एशिया क्षेत्रका अगुवाइका सन्देश
मेरा करारहरूले मलाई कठिन समयमा अडिग रहन सहयोग गर्छन्
बप्तिस्मापछि हामीले प्रमाणीकरण र पवित्र आत्माको उपहार प्राप्त गर्छौँ । पवित्र आत्माले हामीलाई सान्त्वना दिन्छ र जीवनका चुनौतीहरूमा मार्गदर्शन गर्छ । पवित्र आत्मासँग हाम्रो सञ्चार खोल्नका लागि, हामीले परमेश्वरको आज्ञा पालना गरेर धर्मशास्त्रको अध्ययन र चिन्तन गर्न शान्त समय निकालेर र त्यो शान्त, मधुर आवाजलाई सुनेर आफूलाई शुद्ध राख्नु पर्छ ।
मेरो पहिलो बालक जन्मेको पहिला केही महिनाभरि, राती हाम्रो बालकको हेरचाह गर्न मेरी श्रीमतीलाई सहयोग गर्दा म थकित हुन्थेँ । केही दिनहरूमा मैले धर्मशास्त्रको अध्ययन गर्न छोडेँ । मलाई मेरो जीवन अस्त-व्यस्त भएको महसुस भयो अनि परिवर्तन गर्नु आवश्यक छ भन्ने मलाई महसुस भयो । मैले हरेक बिहान एक घण्टा पहिले नै उठेर इन्स्टिट्यूटको पुस्तिकासँगै मोर्मोनको पुस्तक अध्ययन गर्ने निर्णय गरेँ । मैले मेरा बोझहरू बोक्न अझै बढी आत्मिक सामर्थ्य प्राप्त गरेँ । पवित्र आत्माको साहचार्यबाट मैले अझ बढी प्रसन्नता र शान्ति महसुस गरेँ ।
गत वर्ष, मेरी श्रीमतीले एक अति नै दुःखद खबर पाइन् । उनका आमा र बुबा दुबैलाई क्यान्सर भएको पत्ता लाग्यो । केही महिनापछि मेरो आफ्नै बुबाको शल्यक्रिया भयो अनि मेरी श्रीमतीलाई दुईवटा स्तन सिस्ट भएको पत्ता लाग्यो जुन क्यान्सर हुन सक्थ्यो । खुसीको विषय, शल्यक्रिया पछिको नतिजाले क्यान्सर देखाएन । त्यसपछि हाम्री छोरीलाई एपेन्डिसाइटिस भयो । यो सबै छ महिना भित्र भएको थियो र तिनीहरूमध्ये कसैको पनि यसपूर्व कहिल्यै शल्यक्रिया भएको थिएन । लगभग त्यही समयमा, मलाई चर्चमा नयाँ बोलावट दिइयो जसमा धेरै यात्रा र समयको आवश्यकता पर्थ्यो र मेरो नयाँ जागिरका कारण म धेरैजसो रात ढिलासम्म काम गर्थेँ ।
मुक्तिदाताले मात्रै मलाई यी चुनौतीहरूको सामना गर्न सहयोग गर्न सक्नुहुन्छ मलाई ज्ञान थियो । मैले धर्मशास्त्र अध्ययन गर्न बढी समय निकालेर, यात्राको क्रममा साधारण सम्मेलनका व्यक्तव्यहरू सुनेर र मन्दिरमा आराधना गरेर उहाँसँग नजिक हुने प्रयास गरेँ । मैले चिन्ताले ग्रसित नहुने तर सेलेस्टियल सोच राख्ने र मन्दिरमा गरेका करारहरूको शक्तिमा निर्भर रहने छनोट गरेँ । यसले ममा शान्ति ल्यायो । “शान्ति म तिमीहरूसँग छोड्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु: संसारले दिने जस्तो म तिमीहरूलाई दिन्नँ । तिमीहरूको हृदय व्याकुल नहोस् र न त भयभीत नै होस्” (यूहन्ना १४:२७) ।
यी अनुभवहरूले मलाई मुक्तिदाताको नजिक ल्याएको छ । पवित्र विधिहरूका माध्यमद्वारा मैले गरेका करारहरूले स्वर्गका पिता र येशू ख्रीष्टसँगको मेरो सम्बन्धलाई मजबुत बनाएको छ । म वास्तवमा नै विश्वास गर्छु कि “…त्यसका विधिहरूमा ईश्वरीयपनको शक्ति प्रकट हुन्छ” (सिद्धान्त र करार ८४:२०) । जब हामी मन्दिरमा करार गर्छौँ, हामी आफू र आफ्ना परिवारका लागि स्वर्गबाट शक्ति प्राप्त गर्न सक्छौँ । हामी हेलामानका शिक्षामा निर्भर रहन सक्छौँ: “…यो उद्धारकर्ताको चट्टानमाथि हो, जो ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ कि तिमीहरूले आफ्नो आधार बनाउनु पर्छ; कि जब सैतानले आफ्ना शक्तिशाली हुरी, हो, हावाको भूमरीका उसका तीरहरू पठाउँछ, हो, जब उसका सबै असिना र उसका शक्तिशाली आँधीले तिमीहरूलाई हिर्काउँछ, तिनीहरूसँग तिमीहरूलाई शोकको अनन्त खाडी र अन्त्यहीन धिक्कारतर्फ घिसार्ने शक्ति हुने छैन, तिमीहरूलाई बनाइएको आधार बसालेको चट्टानका कारण, जुन मजबुत आधार हो, आधार यदि त्यसमा मानिसहरूले बनाए उनीहरूको पतन हुन सक्दैन ।
करारहरू निर्माण र पालना गरेर जब हामी मुक्तिदाताको मजबुत आधार निर्माण गर्छौँ, परीक्षाहरू आउँदा हामीले मानसिक शान्ति पाउन सक्छौँ र भविष्यका चुनौतीहरूका लागि तयार हुन सक्छौँ । बप्तिस्मापछि जब हामी थप करारहरू गर्छौँ—जसमा पादरित्वमा नियुक्ति, इन्डावमेन्ट र सिलिङका कार्यहरू समावेश हुन्छन्—हामीले परमेश्वरसँगको नजिकको सम्बन्धको आशीष प्राप्त गर्छौँ । हामी प्रत्येक विधिले हाम्रो जीवनमा ल्याउने आशीर्वादहरूका हकदार हुन्छौँ । परमेश्वरको उपस्थितिमा पूर्ण आत्मविश्वास प्राप्त नगरेसम्म हाम्रो आस्था अझ मजबुत हुँदै जाने छ । जब हामी हरेक विचारमा उहाँलाई हेर्छौँ, हामी “शङ्का गर्ने छैनौँ, भयभीत हुने छैनौँ” (सिद्धान्त र करार ६:३६) ।
येशू ख्रीष्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ र उहाँ जीवित हुनुहुन्छ भनेर म मेरो गवाही दिन्छु । उहाँलाई हाम्रा आवश्यकताहरूको ज्ञान छ र करारहरू लिने र पालना गर्नेहरूलाई सांसारिक अनिश्चितता र भयबाट सुरक्षित राख्ने प्रतिज्ञा उहाँले गर्नुभएको छ । हामी सधैँ उहाँको शान्ति हामीसँग राख्न सक्छौँ र जीवनका सबै चुनौतीहरूलाई आत्मविश्वाससहित पार लगाउन सक्छौँ । ■