“म तिनीहरूलाई चङ्गाइ दिने छु,” लियाहोना,फेब्रूवरी २०२५ ।
मासिक लियाहोना सन्देश, फेब्रूवरी २०२५
“म तिनीहरूलाई चङ्गाइ दिने छु”
मुक्तिदाताको चङ्गाइ दिने सेवा दैवी प्रस्तावना हो र पुनरुत्थानमा हामी प्रत्येकमा आउने अनन्त शारीरिक र संवेगात्मक चङ्गाइको प्रतिज्ञा हो ।
विमान सेवाको कप्तानका रूपमा मेरो व्यावसायिक जीवनमा मैले तय गरेका केही लामोदूरीका उडानहरू स्पष्ट रूपमा मलाई अझै पनि स्मरण छ ।
ती मध्ये एकमा, एकै दिनमा म बिहान ११:०० बजे जर्मनीबाट उडेर दिउँसो १:०० बजे क्यालिफोर्नियामा अवतरण गर्थेँ । प्रस्थान र आगमनको स्थानीय समय तुलना गर्दा, यो एट्लान्टिक महासागर र उत्तर अमेरिकी महादेशको यो उडान मात्र दुई घण्टाको भएको जस्तो देखिन सक्छ । बोइङ ७४७ छिटो थियो, तरपनि त्यति छिटो थिएन! वास्तवमा, हावाको प्रवाहका आधारमा ५,६०० माइल (९,००० किलोमिटर) यात्रा गर्न हामीलाई करिब ११ घण्टा लाग्यो ।
हामी पश्चिम तर्फ उडिरहेका हुनाले हाम्रो उडानको समयमा सूर्य कहिल्यै अस्ताउँदैनथ्यो । हामीले जर्मनीदेखि क्यालिफोर्नियासम्म सूर्यको दिवा प्रकाशको आनन्द लिन्थ्यौँ ।
यद्यपि, जर्मनी फर्किनु, पूर्णतया भिन्न अवस्था थियो । हामीले अपराह्नको प्रारम्भिक उडान भरी हामी पूर्वतर्फ उँड्दै गर्दा समेत, सामान्य रूपमा भन्दा धेरै छिटो सूर्यास्त हुन्थ्यो अनि हामीले यो जानकारी प्राप्त गर्नुपूर्व, हामीले रात परिसकेको अनुभव गर्थ्यौँ ।
यी लामा उडानहरूमा, मैले यस पृथ्वीको सुन्दरता र परमेश्वरको सृष्टिको योजनालाई मनन गर्दा मेरो आत्मा प्रायशः विस्मयले भरिन्थ्यो । पूर्ण अन्धकारमा, रातमा उँडिरहँदा समेत, पुनः सूर्योदय हुने छ, त्यो प्रकाश फर्किने छ र हाम्रो यात्रा समाप्त हुनुपूर्व नै नयाँ दिनमा न्यानोपन र जीवन आउने छ भनेर मलाई निश्चित रूपमा जानकारी थियो । मेरो उडानको परिस्थितिले सूर्यास्त अति नै बिस्तारै वा धेरै छिटो भइरहेको जस्तो महसुस भइरहेको हुन सक्छ तर सूर्य ब्रह्माण्डमा स्थिर, दृढ र भरपर्दो छ भनेर मलाई जानकारी थियो ।
म परमेश्वरका सम्बन्धमा पनि त्यस्तै महसुस गर्छु । परमेश्वरको समस्त सृष्टिका लागि उहाँको ज्ञान र उद्देश्यका सम्बन्धमा मसँग भएको दृढ आधारमा आधारित भएका कारण हाम्रो मरणशील अस्तित्वका सम्बन्धमा मनन गर्दा म आनन्दित आशा र अनन्त शान्ति महसुस गर्न सक्छु । हामी परमेश्वरका सन्तति हौँ । उहाँले हामीलाई प्रेम गर्नुहुन्छ । उहाँले हाम्रा परिस्थितिहरूलाई बुझ्नु हुन्छ | उहाँ सहयोग गर्न तयार हुनुहुन्छ । हाम्रा वरपरका अन्य वस्तुहरू अस्थिर र अप्रत्याशित जस्ता महसुस हुँदा समेत यी सत्यहरू परिवर्तन हुँदैनन् ।
