2025
प्रेम र प्रसन्नताको खुसीको सन्देश
जनवरी २०२५


“प्रेम र प्रसन्नताको खुसीको सन्देश,” लियाहोना, जनवरी २०२५ ।

मासिक लियाहोना सन्देश, जनवरी २०२५

प्रेम र प्रसन्नताको खुसीको सन्देश

पुनर्स्थापनाका आशीर्वादहरूले हाम्रो हृदयलाई आनन्दित तुल्याउनु पर्छ र हामीलाई परमेश्वरको महान् प्रेमका लागि कृतज्ञताले भर्नु पर्छ ।

सूर्यास्तमा स्वर्गदूत मोरोनीको मूर्तिस्मारक

येशू ख्रीष्ट जीवित हुनुहुन्छ र उहाँको सुसमाचार र चर्चलाई यी पछिल्ला दिनहरूमा पुनर्स्थापित् गर्नुभएको छ भन्ने सबैका लागि हाम्रो आशा र शान्तिको सन्देश यो हो ।

“मानवजातिका लागि यी विषयहरू कति अवर्णनीय रूपमा महिमित छन्!” अगमवक्ता जोसेफ स्मिथले घोषणा गर्नुभयो । “वास्तवमा नै तिनीहरू सबै मानिसहरूका लागि महान्प्रसन्नताको सन्देश मान्न सकिन्छ; र सुसमाचार पनि, जसले पृथ्वी भरिनु पर्छ र हरेकको हृदयलाई खुसी पार्नु पर्छ जब उसको कानहरूमा सुनिन्छ ।”

मुक्तिदाताको पृथ्वीमा सेवा पश्चात् शताब्दीयौँसम्म, परमेश्वरका सन्ततिहरूले उहाँलाई अन्वेषण गरे र थप ज्योति र सत्यको चाहना गरे । अब येशू ख्रीष्टको सुसमाचारको सन्देश र भइरहेको पुनर्स्थापना सबै मानिसहरूलाई आशीषदिन र येशू ख्रीष्ट “राजाहरूका राजाका रूपमा शासन गर्न र परमप्रभुहरूका परमप्रभुका रूपमा शासन गर्न” फर्किनुहुने दिनका लागि संसारलाई तयार पार्न अगाडि बढ्छ । यो स्वर्गमा रहनुहुने हाम्रा पिता र हाम्रा मुक्तिदाताको अनन्त प्रेमको गहन अभिव्यक्ति हो । सारा संसारलाई यी सत्यहरू घोषणा गरेर म मेरो जीवन बिताउन सक्छु भनेर म हर्षित छु ।

असम्भव र उल्लेखनीय

रूखहरूको बगैँचामा मानव परिवारका लागि नयाँ दिनको सुरुवात भयो, जहाँ परमेश्वर पिता र उहाँका पुत्र, येशू ख्रीष्ट, प्रकट हुनुभयो र जोसेफ स्मिथलाई कुन चर्चमा सहभागी हुने भन्ने युवा जोसेफको प्रार्थनाको जवाफमा बोल्नुभयो (हेर्नुहोस् जोसेफ स्मिथ—इतिहास १:१४–२०) । येशूले जोसेफलाई कुनै पनि चर्चमा सहभागी हुनुहुँदैन भन्नुभयो । उहाँको सुसमाचारको पूर्णता भविष्यमा जोसेफलाई प्रकट गरिने छ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो ।

धेरैजनाका लागि, जोसेफलाई त्यस्तो महत्त्वपूर्ण कार्यका लागि बोलावट गरिने सम्भावना कम देखिन्थ्यो र तिनीहरू सही थिए । उहाँ अज्ञात सहरको एउटा सानो खेतबाट अशिक्षित र महत्वहीन युवक हुनुहुन्थ्यो । जसरी केहीले मुक्तिदाताको दिनमा उहाँका सम्बन्धमा भनेका थिए, “के नासरतबाट कुनै असल वस्तु निस्कन सक्छ?” (यूहन्ना १:४६), न्यू योर्कको पाल्माइरामा बस्ने १४ वर्षको अशिक्षित युवकबाट के असल कार्य आउन सक्छ भनेर धेरैले सोचेका थिए । परन्तु —जसरी उहाँमा त्यो सम्भावना कम देखिएता पनि—स्वर्गका पिता र परमप्रभु येशू ख्रीष्टले वास्तवमा नै जोसेफको माध्यमबाट उल्लेखनीय विषय ल्याउनुहुने छ । यसले हामीलाई हाम्रा साना र बिनम्र तरिकामा, हामीले पनि परमप्रभुको कार्यमा अर्थपूर्ण तरिकामा योगदान दिन सक्छौँ भन्ने आशा ल्याउनु पर्छ ।

