2025
“मेरो नजिक आऊ”
मे २०२५


मासिक लियाहोना सन्देश, मे २०२५

“मेरो नजिक आऊ”

येशू ख्रीष्टले हामी हरेकलाई प्रेम गर्नुहुन्छ । उहाँले हामीलाई उहाँको नजिक हुने अवसर प्रदान गर्नुहुन्छ ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको यस साधारण सम्मेलनमा तपाईंहरूसँग हुन पाउनु मेरा लागि प्रसन्नताको विषय हो । यो उहाँको चर्च हो । हामी संसारभरि भवनहरू र घरहरूमा उहाँको नाममा एकत्रित भएका छौँ ।

जब हामी करारद्वारा उहाँको राज्यमा प्रवेश गर्छौँ हामी आफूमाथि उहाँको नाम लिन्छौँ । उहाँ परमेश्वरको पुनरुत्थान हुनुभएका र महिमित पुत्र हुनुहुन्छ । हामी मरणशील छौँ, पाप र मृत्युको अधीनमा छौँ । तैपनि, हामी प्रत्येकका लागि उहाँको प्रेममा, मुक्तिदाताले हामीलाई उहाँको नजिक आउन आमन्त्रण गर्नुहुन्छ ।

चिहानबाट उदयमान हुनुहुँदै मुक्तिदाता ।

हामीलाई उहाँको आमन्त्रणा यहाँ छ: “मेरो नजिक आओ अनि म तिमीहरूको नजिक आउने छु; मलाई लगनशीलतापूर्वक खोज र तिमीहरूले मलाई भेट्टाउने छौ; माग र तिमीहरूले प्राप्त गर्ने छौ; ढकढक्याओ र तिमीहरूका लागि उघारिने छ।”

कहिलेकाहीँ हामी मुक्तिदाता येशू ख्रीष्टको नजिक भएको महसुस गर्छौँ । अनि तैपनि, कहिलेकाहीँ हाम्रा मरणशील परीक्षाहरूको समयमा, हामी उहाँबाट केही पर भएको महसुस गर्छौँ र उहाँले हाम्रो हृदयमा के छ भनेर जान्नुहुन्छ र हामीलाई व्यक्तिगत रूपमा प्रेम गर्नुहुन्छ भन्ने आश्वासनको अपेक्षा राख्छौँ ।

मुक्तिदाताको आमन्त्रणमा आश्वासन महसुस गर्ने त्यो तरिका समावेश छ । उहाँलाई सदैव स्मरण गरेर उहाँको नजिक हुनुहोस् । धर्मशास्त्रको अध्ययनका माध्यमद्वारा उहाँलाई लगनशीलतापूर्वक खोज्नुहोस् । उहाँका प्रिय पुत्रको नजिक महसुस गर्न विनम्र प्रार्थनाका साथ स्वर्गका पितालाई सोध्नुहोस् ।

यसका सम्बन्धमा मनन गर्ने एक सरल तरिका छ । यदि तपाईंहरू आफ्ना प्रिय साथीहरूबाट केही समयका लागि अलग हुनुभयो भने तपाईंहरूले यही गर्नुहुन्थ्यो । तपाईंहरूले उहाँहरूसँग संवाद गर्ने तरिका पत्ता लगाउनुहुने छ, उहाँहरूबाट प्राप्त गर्नुभएको हरेक सन्देशको तपाईंहरूले कदर गर्नुहुने छ र उहाँहरूलाई सहयोग गर्नका लागि तपाईंहरूले सम्भव हुने सबै प्रयास गर्नुहुने छ ।

जति धेरै त्यस्तो हुन्छ, यो त्यति नै लामो समयसम्म रहन्छ, स्नेहको बन्धन त्यति नै गहिरो हुँदै जाने छ र तपाईंहरूले आफूस्वयम् लाई अझै नजिक भएको महसुस गर्नुहुने छ । यदि प्रेमयुक्त सञ्चार र एकअर्कालाई सहयोग गर्ने अवसर बिना धेरै समय बित्यो भने यो बन्धन कमजोर हुने छ ।

