युवाहरूको शक्तिका लागि मासिक सन्देश, अगष्ट २०२५
परमेश्वर कोहुनुहुन्न
हाम्रा स्वर्गका पिताका सम्बन्धमा ५ सत्यहरू
परमेश्वर को हुनुहुन्छ भन्ने सम्बन्धमा हामीले धेरै सिक्न सक्छौँ जब हामी बुझ्छौँ कि उहाँ को हुनुहुन्न ।
कमिला ग्रेद्वारा चित्रण
परमेश्वरले आफूलाई र आफ्नो चरित्रलाई प्रिय स्वर्गका पिताका रूपमा प्रकट गर्नु पुनर्स्थापनाका महान् आशीर्वादहरू मध्ये एक आशीर्वाद हो । परन्तु यदाकदा हामीसँग परमेश्वरका सम्बन्धमा त्यस्ता सोच वा विचारहरू छन् जुन सत्य हुँदैनन् । जब यो हुन्छ, हामीले परमेश्वर को हुनुहुन्न भन्ने बुझेर उहाँ को हुनुहुन्छ भन्ने सम्बन्धमा धेरै सिक्न सक्छौँ ।
टाढा, सिंहासनमा बस्नुहुने कुनै अपरिचित व्यक्ति परमेश्वर हुनुहुन्न ।
उहाँ तपाईंले परिकल्पना गर्न सक्ने सबैभन्दा असल सांसारिक पिता भन्दा पनि अद्भुत हाम्रा पिता हुनुहुन्छ । हामीले उहाँसँगको हाम्रो पूर्व-नश्वर जीवन सम्झन नसकेता पनि, उहाँले हामीलाई व्यक्तिगत र परिपूर्ण रूपमा चिन्नुहुन्छ । उहाँको मासु र हड्डीको परिपूर्ण शरीर छ र हामी उहाँको स्वरूपमा छौँ ।
यदि तपाईंलाई परमेश्वर कस्तो हुनुहुन्छ भनेर चित्रण गर्न कठिन भइरहेको छ भने, उहाँको पुत्र, येशू ख्रीष्ट: त्यसको एक उत्तम उदाहरण हुनुहुन्छ । ख्रीष्टले भन्नुभयो, “म मार्ग, सत्य र जीवन हुँ: मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । यदि तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्ने थियौ ।” (यूहन्ना १४:६-७) । अर्को शब्दमा, यदि हामी स्वर्गका पिता कस्तो हुनुहुन्छ भनेर बुझ्न चाहन्छौँ भने, हामी येशू ख्रीष्ट कस्तो हुनुहुन्छ भनेर बुझ्न सक्छौँ! उहाँहरू उद्देश्यमा परिपूर्ण रूपमा एकताबद्ध हुनुहुन्छ ।
तपाईंका लागि अति नै व्यस्त व्यक्ति परमेश्वर हुनुहुन्न ।
वास्तवमा, तपाईंलाई अनन्त जीवन प्राप्त गर्न सहयोग गर्नु उहाँको कार्य र उहाँको महिमा हो । तपाईं उहाँको सर्वोच्च प्राथमिकता हुनुहुन्छ! उहाँ हामी जस्तै समयको बन्धनमा बाँधिनु भएको छैन । कुनै पनि समयमा प्रार्थनामा उहाँकहाँ जानुहोस् । त्यसपछि धेरै तरिकाहरूद्वारा उहाँले दिनुहुने उत्तरहरूलाई सुन्नुहोस् ।
उहाँलाई अनुसरण गर्नका लागि तपाईंलाई बाध्य पार्ने व्यक्ति परमेश्वर हुनुहुन्न ।
बाह्र प्रेरितहरूको गणका एल्डर डेल जी. रेनलण्डले कुनै समयमा सिकाउनुभएको थियो, “हाम्रा स्वर्गका पिताको अभिभावकत्वको लक्ष्य उहाँका सन्ततिहरूलाई सही कार्य गर्न लगाउनु होइन; उहाँको लक्ष्य भनेको उहाँका सन्ततिहरूलाई सही कार्य गर्नका लागि छनोट गर्न र अन्ततः उहाँ जस्तै बन्न लगाउनु हो ।” उहाँले तपाईंलाई आमन्त्रण गर्नुहुने छ, तपाईंसँग परामर्श गर्नुहुने छ र सत्य सिकाउनुहुने छ तर उहाँले तपाईंलाई उहाँलाई अनुसरण गर्नका लागि बाध्य पारेर तपाईंको छनोटको स्वतन्त्रता हटाउनुहुने छैन ।
