“हाम्रो जीवनको सत्य,” लियाहोना, अगस्ट २०२५ ।
लियाहोना मासिक सन्देश, अगष्ट २०२५
हाम्रो जीवनको सत्य
हाम्रा स्वर्गका प्रिय पिताले हाम्रो विगत, वर्तमान र भविष्यका सत्यहरू प्रकट गर्नुभएको छ जसमा सबै उपहारहरूमध्ये सबैभन्दा महान् उपहार कसरी प्राप्त गर्ने भन्ने विषय पनि समावेश छ ।
जनवरी २२, १८३३ मा ओहायोको कर्टल्याण्डमा सिँढीहरू माथि, रहेको नुवल के. व्हिटनीको स्टोर माथिको सानो, साँघुरो कोठामा चर्चका एल्डरहरू अगमवक्ता जोसेफ स्मिथसँग एकत्रित हुनुभयो । अघिल्लो वर्षको डिसेम्बरमा, जोसेफले उहाँलाई प्रमुख रूपमा सुसमाचार प्रचारका लागि बन्धुहरूलाई तयार पार्न एक विद्यालयको स्थापना गर्न निर्देशन दिने प्रकाश प्राप्त गर्नुभएको थियो ।
“म तिमीहरूलाई एक आज्ञा दिन्छु,” परमप्रभुले घोषणा गर्नुभएको थियो, “तिमीहरूले एक-अर्कालाई अधिराज्यका सिद्धान्त सिकाउने छौ ।
“तिमीहरूले लगनशीलतापूर्वक सिकाओ र मेरो अनुग्रह तिमीहरूमा रहने छ ताकि आधारभूत सिद्धान्तमा, सिद्धान्तमा, सुसमाचारको नियममा, परमेश्वरको अधिराज्यसँग सम्बन्धित सबै विषयहरूमा, तिमीहरूलाई पूर्ण रूपमा निर्देशन दिन सकिन्छ, जुन तिमीहरूलाई बुझ्नका लागि उपयुक्त छन्; …
“ताकि तिमीहरू सबै विषयमा तयार रहन सक्ने छौ जब मैले तिमीहरूलाई बोलावट गरेको बोलावटलाई सम्मान गर्न तिमीहरूलाई पुनः पठाउने छु अनि जुन सुसमाचारको प्रचारका साथ मैले तिमीहरूलाई अधिकार दिएको छु ।” (सिद्धान्त र करार ८८:७७-७८, ८०) ।
यो “अगमवक्ताहरूको पाठशाला,” जसलाई यो भनिन्थ्यो, ले अद्भुत आध्यात्मिक बहाव प्रदान गर्यो । चर्चका धेरै प्रारम्भिक अगुवाहरूलाई त्यहाँ सिकाइएको थियो । आजको संसार पूर्णतया भिन्न स्थान हो तर परमप्रभुले त्यस समयमा दिनुभएको मार्गदर्शन अझै पनि अविश्वसनीय रूपमा लागू हुन्छ । हामीले पनि “ती विषयहरूको ज्ञान हो जुन तिनीहरू छन्, तिनीहरू जस्तै थिए र तिनीहरू आउने छन्” भन्ने ज्ञान र सत्यता खोज्नु पर्छ (सिद्धान्त र करार ९३:२४) ।
सत्यका लागि हाम्रो खोजी
हामी जिइरहेको यस युगमा, हामीलाई यसपूर्व भन्दा धेरै ज्ञान उपलब्ध छ । विगतमा, यदि तपाईं केही बुझ्न चाहनुहुन्छ भने तपाईंले पुस्तकालयमा गएर त्यसलाई खोज्नु पर्थ्यो । इन्टरनेट र इलेक्ट्रोनिक उपकरणहरूले आज हामीले तत्कालै प्राप्त गर्न सक्ने प्रायशः अन्तहीन जानकारीमा पहुँच प्रदान गर्छन् ।
हामीले उपलब्ध स्रोतहरूको बुद्धिमानीपूर्वक प्रयोग गर्दा परमप्रभु खुसी हुनुहुन्छ तर उहाँले यो कालातीत सल्लाह प्रदान गर्नुभएको छ: “लगनशीलतापूर्वक खोज र एक-अर्कालाई ज्ञानका वचनहरू सिकाओ; हो, उत्कृष्ट पुस्तकहरूबाट ज्ञानका वचनहरू प्राप्त गर; शिक्षा प्राप्त गर, अध्ययन गरेर समेत र आस्थाद्वारा समेत” (सिद्धान्त र करार ८८:११८) । उहाँले हामीलाई हाम्रो वरपरको संसारका सम्बन्धमा बुझ्न प्रोत्साहन गर्नुहुन्छ (सिद्धान्त र करार ८८:७९; ९३:५३ हेर्नुहोस्) तर सत्यको खोजीमा, हामीले परमेश्वरतर्फ हेर्नु पर्छ, जसले “सबै विषयहरू बुझ्नुहुन्छ र सबै विषयहरू उहाँका अगाडि छन्, … र उहाँ सबै विषयहरू भन्दा माथि हुनुहुन्छ, …र सबै उहाँद्वारा छन् र उहाँबाट हुन्,” (सिद्धान्त र करार ८८:४१) ।
