“पादरित्वको अधिकार र शक्तिद्वारा आशीषित,” लियाहोना, सेप्टेम्बर २०२५ ।
मासिक लियाहोना सन्देश, सेप्टेम्बर २०२५
पादरित्वको अधिकार र शक्तिद्वारा आशिषित
चर्चका सदस्यहरूले चर्चमा, घरमा र विश्वभरि अरुहरूको सेवा गर्न र उनीहरूलाई आशीर्वाद दिन परमेश्वरको शक्ति प्रयोग गर्नुहुन्छ ।
मुक्ति र उत्कर्षको उहाँको कार्य पूरा गर्न परमेश्वरको पवित्र पादरित्व आवश्यक हुन्छ, उहाँले त्यो उद्देश्यका लागि पृथ्वीमा पादरित्वको पुनर्स्थापना गर्नुभएको हो र यो पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चद्वारा प्रशासित हुन्छ भनेर यो संसारका लागि हाम्रो गवाही हो ।
पादरित्वको अधिकार र शक्तिको आवश्यकता
येशू ख्रीष्ट चर्चको प्रमुख हुनुहुन्छ । चर्च त्यो माध्यम हो जुन उहाँ पृथ्वीमा हुनुहुँदाको युगमा जस्तै सुसमाचारको यस अन्तिम युगमा मानवजातिलाई मुक्ति दिनका लागि आवश्यक कार्य पूरा गर्न उहाँले सिर्जना गर्नुभएको छ । चर्चका माध्यमद्वारा:
-
उहाँले संसारभरि आफ्नो सुसमाचार घोषणा गर्न सक्नुहुन्छ ।
-
उहाँको सेलेस्टियल अधिराज्यको करार मार्ग सहित—उहाँले बप्तिस्मा र अन्य सबै करारहरू प्रदान गर्न सक्नुहुन्छ ।
-
उहाँले अनन्तकालका लागि परिवारहरूलाई एकताबद्ध गर्न सक्नुहुन्छ ।
-
उहाँले मुक्तिका उपहारहरू यी बिना नै मृत्यु भएकाहरूलाई पनि प्रदान गर्न सक्नुहुन्छ ।
-
उहाँले वर्तमानमा परमेश्वरका सन्ततिहरूको भौतिक आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ ।
यी महान् उद्देश्यहरू पूरा गर्न र मुक्तिदाताको पुनरागमनका लागि तयारी गर्न, चर्चलाई परमेश्वरको निरन्तर निर्देशन, अधिकार र शक्तिको आवश्यक छ । यस चर्च “सत्य र जीवित चर्च” हो (सिद्धान्त र करार १:३०) किनभने ख्रीष्टले आफ्नो पादरित्व, “परमेश्वरका पुत्रको रीतअनुसार पवित्र पादरित्व” (सिद्धान्त र करार १०७:३) का माध्यमबाट आफ्नो नेतृत्व र शक्ति प्रदान गर्नुहुन्छ ।
परन्तु यस पवित्र पादरित्वका लागि चर्च अनिवार्य रूपमा एक धर्मनिरपेक्ष सङ्गठन हुने छ जसले संसारमा राम्रो कार्य गर्ने छ तर उहाँको उपस्थितिमा अनन्त जीवनको प्रसन्नताका लागि परमेश्वरका छोरा र छोरीहरूलाई तयार पार्ने आधारभूत उद्देश्य प्राप्त गर्न शक्तिहीन हुने छ । यो पादरित्व र यस पादरित्वको कार्यलाई निर्देशन गर्ने साँचाहरू सहित चर्चमा अधिकार र रीत दुबै छ ।
“चर्चमा, सबै पादरित्वको अधिकार पादरित्वका साँचाहरू धारण गर्नेहरूको मार्गदर्शनमा प्रयोग गरिन्छ ।
