“स्वर्गका पिता तपाईंहरूसँग वार्तालाप गर्न चाहनुहुन्छ,” लियाहोना, मार्च २०२५ ।
मासिक लियाहोना सन्देश, मार्च २०२५
स्वर्गका पिता तपाईंहरूसँग वार्तालाप गर्न चाहनुहुन्छ
स्वर्गका पिता र उहाँका प्रिय पुत्र माथिको तपाईंको आस्थाले तपाईंलाई आध्यात्मिक मार्गनिर्देशनमा पहुँच प्राप्त गर्न र पिताको वाणी प्राप्त गर्न सहयोग गरोस् ।
हामी परमेश्वरका छोराहरू र छोरीहरू हौँ, हाम्रो स्वर्गको गृहबाट धेरै टाढा रहेको पृथ्वीरूपी गृहलाई सहभाजन गरिरहेका छौँ । यो हाम्रो मरणशीलता हो, हामीले शरीर ग्रहण गर्ने, दुष्टतामा असल छनोट गर्ने, “तीतो स्वाद लिने समय हो, ताकि [हामीले] असल कार्यलाई पुरस्कृत गर्न सिकौँ” (मोशा ६:५५), यो हाम्रा मुक्तिदाता येशू ख्रीष्ट र उहाँको पवित्र प्रायश्चितमा हाम्रो आस्था वृद्धि गर्ने र हाम्रा पिताको खुसीको योजनालाई आत्मसात गर्ने समय हो । हाम्रा स्वर्गका पिता जस्तै बन्नका लागि हामी यहाँ छौँ ।
हाम्रो नश्वर जीवनपूर्वको जीवनको सम्झना बिना, हामी, यदाकदा, हामीले पछाडि छोडेको संसारका लागि एकाकीपना महसुस गर्छौँ । हाम्रा पिताले हामीलाई उहाँसँग समाहित हुन र उहाँबाट मार्गदर्शन, निर्देशन र सान्त्वना प्राप्त गर्नका लागि एक आध्यात्मिक उपहार दिनुभएको छ । हामी यो उपहारलाई अति नै राम्ररी चिन्छौँ; यसलाई प्रार्थना भनिन्छ ।
तपाईंका स्वर्गका पितालाई प्रार्थना गर्नुहोस्
आदम र हब्बा र उनीहरूको अनुशरण गर्ने सबैलाई, एक स्वर्गदूतले निर्देशन दिए, “तिमीले पश्चात्ताप गर्ने छौ र सदासर्वदा पुत्रको नाममा परमेश्वरलाई पुकार गर्ने छौँ” (मोशा ५:८) ।
येशूले सिकाउनुभयो: “माग, तिमीहरूलाई दिइने छ । खोज र तिमीहरूले भेट्टाउने छौ; ढकढक्याओ र यो तिमीहरूका लागि उघारिने छ” (मत्ती ७:७) । “जब तिमीले प्रार्थना गर्छौ, … तिम्रा पितालाई … गोप्यमा प्रार्थना गर” (मत्ती ६:६) । “यस प्रकारले तिमीहरूले यसरी प्रार्थना गर: स्वर्गमा हुनुहुने हाम्रा पिता, हजुरको नाम पवित्र होस्” (मत्ती ६:९) ।
येशूले निरन्तर रूपमा आफ्ना पितालाई प्रार्थना गर्नुभयो । “उहाँ प्रार्थना गर्न पहाडतर्फ जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो ।” (लूका ६:१२)। “अनि … उहाँ प्रार्थना गर्न पहाडमा जानुभयो” (मर्कूस ६:४६) । “अनि तिनीहरू गेतसेमने नाम गरेको स्थानमा पुगे: र उहाँले आफ्ना शिष्यहरूलाई भन्नुभयो, मैले प्रार्थना गर्दासम्म तिमीहरू यहीँ बस” ( मर्कूस १४:३२) । क्रूसमा टाँगिँदा, येशूले उहाँलाई क्रूसमा टाँगेका सिपाहीहरूका लागि प्रार्थना गर्नुभयो: “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।” (लूका २३:३४) ।
