“करारहरू, शक्तिहरू र प्रतिज्ञाहरू,” लियाहोना, अक्टोबर २०२५ ।
मासिक लियाहोना सन्देश, अक्टोबर २०२५
करारहरू, शक्तिहरू र प्रतिज्ञाहरू
परमप्रभु येशू ख्रीष्टको दोस्रो आगमनपूर्व आस्थावानहरूलाई प्रतिज्ञा गरिएको शक्ति र सुरक्षाका लागि मन्दिर केन्द्रबिन्दु हो ।
ड्यान बरद्वारा जोसेफ स्मिथको चित्रण
मे १८३३ मा, मेरो चौथो-जिजुबा असाहेल पेरी र उहाँका केही मित्रहरूले उत्तरी न्यूयोर्कबाट कर्टल्याण्ड, ओहायोको यात्रा गर्नुभयो । उहाँहरू भर्खरै पुनर्स्थापित चर्चका सदस्यहरू हुनुहुँदैनथे तर उहाँहरू अगमवक्ता जोसेफ स्मिथलाई भेट्न चाहनुहुन्थ्यो । कर्टल्याण्ड मन्दिरको निर्माणका सम्बन्धमा छलफल गर्न आयोजित पहिलो परिषदमा भाग लिन उहाँहरू ठीक समयमा आइपुग्नुभयो ।
परिषद् सुरु गरेपछि, अगमवक्ताले मन्दिर निर्माणको विषय प्रस्तुत गर्नुभयो । त्यसपछि उहाँले उपस्थित सबैलाई यति ठूलो कार्यसँग सम्बन्धित आफ्ना भावना व्यक्त गर्न आह्वान गर्नुभयो । धेरैजसोले यस्तो कार्य गर्न चर्च धेरै गरिब भएको प्रतिक्रिया दिए । उनीहरूले सानो, कम खर्चिलो भवन निर्माण गर्ने प्रस्ताव राखे ।
त्यसपछिको छलफलको क्रममा जिजुबा पेरी र उहाँका मित्रहरू एकत्रित हुनुभयो, आफ्ना पैसा निकाल्नुभयो र त्यसमा थप्नुभयो । के उनीहरूसँग आफ्नो पुनरागमनका लागि तिर्न र मन्दिर निर्माणमा योगदान दिन पर्याप्त पैसा थियो ? केही मिनेट पछि, मेरो जिजुबा जोसेफ स्मिथकहाँ आउनुभयो, पाँच डलरको सुनको सिक्का निकाल्नुभयो र अगमवक्तालाई दिनुभयो । (आज यस्तो सिक्काको मूल्य सयौँ डलर हुन्छ !)
जोसेफले परिषद्को अगाडि उभिएर सिक्का उठाउनुभयो । त्यसपछि, उत्साहका साथ बोल्दै, उहाँले भन्नुभयो कि “कार्य सुरु भइसकेको छ र [परमप्रभुको] गृह परमप्रभु येशू ख्रीष्टले प्रस्तुत गर्नुभएको योजनाअनुसार निर्माण गरिने छ ।”
पेरी परिवार चाँडै नै कर्टल्याण्डको चर्चमा सामेल हुनुभयो, केही वर्ष पछि नाभू मन्दिरमा उहाँहरूको मन्दिरको आशीर्वाद प्राप्त गर्नुभयो र पछि समतल भूमिहरू पार गर्दै यूटा पुग्नुभयो ।