“चर्चका योग्य पुरुष सदस्यहरूले पादरित्वको नियुक्ति र पादरित्वको विभागमा नियुक्तिद्वारापादरित्वको अधिकार प्राप्त गर्नुहुन्छ । चर्चका सबै सदस्यहरूले परमेश्वरको कार्य पूरा गर्नका लागि सहयोग गर्न उहाँहरूलाई दिइएको वा तोकिएको पदीय जिम्मेवारी प्रयोग गर्न सक्नुहुन्छ ।”
पादरित्वका साँचाहरूद्वारा परमप्रभुका प्राथमिकताहरू सदैव अनुग्रहित हुने छन् । उहाँको निर्देशनसँग मेल नखाने व्यक्तिगत विचारहरूलाई कसैले पनि अनुसरण गर्न सक्दैन । व्यक्तिगत लाभ र स्वार्थ खोज्ने पाखण्डीपनमा कोही पनि सफल हुन सक्दैन ।
चर्चका सदस्यहरूको घरमा पनि पादरित्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । प्रथम अध्यक्षताका प्रथम सल्लाहकार, अध्यक्ष ड्यालिन एच. ओक्सले सिकाउनुभयो, “चर्चमा पादरित्वको अधिकार केवल उहाँको मार्गनिर्देशनमा प्रयोग गर्न सकिन्छ जसले कुनै कार्यका लागि ती साँचाहरू धारण गर्नुहुन्छ भन्ने सिद्धान्तमा आधारित छ तर यो परिवारमा लागू हुँदैन ।” बुबाहरूले पादरित्वका साँचाहरू धारण गर्ने कसैको निर्देशन वा अधिकार बिना—आफ्नो परिवारमा पादरित्वको अध्यक्षता र अभ्यास —परामर्श दिने, पारिवारिक सभाहरू आयोजना गर्ने, परिवारका सदस्यहरू वा अरुहरूलाई पादरित्व वा चङ्गाइका आशीर्वादहरू दिने, आदि गर्नुहुन्छ ।
“बुबा अनुपस्थित हुँदा र आमा परिवारको अगुवा हुँदा पनि यही सिद्धान्त लागू हुन्छ । उहाँले आफ्नो घरमा अध्यक्षता गर्नुहुन्छ र मन्दिरमा गरिएको इन्डावमेन्ट र बन्धनको कार्यद्वारा आफ्नो परिवारमा पादरित्वका शक्ति र आशीर्वादहरू ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ ।”
हाम्रो समयमा पादरित्वको पुनर्स्थापना
मे १५, १८२९
यस अन्तिम समयावधिमा पादरित्वको अधिकारको पुनर्स्थापना क्रमश: प्रगतिमा अगाडि बढ्यो । हाम्रो समयावधिका लागि आधारभूत धर्मशास्त्र, मोर्मोनको पुस्तक, १८२९ मा अनुवाद गरिँदै गर्दा, परमप्रभुले आफ्नो पादरित्वको संरचनालाई स्थापित गर्न सुरु गर्नुभयो । बप्तिस्माका सम्बन्धमा जोसेफ स्मिथ र ओलिभर काउड्रीको प्रार्थनापूर्ण खोजको जवाफमा, पुनरुत्थान हुनुभएका बप्तिस्मा दिने यूहन्ना प्रकट हुनुभयो र उहाँहरूलाई हारुनको पादरित्व प्रदान गर्नुभयो जुन पादरित्वमा “स्वर्गदूतहरूको सेवा, पश्चात्तापको सुसमाचार र पापहरूबाट छुट्काराका लागि डुबुल्कीद्वारा बप्तिस्माका साँचाहरू छन्” (सिद्धान्त र करार १३:१) । औपचारिक रूपमा चर्च सङ्गठित भएकाले सोही अधिकार सहित जोसेफ र ओलिभरले एकअर्कालाई र पछि अरुहरूलाई बप्तिस्मा दिनुभयो ।
मे १५, १८२९ को लगत्तै पछि
