौँ । यसले “विश्वास, प्रार्थना, पश्चात्ताप, क्षमापन, सम्मान, प्रेम, करुणा, काम र स्वस्थ मनोरञ्जनका क्रियाकलापहरूसहित पारिवारिक घोषणामा उल्लिखित सफल परिवार र विवाहका सिद्धान्तहरूलाई पालना गर्नुलाई समावेश गर्छ ।” हाम्रो वर्तमान पारिवारिक अवस्था जस्तोसुकै भए तापनि पारिवारिक सम्बन्धहरू हाम्रा लागि अनन्त रूपमा महत्त्वपूर्ण छन् भनेर हामी हाम्रा कार्यहरूद्वारा देखाउन सक्छौँ ।
हाम्रा समुदायहरूमा “जिम्मेवार नागरिक”का रूपमा, हामी “परिवारलाई व्यवस्थापन गर्न र मजबुत बनाउनका लागि निर्धारण गरिएका ती मापनहरूलाई प्रवर्द्धन गर्न सक्छौँ ।”
हामी परमप्रभुका अन्तिम दिनका करारका जनहरू हौँ । हामी अब्राहाम, इसहाक र याकूबलाई गरिएका—परिवारहरूसँग सम्बन्धित सबै प्रतिज्ञाहरूका उत्तराधिकारी हौँ । ती प्रतिज्ञाहरू “पृथ्वीका सबै परिवारहरूलाई” आशीर्वाद दिने पवित्र आह्वानसँगै आउँछन् । अनि हामीले त्यसो गर्ने एउटा महत्त्वपूर्ण तरिका भनेको “परिवार परमेश्वरद्वारा नियुक्त गरिएको हो” र “पवित्र मन्दिरहरूमा उपलब्ध विधि र करारहरूले व्यक्तिहरूलाई परमेश्वरको उपस्थितिमा फर्कन र परिवारहरूलाई अनन्त रूपमा एकताबद्ध हुन सम्भव बनाउँछ” भन्ने अनन्त सत्यअनुसार जिउनु, अनन्त सत्यलाई रक्षा गर्नु र बाँड्नु हो ।
“म तिम्रो साथमा छु” ।
जब सिस्टर उक्डोर्फ र मैले हाम्रा परिवारका सदस्यहरूले हाम्रा प्रिय, स्वर्गका अनन्त पितासँग पवित्र करारहरू गरेको देख्छौँ, हाम्रो हृदय प्रसन्नता र कृतज्ञताले भरिपूर्ण हुन्छ । हामी हाम्रा छोराछोरीहरू र तिनीहरूका छोराछोरीहरूमा मात्रै नभई हाम्रा आमाबुबा र उहाँहरूका आमाबुबाहरूमा पनि आनन्दित हुन्छौँ । सुसमाचारका करारहरूले हामीलाई हाम्रा पुस्ताहरूमा कसरी एकताबद्ध गर्छन् भनेर हामी प्रगाढ प्रेमसहित विचार गर्छौँ । यो एउटा अनुभव हो जुन … यसको माथिल्लो भाग स्वर्गमा [पुग्दै] गरेको “पृथ्वीमा स्थापित् भर्याङ र परमेश्वरका स्वर्गदूतहरू त्यसमा चढ्दै र ओर्लँदै गरेको देख्नु भन्दा भिन्न छैन (उत्पत्ति २८:१२) ।
परमप्रभुले याकूबलाई आफ्नो सपनामा प्रतिज्ञा गर्नुभएको आशीर्वाद—तपाईं र मसहित उहाँका सबै करारबद्ध सन्ततिहरूमा प्रसारित छ । जसरी परमप्रभुले याकूबका लागि गर्नुभयो, यदि हामीले उहाँलाई छनोट गर्यौँ भने उहाँले “[हाम्रा] सङ्कष्टका दिनमा” (उत्पत्ति ३५:३) हामीलाई जवाफ दिनुहुने छ ।
“हेर,” परमप्रभुले भन्नुभयो, हेर, म तिमीसँगै छु र तिमी जहाँसुकै गए तापनि तिमीलाई रक्षा गर्ने छु, … म तिमीलाई छोड्ने छैनँ । (उत्पत्ति २८:१५) ।