परमेश्वरले हामीलाई दिनुभएका सत्यताहरू मध्ये, पृथ्वीमा हाम्रो जीवनका लागि सबैभन्दा आधारभूत विषयहरू मध्येको एक उहाँ स्वर्गका हाम्रा पिता हुनुहुन्छ भन्ने हो । हामी उहाँका आत्मिक छोराहरू र छोरीहरू हौँ । उहाँले हामीलाई पूर्ण रूपमा चिन्नुहुन्छ र प्रेम गर्नुहुन्छ । अनि उहाँका आत्मिक सन्ततिका रूपमा, हामीसँग दैवी प्रकृति र गन्तव्य छ । यी अनन्त सत्यहरूलाई बुझ्नाले र अनुसरण गर्नाले हामीलाई पहिचान, मूल्य र उद्देश्य प्रदान गर्छ जसले हामीलाई हाम्रो यस पूर्वको जीवनमा आशीषित र मार्गदर्शन गर्यो र अहिले अनि सदाका लागि निरन्तर रूपमा गरिरहने छ ।
प्रारम्भमा हामी पितासँग थियौँ
जब हामी विषयवस्तुहरूको सत्यता “जस्तो थियो” त्यस्तै रूपमा खोज्छौँ, तब हामी हाम्रा मुक्तिदाता, येशू ख्रीष्टबाट यी वचनहरू पत्ता लगाउँछौं: “अनि अब, साच्चैँ नै म तिमीहरूलाई भन्छु, म प्रारम्भमा पितासँग थिएँ र म सर्वप्रथम जन्मेको हुँ,” र “तिमीहरू पनि प्रारम्भमा पितासँग थियौ” (सिद्धान्त र करार ९३:२१, २३) ।
पृथ्वीको हाम्रो जीवनपूर्व, हामी स्वर्गमा एक परिषद् मा उपस्थित भयौँ जहाँ स्वर्गका हाम्रा पिताले खुसीको आफ्नो महान् योजना प्रस्तुत गर्नुभयो । उहाँको योजनाका लागि परमेश्वरको प्रेरणा भनेको हामीलाई “उहाँ समान अगाडि बढ्ने सौभाग्य प्रदान गर्नु हो [र] … उहाँसँग उच्च पारिनु हो” भनेर अगमवक्ता जोसेफ स्मिथले सिकाउनुभयो । उहाँको कार्य र महिमा “मानिसका लागि अमरता र अनन्त जीवन ल्याउनु” हो (मोशा १:३९) ।
हामीले हाम्रो छनोटको स्वतन्त्रता प्रयोग गर्यौँ र स्वर्गका पिताको योजना पालना गर्न छनोट गर्यौँ । हामी यस जीवनमा जन्मन पाउँदा धन्य भएका छौँ जहाँ हामीसँग छनोटको स्वतन्त्रता छ र हामी मरणशीलताको अनुभव गर्न, सिक्न र अनन्त जीवनतर्फ प्रगति गर्न सक्छौँ ।
हाम्रो मरणशील यात्राका क्रममा, हामीले चुनौतीहरू र अवरोधहरू अनुभव गर्ने छौँ । परन्तु हामीले जीवनका कठिनाइहरूको सामना एक्लै गर्नु आवश्यक छैन । जोसेफ स्मिथले सिकाउनुभयो कि स्वर्गका पिता, “ब्रह्माण्डका महान् अभिभावक[,] ले सम्पूर्ण मानव परिवारलाई पितातुल्य हेरचाह र पितृत्वको सम्मानले हेर्नुहुन्छ ।”
हाम्रा स्वर्गका पिता, “कृपाका पिता र सम्पूर्ण सान्त्वनाका परमेश्वर,” ले हामीलाई आशीर्वाद दिनुहुने छ, हामीलाई उठाउनुहुने छ र “हाम्रा सबै सङ्कष्टमा सान्त्वना दिनुहुने छ ताकि हामी कुनै पनि समस्यामा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ जुन सान्त्वना परमेश्वरबाट हामीले प्राप्त गरेका छौँ” (२ कोरिन्थी १:३-४) । उहाँको योजनाको एक आवश्यक अंशका रूपमा स्वर्गका पिताले हामीलाई उहाँकहाँ फर्कने मार्ग प्रदान गर्नुभएको छ ।
हाम्रा पिताकहाँ जाने मार्ग