बप्तिस्मा दिने यूहन्ना प्रकट हुनुभएको धेरै समय नबित्दै, प्राचीन प्रेरितहरू पत्रुस, याकूब र यूहन्ना प्रकट हुनुभयो र “मेरो अधिराज्यका साँचाहरू र … समयको परिपूर्णताका लागि सुसमाचारको युग” सहित उच्च वा मल्कीसेदेक पादरित्व प्रदान गरे (सिद्धान्त र करार २७:१३; १२८:२० पनि हेर्नुहोस्) ।
अप्रिल ३, १८३६
त्यसपछि आवश्यक अतिरिक्त पादरित्व अधिकार आयो जब कर्टल्याण्ड मन्दिरमा, तीन प्राचीन अगमवक्ताहरू, मोशा, एलियास् र एलिया, जोसेफ र ओलिभरकहाँ प्रकट हुनुभयो र इस्राएलको एकीकरण र परमप्रभुको मन्दिरसँग सम्बन्धित कार्यका साँचाहरू उहाँहरूलाई सुम्पिनुभयो (हेर्नुहोस् सिद्धान्त र करार ११०:११-१६) ।
१८२९ को ग्रीष्म ऋतु–अप्रिल १८३५
सिद्धान्त र करारहरूमा अब प्रमाणित गरिएका प्रकाशहरूले अगमवक्ता जोसेफ स्मिथलाई उच्च (मल्कीसेदेक) र तयारी (हारुनका) पादरित्व वाहकहरूको कार्यालयमा मानिसहरूको नियुक्ति; बिशपहरू जस्ता पादरित्व वाहक अधिकारीहरूको नियुक्ति; र पादरित्वका गणहरू र परिषद्हरूको सङ्गठनका सम्बन्धमा मार्गदर्शन गरेका थिए ।
१८३५–१९७३
अगमवक्ताका मार्गदर्शनले चर्चमा पादरित्व वाहकहरूको सङ्गठन र कार्यलाई मार्गदर्शन गर्न निरन्तरता दिन्छन् । उदाहरणका लागि, बाह्रको गणलाई सहयोग गर्न कर्टल्याण्ड युगमा सत्तरीको गणको सङ्गठन गरिएको थियो । ठूलो सङ्ख्या पश्चिम तर्फको प्रस्थान र भौगोलिक क्षेत्रहरूमा चर्चका सदस्यहरूको व्यापक प्रवाह पश्चात यी गणहरूलाई चर्चको किलामा कार्य गर्नका लागि कार्यभार दिइयो ।
१९७३–वर्तमानसम्म
अध्यक्ष स्पेन्सर डबल्यू. किम्बल (१८९५–१९८५), एज्रा टाफ्ट बेन्सन (१८९९–१९९४) र गोर्डन बी. हिङ्कली (१९१०–२००८) को प्रशासन अन्तर्गत, सत्तरी र उहाँहरूका गणहरूले बाह्रको गण अन्तर्गत चर्चको साधारण तह र चर्चका क्षेत्रहरूमा प्रत्यक्ष रूपमा काम गर्न सुरु गरे । त्यसपछि किला स्तरमा गणहरू बन्द गरियो । आज, साधारण अधिकारी र क्षेत्रीय सत्तरीहरूका बाह्र गणहरूले “सबै राष्ट्रहरूमा चर्च निर्माण गर्न र त्यसका सबै मामिलाहरू नियमन गर्न”का लागि प्रेरितहरूलाई सहयोग गर्नुहुन्छ (सिद्धान्त र करार १०७:३४) । चर्च विस्तार हुँदै जाँदा सत्तरीका थप गणहरू सिर्जना गर्न सकिन्छ ।
फेब्रुअरी २०२२ मा एल्डर क्रिस्टोफर्सनले पश्चिम अफ्रिकाको गाम्बियामा ब्रदरहरू स्याम्पसन र डेनिएल अमाकोलाई अभिवादन गर्नुहुन्छ ।
पादरित्व: आशीर्वाद दिने शक्ति
