२०२५
पवित्र करारहरू निर्माण र पालना गर्नाले आशीर्वादहरू आउँछन्‌
अक्टोबर २०२५ लियाहोना


एशिया क्षेत्रका अगुवाइका सन्देश

पवित्र करारहरू निर्माण र पालना गर्नाले आशीर्वादहरू आउँछन्‌

“उहाँसँग करार गर्नेहरू, दैनिक रूपमा उहाँ र उहाँका सन्ततिहरूको सेवा गर्न छनोट गर्नेहरू र उहाँ जस्तै बन्न प्रयास गर्नेहरूलाई परमेश्वरले विशेष प्रेम गर्नुहुन्छ ।”

करारहरूको अनन्त शक्ति

आठ वर्षको सानो बालकका रूपमा मेरो बप्तिस्मासम्म पुग्ने पूर्वानुमानको उत्साह मलाई स्पष्ट रूपमा स्मरण छ । त्यो स्पष्ट पृथक भावना नआउँदासम्म अलि अलमल्लमा परेको थिएँ । मलाई लाग्छ कि मैले तत्कालै आशीर्वादहरूको; तत्कालै रूपान्तरण अपेक्षा गरेको थिएँ । ५० वर्षभन्दा पनि अघिको मेरो बप्तिस्मा र त्यस समयदेखि भएका हरेक कार्यलाई मनन गर्दा अब म यो सबै अति नै स्पष्ट रूपमा बुझ्छु ।

बप्तिस्माको करारमा प्रवेश गर्ने अनुभव सहित त्यसपछि मैले परमप्रभुसँग गरेका धेरै करारहरू मेरो जीवनका महान् आशीर्वादहरूको मूल आधारहरू हुन् । यो तत्कालको भाव विह्वल पार्ने भावना वा परिवर्तनका सम्बन्धमा थिएन, बरु मेरो जीवनमा शान्तिपूर्वक र निरन्तर रूपमा प्रकट भएको गहन शक्तिका सम्बन्धमा थियो । म अब आफूमा आएका विशाल शक्ति र आशीर्वादहरू एकै क्षणमा आएका होइन तर प्रत्येक पटक करार निर्माण र पालना गर्न गरेका अनगिन्ती कार्यहरूका माध्यमद्वारा मैले वास्तवमा नै परमप्रभुमा गरेको मेरो भरोसा व्यक्त गर्ने सरल आस्थावान् छनोटहरूबाट आएका हुन् भनेर महसुस गर्छु ।

करारहरू साझेदारी हुन्: जब हामी परमप्रभुसँग करार गर्छौँ हामी एक पवित्र सम्बन्धमा प्रवेश गर्छौँ । हामी आस्था अभ्यास गर्ने, उहाँका आज्ञाहरू पालना गर्न प्रयास गर्ने र धार्मिक छनोटहरू गर्न लगनशील प्रयास गर्ने प्रतिज्ञा गर्छौँ । बदलामा, हामी जीवनका सबै परिस्थितिहरूमा उहाँको प्रिय मार्गदर्शन, सामर्थ्य र सहयोग महसुस गर्न पाउँदा आशीषित छौँ । परमेश्वरसँगको करार सम्बन्धले, “उहाँलाई आशीर्वाद दिन र हामीलाई परिवर्तन गर्न अनुमति दिन्छ....भनेर अध्यक्ष रसल एम. नेल्सनले सिकाउनुभयो यदि हामीले हाम्रो जीवनमा परमेश्वरलाई विजयी हुन दियौँ भने त्यो करारले हामीलाई उहाँको अति नै नजिक पुर्‍याउँछ ।” (“अनन्त करार,” लियाहोना, अक्टोबर २०२२)

क्रमिक रूपान्तरण: करारहरूबाट आउने वृद्धि र परिवर्तन प्रायः परिष्कृत प्रक्रिया हो । जस्तै नदीले घाटी खोल्छ, निरन्तर प्रयास र आत्माद्वारा निर्देशित हुन इच्छुक हृदयले परमप्रभुले हामीलाई कस्तो बनाउन चाहनुहुन्छ भनेर बिस्तारै हामीलाई आकार दिन्छ । यो रूपान्तरण दिनप्रतिदिन सूक्ष्म हुन सक्छ तर वर्षौँ र दशकहरूमा अखण्डनीय हुँदै जान्छ । मेरो बप्तिस्मा पछि मैले तत्कालै भिन्न महसुस नगरेको हुन सक्छु तर त्यो करारका कारण मैले गरेका छनोटहरूले दिनदिनै मेरो जीवनमा स्पष्ट रूपमा महत्त्वपूर्ण वृद्धि ल्याएको छ ।