धर्मशास्त्रले हामीलाई “सदैव प्रार्थना” गर्न सल्लाह दिन्छ (लूका २१:३६; २ नफी ३२:९; ३ नफी १८:१५; सिद्धान्त र करार १०:५; १९:३८; २०:३३; ३१:१२) । “तिम्रा सबै कामहरूमा परमप्रभुसँग परामर्श गर र उहाँले तिमीलाई लाभका लागि निर्देशन दिनुहुने छ” ( अल्मा ३७:३७) । यसका अतिरिक्त, हामीले “[हाम्रो] सम्पूर्ण हृदयले धन्यवाद दियौँ अनि हाम्रो सम्पूर्ण जीवात्मामा भएको शक्तिले प्रशंसा गर्यौँ” (मोसीयाह २:२०), हाम्रा पिताले हाम्रा लागि गर्नुहुने सबै कार्यलाई पहिचान गर्दै ।
अध्यक्ष रसल एम्. नेल्सनले वर्णन गर्नुभयो: “हरेक नयाँ बिहानी परमेश्वरको उपहार हो भन्ने अनुभूतिबाट आध्यात्मिक आत्म-सम्मान प्रारम्भ हुन्छ । … उहाँले हामीलाई दिनदिनै संरक्षण गर्नुहुन्छ र हामीलाई एक क्षणदेखि अर्को क्षणसम्म समर्थन गर्नुहुन्छ (मोसीयाह २:२१ हेर्नुहोस्) ।”
नफीले भन्नुभयो, “यदि तिमीहरूले आत्मालाई सुन्यौ जसले मानिसलाई प्रार्थना गर्न सिकाउँछ, तिमीहरूले जान्ने छौ कि तिमीहरूले प्रार्थना गर्नु पर्छ; किनकि दुष्ट आत्माले मानिसलाई प्रार्थना गर्न सिकाउँदैन, तर उसलाई सिकाउँछ कि उसले प्रार्थना गर्न हुँदैन” (२ नफी ३२:८) ।
ग्रेग के. ओल्सन द्वारा Christ Raising the Daughter of Jairus(येशू जेरसका छोरीलाई जीवित बनाउनुहुँदै) बाट विवरण
हाम्रा मुक्तिदाताको उदाहरण र शताब्दीयौँ देखिको स्वर्गदूतहरू र अगमवक्ताहरूको सल्लाहसँगै हामी स्पष्ट रूपमा हाम्रा आशीर्वादहरूका लागि कृतज्ञता व्यक्त गर्न र हाम्रा हृदयमा प्रार्थनालाई निरन्तर संरक्षण गर्नका लागि दैनिक प्रार्थना गर्न हामीले स्पष्ट रूपमा सिक्छौँ । हामीसँग पितासँग वार्तालाप गर्ने उत्तरदायित्व छ ।
परन्तु योभन्दा पनि अझै महिमित के छ भने, हाम्रा पिताले हाम्रा प्रार्थनाहरूको उत्तर दिनुहुन्छ । यस मरणशील संसारमा एउटा विचारशील प्रश्न छ, हाम्रा पिताबाट आउने उत्तर, निर्देशन र सान्त्वनालाई हामीले कसरी अझै राम्ररी प्राप्त गर्न र बुझ्न सक्छौँ?
सत्तरी वर्ष भन्दा लामो मेरो जीवनमा, मलाई जानकारी छ कि हाम्रा पिताले हामीसँग वार्तालाप गर्नुहुन्छ । हामी एक्लै छैनौँ । स्वर्गका दूतहरूले हामीलाई हेर्नुहुन्छ र मुक्तिदातालाई अनुशरण गर्ने हाम्रो प्रयासमा हामीलाई सहयोग गर्नुहुन्छ ।
हाम्रा प्रार्थनाहरूको उत्तर प्राप्त गर्ने विषय स्वर्गका हाम्रा पिता र उहाँका पुत्र येशू ख्रीष्टमा हाम्रो आस्थाबाट सुरु हुन्छ । येशूले भन्नुभयो, “नडराऊ, केवल विश्वास मात्र गर” (मर्कूस ५:३६) । हामी उहाँमा भरोसा गर्छौँ, आज्ञाहरू पालना गर्न सम्भव भएसम्म प्रयास गर्छौँ र सबै परिस्थितिहरूमा उहाँका बाहुको प्रभाव खोज्छौँ । “कुनै पनि कार्यमा मानिसले परमेश्वरलाई अप्रसन्न पार्न सक्दैन … केवल तिनीहरूसँग जो सबै परिस्थितिहरूमा उहाँका बाहुलाई स्वीकार गर्दैनन् र उहाँका आज्ञाहरू पालना गर्दैनन्” (सिद्धान्त र करार ५९:२१) ।
