“उहाँको कार्यमा सहभागी भएर हामी येशू ख्रीष्टलाई अनुशरण गर्छौँ,” लियाहोना, जुन २०२५ ।
मासिक लियाहोना सन्देश, जुन २०२५
उहाँको कार्यमा सहभागी भएर हामी येशू ख्रीष्टलाई अनुशरण गर्छौँ
हामी मुक्तिदाताको कार्यमा भाग लिन्छौँ जब हामी उहाँको उद्देश्यहरूमा ध्यान केन्द्रित गर्छौं, उहाँका आज्ञाहरू पालना गर्छौं र एकअर्कालाई प्रेम गर्छौं ।
ख्रीष्ट र धनी युवा शासक बाट विवरण, हेनरिक हफ्म्यानद्वारा
जब हामीले बप्तिस्मा लिन्छौँ, हामीले आफूमा येशू ख्रीष्टको नाम लिने प्रक्रिया सुरु गर्छौँ । यस प्रक्रियाको एक अंशले हामी मुक्तिदाताको कार्यमा उहाँसँग सहभागी छौँ भन्ने जनाउँछ । प्रथम अध्यक्षताका प्रथम सल्लाहकार, अध्यक्ष ड्यालिन एच. ओक्सले लेख्नुभयो, “ख्रीष्टको नाम हामीमाथि लिनुको सबैभन्दा महत्त्वपूर्ण अर्थहरू मध्येको एक अर्थ भनेको मुक्तिदाता र उहाँका राज्यको कार्यलाई हामीमाथि लिने चाहना र प्रतिबद्धता हो ।”
मुक्तिदाताको कार्य “मानिसको अमरत्व र अनन्त जीवन ल्याउनका लागि हो” (मोशा १:३९) । अमरत्व एक निःशर्त उपहार हो जुन येशू ख्रीष्टले आफ्नो पुनरुत्थानद्वारा यसपूर्व नै प्रत्याभूत गरिसक्नुभएको छ । यद्यपि, अनन्त जीवन अमरत्व जस्तै होइन । अनन्त जीवन परमेश्वरले मानवजातिलाई दिनुहुने सबैभन्दा उत्तम उपहार हो (हेर्नुहोस् सिद्धान्त र करार १४:७) । उहाँको उपस्थितिमा परिवारका रूपमा सदैव जिउनु हो । अनन्त जीवन प्राप्त गर्नका लागि, हामी येशू ख्रीष्टका आस्थावान् शिष्यहरू बन्नु पर्छ । यसको अर्थ मुक्तिदाता र उहाँको प्रायश्चितमा आस्था राखेर, पश्चात्ताप गरेर, बप्तिस्मा लिएर, पवित्र आत्माको उपहार प्राप्त गरेर, मन्दिरमा करारहरू निर्माण र पालना गरेर र अन्त्यसम्म सहेर हामीले पुनर्स्थापित सुसमाचार प्राप्त गर्छौँ । अन्त्यसम्म सहनुमा उहाँको कार्यमा मुक्तिदातासँग सहभागी हुने विषय समावेश हुन्छ ।
उत्सुकतापूर्वक संलग्न हुनु
हामी परमेश्वरका सन्ततिहरूलाई पनि येशू ख्रीष्टको आस्थावान् शिष्य बन्नका लागि सहयोग गर्दा हामी मुक्तिदाताको कार्यमा सहभागी हुन्छौँ । यसमा उहाँको सुसमाचार बाँढ्नु, त्यसद्वार तितरबितर भएका इस्राएललाई एकत्रित गर्नु, उहाँ जस्तै बन्ने प्रयास गरेर मुक्तिदाताको चर्चका उत्तरदायित्वहरू पूरा गर्ने विषय समावेश हुन्छ । हाम्रो “सफलता [उहाँको कार्यमा] अरूहरूले [हामीलाई], [हाम्रो] आमन्त्रणलाई वा [हाम्रा] निष्कपट कार्यहरूलाई कसरी प्रतिक्रिया दिने छनोट गर्नुहुन्छ भन्ने विषयमा निर्भर हुँदैन ।” अध्यक्ष रसल एम. नेल्सनले प्रमाणित गर्नुभयो, “कुनै पनि समयमा तपाईंलेकेही कार्य गर्नुहुन्छ जसले—पर्दाको दुबै छेउमा रहेका—कसैलाईपरमेश्वरसँग करार गर्न र उहाँहरूका लागि आवश्यक बप्तिस्मा र मन्दिरका विधिहरू प्राप्त गर्नको लागि सहयोग गर्छ, तपाईंले इस्राएललाई एकत्रित गर्न सहयोग गर्दै हुनुहुन्छ ।”