१८३६ मा कर्टल्याण्ड मन्दिर समर्पण गर्दा, यसको समर्पणमा उपस्थित हुन चाहने पछिल्ला दिनका सबै सन्तहरूलाई सहभागी गराउन यो धेरै सानो भयो । चर्च बढ्दै जाँदा, खुला स्थानहरू सभाहरूमा उपस्थित हुने सन्तहरूको सङ्ख्या पनि बढ्दै गयो । म युवा छँदा मेरो किल्ला अध्यक्षका रूपमा सेवा गर्नुहुने र २००७ मा मलाई सामान्य अधिकारीका रूपमा बोलावट दिइँदा सल्लाहकारका रूपमा सेवा गर्नुहुने अध्यक्ष जेम्स ई. फाउस्ट (१९२०-२००७) ले चर्चको दोस्रो मन्दिरका सम्बन्धमा यो समीक्षा प्रस्तुत गर्नुभयो:
“१८४६ मा नाभू मन्दिर पूरा हुनुभन्दा पहिले सन्तहरू जोसेफ र अन्य चर्चका अगुवाहरूको सन्देश सुन्न प्रायः बाहिर, मन्दिर नजिकै एकत्रित हुन्थे । कहिलेकाहीँ हजारौँ मानिसहरू ती सभाहरूमा उपस्थित हुन्थे”—कहिलेकाहीँ प्रतिकूल मौसममा समेत ।
“[एल्डर] जर्ज ए. स्मिथले रोचक तरिकामा समीक्षा गर्दै भन्नुभयो, ‘अगमवक्ता जोसेफको समयमा … खुला स्थानहरूमा सभा गरिँदा [चर्च] को उल्लेख्य वृद्धि भएको थियो ।’”
हामी आभारी छौँ कि हाम्रा समयमा, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च खुला स्थानहरू, भवन भित्र र विश्वभर वृद्धि हुँदैछ । त्यो वृद्धि हुने क्रममा “प्रस्तुत गरिएको योजनाले” अभूतपूर्व गतिमा मन्दिरहरूको निर्माणलाई समावेश गर्छ — एउटा योजना जसमा सधैँ आशीर्वाद, समर्पण, आस्था र बलिदान समावेश छ ।
ग्लेन एस. हप्किन्सनद्वारा, A Glorious Light—Kirtland Temple (एक गौरवशाली प्रकाश—कर्टल्याण्ड मन्दिर), प्रतिलिपि गर्न मिल्दैन
किन यति धेरै मन्दिरहरू छन् ?
“हाम्रा पूर्वजहरूले अगमवाणी गर्नुभएको छ कि उत्तर र दक्षिण अमेरिका, प्रशान्त महासागरका टापुहरू, यूरोप र अन्य स्थानहरूमा मन्दिरहरू छन्,” अध्यक्ष एज्रा टाफ्ट बेन्सन (१८९९–१९९४) ले धेरै दशकपूर्व बताउनुभएको थियो । “यदि यो मुक्तिको कार्य जति मात्रामा गरिनु पर्ने हो, त्यसरी नै गरिने हो भने,सयौँ मन्दिरहरूको आवश्यकता पर्ने छ ।”
अध्यक्ष रसल एम्. नेल्सनले भन्नुभयो कि हामी आज अभूतपूर्व गतिमा मन्दिरहरू निर्माण गरिरहेका छौँ “किनभने परमप्रभुले हामीलाई त्यसो गर्न निर्देशन दिनुभएको छ।” मन्दिरको आशीर्वादले पर्दाको दुबै छेउमा इस्राएललाई एकत्रित गर्न सहयोग गर्छ । यी आशीर्वादहरूले परमप्रभुको दोस्रो आगमनका लागि संसारलाई तयार पार्न सहयोग गर्ने मानिसहरू तयार पार्न पनि सहयोग गर्छन्!”