हामी सबैले हाम्रो शान्तिलाई चुनौती दिने अन्धकार, सन्ताप र अनिश्चितताका क्षणहरू अनुभव गर्छौँ । सत्य र प्रकाशको भरपर्दो र सही स्रोतका लागि म अति नै कृतज्ञ छु (हेर्नुहोस् सिद्धान्त र करार ८८:६-११) । येशू ख्रीष्ट संसारको ज्योति र जीवन हुनुहुन्छ । उहाँ र उहाँको प्रायश्चितको बलिदानका कारण, हामीसँग हाम्रो यात्राका अँध्यारा दिनहरूलाई प्रकाशमा परिणत गराउने र पाप र मृत्युमाथि अन्तिम विजयको प्रतिज्ञाको दैवी ज्योतिमा पहुँच राख्ने भविष्य प्रतिको आशा छ ।
“उहाँले संसारलाई प्रेम गर्नुहुन्छ”
येशू ख्रीष्ट पृथ्वीमा मरणशीलतामा जिउने एक मात्र परिपूर्ण मानिस हुनुहुन्थ्यो । उहाँको परिपूर्ण जीवनका कारण, उहाँले न्यायका लागि कुनै ऋण लिनु परेन । हामी प्रतिको प्रेमका कारण, व्यक्तिगत रूपमा र सामूहिक रूपमा परमेश्वरका सबै सन्ततिहरू, हामी प्रत्येकका लागि अमरत्व र अनन्त जीवनको ढोका उघार्न उहाँले आफ्नो जीवन दिनुभयो ।
शैतानले हामीलाई कुनै पनि विषयमा विश्वास दिलाउन खोजे तापनि हामी मध्ये कोही पनि हामीलाई मुक्ति दिने मुक्तिदाताको क्षमता भन्दा बाहिर छैनौँ । क्षमापनको अनुग्रहबाट हामी मध्ये कोही पनि अयोग्य छैनौँ । हामी मध्ये कोही पनि “उहाँका प्रेमयुक्त बाहुहरूमा सदाका लागि अङ्कमाल गरिने” (२ नफी १:१५) भन्दा बाहिर छैनौँ ।
सबै उपहारहरूमध्येको यो सबैभन्दा ठूलो उपहार येशू ख्रीष्टको प्रायश्चितको सक्षम र उद्धार गर्ने शक्तिबाट आउँछ । गेतसेमने र गलगथामा मुक्तिदाताको पीडाका कारण, हाम्रा कुनै पनि र सबै कमजोरीहरूबाट हामीलाई कसरी मुक्ति दिने र सहयोग गर्ने भनेर उहाँले बुझ्नुहुन्छ (अल्मा ७:१२ हेर्नुहोस्) ।
“संसारलाई लाभ हुने विषयमा बाहेक उहाँले अन्य केही पनि गर्नुहुन्न; किनकि उहाँले संसारलाई प्रेम गर्नुहुन्छ, यहाँसम्म कि उहाँले आफ्नो जीवन अर्पण गर्नुहुन्छ ताकि उहाँले सबै मानिसहरूलाई आफूतर्फ तान्न सक्नुहुन्छ” (२ नफी २६:२४)।
येशू ख्रीष्ट हाम्रो सामर्थ्य हुनुहुन्छ ।
उहाँले सहयोग प्रदान गर्नुहुन्छ ।
उहाँले पुनर्स्थापित गर्नुहुन्छ ।
उहाँले उद्धार गर्नुहुन्छ ।
अध्यक्ष रसल एम्. नेल्सन भन्नुहुन्छ, “जब मुक्तिदाताले [उहाँको प्रायश्चितको बलिदान] सबै मानव जातिका लागि गर्नुभयो, उहाँलाई अनुसरण गर्नेहरूले उहाँको चङ्गाइ दिने, मजबुत पार्ने र उद्धार गर्ने शक्तिमा पहुँच राख्न सक्छन् भनेर उहाँले एउटा मार्ग खोलिदिनुभयो” ।