येशू ख्रीष्टले हामी हरेकलाई प्रेम गर्नुहुन्छ । उहाँले उहाँसँग नजिक हुने त्यो अवसर प्रदान गर्नुहुन्छ । येशू ख्रीष्टको नाममा प्रार्थनाका माध्यमद्वारा स्वर्गका पितासँग संवाद गरेर, पवित्र आत्माको मार्गदर्शन सुनेर अनि त्यसपछि मुक्तिदाताका लागि खुसीसाथ अरुहरूको सेवा गरेर एक प्रिय मित्रका रूपमा करीब उस्तै तरिकामा तपाईंहरूले यसो गर्नुहुने छ । तपाईंहरूले छिट्टै नै उहाँको नजिक आउने आशीर्वादको अनुभूति गर्नुहुने छ ।

मेरो युवावस्थामा, मैले—आज्ञाहरूको आज्ञाकारिताको सरल कार्यहरूका माध्यमद्वारा मुक्तिदाताको नजिक आउने—अनि उहाँ मेरो नजिक आउनुभएको प्रसन्नता अनुभव गरेँ । म युवा छँदा, प्रभुभोजको अर्पण साँझको सभामा गरिने गरिन्थ्यो । मलाई अझै पनि एक विशेष रातको स्मरण छ, ७५ वर्षभन्दा पहिले, जब बाहिर अँध्यारो र चिसो थियो । सन्तहरूसँग एकत्रित भएर प्रभुभोजमा सहभागी हुने आज्ञा पालना गर्दा, हाम्रा स्वर्गका पितासँग उहाँका पुत्रलाई सदैव स्मरण गर्ने र उहाँका आज्ञाहरू पालना गर्ने करार गरेको छु भनेर महसुस गर्दाको प्रसन्नता र प्रेमको अनुभूति म अझै सम्झन्छु ।

त्यस रातको सभाको अन्त्यमा, हामीले “Abide with Me; ’Tis Eventide(मसँगै बस्नुहोस्; साँझ पर्यो),” भन्ने भजन गायौँ, यी स्मरणीय शब्दहरू सहित “O Savior, stay this night with me(हे मुक्तिदाता, यो रात मसँगै बस्नुहोस्)” ।

यी शब्दहरूले मलाई एक युवकका रूपमा पनि आत्माको गहन अनुभूति प्रदान गरे । पवित्र आत्माको आश्वासनका माध्यमद्वारा त्यो साँझ मैले मुक्तिदाताको प्रेम र सामिप्यताको महसुस गरेँ ।

मुक्तिदाताको प्रेमको उही भावना र मेरो युवावस्थामा त्यो प्रभुभोज सभाका क्रममा मैले परमप्रभुसँग महसुस गरेको निकटतालाई वर्षौं पछि पनि म पुन: जगाउन चाहन्थेँ । त्यसैले मैले अर्को सरल आज्ञा पालना गरेँ: मैले धर्मशास्त्रहरूमा खोजेँ ।

लूकाको पुस्तकमा, मैले उहाँको क्रूसारोहण र उहाँलाई दफनाइएको तेस्रो दिनका सम्बन्धमा पढेको छु, जहाँ विश्वासी सेवकहरू मुक्तिदाताप्रतिको प्रेमका कारण उहाँको शरीरलाई अभिषेक गर्न आएका थिए । जब तिनीहरू आइपुगे, उनीहरूले चिहानबाट ढुङ्गा गुडाइएको भेट्टाए र देखे कि उहाँको शरीर त्यहाँ थिएन ।

ख्रीष्टको चिहान बाहिर एक स्वर्गदूत ।

दुई स्वर्गदूतहरू त्यहाँ उभिएका थिए र किन डराएका भनेर तिनीहरूलाई सोधे:

“किन तिमीहरू मृतकहरू बीच जीवितलाई खोजिरहेका छौ ?

“उहाँ यहाँ हुनुहुन्न, तर बौरी उठ्नुभएको छ: गालीलमा हुँदा उहाँले तिमीहरूलाई कसरी भन्नुभएको थियो भनेर स्मरण गर,

“यसो भन्दै, मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिइनु पर्छ, क्रूसारोहण गराइनु पर्छ र तेस्रो दिन पुनः बौरी उठ्नु पर्छ ।”

ख्रीष्ट र शिष्यहरू इम्माउस जाने बाटोमा ।

त्यो साँझ, दुई शिष्यहरू यरूशलेमबाट इम्माउस जाने बाटोमा हिँडे र पुनरुत्थान हुनुभएका परमप्रभु तिनीहरूसामु प्रकट हुनुभयो र तिनीहरूसँगै हिँड्नुभयो ।

लूकाको पुस्तकले त्यो साँझ तिनीहरूसँगै हिँड्नका लागि हामीलाई अनुमति दिन्छ:

“अनि यस्तो भयो, जब तिनीहरू एकसाथ वार्तालाप र तर्क गरिरहेका थिए, येशूस्वयम् नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।

“परन्तु तिनीहरूका आँखा बन्द गरिएका थिए ताकि तिनीहरूले उहाँलाई पहिचान गर्न नसकून ।

“अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू हिँड्दा एकअर्कासँग कस्तो प्रकारको वार्तालाप गर्छौ र उदास हुन्छौ ?