मुक्तिदाताको कार्यलाई हाम्रो कार्य बनाउनको लागि, हामीले उहाँका उद्देश्यहरूमा ध्यान केन्द्रित गर्छौँ, उहाँका आज्ञाहरू पालना गर्छौँ र एकअर्कालाई प्रेम गर्छौँ । जब हामीले उहाँको कार्य उहाँकै तरिकामा गर्छौँ (हेर्नुहोस्सिद्धान्त र करार ५१:२), केही विषयहरू हामी आफैले पत्ता लगाउनका लागि बाँकी रहन्छन् । मुक्तिदाताले मिजोरीको ज्याक्सन प्रदेशमा एकत्रित भएका सन्तहरूलाई भन्नुभयो:
“किनकि हेर, यो उपयुक्त हुँदैन कि मैले सबै अवस्थामा आज्ञा दिनु पर्छ; किनकि जो हरेक अवस्थामा बाध्य हुन्छ, त्यो व्यक्ति अल्छी र बुद्धि नभएको सेवक हो; यसकारण उसले कुनै पुरस्कार प्राप्त गर्दैन ।
“म साच्चैँ नै भन्छु, मानिसहरू असल कारणका लागि उत्सुकतापूर्वक संलग्न हुनु पर्छ र तिनीहरूको आफ्नै स्वतन्त्र चाहनाका साथ धेरै कार्यहरू उनीहरूले गर्नु पर्छ र धेरै धार्मिकता ल्याउनु पर्छ;
“किनकि उनीहरूमा क्षमता छ जसले गर्दा उनीहरू आफ्ना लागि उनीहरूस्वयम् ले गर्न सक्छन् । अनि मानिसहरूले जतिसम्म असल कार्य गर्छन् उनीहरूले आफ्ना पुरस्कार गुमाउँदैनन् ।” (सिद्धान्त र करार ५८:२६–२८) ।
जब हामी मुक्तिदातालाई अनुशरण गर्छौँ, उहाँको कार्यमा उहाँसँग सहभागी हुन्छौँ र अरूहरूलाई उहाँका आस्थावान् शिष्य बन्न सहयोग गर्छौँ, हामीले उहाँले सिकाउनुहुने विषय सिकाउँछौँ । किनभने हामीलाई अन्य केही सिकाउने अधिकार छैन (हेर्नुहोस् सिद्धान्त र करार ५२:९, ३६), हामीले उहाँको सिद्धान्तमा अविचलित रूपमा ध्यान केन्द्रित गर्छौँ (हेर्नुहोस् सिद्धान्त र करार ६८:२५) । यसका अतिरिक्त, हामी तिनीहरूलाई विशेष ध्यान दिन्छौँ जो गरिब, आवश्यकतामा परेका र कमजोर छन् (सिद्धान्त र करार ५२:४० हेर्नुहोस्) । नासरतको एक सभागृहमा मुक्तिदाताले यशैयाबाट उद्धृत गर्दा यी व्याख्यानहरूलाई स्पष्ट पारिएको थियो:
“परमप्रभुको आत्मा ममाथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका लागि उहाँले मलाई अभिषेक गर्नुभएको छ; उहाँले मलाई कैदीहरूलाई छुट्काराको घोषणा गर्न,र अन्धाहरूलाई दृष्टि दिन,थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र,
“परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नका लागि” पठाउनुभएको छ (लूका ४:१८–१९; यशैया ६१:१–२ पनि हेर्नुहोस्) ।