हाम्रो जीवनमा परमेश्वरका बाहुको अर्थ उहाँले हाम्रो संसारमा भएका दुष्ट वा भयानक त्रासदीहरू निम्त्याउनु हुन्छ भन्ने होइन । यद्यपि, यसको अर्थ तपाईंहरूका कठिनाइ र अन्यायका समयमा, उहाँ तपाईंहरूको साथमा उभिनुहुने छ, तपाईंहरूको क्षमतालाई मजबुत बनाउनुहुने छ, तपाईंहरूलाई सान्त्वना दिनुहुने छ र “तपाईंहरूको लाभका लागि तपाईंहरूको दु: खलाई पवित्र” पार्नुहुने छ भन्ने हो (२ नफी २:२) ।
उहाँको वाणी सुन्नुहोस्
हामीले उहाँ माथि आस्था राख्दा र उहाँका आज्ञाहरू पालना गर्दा हामीले स्वाभाविक रूपमा अझै राम्ररी उहाँको वाणी सुन्न सिक्छौँ ।
सेप्टेम्बर १९९३ मा, साधारण अधिकारीका रूपमा मेरो प्रथम वर्ष थियो, त्यस समयमा बाह्र प्रेरितहरूको गणमा हुनुहुने अध्यक्ष जेम्स ई. फाउस्ट (१९२०-२००७) ले मेरी श्रीमती, क्याथी र मलाई उहाँसँग ब्रिघम यङ्ग विश्वविद्यालयको आराधना कार्यक्रममा उपस्थित हुन आमन्त्रण गर्नुभयो । स्मरण गर्नुहोस्, सन् १९९३ को वर्ष स्मार्टफोन, सामाजिक सञ्जाल र इन्टरनेटको व्यापक उपलब्धता भन्दा अघिको समय थियो ।
“आत्माको वाणी” शीर्षकको आफ्नो व्यक्तवमा, अध्यक्ष फाउस्टले चेतावनी दिनुभयो: “तपाईंहरूको समयावधिमा कसरी जिउने, आफ्ना अभिलाषाहरूलाई कसरी सन्तुष्ट पार्ने, यी सबैलाई कसरी प्राप्त गर्ने भनेर धेरै आवाजहरूले व्यवधान सिर्जना गर्ने छन् । तपाईंहरूसँग सजिलै उपलब्ध हुनसक्ने लगभग पाँच सय टेलिभिजन च्यानलहरूसम्म हुने छन् । त्यहाँ सबै प्रकारका सफ्टवेयर, अन्तरक्रियात्मक कम्प्युटर मोडमहरू, डाटाबेस र बुलेटिन बोर्डहरू हुने छन्; त्यहाँ डेस्कटप प्रकाशन, स्याटेलाइट रिसिभरहरू र सञ्चारका नेटवर्कहरू हुने छन् जसले तपाईंहरूलाई जानकारी सहित निसासिने बनाउने छन् । … तपाईंहरूले सुन्न सिक्नु पर्ने वाणी आत्माको वाणी हो ।”
बाह्र प्रेरितहरूका गणका अध्यक्ष बोइड के. प्याकर (१९२४-२०१५), ले एक प्रकृतिवादी जन बरोज आफ्ना साथीहरूसँग भीडभाड भएको पार्कमा हिँड्दै गरेको अनुभवलाई सुनाउँदै आत्माको स्थिर, सानो आवाजका सम्बन्धमा सिकाउनुभयो । यहाँ अध्यक्ष प्याकरका वचनहरू छन्:
“सहरी जीवनमा सदैव सुनिने कोलाहलका बीचमा पनि [श्री. बरोज] ले एक पक्षीको गीत सुन्नुभयो ।
“उहाँ रोकिनुभयो र सुन्नुभयो! उहाँसँग भएकाहरूले यो सुन्नुभएको थिएन । उहाँले वरपर हेर्नुभयो । अन्य कसैले त्यसलाई ध्यान दिएको थिएन ।
“सबैले यति सुन्दर वस्तु गुमाउनु पर्छ भनेर यसले उहाँलाई चिन्तित पार्यो ।
“उहाँले आफ्नो खल्तीबाट एउटा सिक्का निकाल्नुभयो र हावामा उफार्नुभयो । त्यस पक्षीको गीत भन्दा ठूलो स्वर नगरी त्यो सडकको पेटीमा खस्यो । सबैजना फर्किए; तिनीहरूले त्यो सुन्न सक्थे!