त्यो शक्ति, सूर्य जस्तै, सदैव त्यहाँ छ । यो कहिल्यै डगमगाउँदैन । मुक्तिदाताको उदाहरण अनुसरण गर्ने छनोट गर्नु भनेको छायाबाट बाहिर आएर सूर्यको प्रकाशमा हिँड्नु जस्तै हो, जहाँ हामीले परमेश्वरको ज्योति, न्यानोपन र प्रेमको आशीर्वाद प्राप्त गर्न सक्छौँ । हामीले आफूलाई माथि उठाउन र मजबुत बनाउनका लागि येशू ख्रीष्ट र उहाँको दैवी प्रेममा भरोसा गर्ने अनन्त महत्त्वको निर्णय गर्यौँ भनेर कुनै दिन हामीले बिगतलाई स्मरण गर्ने छौँ र कृतज्ञताले भरिपूर्ण हुने छौँ भनेर मलाई जानकारी छ ।
“मतर्फ फर्क”
मोर्मोनको पुस्तकले मुक्तिदाताको क्रूसारोहण पछि सबैभन्दा गहन अन्धकारमा तीन दिन बिताएका मानिसहरूका सम्बन्धमा बताउँछ । तिनीहरू वरपरको भौतिक अन्धकार पापका कारणले हामी सबैले अनुभव गरेको आत्मिक अन्धकारको प्रतीक हुन सक्छ । तब मानिसहरूले ख्रीष्टको वाणी सुने जसले तिनीहरूलाई अन्धकारबाट बाहिर र उहाँको ज्योतिमा आउन आमन्त्रण दियो:
“के तिमीहरू अब मकहाँ फर्कने छैनौ र आफ्ना पापहरूबाट पश्चात्ताप गर्ने छैनौ र परिवर्तन हुने छैनौ, ताकि म तिमीहरूलाई चङ्गाइ दिन सक्छु?” (३ नफी ९:१३) ।
“बलिदानका लागि मेरो लागि चूर्ण हृदय र पछुताएको आत्मा अर्पण गर” (३ नफी ९:२०) ।
“पश्चात्ताप गर र हृदयको पूर्ण उद्देश्यका साथ मकहाँ फर्क” (३ नफी १०:६) ।
हामीले आध्यात्मिक रूपमा हराइरहेको महसुस गर्दा मुक्तिदाताले आज हामीलाई त्यही आमन्त्रणहरू विस्तार गर्नुहुन्छ । प्रत्येक सूर्योदयले नयाँ दिनको सुरुवातलाई सङ्केत गरे जस्तै प्रत्येक पटक हामीले पश्चात्ताप गर्दा, हामीले नयाँ सुरुवात, प्रकाशयुक्त नयाँ सुरुवात प्राप्त गर्छौँ ।
यसको अर्थ यो सजिलो छ भन्ने होइन । पश्चात्ताप भनेको परिवर्तन हो र परिवर्तन छिटो हुँदैन । आनन्दित हुँदा, पश्चात्तापमा “दैवी शोक” समावेश हुन्छ (२ कोरिन्थी ७:१०) । यसका लागि हामीले हाम्रा गल्तीहरू समर्पण र स्वीकार गर्नु, परमेश्वरबाट र हामीले चोट पुर्याएकाहरूबाट क्षमा प्राप्त गर्नु आवश्यक हुन्छ । सबै भन्दा बढी, हामीले “सर्वशक्तिमान् परमप्रभुको आत्मा” अन्वेषण गर्नु आवश्यक हुन्छ, ताकि हामीले “हाम्रो हृदयमा एक शक्तिशाली परिवर्तन अनुभव गर्न सक्छौँ ताकि हामीसँग अब गलत गर्ने कुनै भावना छैन, तर निरन्तर राम्रो गर्ने” (मोसीयाह ५:२) ।
त्यस प्रकारको परिवर्तन एक लामो यात्रा हो तर तपाईंले पहिलो पाइला चाल्ने बित्तिकै, “तपाईंको मुक्तिको दिन” सुरु हुन्छ र “तत्कालै उद्दारको महान् योजना तपाईंकहाँ ल्याइने छ” (अल्मा ३४:३१) ।