अन्त्यमा, परमप्रभुले जोसेफलाई बोलावट गर्नुभयो “र स्वर्गबाट उहाँसँग ​​बोल्नुभयो र उहाँलाई आज्ञाहरू दिनुभयो” सिद्धान्त र करार १:१७) । जोसेफले अनमोल प्रकाशहरू र महत्त्वपूर्ण सिद्धान्तहरू प्राप्त गर्नुभयो जसले स्वर्गका पिताको प्रेमपूर्ण योजना र येशू ख्रीष्टको उद्धार दिने प्रेम र उहाँको प्रायश्चितको बलिदानको शक्तिका सम्बन्धमा हाम्रो बुझाइमा नयाँ प्रकाश ल्यायो । उल्लेखनीय रूपमा, यी खुसीका सन्देशहरू सही समयमा आएका थिए जब यातायात, सञ्चार र अन्य क्षेत्रहरूमा महत्त्वपूर्ण प्रगतिहरूले उहाँका सन्ततिहरूलाई धेरै भन्दा धेरै आशीष दिनका लागि परमेश्वरको ज्योति चम्काउन अनुमति दिने छ ।

मोरोनी जोसेफ स्मिथलाई सुनका पाताहरू प्रदान गर्दै

स्वर्गदूत मोरोनी जोसेफ स्मिथलाई पाताहरू हस्तान्तरण गर्दै, सि. सि. ए. क्रिस्टनसनद्वारा

परमेश्वरको प्रेमको शक्तिशाली साक्षी

स्वर्गदूत मोरोनी जोसेफ स्मिथसामु प्रकट हुनु पुनर्स्थापना र परमेश्वरको प्रेमको शक्तिशाली प्रमाणका लागि आवश्यक थियो । मोरोनीले जोसेफलाई सुनका पाताहरूमा लेखिएका एउटा अभिलेखका सम्बन्धमा भन्नुभयो, जुन नजिकै गाडिएको थियो (हेर्नुहोस् जोसेफ स्मिथ—इतिहास १:३३–३४) । अन्ततः, जोसेफलाई त्यो अभिलेख अनुवाद गर्न “उच्चबाट शक्ति” सिद्धान्त र करार २०:८ दिइने छ जुन मोर्मोनको पुस्तक हुने छ, जुन बाइबल जत्तिकै महत्त्वपूर्ण छ ।

मोर्मोनको पुस्तकभरि, हामी ख्रीष्टभन्दा सयौँ वर्षपूर्व, उहाँको आगमनका सम्बन्धमा जानकारी प्राप्त गरेका र भविष्यवाणी गरेका र त्यसका लागि प्रतिक्षा गरिरहेका मानिसहरूका सम्बन्धमा पढ्छौँ । हामी पुनरुत्थान हुनुभएका मुक्तिदाताका व्यक्तिगत उपस्थिति र नफीहरू माझ गरिएको सेवाका असाधारण विवरण पनि प्राप्त गर्छौँ, जुन समयमा उहाँले सबैलाई उहाँकहाँ आउन र उहाँका शरीरका डोब र उहाँका हात र पाउमा किलाका डोबहरू महसुस गर्न आमन्त्रित गर्नुभयो (हेर्नुहोस् ३ नफी ११:१४-१५) । उहाँले बिरामी, लङ्गडा, अन्धा सबैलाई चङ्गाइ गरिदिनुभयो—“जुनसुकै प्रकारले ग्रसित भएका सबैलाई”—र त्यसपछि साना बालबालिकाहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूका लागि प्रार्थना गर्नुभयो (हेर्नुहोस् ३ नफी १७:७-९, २१) । हामी यस पवित्र विवरणबाट मुक्तिदाताको प्रेम र करुणाका सम्बन्धमा धेरै सिक्छौँ ।

मोर्मोनको पुस्तकले “येशू नै ख्रीष्ट हुनुहुन्छ” भनी गवाही व्यक्त गर्छ । मोर्मोनको पुस्तकमा भएका आश्वासनहरूले हामीलाई निरन्तर रूपमा स्वर्गमा रहनुहुने हाम्रा पिता र हाम्रा मुक्तिदाताले हामीले कल्पना गर्न नसक्ने कुनै पनि विषयभन्दा बढी प्रेम गर्नुहुन्छ भनी स्मरण गराउँछ ।

