२०२५
अनन्त परिवारका लागि परमेश्वरको योजना
डिसेम्बर २०२५ लियाहोना


“अनन्त परिवारका लागि परमेश्वरको योजना” लियाहोना, डिसेम्बर २०२५ ।

मासिक लियाहोना सन्देश, डिसेम्बर २०२५

अनन्त परिवारका लागि परमेश्वरको योजना

परमेश्वरको योजनालाई अँगाल्ने, मुक्तिदाताले जस्तै प्रेम गर्ने र आफ्ना करारहरूको सम्मान गर्ने परिवारहरूले एक दिन “अनन्त जीवनको आशीर्वाद र प्रसन्नताको पूर्णता” प्राप्त गर्ने छन् ।

साव पावलो ब्राजिल मन्दिरको तस्वीर

मेरो पूर्णकालिन सुसमाचार प्रचार सेवाको अन्त्यतिर, साव पावलो ब्राजिल मन्दिरमा जब मेरो अभिदान भयो र म मेरा आमाबाबुसँग बाँधिए, म अत्यन्तै हर्षित भएँ ।

मेरा आमाबाबु, अपारेसिडो र मर्सेडिज, फरक धार्मिक पृष्ठभूमिबाट आउनुभएका थिए तर उहाँहरूको जीवनका अनुभवहरूले उहाँहरूलाई पुनर्स्थापित् सुसमाचार स्वीकार गर्न तयार पारे ।

मेरा बुबा एक राम्रो परिवारमा हुर्कनुभएको थियो तर उहाँहरू धार्मिक हुनुहुन्नथ्यो । यद्यपि, युवावस्थामा उहाँलाई धर्ममा अभिरुचि थियो । उहाँले बाइबल पढ्नुभयो, बाइबल कक्षाहरूमा सहभागी हुनुभयो र येशू ख्रीष्टको जीवनी अध्ययन गर्नुभयो । उहाँको अध्ययनले उहाँलाई मुक्तिदाताको सुसमाचार र परिवार दुबैमा ठूलो अभिरुचि जगायो, जसले गर्दा उहाँलाई समान विचार भएको व्यक्तिसँग विवाह गर्ने चाहना भयो ।

यसको विपरीत, मेरी आमा अति नै धार्मिक परिवारबाट आउनुभएको थियो । उहाँहरूले सुसमाचारका सिद्धान्तहरू अँगाल्नुभयो, चर्चका सेवाहरूमा सहभागी हुनुभयो र आस्थापूर्वक आफ्नो धर्मको अभ्यास गर्नुभयो । त्यस प्रकारको वातावरणमा हुर्किएपछि, मेरी आमा कहिल्यै पनि चर्चका सभा छुटाउन नहुने व्यक्ति बन्नुभयो ।

अनि, जब मेरा आमाबाबुले विवाह गर्नुभयो र मेरा तीन दाजुहरू र म जन्मियौँ, उहाँहरूले हामीलाई सुसमाचारका सिद्धान्तहरूको ज्ञानको प्रकाशमा हुर्काउन पूर्ण रूपमा प्रयास गर्नुभयो । एक दिन मेरी फुपू, जो पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको निष्क्रिय सदस्य हुनुहुन्थ्यो, उहाँले मेरा बुबालाई भन्नुभयो, “प्रिय, तिम्रा चार जना छोराहरू छन् । यदि तिमी साच्चैँ नै ख्रीष्टमा केन्द्रित परिवार हुर्काउन चाहन्छौ र तिम्रो परिवारमा परमेश्वर हुनुभएको चाहन्छौ भने तिमी मेरो चर्च जानु पर्छ ।”

मेरो बुबाले उहाँले भन्नुभएको विषय सुन्नुभयो तर पूर्णकालिन सुसमाचार प्रचारकहरूले हाम्रो छिमेकमा आएर ढोका ढकढक्याएर हामीलाई सिकाउन सुरु नगर्दासम्म उहाँले कुनै पनि कार्य गर्नुभएन । तिनीहरूले मेरी फुपूले अनुसन्धान गर्न प्रोत्साहन गर्नुभएको चर्चको प्रतिनिधित्व गर्दथे भनेर उहाँले छिट्टै बुझ्नुभयो ।