याकूबले जस्तै हामी सबैले पार गर्नुपर्ने उजाडस्थान छ । कहिलेकाहीँ प्रतिज्ञा गरिएका आशीर्वादहरू धेरै टाढा छन् जस्ता देखिन्छन् । जब गम्भीर समस्याहरू वा चुनौतीहरू आउँछन्, हामीले परमप्रभुको प्रेममाथि प्रश्न उठाउन सक्छौँ । परमेश्वरले हामीलाई त्याग्नुभएको जस्तो पनि हामीलाई महसुस हुन सक्छ । शिष्यत्वमा हाम्रा उत्कृष्ट प्रयासहरूका बावजुद, हामीले आशा गरेका आशीर्वादहरू प्राप्त गरिरहेका छैनौँ भन्ने हामीलाई महसुस हुन सक्छ ।
दाजुभाइ र दिदीबहिनीहरू, प्रिय मित्रहरू, करार मार्ग प्रसन्नदायी मार्ग हो, यद्यपि कहिलेकाहीँ यो आँसुले रङ्गिएको हुन सक्छ । यदि खुसीको योजनाका केही अंशहरू हाल् तपाईंको जीवनमा पूरा भएका छैनन् भन्ने तपाईंलाई महसुस हुन्छ भने कृपया परमप्रभु तपाईंका सम्बन्धमा सचेत हुनुहुन्छ र उहाँको ज्ञानअनुसार उहाँको उचित समयमा तपाईंलाई आशीर्वाद दिनुहुने छ भनेर भरोसा गर्नुहोस् ।
येशू ख्रीष्ट र उहाँका प्रतिज्ञाहरूमा आस्थाले हामीलाई पछाडि नभई अगाडि हेर्नका लागि प्रेरित गर्छ । उहाँका कारण हाम्रो भविष्य विगतमा घटेको वा अहिले हाम्रो दृष्टिकोणलाई अवरुद्ध गरिरहेको कुनै पनि विषयका करण परिमार्जन गर्नु पर्दैन । हो, हामी सबै कुनै न कुनै रूपमा घाइते छौँ, वा हुने छौँ । परन्तु हामी महान् चङ्गाइदातामा विश्वास गर्छौँ । हामी उहाँमाथि भरोसा गर्छौँ—वास्तवमा, हामी पूर्ण रूपमा “विश्वस्त” भएर तिनीहरू अझै “टाढा”का जस्ता महसुस हुँदा पनि उहाँका प्रतिज्ञाहरूलाई आत्मसात गर्छौँ । (हिब्रू ११:१३) ।
अध्यक्ष नेल्सनले भन्नुभयो, “परमप्रभुको आफ्नै तरिका र समयमा उहाँका आस्थावान् सन्तहरूबाट कुनै पनि आशीर्वाद रोक लगाइएको हुने छैन भनेर हामी सबैलाई स्मरण गराऔँ ” । “परमप्रभुले प्रत्येक व्यक्तिलाई हृदयको चाहना र कर्मअनुसार न्याय र पुरस्कार दिनुहुने छ ।”
जब हामी परिवारहरूका लागि स्वर्गका हाम्रा पिताको योजनालाई अनुसरण गर्छौँ र बाँड्छौँ, उहाँ हामीसँग हुनुहुने छ, हामीलाई समर्थन गर्नुहुने छ र हाम्रो यात्रामा हामीसँग सहभागी हुनुहुने छ भनेर म प्रतिज्ञा गर्छु । उहाँले हामीलाई कहिल्यै एक्लै छोड्नुहुने छैन, विशेष गरी जब हामीमाथि वा हाम्रा प्रियजनहरूमाथि परीक्षाहरू आउँछन् । उहाँले हामीलाई बोक्नुहुने छ, हामीलाई उठाउनुहुने छ र उहाँसँगै उहाँका पुत्र, येशू ख्रीष्टसँग र हाम्रा परिवारहरूसँगै—अनन्त रूपमा आनन्दको पूर्णताको प्रतिज्ञा गरिएको भूमिमा ल्याउनुहुने छ ।
© 2026 Intellectual Reserve, Inc. All rights reserved. संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, March 2026. को अनुवाद Nepali. 19937 372