आध्यात्मिक परिपक्वता: तत्काल परिवर्तनको अपेक्षा गर्ने ८ वर्षको बालकबाट गहन दीर्घकालीन आशीर्वादहरू पहिचान गर्ने वयस्कसम्मको मेरो यात्राले वृद्धि हुँदै गएको आध्यात्मिक परिपक्वतालाई प्रतिबिम्बित गर्छ । समय र अनुभवसँगै हाम्रो जीवनमा परमप्रभुका बाहुलाई हामी हरेकले अझै सूक्ष्म तरिकाले छुट्याउन सिक्न सक्छौँ । हाम्रा करारहरूमा जरा गाडेका साना विश्वासिला कार्यहरूले कसरी महत्त्वपूर्ण परिणामहरू निम्त्याउँछन् भनेर हामी देख्न सुरु गर्छौँ ।

करार पालना गर्दा प्राप्त हुने प्रशस्त आशीर्वादहरू

मेरो बप्तिस्मा पछि मैले गरेका प्रत्येक करारले सञ्चित भण्डारमा आशीर्वादहरू‌, ज्ञान र आध्यात्मिक शक्तिको थपेको छ । यो केवल एक करार मात्र होइन, तर करार पालनाको नमूना हो जसले वास्तवमा नै मेरो जीवनमा स्वर्गका द्वारहरू खोलेको छ । जब म मेरा करारहरूका सम्बन्धमा मनन गर्छु, म परमप्रभुको कोमल कृपा मलाई दिइरहेको महसुस गर्छु:

  • सुसमाचार प्रचार सेवा गर्ने, मन्दिरमा विवाह गर्ने र सन्ततिहरू जन्माउने साहस;

  • मेरो जीवनवृत्तिमा असफलताको सामना गर्दा पनि प्रयास गरिरहने आस्था;

  • मेरा बालबालिकाहरू भटकँदा पनि उनीहरूका लागि निःशर्त प्रेम;

  • मलाई धोका दिने व्यापारिक साझेदारलाई क्षमा दिने समार्थ्य;

  • मुक्तिदाताको प्रायश्चितको बलिदानका माध्यमद्वारा क्षमापनको आशा जसले मलाई मेरा कमजोरीहरूका बाबजुद पनि पश्चात्ताप गर्नका लागि निरन्तरता दिन अनुमति; र

  • मेरा आमाबाबुको मृत्युको सामना गर्न शान्ति दिन्छ ।

राजा बेन्यामिनले सिकाउनुभयो, “अनि यसभन्दा बढी, म चाहन्छु कि तपाईंले परमेश्वरका आज्ञाहरू पालना गर्नेहरूको आशीषित र खुसी अवस्थाका सम्बन्धमा विचार गर्नुहोस् । किनकि हेर, तिनीहरू सबै चीजहरूमा आशीषित छन्, सांसारिक र आध्यात्मिक दुबै; र यदि तिनीहरू अन्तसम्म आस्थावान् रहे भने तिनीहरूलाई स्वर्गमा स्वागत् गरिन्छ, ताकि तिनीहरू परमेश्वरसँग कदापि अन्त्य नहुने खुसीको अवस्थामा बस्न सक्छन् ।” (मोसीयाह २:४१)

यद्यपि मैले अझै पनि धेरै बुझेको छैन, यो म निश्चित रूपमा जान्दछु: “उहाँसँग करार गर्नेहरू, दैनिक रूपमा उहाँ र उहाँका सन्ततिहरूको सेवा गर्न छनोट गर्नेहरू र उहाँ जस्तै बन्न प्रयास गर्नेहरूलाई परमेश्वरले विशेष प्रेम गर्नुहुन्छ ।” म मेरा बुद्धिमान आमाबाबुहरू र बप्तिस्माको पानीमा प्रवेश गर्ने उहाँहरूको धार्मिक उदाहरणका लागि गहन रूपमा आभार प्रकट गर्छु जसले मलाई अनुसरणका लागि मार्ग तयार पार्‍यो । यी करारहरू र तिनीहरूलाई पालना गर्न प्रयास गर्दा मैले मेरो जीवनमा महसुस गरेका आशीर्वादहरूका कारण परमप्रभु जीवित हुनुहुन्छ र मलाई कोमल कृपाले प्रेम गर्नुहुन्छ भनेर मलाई जानकारी छ । मेरो हृदय उहाँको हो र म प्रत्येक दिन आस्थामा कार्य गर्न, उहाँको दैवी उदाहरण अनुसरण गर्छु । ■