“सहरको ट्राफिकका सबै आवाजबाट त्यस पक्षीको गीतलाई पृथक गर्न कठीन छ । परन्तु तपाईंहरूले यसलाई सुन्न सक्नुहुन्छ । यदि तपाईंहरूले आफूस्वयम् लाई यसलाई सुन्नका लागि अभ्यास गर्नुभएमा तपाईंहरूले यसलाई स्पष्ट रूपमा सुन्न सक्नुहुन्छ ।”
अध्यक्ष प्याकरको पवित्र आत्माको शिक्षा १९७९ मा प्राप्त भएको थियो, त्यो समय जब जीवन धेरै नै शान्त थियो र संसारको ध्यान आकर्षित गर्ने कोलाहल अहिलेको भन्दा धेरै कम थियो ।
अध्यक्ष नेल्सनले सिकाउनुभयो, “यदि तपाईंले आत्माको सङ्केतमा भन्दा सामाजिक सञ्जालबाट प्रदत्त विषयहरूमा बढी ध्यान दिइरहनुभएको छ भने तपाईंले आफूस्वयम् लाई आध्यात्मिक जोखिममा राख्दै हुनुहुन्छ ।”
अध्यक्ष फाउस्टले भन्नुभयो, “यदि हामी आत्माको वाणी सुन्न चाहन्छौँ भने हामीले पनि आफ्ना कान खोल्नु पर्छ, वाणीको स्रोतमा आस्थाको दृष्टिले हेर्नु पर्छ र स्थिर रूपमा स्वर्गतर्फ हेर्नु पर्छ ।”
आत्माको यो वाणी हाम्रो मनोवृत्ति र भावना दुबैमा आउँछ । “म तिमीलाई तिम्रो मष्तिष्क र तिम्रो हृदयमा, पवित्र आत्माद्वारा भन्ने छु, जुन तिमीमाथि आउने छ र जुन तिम्रो हृदयमा बास बस्ने छ” (सिद्धान्त र करार ८:२) । आफ्नो चेतनालाई सुन्नुहोस्—प्रायश: प्रकाश त्यहाँबाट सुरु हुन्छ ।
फेब्रूवरी २०२४ मा फिलिपिन्सको मार्किना सहरको Girls’ Home Boys कम्प्लेक्सको भ्रमणका क्रममा, एल्डर एन्डरसनले युवाहरूलाई उनीहरू परमेश्वरका सन्ततिहरू हुन्: “उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्छ भनेर सिकाउनुभयो । अनि तपाईंहरूले उहाँलाई निवेदन गर्न सक्नुहुन्छ । उहाँले तपाईंहरूका प्रार्थनाहरू सुन्नुहुने छ ।
आफ्नो हृदयदेखि विश्वास गरेर प्रार्थना गर्नुहोस् ।
जबरजस्ती रूपमा उत्तरहरू र प्रभावहरू प्राप्त गर्न सकिँदैन । हामी प्रार्थना गर्छौँ र हृदयदेखि विश्वास गरेर प्रतिक्षा गर्छौँ । केही उत्तरहरू यस जीवनमा प्राप्त हुँदैनन् तर धर्मीहरूलाई, परमप्रभुले सदैव आफ्नो शान्ति पठाउनुहुने छ (यूहन्ना १४:२७ हेर्नुहोस्) । जब हामी हाम्रा वरपरका मानिसहरूलाई सहयोग गर्नका लागि प्रार्थना गर्छौँ तब प्रायश: उत्तरहरू प्राप्त हुन्छन् । यदाकदा, तिनीहरू “हरफमाथि हरफ, शिक्षामाथि शिक्षा” आउँछन् (सिद्धान्त र करार ९८:१२) ।
अप्रत्याशित समयमा र अप्रत्याशित स्थानहरूमा दैवी प्रभाव हामीकहाँ आउन सक्छ तर पनि शान्त स्थानहरू र पवित्र स्थानहरूमा हामीले हाम्रा सबैभन्दा उल्लेखनीय अवसरहरू भेटाउँछौँ । मेरो बिहानको प्रार्थना र मननको मौनतामा, मैले असाधारण आशीर्वादहरू प्राप्त गर्छु । धर्मशास्त्रको दैनिक, व्यक्तिगत, निर्बाध अध्ययनले यदाकदा हामीलाई अति नै प्रभावपूर्ण तरिकामा आत्माको प्रभाव महसुस गर्न सहयोग गर्न सक्छ ।
यदाकदा, प्रभावहरू विशेष गरी हामीले पढेका विषयहरूबाट हुन्छन् र अन्य समयमा, हामीले के मनन गरिरहेका छौँ भन्ने विषयले अति नै भिन्न चासोको उत्तर प्रदान गर्छन् । एल्डर रबर्ट डी हेल्सका वचनहरू स्मरण गर्नुहोस्: “जब हामी परमेश्वरसँग वार्तालाप गर्न चाहन्छौँ, हामी प्रार्थना गर्छौँ । अनि जब हामी उहाँले हामीसँग वार्तालाप गर्नुभएको चाहन्छौँ, हामी धर्मशास्त्रहरू पढ्छौँ ।”