प्रकाश र सत्य

येशू ख्रीष्टको पुनर्स्थापित् सुसमाचारमा चर्चले परिवारलाई दिने महत्त्व र अधिकांश रूपमा परिवारद्वारा पूरा गरिने “मुक्ति र उत्कर्षको परमेश्वरको कार्य मेरा आमाबाबुलाई सुरुमा अभिरुचि लागेको विषय थियो । बप्तिस्मा लिनुपूर्व मेरा आमाबाबुले सिकिरहेका विषयहरूबाट यति प्रभावित हुनुभयो कि उहाँहरूले छिमेकीहरूलाई सुसमाचार प्रचारकका पाठहरूमा सहभागी हुन आमन्त्रण गर्नुभयो ।

एल्डर सोआरेसका आमाबाबुका तस्वीरहरू

येशू ख्रीष्टको पुनर्स्थापित् सुसमाचारमा मेरा आमाबाबुलाई सुरुमा अभिरुचि लागेको विषय भनेको चर्चले परिवारलाई दिने महत्त्व थियो ।

उहाँहरूको बप्तिस्मापछि सुसमाचार प्रचारकहरूसँग भेटेर सुसमाचार अध्ययन गर्न निरन्तरता दिँदा मेरा आमाबाबुले “[आफ्ना] छोराछोरीहरूलाई ज्योति र सत्यमा हुर्काउने” र आध्यात्मिक रूपमा “[आफ्नो] घर कसरी व्यवस्थित गर्ने” भन्ने तरिकाहरू सिक्नुभयो (सिद्धान्त र करार ९३:४०,४३) ।

“परिवार उहाँका सन्ततिहरूको अनन्त गन्तब्यका लागि सृष्टिकर्ताको योजनाको केन्द्रबिन्दु हो” र “परमप्रभु येशू ख्रीष्टको शिक्षामा आधारित हुँदा पारिवारिक जीवनमा खुसी प्राप्त हुने सम्भावना बढी हुन्छ भनेर उहाँहरूले सिक्नुभयो ।”

“सफल विवाह र परिवारहरू आस्था, प्रार्थना, पश्चात्ताप, क्षमा, सम्मान, प्रेम, करुणा, कार्य र स्वस्थकर मनोरञ्जनात्मक क्रियाकलापहरूको सिद्धान्तहरूमा स्थापित् र कायम हुन्छन्” भनेर उहाँहरूले सिक्नुभयो ।

परिवारहरू अनन्त हुन सक्छन् र “हामीमाझ जुन सामाजिकता यहाँ छ, त्यही सामाजिकता त्यहाँ पनि हामीमाझ रहने छ, केवल यो अनन्त महिमासँग जोडिएको हुने छ” भनेर उहाँहरूले सिक्नुभयो (सिद्धान्त र करार १३०:२) ।

अनि उहाँहरूले सिक्नुभयो कि “चर्चको हरेक शिक्षा, हरेक क्रियाकलापको अन्तिम उद्देश्य भनेको आमाबाबु र उनीहरूका छोराछोरीहरू घरमा खुसी हुनु, अनन्त विवाहमा बाँधिनु र आफ्ना पुस्ताहरूसँग जोडिएको हुनु हो ।”