परमप्रभुको ग्रहणयोग्य वर्षले त्यो समयलाई जनाउँछ जब परमेश्वरको करारका सबै आशीर्वादहरू उहाँका जनहरूमाथि प्रसस्ततामा हुन्छन् । हामी अरूहरूलाई परमेश्वरसँग करार निर्माण र पालना गर्ने आशीर्वादहरू प्राप्त गर्न आमन्त्रण गरेर र गरिब अथवा आवश्यकतामा परेकाहरूको हेरचाह गरेर येशू ख्रीष्टलाई अनुशरण गर्छौँ ।
येशू ख्रीष्टसँग उहाँको कार्यमा सहभागी हुनु उत्साहवर्धक छ किनभने उहाँका कार्यहरू, डिजाइनहरू र उद्देश्यहरू “विफल हुन सक्दैनन्, न त तिनीहरू शून्य हुन नै सक्छन्” (सिद्धान्त र करार ३:१) । निराश महसुस गर्नेहरूका लागि, परमप्रभुले सल्लाह दिनुभयो: “यसकारण, भलाइ गर्ने कार्यमा थकित हुनु हुँदैन किनकि तिमीहरूले महान् कार्यको आधार निर्माण गरिरहेका छौ । अनि साना विषयवस्तुहरूबाट महान् विषयवस्तुहरू आउँछन्” (सिद्धान्त र करार ६४:३३) । हामी परमप्रभुलाई फसलका सम्बन्धमा चिन्ता गर्न दिन्छौँ र हामी केवल हाम्रो उत्तरदायित्वमा केन्द्रित हुन्छौँ ।
हृदय र तत्पर मस्तिष्क
हाम्रो भूमिका निर्वाह गर्नु हामीले परिकल्पना गरेभन्दा सजिलो छ किनभने हामीले परमप्रभुको कार्यमा विलक्षण प्रतिभा वा क्षमताहरू ल्याउनु आवश्यक छैन । उहाँको आवश्यकता केवल प्रतिबद्धता र इच्छाशक्तिमा छ । परमप्रभुले ओहायोको कर्टल्याण्डमा सन्तहरूलाई भन्नुभयो, “हेर, परमप्रभुलाई हृदय र तत्पर मस्तिष्क आवश्यक छ” (सिद्धान्त र करार ६४:३४) । परमप्रभुले तत्परलाई सक्षम बनाउन सक्नुहुन्छ, तर सक्षमलाई तत्पर बनाउन सक्नुहुन्न वा बनाउनुहुने छैन । अर्को शब्दमा, यदि हामी प्रतिबद्ध र तत्पर छौँ भने, उहाँले हामीलाई प्रयोग गर्न सक्नुहुन्छ । परन्तु हामी जतिसुकै प्रतिभाशाली भए पनि, जबसम्म हामी उहाँको कार्यप्रति प्रतिबद्ध हुँदैनौँ र उहाँलाई सहयोग गर्न तत्पर हुँदैनौँ, उहाँले हामीलाई प्रयोग गर्नुहुने छैन ।
शमुएल र आना-मारिया कोइभिस्टोले प्रतिबद्धता र तत्परता दुबै देखाउनुभयो । उहाँहरूको विवाहको लगत्तै पछि, कोइभिस्टोहरू जीवनवृतिका अवसरहरू खोज्न फिनल्याण्डको जाइभस्किलबाट स्वीडेनको गोटेबोर्ग जानुभयो । पुगे पछि, दाजु कोइभिस्टोलाई गोटेबोर्ग स्वीडेन किला अध्यक्षताका सल्लाहकार अध्यक्ष लिफ म्याटसनसँग भेट्न आमन्त्रण गरियो । शमुएलले स्वीडिश नबोल्ने भएकाले अन्तर्वार्ता अङ्ग्रेजीमा गरिएको थियो ।
छोटो भेट पछि, अध्यक्ष म्याटसनले शमुएललाई उटबी वार्डमा वार्ड सुसमाचार प्रचार अगुवाका रूपमा सेवा गर्न आग्रह गर्नुभयो । शमुएलले स्पष्ट कुरा गर्नुभयो: “तर म स्विडिश बोल्दिन ।”
अध्यक्ष म्याटसनले आफ्नो टेबलतर्फ झक्नुभयो र सोध्नुभयो, “मैले तपाईंलाई स्विडिश बोल्न सक्नुहुन्छ भनेर सोधेको थिएँ वा तपाईं परमप्रभुको सेवा गर्न तत्पर हुनुहुन्छ भनेर सोधेको थिएँ ?”