कर्टल्याण्ड मन्दिरको उहाँको समर्पणको प्रार्थनामा, जोसेफ स्मिथले प्रार्थना गर्नुभयो “अनि परमप्रभुको गृहको प्रवेशद्वार पार गर्ने सबै मानिसहरूले हजुरको शक्ति महसुस गर्न सकून् । …
“अनि हामी हजुरलाई सोध्छौँ, पवित्र पिता कि हजुरका सेवकहरू हजुरको शक्तिले सशस्त्र भएर{ यस गृहबाट निस्कन सकून् र हजुरको नाम तिनीहरूमाथि रहने छ र हजुरको महिमा तिनीहरूको वरिपरि रहने छ र हजुरका स्वर्गदूतहरूले तिनीहरूमाथिको उत्तरदायित्व लिन सकून्” (सिद्धान्त र करार १०९:१३, २२; जोड दिएर थपिएको; पद २३ पनि हेर्नुहोस्)।
जब म ती पदहरू पढ्छु, म नफीका पछिल्ला दिनहरूका दर्शनका सम्बन्धमा सोच्छु । समान शब्दावलीलाई ध्यान दिनुहोस्: “अनि यस्तो हुन गयो कि म, नफीले परमेश्वरका थुमाको शक्ति देखेँ कि यो पृथ्वीको सारा सतहमा छरिएर रहेका थुमाको चर्चका सन्तहरूमा र परमप्रभुका करारबद्ध जनहरूमा अवतरण भयो; र उनीहरू धार्मिकताले र महान् महिमाको परमेश्वरको शक्तिले सशस्त्र भए” (१ नफी १४:१४; जोड दिएर थपिएको)।
पछिल्ला दिनका मन्दिरहरूले नफीको अगमवाणीको पूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्छन् र यी दोस्रो आगमन अघि आस्थावानहरूलाई प्रतिज्ञा गरिएको सुरक्षा र शक्तिको केन्द्रबिन्दु हुन् भनेर मलाई विश्वास छ ।
धेरै वर्षपूर्व, विश्वविद्यालयको वार्डको बिशपका रूपमा मैले सेवा गर्दा म विशेष गरी मेरो वार्डकी एउटी युवतीबाट प्रभावित भएँ । उहाँ अझै पनि मलाई प्रभावित गर्नुहुन्छ । अध्यक्ष एमिली बेल फ्रीम्यान, युवतीहरूकी साधारण अध्यक्षका रूपमा तपाईंले उहाँलाई चिन्नुहुन्छ । हालैको साधारण सम्मेलनको सम्बोधनमा, उहाँले सिकाउनुभयो कि मन्दिरका माध्यमद्वारा येशू ख्रीष्टले हामीलाई उच्च आध्यात्मिक स्तरमा उचाल्नुहुन्छ ।
“प्रत्येक पटक जब म उहाँको गृहको प्रवेशद्वार पार गर्छु, म उहाँसँग गहिरो करारको सम्बन्ध अनुभव गर्छु,” अध्यक्ष फ्रीम्यानले भन्नुभयो । “म उहाँको आत्माले पवित्र भएको छु, उहाँको शक्तिले सम्पन्न भएको छु, र उहाँको राज्य निर्माण गर्न अलग गरिएको छु ।”
प्रतिज्ञा गरिएको शक्ति
अध्यक्ष नेल्सनले मन्दिरका करारहरूका माध्यमद्वारा उपलब्ध येशू ख्रीष्टको शक्तिका सम्बन्धमा बारम्बार बताउनुभएको छ । “तपाईं स्वयम् लाई मुक्तिदातासँग जोड्नु भनेको उहाँको शक्ति र उद्धार गर्ने शक्तिमा पहुँच प्राप्त गर्नु हो” उहाँले भन्नुभयो । अध्यक्ष नेल्सनले यो पनि सिकाउनुभएको छ:
“हाम्रा मन्दिरका करारहरू पालना गर्दा हामीले परमप्रभुको मजबुत बनाउने शक्तिको पहुँच प्राप्त गर्छौँ । मन्दिरमा हामी संसारका व्यवधानहरूबाट सुरक्षा प्राप्त गर्छौँ ।”
“[मुक्तिदाताका] अत्यावश्यक विधिहरूले हामीलाई पादरित्वका पवित्र करारहरूद्वारा उहाँसँग बाँध्छ । त्यसपछि, जब हामी हाम्रा करारहरू पालना गर्छौं, उहाँले हामीलाई उहाँको चङ्गाइ प्रदान गर्ने, मजबुत बनाउने शक्ति प्रदान गर्नुहुन्छ । अनि ओहो, हामीलाई आगामी दिनहरूमा उहाँको शक्ति कति आवश्यक पर्छ ।