त्यो ज्ञानका साथ, उहाँहरूले सदाका लागि परिवारका रूपमा बाँधिन चाहनुभयो ।

अनन्ततातर्फ दृष्टि

मेरा आमाबाबुले बप्तिस्मा लिनुभएपछि, संसारबाट सुसमाचारको अधिराज्यमा प्रवेश गरेर उहाँहरूले सिकेका विषयहरूको अभ्यास गर्नुभयो । उहाँहरूले पारिवारिक साँझको आयोजना गरेर र पारिवारिक रूपमा धर्मशास्त्र अध्ययन गरेर, आस्थावान् भइ चर्चका सभाहरूमा उपस्थित भएर र पारिवारिक इतिहासको काम गरेर हाम्रो परिवारलाई एकताबद्ध गर्ने कार्य गर्नुभयो । एकतातर्फको ती प्रयासहरूसँगै, उहाँहरूले अनन्ततातर्फ ध्यान केन्द्रित गर्दै मुक्तिको योजनामा ​​केन्द्रित परिवार सिर्जना गर्ने आशा गर्नुभयो ।

१९६५ मा, मेरा आमाबाबुले बप्तिस्मा लिनुभएको वर्ष, ब्राजिलको साव पावलोको सबैभन्दा नजिकको मन्दिर एरिजोनाको मेसामा थियो, जुन लगभग ६,००० माइल (९,६५० किलोमिटर) टाढा थियो । हाम्रो परिवारका लागि त्यो यात्रा धेरै महँगो थियो, त्यसैले मेरा आमाबाबुले १९७८ मा साव पावलो ब्राजिल मन्दिरको समर्पण नभएसम्म प्रतिक्षा गर्नुपऱ्यो र त्यसपछि उहाँहरूले आफ्नो मन्दिरका विधिहरू प्राप्त गर्नुभयो र बाँधिनु भयो । त्यतिबेला, म रियो दि जेनेरियोमा सुसमाचार प्रचार सेवा गरिरहेको थिएँ ।

फेब्रूवरी १९८० मा मेरो सुसमाचार प्रचार सेवा समाप्त हुनुभन्दा लगभग दुई महिना अघि, मेरा सुसमाचार क्षेत्राध्यक्षले मेरा सहपाठी र मलाई रियो दि जेनेरियोबाट साव पावलोको मन्दिरमा किलाका सदस्यहरूसँग रातभर यात्रा गर्न अनुमति दिनुभयो ताकि मैले मन्दिरमा अभिदान प्राप्त गर्न सकूँ र मेरा आमाबाबुसँग बाँधिन सकूँ । मेरा आमाबाबुले जस्तै, मैले पनि मन्दिरका विधि र करारहरूको प्रतिज्ञा गरिएका आशीषहरूका लागि वर्षौँ प्रतिक्षा गरेको थिएँ ।

त्यो अनुभवले भविष्यको मेरो दृष्टिकोणलाई परिवर्तन गर्‍यो र मलाई अध्यक्ष रसल एम. नेल्सनले हालै दिनुभएका शब्दहरूको सत्यताको पहिलो झलक दियो: “मन्दिरमा बिताउने समयले तपाईंहरूलाई सेलेस्टियल सोच राख्न र तपाईंहरू वास्तवमा को हुनुहुन्छ, तपाईंहरू को बन्न सक्नुहुन्छ र तपाईंहरूले सदैव कस्तो जीवन प्राप्त गर्न सक्नुहुन्छ भन्ने विषयको दर्शन प्राप्त गर्न सहयोग गर्ने छ ।”

मेरो त्यस अवसरमा मन्दिरमा बिताएको छोटो समयले मेरो बाँकी सुसमाचार प्रचार सेवामा गहिरो प्रभाव पार्‍यो । त्यो नयाँ दर्शनसँगै, मन्दिरको गवाही र परिवारहरूका लागि परमेश्वरको योजनाको महत्त्वले पनि मेरो जीवनमा दीर्घकालीन प्रभाव पार्‍यो ।

जब मेरी श्रीमती रोसाना र मैले मेरो सुसमाचार प्रचार सेवाको दुई वर्षपछि विवाह गर्‍यौँ, हामी हाम्रा आफ्नै अनन्त परिवार हुर्काउने दर्शनका साथ मन्दिरमा बाँधियौँ । त्यसो गर्न, हाम्रा आमाबाबुले हामीलाई सिकाउनुभएको जस्तै पारिवारिक परम्पराहरू सिर्जना गर्न हामीले सँगै कार्य गर्‍यौँ, जुन मुक्तिदाता, उहाँका शिक्षाहरू र उहाँका आधुनिक अगमवक्ताहरूका शिक्षा सबैमा केन्द्रित थिए ।