पादरित्व र चर्चका आशीर्वादहरू

जोसेफ स्मिथसामु अन्य स्वर्गका सन्देशवाहकहरूको प्रकट सहित पुनर्स्थापना निरन्तर रूपमा रह्यो । “पुनरुत्थान हुनुभएका बप्तिस्मा दिने युहन्नाले पापहरूबाट छुट्काराका लागि डुबुल्कीद्वारा दिइने बप्तिस्माको अधिकारको पुनर्स्थापना गर्नुभयो । मौलिक बाह्र प्रेरितहरू मध्ये तीन—पत्रुस, याकूब, र युहन्नाले— प्रेरितको अधिकार र पादरित्वको अधिकारका साँचाहरूको पुनर्स्थापना गर्नुभयो । एलिया सहित, अरूहरू पनि आए, जसले मृत्युलाई पार गरेका परिवारलाई अनन्त सम्बन्धमा सदाका लागि बाँध्ने अधिकारको पुनर्स्थापना गर्नुभयो ।

अप्रिल ६, १८३० मा, येशू ख्रीष्टले अगमवक्ता जोसेफद्वारा नयाँ करारको समयमा सङ्गठित चर्चको नमूनाअनुसार एउटा चर्चको स्थापना गर्नुभयो (हेर्नुहोस् आस्थाका बुँदाहरू १:६, पूर्ण रूपमा “प्रेरितहरू र अगमवक्ताहरूको आधार, येशू ख्रीष्टस्वयम् मुख्य कुने-ढुङ्गा भएर”(एफिसी २:२०) पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चले पुनर्स्थापित् पादरित्व शक्तिको आशीर्वादहरूलाई परमेश्वरका सबै सन्ततिहरूमा उपलब्ध गराउँछ जसले यसलाई प्राप्त गर्न तिनीहरूस्वयम् लाई तयार पार्छ ।

अध्यक्ष रसल एम्. नेल्सनले हामीलाई सिकाउनुभएको छ, हामी दैनिक पश्चात्तापमा प्रसन्नता प्राप्त गर्न सक्छौँ जब हामी स्वर्गका पिता र हाम्रा मुक्तिदातातर्फ फर्कन्छौँ । जो कोही निराश महसुस गर्छन् वा पर्याप्त असल नभएको वा सम्बन्धित नभएको महसुस गर्छन्: सबैलाई ख्रीष्ट र उहाँको चर्चमा आउन आमन्त्रण गरिन्छ । चर्च परिपूर्ण व्यक्तिका लागि मठ होइन तर बिरामीहरूका लागि अस्पताल हो । “हामी चर्चमा हाम्रा समस्याहरू लुकाउन होइन तर तिनीहरूलाई चङ्गाइ दिन आउँछौँ भनेर बाह्र प्रेरितहरूको गणका एल्डर डिटर एफ्. उक्डोर्फले हामीलाई स्मरण गराउनुहुन्छ ।”

चर्चमा हामी अरूहरूका आवश्यकतालाई विचार गर्ने, प्रेम सहित अरूहरूको सेवा गर्ने र ख्रीष्टको असलपनाको प्रशस्तता सहित हाम्रा आफ्ना व्यक्तिगत अनुभवहरू बाँढ्ने अवसरहरूमा प्रसन्नता प्राप्त गर्छौँ । हामी “ख्रीष्टको चर्चका जनहरूमा गणना गरिन” र “परमेश्वरको असल वचनद्वारा सम्झन र पालनपोषण हुन” सक्छौँ (मोरोनी ६:४) । यो कस्तो अद्भुत आशीर्वाद!

महान् प्रसन्नताको कारण

अगमवक्ता जोसेफ स्मिथले एक पटक घोषणा गर्नुभयो, “अब, हामीले प्राप्त गरेको सुसमाचारमा हामीले के सुन्छौँ? प्रसन्नताको आवाज! स्वर्गबाट ​​कृपाको आवाज; र पृथ्वीबाट सत्यको आवाज; मृतहरूका लागि खुसीको सन्देश; जीवित र मृतहरूका लागि खुसीको सन्देश; महान् हर्षको खुसीको सन्देश” (सिद्धान्त र करार १२८:१९) ।

यो खुसीको सन्देश आएको छ किनभने स्वर्गका पिता र उहाँको प्रिय पुत्र, येशू ख्रीष्टले हामीलाई प्रेम गर्नुहुन्छ र कुनैपनि विषय भन्दा बढी—, हामीलाई उहाँहरूको उपस्थितिमा पुनः स्वागत् गर्न, चाहनुहुन्छ—ताकि हामीले सदैव उहाँहरूले जिउनुभएअनुरुपको जीवन प्राप्त गर्न सक्छौँ । यसलाई हामी सबैका लागि एक गौरवशाली सम्भावना बनाउनका लागि उहाँहरूले आवश्यक सबै कार्य गर्नुभएका छ भनेर पुनर्स्थापनाले प्रकट गर्छ । हाम्रो अनन्त यात्रामा, हामीले परीक्षा र कठिनाइहरू अनुभव गर्ने छौँ तर “[हामी] छौँ, ताकि [हामीले] यो जीवन र अर्को जीवनमा प्रसन्नता प्राप्त गर्न सक्छौँ” (२ नफी २:२५) । अगमवक्ता जोसेफलाई धेरैलाई भन्दा राम्ररी जानकारी थियो ।

