२०२५
अनन्तताको दर्शनलाई धारण गर्ने
डिसेम्बर २०२५ लियाहोना


एशिया क्षेत्रका अगुवाइका सन्देश

अनन्तताको दर्शनलाई धारण गर्ने

“आस्थामा एकताबद्ध परिवारहरूले सङ्घर्ष गर्न सक्छन् तर परमप्रभुले तिनीहरूलाई सदैव अगाडि बढाउनुहुन्छ ।”

कम्बोडिया धेरै दुःखद गृहयुद्धहरूबाट गुज्रिएको छ । मेरो जन्म द्वन्द्व समाप्त भएलगत्तै भएको थियो । मेरा आमाबाबुले आठ छोराछोरी हुर्काउन सङ्घर्ष गर्दै गर्दा जीवन कठीन थियो र खानाको अभाव थियो । यस्तो परिस्थितिमा मेरो भविष्य के हुन सक्छ भनेर कहिलेकाहीँ म सोच्थेँ ।

१९९८ मा जब म पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सहभागी भएँ त्यसपछि मेरो जीवन परिवर्तन भयो । माध्यमिक विद्यालयको शिक्षा पूरा गर्नुभन्दा एक वर्षपूर्व मैले बप्तिस्मा लिएँ । कलेजमा पढ्नका लागि आर्थिक साधनको अभाव भएका कारण मैले पूर्णकालीन सुसमाचार प्रचारक भएर सेवा गर्ने छनोट गरेँ । सेवा गर्दा, मेरा आध्यात्मिक आँखाहरू खुले । मैले उहाँका सन्ततिहरूका लागि परमेश्वरको अनन्त योजना र म कसरी मेरो आफ्नै अनन्त परिवार स्थापना गर्न तयारी गर्न सक्छु भनेर बुझेँ ।

एक दिन मैले मन्दिरमा विवाह गर्ने छु र मेरी श्रीमती र छोराछोरीहरूसँग सदाका लागि बाँधिने छु भनेर पुनर्स्थापित सुसमाचारको आध्यात्मिक सत्यले मलाई बुझ्न अनुमति दियो । मैले हामी सँगै चर्च गएको, सँगै भजन गाएको, सँगै सुसमाचार अध्ययन गरेको र एक दिन मेरा छोराछोरीहरूलाई सुसमाचार प्रचार सेवामा पठाएको अनि त्यसपछि उनीहरूलाई पवित्र मन्दिरहरूमा बाँधिएको अनि आफ्नै परिवार सुरु गरेको परिदृश्यको कल्पना गरेँ । हाम्रो परिवारका लागि मैले कस्तो सुन्दर दर्शन देखेको थिएँ । सबैसँग यस्तै प्रकारको दर्शन छ भनेर म आशा गर्छु ।

हङकङ चीनको मन्दिरमा एक प्रिय महिलासँग २००५ मा म बाँधिएँ पछि मेरो सपना पूरा हुन सुरु भयो । त्यस समय देखि, अनन्त मार्ग स्पष्ट भएको छ । परमप्रभुले हामीलाई पाँच उत्साही छोराहरू दिनुभएको छ ।

अनन्तताको दर्शन सुन्दर भए तापनि यात्रा सजिलो भएको छैन । किला अध्यक्ष, कारखाना प्रबन्धक र पाँच सक्रिय केटाहरूको बुबाका रूपमा जिम्मेवारीहरू सन्तुलन गर्नु कठीन छ । हाम्रा छोराहरू ऊर्जाले भरिपूर्ण छन्—सदैव दौडने, चढ्ने र कुस्ती खेल्ने । तिनीहरू प्रायः चीजहरू भाँच्छन्, खाना पोख्छन् र घरलाई उथलपुथल पार्छन् । एक दिन जब म र मेरी श्रीमती व्यस्त थियौँ, तिनीहरूले भान्साको सिङ्कको प्वाल बन्द गरे, टाइल छापिएको भुइँमा पानी भरे, अगाडि पछाडि चिप्लिन साबुन मिसाए र गर्वका साथ भने, “हामीले पौडी खेल्न पोखरी बनाउँदै छौँ!”

छोराहरूले एकअर्कालाई जिस्क्याउने र हाम्रो धीरताको परीक्षा लिने हुँदा पारिवारिक धर्मशास्त्र अध्ययन चुनौतीपूर्ण हुन सक्छ । आइतबार म मञ्चमा बस्दा मेरी श्रीमतीले सभामा बालबालिकाहरूको हेरचाह गर्छिन् । मेरी श्रीमती प्रायः लज्जित र थकित महसुस गर्छिन् । तिनीहरू बेन्चमुनि घस्रन्छन्, मानिसहरूका खुट्टा तान्छन् र कहिलेकाहीँ कराउँछन् वा ठूलो स्वरमा रून्छन् । एक दिन उनले मलाई भनिन्, “म आत्मालाई महसुस गर्न चाहन्छु र केही सिक्न चाहन्छु । तर धेरैजसो समय जब म चर्च जान्छु, म केही पनि सिक्दिन र हाम्रा छोराहरूदेखि निराश हुन्छु । हामी किन गइरहेका छौँ भनेर म कहिलेकाहीँ सोच्छु ।”