एक शब्दमा भन्नुपर्दा, येशू ख्रीष्टले पुनर्स्थापना गर्नुभएको पादरित्वको अधिकार र शक्तिको उद्देश्य आशीर्वाद दिनु हो । यसले चर्चका सदस्यहरूलाई चर्चमा, घरमा र विश्वभरि अरुहरूको सेवा गर्न र उनीहरूलाई आशीर्वाद दिनका लागि परमेश्वरको शक्ति प्रयोग गर्न सक्षम बनाउँछ । उहाँको मुक्ति र उत्कर्षको कार्य पूरा गर्न सदस्यहरू सहभागी हुनुहुन्छ, पृथ्वीमा परमेश्वरको अधिराज्यलाई अभिवृद्धि गर्नका लागि मुक्तिदातासँगै आफूमा निहित भन्दा धेरै परको दैवी उपहार र शक्ति प्रयोग गर्नुहुन्छ (हेर्नुहोस् सिद्धान्त र करार ६५:२, ५-६) ।
परमप्रभुले व्याख्या गर्नुभएको छ “यो ठूलो [मल्कीसेदेक] पादरित्वले सुसमाचारको प्रशासन गर्छ र अधिराज्यका रहस्यहरूका साँचा, परमेश्वरको ज्ञानका साँचा समेत धारण गर्छ ।
“त्यसकारण, यसका विधिहरूमा, ईश्वरीयपनको शक्ति प्रकट हुन्छ ।
“अनि यसका विधिहरू र पादरित्वका अधिकार बिना, ईश्वरीयपनको शक्ति मानिसहरूसामु शरीरमा प्रकट हुँदैन” (सिद्धान्त र करार ८४:१९-२१) ।
निश्चय नै, पादरित्वद्वारा प्रशासित समारोहहरू वा प्रभुभोजहरू विधिहरू हुन् जसद्वारा हामी परमेश्वरसँग बप्तिस्माबाट सुरु हुने र परमप्रभुको गृहमा प्राप्त गरिने करारहरूका माध्यमद्वारा निरन्तर रहने करार गर्छौँ । यी करारहरू पालना गर्दा हामी ख्रीष्टको प्रायश्चितको अनुग्रहद्वारा “प्राकृतिक” पुरुष र महिलाबाट सन्तहरूमा रूपान्तरित हुन्छौँ (हेर्नुहोस् मोसीयाह ३:१९) र परमेश्वरको सामु धर्मी र पवित्र बन्छौँ—निर्दोष र निस्कलङ्क—हुन्छौँ (हेर्नुहोस्सिद्धान्त र करार २०:२९-३१; ३ नफी २७:१६-२० ) ।
“येशू ख्रीष्टको सुसमाचारको पूर्णताको पुनर्स्थापना: संसारका लागि द्विशतवार्षिक घोषणा,”बाट प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको परिषद् द्वारा दिइएको यो उद्धरणले उपयुक्त सारांश व्यक्त गर्छ:
“हामी घोषणा गर्छौँ कि १८३० अप्रिल ६ मा सङ्गठित गरिएको पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च ख्रीष्टको नयाँ करारको चर्चको पुनर्स्थापना हो । यसको प्रमुख आधारशीला येशू ख्रीष्टको सिद्ध जीवन, उहाँको अनन्त प्रायश्चित्त र शाब्दिक पुनरुत्थानमा यो चर्च आधारित छ। येशू ख्रीष्टले पुनः एक पटक प्रेरितहरूलाई बोलाउनुभएको छ र उहाँहरूलाई पादरित्वको अधिकार दिनुभएको छ । उहाँले हामी सबैलाई उहाँमा र उहाँको चर्चमा आउन, पवित्र आत्मा, मुक्तिका विधिहरू प्राप्त गर्न र सदैव रहने प्रसन्नता प्राप्त गर्न आमन्त्रण गर्नुहुन्छ ।”
© २०२५ Intellectual Reserve, Inc. द्वारा सर्वाधिकार सुरक्षित । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, September 2025 को अनुवाद । Nepali. 19604 372