“विषयवस्तुहरू वास्तवमा जस्ता छन् त्यस्तै” (याकूब ४:१३) मा सत्यता स्पष्ट हुन्छ: हामी एक्लै हाम्रा स्वर्गका पिताका सन्ततिका रूपमा हाम्रो पूर्ण क्षमतामा पुग्न सक्दैनौँ । आत्मामा पिताका जेष्ठ सन्तति येशू ख्रीष्टले हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुन करार गर्नुभयो ।
“पिताका जन्माइएका एक मात्रको महिमाका रूपमा, अनुग्रह र सत्यताले भरिएको, सत्यको आत्मा समेत, … जो आएर शरीरमा वास गर्नुभयो र हामी बीचमा वास गर्नुभयो ।” (सिद्धान्त र करार ९३:११) । उहाँ हामीलाई यस जीवन र अनन्ततामा खुसी, जीवनको अर्थ र आनन्द प्राप्त गर्नका लागि मार्ग प्रदर्शन गर्नका लागि आउनुभयो ।
“किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।
“किनकि परमेश्वरले संसारलाई दोषी ठहर्याउन भनी उहाँका पुत्रलाई संसारमा पठाउनुभएन; तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो (यूहन्ना ३:१६-१७) ।
मुक्तिदाताको भौतिक अनुभव महत्त्वपूर्ण छ । उहाँले “सुरुमा परिपूर्णता प्राप्त गर्नुभएन तर अनुग्रहका लागि अनुग्रह प्राप्त गर्नुभयो;” (सिद्धान्त र करार ९३:१२) । उहाँ “पिताको महिमाको परिपूर्णता” र “स्वर्ग र पृथ्वी दुबैमा सबै शक्ति प्राप्त नगर्नुहुँदासम्म” हुर्कनुभयो र पिताको महिमा उहाँसँग थियो किनकि पिता उहाँमा वास गर्नुभयो” (सिद्धान्त र करार ९३:१६-१७) । मुक्तिदाताले सिकाउनुभयो:
“म तिमीहरूलाई यी वचनहरू दिन्छु ताकि तिमीहरूले बुझ्न र आराधना गर्ने तरिका बुझ्न सक्षम हुन सक्छौ र तिमीहरूले के आराधना गर्छौ भनेर जान्न सक्षम हुन सक्छौ ताकि तिमीहरू मेरो नाममा पिताकहाँ आउन सक्षम हुन सक्छौ र उचित समयमा उहाँको परिपूर्णता प्राप्त गर्न सक्षम हुन सक्छौ ।
“किनकि यदि तिमीहरूले मेरा आज्ञाहरू पालना गर्यौ भने तिमीहरूले उहाँको परिपूर्णता प्राप्त गर्ने छौ र म पितामा भए जस्तै ममा महिमित हुने छौ; त्यसकारण, म तिमीहरूलाई भन्छु, तिमीहरूले अनुग्रहका लागि अनुग्रह प्राप्त गर्ने छौ ।” (सिद्धान्त र करार ९३:१९-२०) ।
गेतसेमनेको बगैँचामा र क्रूसमा, येशू ख्रीष्टले संसारका पापहरू आफूस्वयम् मा लिनुभयो र सबै दु:खहरू र “पीडाहरू, कष्टहरू र सबै प्रकारका प्रलोभनहरू” सहनुभयो (अल्मा ७:११) । यसले “[उहाँलाई], … सबै भन्दा महान्, पीडाका कारणले कपायो र हरेक प्वालबाट रगत बग्यो” (सिद्धान्त र करार १९:१८) । येशू ख्रीष्ट र उहाँको प्रायश्चित र पुनरुत्थानका माध्यमद्वारा मात्र मुक्ति र उत्कर्ष सम्भव छ ।
मुक्तिदाताको अनुग्रह र प्रायश्चितको बलिदानका माध्यमद्वारा, हामी पूर्णता प्राप्त नगरेसम्म उन्नति गर्न सक्छौँ र कुनै दिन पूर्णतामा पुग्न सक्छौँ । यदि हामी मुक्तिदाताको उदाहरण अनुसरण गर्छौँ र उहाँका आज्ञाहरू पालना गर्छौँ भने, उहाँले हामीलाई स्वर्गमा हाम्रा पिताको महिमित उपस्थितिमा फर्कने मार्गमा अगुवाइ र मार्गदर्शन गर्नुहुने छ ।
Christ on the Road to Jerusalem(यरुशलेमको मार्गमा ख्रीष्ट), माइकल कोलम्यानद्वारा, प्रतिलिपि गर्न नहुने
के तपाईंले उहाँको उपहार प्राप्त गर्नुहुने छ ?