हाम्रो निष्कपट पश्चात्तापद्वारा परमेश्वरले हाम्रा पापहरूलाई क्षमा दिने र अब यस पछि हाम्रा पापहरू नसम्झने प्रतिज्ञा गर्नुहुन्छ । जब हामीलाई हाम्रा पापहरू बिर्सन कठीन हुन्छ, हामी क्षमा दिनका लागि परमप्रभुको प्रतिज्ञामा भरोसा गर्ने प्रयास गरौँ र अरूहरूलाई र आफूस्वयम् लाई क्षमा दिन सिकौँ ।
“हामीले गल्ती र पापहरू गर्दा हाम्रा आत्माहरू क्षतिग्रस्त हुन्छन्,” अध्यक्ष बोइड के. प्याकर (१९२४–२०१५) ले सिकाउनुभयो । “परन्तु हाम्रो मरणशील शरीरका सन्दर्भमा भिन्न छ, जब पश्चात्ताप प्रक्रिया पूरा हुन्छ, येशू ख्रीष्टको प्रायश्चितका कारण कुनै दाग बाँकी रहँदैन ।”
अन्धो मानिसलाई चङ्गाइ दिनुहुँदै, कार्ल हेनरिच ब्लोचद्वारा
“तिनीहरूलाई यहाँ ल्याओ”
मुक्तिदाता चङ्गाइ दिने मालिक हुनुहुन्छ । चङ्गाइ प्रदान गर्ने उहाँका शक्तिका सबैभन्दा सुन्दर प्रदर्शनहरू मध्येको एक पुरातन अमेरिकामा उहाँको व्यक्तिगत सेवाको अभिलेखमा मोर्मोनको पुस्तकमा पाइने विवरण हो:
“के तिमीहरू मध्ये कोही बिरामी छ?” उहाँले सोध्नुभयो । “तिनीहरूलाई यहाँ ल्याओ । के तिमीहरूमध्ये कोही छन् जो लङ्डा अथवा अन्धा अथवा पक्षघाती अथवा डुँडा अथवा कोरी छन्, अथवा जो थकित छन्, अथवा ती जो बहिरा छन्, अथवा कुनै प्रकारले ग्रसित छन्? तिनीहरूलाई यहाँ ल्याओ र म उनीहरूलाई चङ्गाइ दिने छु, किनकि ममा तिमीहरूमाथि सहानुभूति जाग्यो; मेरो हृदय कृपाले भरिएको छ । …
“अनि यस्तो हुन गयो कि जब उहाँले यसरी बोल्नुभएको थियो, सबै भीड, एक समूहमा, तिनीहरूका बिरामी र उनीहरूका ग्रसित र तिनीहरूका लङ्गडा, उनीहरूका अन्धा र तिनीहरूका लाटासहित र कुनै प्रकारले ग्रसित भएका सबैसहित गए; र उहाँले उनीहरू प्रत्येकलाई चङ्गाइ दिनुभयो जब तिनीहरूलाई उहाँसामु ल्याइएको थियो” (३ नफी १७:७, ९) ।
उहाँको पुनरुत्थानपूर्व र पश्चात् दुबैमा प्रत्येक पटक मुक्तिदाताले “कुनै पनि तरिकामा पीडित” कसैलाई चङ्गाइ दिनुभयो, यो हाम्रो आत्मालाई चङ्गाइ प्रदान गर्ने उहाँको परम शक्तिको प्रमाण थियो । प्रत्येक चमत्कारी चङ्गाइ केवल प्रस्तावना थियो र पुनरुत्थानमा हामी प्रत्येकमा आउने अनन्त शारीरिक र संवेगात्मक चङ्गाइको प्रतिज्ञा थियो, जुन “परमप्रभुको चङ्गाइ प्रदान गर्ने कार्य हो ।”
यो सत्य हो कि यस जीवनमा चङ्गाइ प्राप्त गर्नका लागि गरेका हाम्रा प्रार्थनाहरूको जवाफ सदैव हामीले आशा गरेको तरिकामा दिइँदैन, तरपनि तिनीहरूलाई बेवास्ता भने कदापि गरिँदैन । चङ्गाइ प्राप्त गर्ने समय आउने छ, जसरी—सही समयमा रातको अन्धकारले —महिमित सूर्योदयका लागि सदैव बाटो दिन्छ ।