आज हाम्रा छोराछोरीहरूले खुसीको उही सुसमाचार सिद्धान्तहरूका साथ आफ्ना छोराछोरीहरू हुर्काइरहेका छन् । हाम्रालागि, परिवार नै सर्वस्व हो किनभने हामी परमेश्वरको योजनामा ​​परिवारको मध्यस्थिति बुझ्छौँ ।

एक सामान्य अधिकारीका रूपमा, मैले मेरा तीन छोराछोरीहरूलाई मन्दिरमा उनीहरूका पति/पत्नीलाई बाँध्ने आशीर्वाद पाएँ । उनीहरूले मन्दिरको वेदीमा घुँडा टेकेको क्षण उनीहरूका आँखामा हेर्दा एउटा सुन्दर अनुभव भयो । मेरा आमाबाबुले मलाई सिकाउनुभएको र मैले र रोसानाले सिकाएको सुसमाचारका सिद्धान्तहरूबाट मेरा भावी सन्ततिहरूले आशीर्वाद पाएको म देख्न सक्थेँ । म ती आशीर्वादहरू भावी पुस्ताहरूमा निरन्तर रहेको देख्न सक्थेँ । अनि मलाई यो सबै सम्भव बनाउने को हो भन्ने विषयको स्मरण गराइयो ।

तखतामा राखिएका येशूको जन्मलाई चित्रण गर्ने दृश्यका विभिन्न सेटहरू

क्रिसमसको स्मरण गराउन

परिवार परमेश्वरको खुसीको योजनाको केन्द्रबिन्दु हो तर मुक्तिदाता येशू ख्रीष्टबिना त्यो योजना सम्भव हुने थिएन । उहाँको प्रायश्चित्त र उहाँको सुसमाचारमा पाइने विधि र करारहरूले उत्कर्षको प्रतिज्ञालाई सम्भव बनाउँछन् ।

अध्यक्ष नेल्सनले घोषणा गर्नुभएको छ: “उत्कर्ष पारिवारिक कार्य हो । “येशू ख्रीष्टको सुसमाचारका उद्धार गर्ने विधिहरूद्वारा मात्र परिवारहरूलाई उच्च पार्न सकिन्छ । हामीले प्रयास गर्नुपर्ने अन्तिम लक्ष्य भनेको हामी परिवारका रूपमा खुसी हुनु हो—मन्दिरमा अभिदान प्राप्त गरेको, बाँधिएको र परमेश्वरको उपस्थितिमा अनन्त जीवनका लागि तयार हुनु हो ।”

जब म पहिले कहिल्यै भ्रमण नगरेका ठाउँहरूमा जान्छु, रोसाना र मलाई मुक्तिदाताको स्मरण गराउने येशूको जन्मलाई चित्रण गर्ने साना दृश्य खोज्ने प्रयास म गर्छु । मैले एउटा राम्रो सङ्कलन बनाएको छु ।

येशूको जन्मलाई चित्रण गर्ने ती विनम्र दृश्यहरूमा मनन गर्दै गर्दा, मेरी श्रीमती र मैले एक पटक सोच्यौँ, “हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण विषय के हो ?” अवश्य पनि, उत्तर मुक्तिदाता, उहाँको सुसमाचार र हाम्रो परिवार हो । हाम्रा स्वर्गका पिताको हामीप्रतिको प्रेम स्मरण गराउन र मुक्तिदाताद्वारा नै अनन्त परिवारहरूको प्रतिज्ञा सम्भव हुन्छ भन्ने विषय स्मरण गराउन, केही वर्ष पहिले क्रिसमस अघि हाम्रा येशूको जन्मलाई चित्रण गर्ने ती दृश्यहरूलाई हाम्रो घरको दुई ठूला तखताहरूमा हामीले राख्यौँ—र क्रिसमसको बिदापछि थन्क्याउनुको सट्टा तिनीहरूलाई त्यहीँ छोड्यौँ । त्यो परम्पराले हाम्रो घरमा वर्षभरि क्रिसमसको भावना कायम राख्न सहयोग गर्छ ।