“हाम्रा मानिसहरूलाई अहिले र आगामी दिनहरूका लागि आवश्यक नैतिक र आध्यात्मिक शक्ति भनेको परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टको शक्ति हो । हामी उहाँहरूसँग करार गरेर र पालना गरेर उहाँहरूको शक्तिमा पहुँच प्राप्त गर्छौँ ।”
दाजुभाइ तथा दिदीबहिनीहरू, स्वर्गको शक्तिको महत्त्व छ किनकि हामी धेरै दुष्ट संसारमा जिइरहेका छौँ । त्यो शक्ति बिना, हामी “उहाँको आगमनको दिनमा खडा हुन” वा “उहाँ प्रकट हुनुहुँदा खडा हुन” सक्षम हुने छैनौँ (मलाकी ३:२) । त्यो दिन कहिले आउने छ भनेर हामीलाई जानकारी छैन तर उहाँको आगमनका लागि “मार्ग तयार पार्न” उहाँको सन्देशवाहक पहिले नै पठाइएको छ (मलाकी ३:१)। यसै बीच, संसार त्यो दिनतर्फ शान्तपूर्वक अघि बढिरहेको छैन ।
हामीलाई सहयोग गर्न आस्थावानहरूलाई प्रतिज्ञा गरिएको त्यो शक्ति आवश्यक पर्छ:
-
हाम्रो जीवनमा परमेश्वरले विजय पाउनुहोस् ।
-
पश्चात्ताप गर्नुहोस् र परमप्रभुको समीप आउनुहोस् ।
-
आशीर्वाद दिनुहोस्, सान्त्वना दिनुहोस्, नेतृत्व गर्नुहोस् र सेवा गर्नुहोस् ।
-
“हाम्रा परीक्षाहरू, प्रलोभनहरू र हृदयविदारक पीडाहरूलाई अझै राम्ररी सामना गर्न मजबुत बनाउनुहोस् ।” (हेर्नुहोस् मोसीयाह ३:१९) ।
-
करारको मार्गमा हिँड्दा ख्रीष्टमा शान्ति र प्रसन्नता प्राप्त गर्नुहोस् ।
-
“दहनको दिन” र “दुष्टहरूको विपत्तिका विरुद्ध” तयारी गर्नुहोस् (सिद्धान्त र करार १०९:४६) ।
-
परमप्रभुको दोस्रो आगमनपूर्व उहाँको कार्य पूरा गर्नुहोस् ।
जेम्स ह्विटनी यङ्गद्वारा ट्यूजन एरिजोना मन्दिरको गुम्बजको तस्वीर
मुक्तिका पहरेदारहरू
स्वर्गका पिताको कार्य र महिमा “मानिसको अमरत्व र अनन्त जीवन ल्याउनु” हो (मोसा १:३९) । प्रत्येक मन्दिर परमेश्वरको मुक्तिको योजनाको पार्थिव पहरेदारका रूपमा खडा छ जसले त्यो कार्य र महिमामा मुक्तिदाताको केन्द्रीय भूमिकालाई औँल्याउँछ ।
उहाँको शक्तिले सुसज्जित, प्रत्येक करार पालना गर्ने पुरुष र महिला—विवाहित होस् वा नहोस्—जसले आस्थावान् भएर मन्दिरका करारहरू पालना गर्छन्, यस जीवनमा र आगामी जीवनमा आशीष प्राप्त गर्ने छन् ।
अध्यक्ष नेल्सनले प्रतिज्ञा गर्नुभएको छ: “हामी प्रत्येकले प्रयास गर्ने लक्ष्य भनेको परमप्रभुको गृहमा शक्तिले सम्पन्न हुनु, परिवारका रूपमा बाँधिनु, मन्दिरमा गरिएका करारहरूप्रति आस्थावान् हुनु हो जसले हामीलाई परमेश्वरको सबैभन्दा महान् उपहार—अनन्त जीवनका लागि योग्य बनाउँछ । मन्दिरका विधिहरू र तपाईंले त्यहाँ गर्नुभएका करारहरू तपाईंको जीवन, तपाईंको विवाह र परिवारलाई मजबुत बनाउन र शत्रुको आक्रमणको प्रतिरोध गर्ने तपाईंको क्षमतालाई मजबुत बनाउन महत्त्वपूर्ण छन् । मन्दिरमा तपाईंको आराधना र त्यहाँ तपाईंका पुर्खाहरूका लागि तपाईंको सेवाले तपाईंलाई व्यक्तिगत प्रकाश र शान्तिमा वृद्धिको आशीर्वाद दिने छ र करार मार्गमा रहने तपाईंको प्रतिबद्धतालाई सुदृढ बनाउने छ ।”
यी विषयहरू सत्य छन् भनेर परमप्रभु येशू ख्रीष्टको प्रेरितका रूपमा म गवाही दिन्छु ।
© २०२५ Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, October 2022को अनुवाद । Nepali. 19611 372