शमुएलले उत्तर दिनुभयो, “म परमप्रभुको सेवा गर्न तत्पर छु कि छैन भनेर तपाईंले सोध्नुभयो ? अनि म तत्पर छु ।”
शमुएलले बोलावट स्वीकार गर्नुभयो । आना-मारियाले पनि बोलावट स्वीकार गर्नुभयो । दुबैले आस्थावान् बनेर सेवा गर्नुभयो र सेवा अवधिका क्रममा राम्ररी स्विडिश बोल्न सिक्नुभयो ।
परमप्रभुको सेवा गर्ने प्रतिबद्धता र तत्परताले शमुएल र आना-मारियाको जीवनलाई विशिष्टीकृत गरिएको छ । उहाँहरू चर्चका प्राकृत नायकहरू हुनुहुन्छ । हरेक पटक अनुरोध गरिँदा उहाँहरूले इमानदारितापूर्वक सेवा गर्नुभएको छ । जब हामी सेवा गर्छौँ, हामी आफुसँग भएका प्रतिभाहरू प्रयोग गर्छौँ (हेर्नुहोस् सिद्धान्त र करार ६०:१३) र त्यसपछि परमप्रभुले हामीलाई उहाँका उद्देश्यहरू पूरा गर्न सहयोग गर्नुहुन्छ भनेर उहाँहरूले मलाई सिकाउनुभएको छ ।
जब हामी सेवा गर्न तत्पर हुन्छौँ, हामी गुनासो वा गनगन नगर्ने प्रयास गर्छौँ किनकि हामी कुनै पनि तरिकाले हाम्रो सेवालाई कलङ्कित गर्न चाहँदैनौँ । गुनासो प्रतिबद्धतामा कमी आएको सङ्केत हुन सक्छ वा मुक्तिदाताप्रतिको हाम्रो प्रेम जस्तो हुनुपर्ने हो, त्यस्तै छैन भन्ने सङ्केत हुन सक्छ । नियन्त्रण नगरिएमा, गनगन परमप्रभु विरुद्धको स्पष्ट विद्रोहमा परिणत हुन सक्छ । यो प्रगति एज्रा बुथको जीवनमा देखिन्छ, जो ओहायोको चर्चमा प्रारम्भिक समयमा परिवर्तित हुनुभएको थियो र मिजोरीमा सुसमाचार प्रचारकका रूपमा बोलावट गरिनुभएको थियो ।
जुन १८३१ मा उहाँले ओहायो छोड्दा, केही सुसमाचार प्रचारकहरूले गाडामा यात्रा गर्न पाएकोमा र उहाँ गर्मीको तापमा हिँडेर प्रवचन दिनुपर्दा एज्रा दुःखी हुनुहुन्थ्यो । उहाँले गनगन गर्नुभयो । जब उहाँ मिजोरी आइपुग्नुभयो, उहाँले निराश भएको महसुस गर्नुभयो । मिजोरी उहाँले अपेक्षा गरे जस्तो थिएन । बरु, उहाँले वरिपरि हेर्नुभयो र “संभावना केही रूपमा निराशाजनक देखिएको उल्लेख गर्नुभयो ।
एज्रा अझै बढी निन्दक, व्यङ्गात्मक र आलोचक बन्दै जानुभयो । मिजोरी छोड्ने क्रममा, उहाँलाई भनिएको जस्तै प्रवचन गर्दै जानुको सट्टा, उहाँ सम्भव भएसम्म छिटो ओहायो फर्किनुभयो । उहाँको प्रारम्भिक गनगन विचलित हुने र अन्ततः उहाँका यसपूर्वका आत्मिक अनुभवहरूमा आत्मविश्वास गुमाउने गरी विकसित भयो । छिट्टै नै एज्राले चर्च छोड्नुभयो र “अन्ततः ‘ईसाइधर्म त्याग्नुभयो र नास्तिक बन्नुभयो ।’”
यदि हामी होसियार भएनौँ भने हामीलाई पनि त्यस्तै हुन सक्छ । यदि हामीले यो वास्तवमा कसको कार्य हो भनेर आफूलाई सम्झाउँदै अनन्त दृष्टिकोण कायम राखेनौँ भने, हामीले गुनासो गर्न सक्छौँ, विचलित हुन सक्छौँ र अन्ततः हामीसँग भएको आस्था गुमाउन सक्छौँ ।
हामीले येशू ख्रीष्टलाई उहाँको कार्यमा सहभागी भएर अनुशरण गर्ने छनोट गर्न सकौँ भनेर म प्रार्थना गर्छु । हामीले यसो गर्दा, हामीलाई “अति महान् र बहुमूल्य प्रतिज्ञाहरू” दिइन्छ (२ पत्रुस १:४) । यी आशीर्वादहरूमा पापको क्षमा (हेर्नुहोस् सिद्धान्त र करार ६०:७; ६१:२, ३४; ६२:३; ६४:३), मुक्ति (हेर्नुहोस् सिद्धान्त र करार ६:१३; ५६:२), र उन्नयन (हेर्नुहोस् सिद्धान्त र करार ५८:३–११; ५९:२३) । वास्तवमा, हामीलाई परमेश्वरले दिन सक्ने सबैभन्दा उत्तम उपहार—अनन्त जीवन—को प्रतिज्ञा गरिएको छ ।
© 2025 द्वारा Intellectual Reserve, Inc. All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, June 2025 को अनुवाद ।Nepali. 19610 372