सत्यताका माझमा “विषयवस्तुहरू वास्तवमा जस्ता छन् त्यस्तै हुने छन्” (याकूब ४:१३), अनन्तकालको हाम्रो अनुभव येशू ख्रीष्टलाई अनुसरण गर्ने र उहाँले दिनुहुने उपहारहरू ग्रहण गर्ने हाम्रो छनोटद्वारा निर्धारण गरिने छ भनेर हामी सिक्छौँ । “[हामी]ले प्राप्त गर्ने चाहना गरेका चीजमा हामीले आनन्द लिने छौँ” भनेर धर्मशास्त्रहरूले सिकाउँछन् ।” दुर्भाग्यवश, कसै-कसैले उहाँहरूले प्राप्त गर्नुभएका चीजहरूमा आनन्द लिन इच्छुक हुने छैनन्” (सिद्धान्त र करार ८८:३२) ।
मेरा सुसमाचार प्रचार क्षेत्राध्यक्ष, एल्डर मेरियन डी. ह्यान्क्स (१९२१-२०११), जसले सत्तरी साधारण अधिकारीका रूपमा सेवा गर्नुभयो, हाम्रो आध्यात्मिक यात्रामा हामी कहाँ छौँ भनेर मूल्याङ्क गर्ने तरिका भनेको हामी जे प्राप्त गर्न र आनन्द लिन इच्छुक छौँ त्यो माग्नु हो भनेर उहाँले आफ्ना सुसमाचार प्रचारकहरूलाई सिकाउनुभयो । “किनकि मानिसलाई उपहार दिइयो र उसले त्यो उपहार ग्रहण गरेन भने के लाभ हुन्छ ?” जब हामी उहाँलाई गम्भीरतापूर्वक खोजेर र अनुसरण गरेर मुक्तिदाताका उपहारहरू प्राप्त गर्छौँ, हामी अनन्त जीवनको आशामा र “उहाँमा जो [त्यो] उपहार दाता हुनुहुन्छ” उहाँमा आनन्दित हुने छौँ (सिद्धान्त र करार ८८:३३) । यति प्रिय रूपमा दिइएको यो उपहार “परमेश्वरका सबै भन्दा उत्तम उपहारहरूमध्ये सबैभन्दा महान् उपहार हो” (सिद्धान्त र करार १४:७) ।
परमेश्वर हाम्रा स्वर्गका पिता हुनुहुन्छ । उहाँले हामीलाई चिन्नुहुन्छ र प्रेम गर्नुहुन्छ । जब हामी सत्यको खोजीमा उहाँतर्फ फर्कन्छौँ, हामी बुद्धिमानी हुन सक्छौँ, ज्ञान प्राप्त गर्न सक्छौँ, सत्यलाई अँगाल्न सक्छौँ, सद्गुणलाई प्रेम गर्न सक्छौँ र उहाँबाट आउने प्रकाशमा समाहित हुन सक्छौँ (सिद्धान्त र करार ८८:४० हेर्नुहोस्) । त्यसपछि हामी हाम्रो जीवनभर “त्यो दिन नआउँदासम्म” निरन्तरता दिन्छौँ जब [हामी]ले उहाँमा र उहाँद्वारा जीवित पारिँदै परमेश्वरलाई बुझ्ने छौँ” (सिद्धान्त र करार ८८:४९) ।
त्यो सबैभन्दा महिमित र प्रसन्नतापूर्ण दिन हुने छ ।
© २०२५ Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, August 2025 को अनुवाद, Nepali. 19613 372