त्यस्ता क्षणहरूमा म उजाडस्थानमा लहीको यात्राका सम्बन्धमा सोच्छु । तिनीहरूका धेरै समस्याहरू थिए तर परमप्रभुले प्रतिज्ञा गर्नुभयो, “म उजाडस्थानमा तिम्रो ज्योति पनि हुने छु . . . जबसम्म तिमीहरूले मेरा आज्ञाहरू पालना गर्ने छौ, तिमीहरूलाई प्रतिज्ञा गरिएको भूमितर्फ अगुवाइ गरिने छ।” आस्थामा एकताबद्ध परिवारहरूले सङ्घर्ष गर्न सक्छन् तर परमप्रभुले तिनीहरूलाई सदैव अगाडि बढाउनुहुन्छ ।

राजा बेन्यामिनले आमाबाबुहरूलाई सल्लाह दिए, “[आफ्ना छोराछोरीहरूलाई] सत्य र संयमको मार्गमा हिँड्न सिकाउनुहोस् ... एकअर्कालाई प्रेम गर्न र एकअर्काको सेवा गर्न ।” परमप्रभुले हामीलाई “आफ्ना छोराछोरीहरूलाई ज्योति र सत्यमा हुर्काउन” पनि आज्ञा दिनुभयो ।” यी शिक्षाहरूले हामीलाई पारिवारिक जीवन बोझिलो महसुस हुँदा सहयोग गर्छ ।

एक दिन मेरा जेठा छोराले किला सम्मेलनमा बोल्दा दृढताको आशीर्वाद स्पष्ट भयो । उनले भने, “पादरित्व बाहकका रूपमा म मेरा बुबाले जस्तै अरुहरूलाई आशीर्वाद दिन मसँग भएको पादरित्व प्रयोग गर्ने छु ।” मेरा आँखा प्रसन्नताका आँसुले भरिए । कठीन भए तापनि हामी किन गइरहन्छौँ भनेर मैले बुझेँ । हाल उनी म्याड्रिड साउथ स्पेन सुसमाचार प्रचार क्षेत्रमा आस्थापूर्वक सेवा गरिरहेका छन् । उनका साना भाइहरूले हरेक हप्ता प्रभुभोज तयार गर्छन् र बाँड्छन् । हाम्रा माइला छोराले छिट्टै नै सुसमाचार प्रचार सेवा गर्ने तयारी गर्दैछन् ।

अध्यक्ष रसल एम. नेल्सनले भन्नुभएको छ, “हाम्रो परिवार यस जीवनमा हाम्रो सबैभन्दा ठूलो कार्य र प्रसन्नताको केन्द्रबिन्दु हो; अनि अनन्तताभरि यसै हुने छ जब हामी “सिंहासन, अधिराज्य, रियासतहरू, . . . शक्ति, प्रभुत्व . . . उत्कर्ष र महिमा रिक्थका रूपमा प्राप्त गर्छौँ ।” त्यो प्रतिज्ञाले मलाई मेरो परिवारलाई सिकाउन र चर्च र मन्दिरका मार्गतर्फ अगुवाइ गर्न सामर्थ्य दिन्छ ।

हल्ला गर्ने र चक्चके छोराहरूसँग भए पनि मेरी श्रीमती र मैले हरेक हप्ता चर्च जान निरन्तरता दिइरहेका छौँ । हामी सुसमाचारलाई हाम्रो घरको केन्द्रमा राख्न प्रयास गर्ने भएकाले म अब ती प्रयासहरूको फल देख्न सक्छु । योग्य रूपमा प्रभुभोज बाँड्ने मेरा छोराहरूमा, प्रसन्नताका साथ आस्थापूर्वक सेवा गर्ने मेरो सुसमाचार प्रचारक छोरामा र हाम्रा साना छोराहरूको वृद्धि हुँदै गएको गवाहीहरूमा म तिनीहरूलाई देख्छु । हरेक बलिदान, हरेक थकित आइतबार र हरेक पारिवारिक धर्मशास्त्र अध्ययन यसको लायक छ किनभने उहाँको सुसमाचारले साच्चैँ परिवारहरूलाई आशीर्वाद दिन्छ भनेर परमप्रभुले मलाई देखाउनुभएको छ ।

जब परिवारहरूले चर्चमा सँगै आराधना गर्छन्, तिनीहरूले आत्मालाई आफ्नो घरमा आमन्त्रण गर्छन्, आफ्नो एकतालाई मजबुत बनाउँछन् र ख्रीष्टको नजिक पुग्छन् भनेर मलाई जानकारी छ । परमप्रभुले थप प्रेम, शान्ति र सुरक्षाको प्रतिज्ञा गर्नुहुन्छ । तिनीहरूका करारहरू नवीकरण हुन्छन् र अहिले र अनन्तसम्म आशीर्वादहरू सुरक्षित गर्दै सन्ततिहरूलाई आस्थामा हुर्काइन्छ । यदि हामीले हाम्रो परिवारमा सुसमाचारलाई आत्मसात गर्न निरन्तरता दियौँ भने परमप्रभुले हाम्रा प्रयासहरूलाई प्रसारित गर्नुहुने छ । जसरी “अङ्गुरको बगैँचाका मालिकले आफ्ना सेवकहरूसँग परिश्रम गरे”, मुक्तिदाताले हामीलाई आशा र प्रसन्नताका साथ अनन्ततातर्फको हाम्रो सङ्घर्षमा सहयोग गर्नुहुने छ ।■

सन्दर्भहरू

  1. नफी १७:१३

  2. मोसीयाह ४:१५

  3. सिद्धान्त र करार ९३:४०

  4. अध्यक्ष रसेल एम. नेल्सन, “Set in Order Thy House,” सम्मेलनको प्रतिवेदन, अक्टोबर २००१

  5. याकूब ५:७२