जोसेफले बारम्बार विरोध र सतावटको सामना गरे तापनि उहाँले आफ्नो “जीवन्त मनोभाव” लाई निरन्तरता दिनुभयो” (जोसेफ स्मिथ—इतिहास १:२८) उहाँ प्रसन्न, मजबुत र सहनशील रहनुभयो र उहाँलाई गर्न दिइएका असाधारण कार्य पूरा गर्नुभयो । म अगमवक्ता जोसेफ स्मिथलाई विश्वास गर्ने, समर्थन गर्ने र अनुशरण गर्ने र चर्चको निर्माणमा उहाँहरूस्वयम् लाई समर्पित गर्ने प्रारम्भिक दिनहरूका सबै सन्तहरूलाई श्रद्धाञ्जली अर्पण गर्छु । हामी उहाँहरूको यस्तो कृतज्ञता र सम्मानको ऋणी छौँ ।

यो चर्चका प्रारम्भिक दिनहरूमा अनिश्चित थियो र यो आज अनिश्चित हुन सक्छ । परन्तु पुनर्स्थापना निरन्तर रहन्छ । यस चर्चका प्रमुख येशू ख्रीष्ट सँगै, जीवित अगमवक्ताहरूले हामीलाई मार्गदर्शन गर्न निरन्तरता दिनुहुने छ । परमप्रभुका गृहहरू निर्माण गर्न निरन्तरता दिइने छ, ताकि परमेश्वरसँगको अनन्त करारका आशीर्वादहरूले हामीलाई उहाँ र पर्दाको दुबै तर्फका हाम्रा प्रियजनहरूसँग बाँध्न सक्छन् (हेर्नुहोस् मत्ती १६:१९) । परमेश्वर र येशू ख्रीष्टको प्रेम सारा संसारमा फैलिने छ जब हामी उहाँका भेडाहरूलाई खुवाउने र उहाँको सुसमाचार बाँढ्ने मुक्तिदाताको आज्ञा पालना गर्छौँ । हामी पुनर्स्थापनाका सत्यताहरू फैलिएको र विभिन्न स्थानहरूमा गएको देख्ने छौँ जुन जोसेफको समयमा कल्पना गर्न कठीन थियो ।

अगमवक्ता जोसेफले जस्तै—जब हामी यी बहुमूल्य सत्यहरूलाई अँगालेर जिउँछौँ—हामी समार्थ्य र अधिक प्रसन्नता प्राप्त गर्न सक्छौँ । जोसेफले आफ्नो समयमा सन्तहरूलाई भन्नुभएको आज पनि हामीसँग निरन्तर छ: “यति महान् कार्यमा के हामी अघि नबढ्ने र? अगाडि जानुहोस् र पछाडि होइन । साहस, … अनि अगाडि, विजय सम्म! तपाईंका हृदयहरू आनन्दित हुनु पर्छ र अत्यन्तै हर्षित हुनु पर्छ” (सिद्धान्त र करार १२८:२२) ।

पुनर्स्थापनाले ल्याउने प्रेम र प्रसन्नताको खुसीको सन्देशले हाम्रो जीवनलाई —अहिले र सदैव आशीष र मार्गदर्शन दिन सक्छ ।

सूचीहरू

  1. Teachings of Presidents of the Church: Joseph Smith (2007), 152 ।

  2. परिवार: संसारका लागि एक घोषणा,” सुसमाचारको पुस्तकालय ।

  3. हेर्नुहोस् Saints: The Story of the Church of Jesus Christ in the Latter Days, vol. 1, The Standard of Truth, 1815–1846 (२०१८), १६ ।

  4. मोर्मोनको पुस्तकको शीर्षक पृष्ठ

  5. The Restoration of the Fulness of the Gospel of Jesus Christ: A Bicentennial Proclamation to the World,” सुसमाचारको पुस्तकालय ।

  6. हेर्नुहोस रसल एम्. नेल्सन, “The Power of Spiritual Momentum,” Liahona, मे २०२२, ९८ ।

  7. डिएटर एफ्. उक्डोर्फ, “On Being Genuine,” Liahona, मे २०१५, ८३ ।