जसरी अध्यक्ष नेल्सनले गवाही दिनुभएको छ: “हाम्रो आस्था कदापि प्रसंशा अयोग्य हुँदैन । स्वर्गका सर्वज्ञानी पिताको दृष्टिकोण हाम्रो भन्दा धेरै विशाल छ भनेर मलाई जानकारी छ । हामीले हाम्रा नश्वर समस्याहरू र पीडाहरूका सम्बन्धमा बुझ्दा, हाम्रो अविनाशी प्रगति र सम्भावनाका सम्बन्धमा उहाँले जानकारी राख्नुहुन्छ । यदि हामीले उहाँको चाहना बुझ्न प्रार्थना गर्यौँ र धीरता र साहस सहित आफूलाई समर्पण गर्यौँ भने, उहाँको आफ्नै तरिका र समयअनुसार स्वर्गको चङ्गाइ प्राप्त हुन सक्छ ।”
भर्खरै मेरी श्रीमती, ह्यारिएट र मैले हाम्रो प्रार्थनामा हामीले प्रेम गर्ने कोहीका तर्फबाट विशेष आशा र याचना समावेश गरेका थियौँ । उहाँहरूको स्वास्थ्य सेवा प्रदायक टोलीलाई उहाँहरूको रोग निको पार्न विशेष क्षमता प्रदान गरियोस् भनेर हामीले प्रार्थना गर्यौँ । तत्काल उपचार नहुने वा आरोग्य प्राप्त नहुने भए पनि मुक्तिदाताको चङ्गाइ प्रदान गर्ने शक्तिले उहाँहरूमा सान्त्वना र शान्ति ल्याउन सक्छ भनी थप्नलाई हामी प्रभावित भयौँ । मुक्तिदाताको उद्धार गर्ने शक्तिको चङ्गाइ प्रदान गर्ने प्रभावले हामीले प्राप्त गर्न सक्ने कुनै पनि भौतिक उपचारभन्दा पनि बढी हाम्रो भावनात्मक, आध्यात्मिक र शारीरिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्न सक्छ । येशू ख्रीष्ट यस जीवनमा र अनन्तकालमा चङ्गाइ प्रदान गर्ने व्यक्ति हुनुहुन्छ ।
मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, प्रिय मित्रहरू, हाम्रा मुक्तिदाताको कृपा तपाईंका घाउहरूमा चङ्गाइ प्रदान गर्न, तपाईंलाई पापबाट शुद्ध पार्न, आगामी परीक्षाहरूका लागि तपाईंलाई मजबुत बनाउन, र आशा, ज्ञान र उहाँको शान्तिले तपाईंलाई आशीर्वाद दिनका लागि पर्याप्त छ भनेर म गवाही दिन्छु । केही समयका लागि, हामीले उहाँको प्रेम, प्रकाश र न्यानोपनबाट टाढा भएको महसुस गर्दा पनि—निरन्तर र विश्वसनीय—उहाँको शक्ति सदैव त्यहाँ छ ।
येशू ख्रीष्टले हाम्रा लागि गर्नुभएका सबै विषयका लागि हाम्रो विस्मय र गहन कृतज्ञताको भावनालाई हामीले कदापि नगुमाऔँ भनेर म प्रार्थना गर्छु । तपाईंलाई पूर्ण रूपमा प्रेम गरिएको छ र तपाईंलाई अनन्त रूपमा के प्रतिज्ञा गरिएको छ भनेर कृपया स्मरण गर्नुहोस् र बुझ्नुहोस् ।
“उहाँका पुत्र येशू ख्रीष्टको प्रसन्नताका माध्यमद्वारा तपाईंहरूका बोझ हलुका होऊन् भनेर परमेश्वरले तपाईंहरूलाई प्रदान गरून्” (अल्मा ३३:२३) ।
© 2025 द्वारा Intellectual Reserve, Inc. All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, February 2025 को अनुवाद ।Nepali. 19609 372