परमेश्वर त्यस्तो व्यक्ति हुनुहुन्न जसले तपाईंलाई केही गलत गरिरहेको समयमा पक्रने प्रयास गरिरहनुभएको छ ताकि उहाँले तपाईंलाई सजाय दिन सक्नुहुन्छ ।
बरु, बाह्र प्रेरितहरूको गणका एल्डर प्याट्रिक किरनले भन्नुभएको जस्तै, “परमेश्वर तपाईंको निरन्तर खोजीमा हुनुहुन्छ, “जसको अर्थ उहाँले तपाईंलाई उहाँकहाँ फर्कनका लागि सहयोग गर्ने प्रयासलाई कदापि छोड्नुहुने छैन । हामीले सबैले गल्ती गर्दा स्वाभाविक रूपमा कठिन परिस्थितिहरूको सामना गर्ने छौँ भनेर उहाँले बुझ्नुहुन्छ । त्यसैले पापबाट शुद्ध पार्न र उहाँका पुत्रको प्रायश्चितका माध्यमद्वारा शक्ति प्राप्त गर्नका लागि उहाँले हामीलाई एक मार्ग प्रदान गर्नुहुन्छ ।
परमेश्वर त्यस्तो व्यक्ति हुनुहुन्न जसले तपाईंलाई प्रेम गर्नु पूर्व तपाईं “पर्याप्त” वा “परिपूर्ण” हुनका लागि प्रतिक्षा गरिरहनुहुन्छ ।
तपाईंका लागि उहाँको प्रेम असीमित छ । तपाईं जति नै अपूर्ण भए तापनि उहाँले तपाईंलाई अहिले पनि प्रेम गर्नुहुन्छ! बाह्र प्रेरितहरूको गणका कार्यवाहक अध्यक्ष, अध्यक्ष जेफ्री आर. हल्याण्डले यस सत्यका सम्बन्धमा प्रभावशाली स्पष्टीकरण दिनुहुन्छ: “‘तिमीहरू जस्तो छौ त्यस्तै रूपमा आऊ,’ भनेर प्रिय पिताले हामी प्रत्येकलाई भन्नुहुन्छ, परन्तु ‘तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहने प्रयास चाहिँ नगर्नुहोस्’ भनेर उहाँले थप्नुहुन्छ । हामी मुस्कुराउँछौँ र सम्झन्छौँ कि हामीलाई हामीले महसुस गरेको भन्दा पनि बढी बनाउन परमेश्वर दृढ हुनुहुन्छ ।” परिपूर्ण प्रेम र प्रोत्साहन सहित, स्वर्गका पिताले तपाईंलाई उहाँ जस्तै बन्न र उहाँसँग भएका सबै वस्तुहरू प्राप्त गर्नका लागि एक पटकमा एक कदम गर्दै सहयोग गर्न प्रयास गरिरहनुभएको छ ।
परमेश्वर को हुनुहुन्छ
आफ्ना स्वर्गका पितालाई चिन्ने सबैभन्दा उत्तम तरिका भनेको उहाँलाई निरन्तर रूपमा अनुभव गर्नु हो । कसरी ? धर्मशास्त्रहरू र जीवित अगमवक्ताहरूका वचनहरूबाट उहाँ र उहाँका पुत्रका सम्बन्धमा बुझ्नुहोस् । उहाँलाई प्रार्थना गर्नुहोस् । उहाँका आज्ञाहरू पालना गर्नुहोस् । चर्च, मन्दिर र अन्य पवित्र स्थानहरूमा उहाँको आराधना गर्दै शान्त, व्यक्तिगत समय यापन गर्नुहोस् । उहाँसँग करारहरू गर्नुहोस् र तिनीहरूको पालना गर्नुहोस् । उहाँ को हुनुहुन्छ र उहाँले तपाईंका सम्बन्धमा कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्न उहाँले तपाईंलाई सहयोग गर्नुहुने छ।
© २०२५ Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, August 2025 को अनुवाद । Nepali. 19616 372