२
परमेश्वर तपाईंहरूसँग वार्तालाप गर्न चाहनुहुन्छ
सुसमाचारको पुनर्स्थापना तब सुरु भयो जब जोसेफ स्मिथ नामक एक किशोरले प्रार्थना गर्नुभयो र स्वर्गका पिता र उहाँका पुत्र, येशू ख्रीष्टले उहाँलाई जवाफ दिनुभयो । परमेश्वरले जीवित अगमवक्ताहरूद्वारा आफ्नो चर्चलाई मार्गदर्शन गरिरहनुभएको छ । उहाँ पवित्र आत्माद्वारा उहाँका सन्तति, तपाईंहरूसँग पनि वार्तालाप गर्न चाहनुहुन्छ । पवित्र आत्मा तपाईंहरूसँग कसरी वार्तालाप गर्छ भनेर पहिचान गर्न सिक्नु तपाईंहरूले प्राप्त गर्न सक्ने सबैभन्दा मूल्यवान् सीपहरूमध्येको एक हो ।
अनन्त सत्यहरू
आत्माले तपाईंहरूलाई स्वर्गका पिता र येशू ख्रीष्टतर्फ अगुवाइ गर्छ । यो पवित्र आत्माको महत्त्वपूर्ण भूमिका हो । उसले तपाईंहरूलाई पश्चात्ताप गर्न र येशू ख्रीष्टलाई अनुसरण गर्नका लागि पनि प्रेरित गर्छ ताकि तपाईंहरूले उहाँको प्रायश्चितको आशीर्वाद प्राप्त गर्न सक्नुहुने छ । जब तपाईंहरू पश्चात्ताप गर्नुहुन्छ, आत्माले तपाईंहरूलाई विशुद्ध पार्छ र तपाईंहरूलाई परिवर्तन हुनका लागि सहयोग गर्छ ।
पवित्र आत्माले तपाईंहरूको मस्तिष्क र हृदयसँग वार्तालाप गर्छ । धेरै तरिकाहरूमा—प्रेरित विचारहरू, चेतावनीहरू, स्पष्ट बुझाइहरू र आध्यात्मिक स्मरणहरूद्वारा आत्माबाट तपाईंहरूको मस्तिष्कमा सन्देशहरू आउन सक्छन् । पवित्र आत्माले सान्त्वना, आत्मविश्वास, शान्ति, प्रेम, प्रसन्नता, नम्रता, कृतज्ञता र धीरता जस्ता उत्थानदायी भावनाहरूद्वारा तपाईंहरूको हृदयमा वार्तालाप गर्न सक्छ।
आमन्त्रणहरू
“पवित्र आत्मा प्राप्त गर्नुहोस् ।” तपाईंहरूलाई ख्रीष्टको चर्चको सदस्यका रूपमा प्रमाणित गरिएको समयमा यी शब्दहरू उच्चारण गरिएका थिए । तपाईंहरूले पवित्र आत्मा कसरी प्राप्त गर्नुहुन्छ ? येशू ख्रीष्टको शिक्षा पालना गरेर । उहाँ तपाईंहरूको शक्ति हुनुहुन्छ । उहाँलाई अनुसरण गर्दा तपाईंहरूको जीवनमा पवित्र आत्मालाई आमन्त्रण गर्नुहुन्छ ।
प्रार्थनामा आफ्ना स्वर्गका पितालाई खोज्नुहोस् । उहाँलाई आफ्नो हृदय खन्याउनुहोस् । उहाँले तपाईंहरूलाई दिनुभएका धेरै अद्भुत आशीर्वादहरूका लागि उहाँलाई धन्यवाद दिनुहोस् । उहाँसँग आफ्नो प्रसन्नता, चिन्ता र प्रश्नहरू बाँड्नुहोस् । शान्त रहनुहोस् र उहाँका उत्तरहरू सुन्नुहोस्, जुन शान्तिको भावना, तपाईंहरूको मस्तिष्कमा विचारहरू वा केही गर्नका लागि प्रभावहरूका रूपमा आउन सक्छ ।
धर्मशास्त्रहरूमा परमेश्वरको वाणी सुन्नुहोस् । धर्मशास्त्रहरू परमेश्वरका वचनहरू हुन् ! उहाँको वाणी पत्ता लगाउन र उहाँको प्रेम महसुस गर्न तिनीहरूबाट दैनिक सिक्नुहोस् । जब तपाईंहरू पढ्नुहुन्छ, उहाँले तपाईंहरूलाई के सिकाइरहनुभएको हुन सक्छ भनेर विचार गर्नुहोस् र आउने प्रभावहरू लेख्नुहोस् । आफ्नो जीवनभर धर्मशास्त्रहरू—विशेष गरी मोर्मोनको पुस्तक—अध्ययन गर्ने दैनिक बानी बसाल्नुहोस् ।