हाम्रा वरिपरि संसारका भ्रामक प्रभावहरू र विचलनहरू घुमिरहँदा, परमप्रभुले आफ्ना अगमवक्तालाई धेरै भन्दा धेरै मन्दिरहरू निर्माण गर्न निर्देशन दिनुभएको छ । परमप्रभुका यी पवित्र गृहहरूमा, जब हामी हाम्रा चुनौतीहरू पछाडि छोड्दै प्रार्थना र चासोहरू सहित प्रवेश गर्छौँ, हामीलाई अनन्तकालका सत्यहरू सिकाइन्छ ।
एक वर्ष पहिले, अध्यक्ष नेल्सनले हामीलाई यो उल्लेखनीय प्रतिज्ञा गर्नुभयो: “मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, यो मेरो प्रतिज्ञा हो । तपाईंहरूको परिस्थितिले अनुमति दिएअनुसार मन्दिरमा नियमित रूपमा आराधना गर्नाले अधिक रूपमा फलामको छडलाई समात्नका लागि अन्य कुनै पनि विषयले तपाईंहरूलाई सहयोग गर्दैन । तपाईंहरूले संसारको अन्धकारको धुँवाको सामना गर्नुहुँदा तपाईंहरूलाई अन्य कुनै विषयले अझै बढी सुरक्षा प्रदान गर्ने छैन । कुनै पनि विषयले परमप्रभु येशू ख्रीष्ट र उहाँको प्रायश्चितको तपाईंहरूको गवाहीलाई मजबुत बनाउँदैन वा तपाईंहरूलाई परमेश्वरको महान् योजनालाई अझै बढी बुझ्न सहयोग गर्ने छैन । पीडाको समयमा कुनै पनि विषयले तपाईंहरूको आत्मालाई अझै बढी शान्त पार्ने छैन । अन्य कुनै पनि विषयले स्वर्गलाई अझै बढी खोल्ने छैन । केहीले पनि गर्दैन!”
प्रत्येक साधारण सम्मेलनले प्रशस्ततामा थप आशीर्वादहरू ल्याउँछ । आगामी अप्रिल महिनामा, हामी पुनः एक पटक परमप्रभुको वाणी सुन्नका लागि साधारण सम्मेलनमा सहभागी हुने छौँ । प्रार्थना र तयारी गरेर हामी साधारण सम्मेलनमा सहभागी हुन्छौँ । हामी प्रत्येकका लागि, त्यहाँ दबावपूर्ण चिन्ता र गम्भीर प्रश्नहरू छन् । हामी हाम्रा मुक्तिदाता, येशू ख्रीष्टमा हाम्रो आस्था नवीकरण गर्न र प्रलोभनको प्रतिरोध गर्ने हाम्रो क्षमतालाई मजबुत बनाउन आएका हौँ । हामी माथिबाट सिकाइनका लागि आएका हौँ । जब तपाईंहरू तयारी गर्नुहुन्छ र साधारण सम्मेलनका सत्रहरूमा प्रार्थनापूर्वक आउनुहुन्छ, तपाईंहरूले आफ्ना चासोहरूको उत्तर प्राप्त गरेको महसुस गर्नुहुने छ र तपाईंहरूले “स्वर्गका बाहु” तपाईंहरू माथि छन् भनेर जान्नुहुने छ भनेर म तपाईंहरूलाई प्रतिज्ञा गर्छु ।
तपाईंहरूका स्वर्गका पिताले तपाईंसँग वार्तालाप गर्नुहुन्छ भनेर आस्था राख्नुहोस् । उहाँ हुनुहुन्छ! उहाँ र उहाँका प्रिय पुत्रमा तपाईंको आस्थाले तपाईंलाई आध्यात्मिक मार्गनिर्देशनमा पहुँच प्राप्त गर्न र पिताको वाणी प्राप्त गर्न सहयोग गरोस् । उहाँ त्यहाँ हुनुहुन्छ र तपाईंहरूलाई शब्दहरूले वर्णन गर्नेभन्दा बढी प्रेम गर्नुहुन्छ भनेर म गवाही दिन्छु ।
© 2025 द्वारा Intellectual Reserve, Inc. All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, March 2025. को अनुवाद Nepali. 19605 372