हरेक दिन जब हामी येशूको जन्मलाई चित्रण गर्ने ती दृश्यहरूलाई हेर्छौँ, तिनीहरूले हामीलाई हाम्रो जीवनमा मुक्तिदाताको केन्द्रीय भूमिकाको स्मरण गराउँछन् । अहिले पृथ्वीमा शान्ति (हेर्नुहोस् लूका २:१४) र अर्को संसारमा अनन्त खुसी मुक्तिदाता र हामीले उहाँसँग गरेका करारहरूको सम्मानमा निर्भर गर्छ भनेर तिनीहरूले हामीलाई स्मरण गराउँछ । अनि “उहाँ यस संसारमा आउनुभयो, अर्थात् येशू, संसारका लागि क्रूसमा टाँगिन र संसारका पापहरू हरण गर्न र संसारलाई पवित्र पार्न र सबै अधार्मिकताबाट यसलाई शुद्ध पार्नका लागि तिनीहरूले हामीलाई स्मरण गराउँछन्;

“ताकि उहाँद्वारा सबैले मुक्ति प्राप्त गर्न सकून् जसलाई पिताले आफ्नो शक्तिमा राख्नुभएको थियो र उहाँद्वारा बनाउनु भएको थियो” (सिद्धान्त र करार ७६:४१–४२) ।

जसरी हामीले यी सत्यहरू हाम्रा आमाबाबुबाट सिक्यौँ, त्यसरी नै रोसाना र मैले हाम्रा छोराछोरीहरूलाई ती सत्यहरू हस्तान्तरण गर्ने कार्य गरेका छौँ । अहिले हाम्रा छोराछोरीहरूले तिनीहरूका छोराछोरीहरूलाई यही सत्य सिकाइरहेका छन् । ६० वर्षअघि ब्राजिलको हाम्रो सानो घरमा मेरा आमाबाबुको हृदयमा रोपिएको बिउ फूलेको छ र यसले फल दिएको छ “जुन सबैभन्दा मूल्यवान् छ, जुन सबै गुलियो भन्दा गुलियो छ र जुन सबै सेतोभन्दा सेतो छ, हो र सबै शुद्धभन्दा शुद्ध छ” (अल्मा ३२:४२) ।

जसले परिवारमा परमेश्वरको योजनालाई अँगाल्छ, मुक्तिदाताले जस्तै प्रेम गर्छ र आफ्ना करारहरूको सम्मान गर्छ, तिनीहरूले एक दिन आफ्ना प्रियजनहरूसँग र पिता र पुत्रसँग “अनन्त जीवनको आशीर्वाद र प्रसन्नताको पूर्णता” प्राप्त गर्ने छन्” भनेर म गवाही दिन्छु ।

सूचीहरू

  1. साधारण निर्देशिका: पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सेवा गर्ने, २.०, सुसमाचारको पुस्तकालय ।

  2. परिवार: संसारका लागि एक घोषणा,” सुसमाचारको पुस्तकालय ।

  3. परिवार: संसारका लागि एक घोषणा,”

  4. बोइड के. प्याकर, “The Father and the Family,” Ensign, मे १९९४, १९ ।

  5. रसल एम. नेल्सन, “पादरित्वका साँचाहरूको उपहारमा आनन्दित हुनुहोस्,” साधारण सम्मेलन, अप्रिल २०२४ ।

  6. रसल एम. नेल्सन, “Open the Heavens Through Temple and Family History Work,” Liahona, अक्टोबर २०१७, १८ ।

  7. साधारण निर्देशिका, २.० ।