तपाईंहरूले प्राप्त गर्नुभएका आध्यात्मिक प्रभावहरूमा कार्य गर्नुहोस् । यदि तपाईंहरूसँग कुनै प्रकारको दया गर्ने विचार वा प्रभाव छ जसले कसैलाई आशीषित गर्ने छ भने, त्यसो गर्नुहोस् ! सबै असल वस्तुहरू परमेश्वरबाट आउँछन् । उहाँले तपाईंहरूलाई उहाँबाट आएका प्रभावहरू अनुसरण गर्नका लागि भरोसा गर्न सक्नुहुन्छ भनेर आफ्ना स्वर्गका पितालाई देखाउनुहोस् ।
प्रतिज्ञा गरिएका आशीर्वादहरू
पवित्र आत्माले तपाईंहरूलाई सान्त्वना दिने छ र मार्गदर्शन गर्ने छ । उसलाई सान्त्वनादाताका रूपमा चिनिन्छ । उसले तपाईंहरूलाई परीक्षाको समयमा सहयोग गर्ने छ । उसले तपाईंहरूलाई के भन्ने वा गर्ने भनेर जान्नका लागि सहयोग गर्ने छ । उसको प्रभावले, तपाईंहरूले के सत्य र के झूटो हो भन्ने बीचको भिन्नता बताउन सक्नुहुन्छ । उसले तपाईंहरूलाई अरूमा र आफैँमा सही चीज भेट्टाउनका लागि सहयोग गर्न सक्छ । आत्माले तपाईंहरूलाई खतराका सम्बन्धमा पनि चेतावनी दिन सक्छ । उसले तपाईंहरूलाई येशू ख्रीष्टतर्फ अनि पापबाट टाढा अगुवाइ गर्ने छ ।
तपाईंहरूले आध्यात्मिक उपहारहरू प्राप्त गर्न सक्नुहुन्छ । परमेश्वरले आफ्ना सन्ततिहरूलाई आफ्नो आत्माद्वारा धेरै उपहारहरू दिनुहुन्छ । धर्मशास्त्रहरूमा उल्लेख गरिएका केही विषयहरूमा प्रकाश, येशू ख्रीष्टमा विश्वास, शिक्षा, विवेक र ज्ञान समावेश छन् । स्वर्गका पितालाई उहाँले तपाईंहरूलाई दिनुभएका आत्मिक उपहारहरू, तपाईंहरूले तिनीहरूलाई कसरी विकास गर्न सक्नुहुन्छ र उहाँले अरूलाई आशीर्वाद दिन तपाईंहरूले तिनीहरूलाई कसरी प्रयोग गरेको चाहनुहुन्छ भन्ने सम्बन्धमा सोध्नका लागि प्रार्थना गर्नुहोस् ।
प्रश्न र उत्तरहरू
किन अरू मानिसहरूसँग मभन्दा ठूला आत्मिक अनुभवहरू हुन्छन् ? सबै आत्मिक अनुभवहरू चमत्कारी वा आकस्मिक हुँदैनन् । अधिकांश समयमा, परमेश्वरले हाम्रो मस्तिष्कमा विचारहरू वा हाम्रो हृदयमा कोमल भावनाहरूद्वारा हामीसँग वार्तालाप गर्नु हुन्छ । यी स्थिर, शान्त वाणीका मधुरा कानेखुसीहरू हुन् । तपाईंहरूले आत्मालाई महसुस गरिरहनुभएको र अझै पहिचान नगरिरहनुभएको हुन सक्छ । प्रार्थना गरिरहनुहोस् । परमेश्वरका वचन अध्ययन गरिरहनुहोस् । समय र अभ्यासका साथ, तपाईंहरूले विभिन्न तरिकाले आत्मालाई पहिचान गर्न सिक्नुहुने छ ।
हेर्नुहोस् १ राजा १९:११-१२ (परमेश्वर शान्त, सानो स्वरमा वार्तालाप गर्नुहुन्छ); यूहन्ना १५:२६ (आत्माले ख्रीष्टको गवाही दिनुहुन्छ); मोरोनी १०:३-५ (आत्माद्वारा सत्य जान्नुहोस्); सिद्धान्त र करार ११:१२-१३ (आत्माले असल कार्य गर्न का लागि अगुवाइ गर्छ); ४५:५७ (आत्मालाई आफ्नो मार्गदर्शकका रूपमा लिनुहोस्); ४६:८-२६ (आत्मिक उपहारहरू) ।
मन्दिर अनुमति-पत्रका लागि प्रश्न
-
के तपाईंहरूसँग अनन्त पिता परमेश्वर, उहाँका पुत्र, येशू ख्रीष्ट; र पवित्र आत्माको आस्था र गवाही छ ?