“अनि तिनीहरूमध्ये क्लियोपास नामक एक व्यक्तिले जवाफ दिए, के तिमी यरूशलेममा अपरिचित हौ र यी दिनहरूमा त्यहाँ के भयो भनेर जान्दैनौ ?”

जब तिनीहरूले उहाँ इस्राएलका उद्धारकर्ता हुनुहुन्छ भनेर विश्वास गरेका थिए तब येशूको मृत्यु भएको थियो भनेर तिनीहरूले उहाँलाई आफ्नो उदासिनताका सम्बन्धमा बताए ।

बौरी उठ्नुभएका परमप्रभुको वाणीमा स्नेह हुनु पर्छ जब उहाँले यी दुई उदास र शोकाकुल शिष्यहरूसँग बोल्नुभयो ।

मैले पढ्न निरन्तरता दिँदै गर्दा त्यहाँ यी शब्दहरू आए जसले मेरो हृदयलाई मैले सानो बालक छँदा महसुस गरेको जस्तै न्यानोपनाको महसुस दिलायो:

“अनि तिनीहरू गाउँको नजिक पुगे, जहाँ तिनीहरू जान चाहेका थिए; अनि उहाँले अझै अगाडि जान चाहनुहुन्थ्यो जस्तो गर्नुभयो ।

“परन्तु तिनीहरूले उहाँलाई कर गर्दै भने, हामीसँग बस्नुहोस्: किनकि साँझ पर्न लागेको छ र दिन धेरै ढलिसकेको छ । अनि उहाँ तिनीहरूसँग बस्न भित्र जानुभयो ।”

ख्रीष्ट शिष्यहरूसँग बस्नुहुँदै ।

मुक्तिदाताले त्यस रात आफ्ना शिष्यहरूको घरमा प्रवेश गर्ने आमन्त्रणलाई स्वीकार गर्नुभयो । उहाँ तिनीहरूसँगै खाना खान बस्नुभयो । उहाँले रोटी लिनुभयो, यसलाई आशीर्वाद दिनुभयो, भाँच्नुभयो र यो तिनीहरूलाई दिनुभयो । तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने । तब उहाँ तिनीहरूको दृष्टिबाट गायब हुनुभयो ।

लूकाले ती आशीषित शिष्यहरूका भावनाहरू हाम्रा लागि अभिलेख गरे: “अनि तिनीहरूले एकअर्कालाई भने, जब उहाँले बाटोमा हामीसँग बोल्नुभयो र धर्मशास्त्रको अर्थ बताउनुभयो तब के हाम्रो हृदयमा उत्सुकता उत्पन्न भएको थिएन ?”

त्यसपछि एघार प्रेरितहरूलाई के भएको थियो भनेर बताउन ती दुई शिष्यहरू हतारिँदै यरूशलेम फर्किए । जब तिनीहरूले आफ्नो अनुभव बाँढिरहेका थिए, मुक्तिदाता पुनः प्रकट हुनुभयो ।

उहाँ तिनीहरूका बीचमा उभिएर “तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस् ।” त्यसपछि उहाँले आफ्ना पिताका सबै सन्ततिहरूको पापको प्रायश्चित गर्ने अनि मृत्युको बन्धन तोड्ने आफ्नो उद्देश्यका भविष्यवाणीहरूको समीक्षा गर्नुभयो ।

“अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यसरी लेखिएको छ र यसरी ख्रीष्टले कष्ट सहनु र तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु आवश्यक थियो:

“अनि यरूशलेमबाट प्रारम्भ गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पश्चात्ताप र पापहरूबाट छुटकाराको प्रचार गरिनु पर्छ ।

“अनि तिमीहरू यी विषयहरूका साक्षी हौ ।”

मोर्मोनका पानीहरूमा सिकाउँदै अल्मा ।

उहाँका प्रिय शिष्यहरू जस्तै, बप्तिस्माको द्वारबाट प्रवेश गर्न छनोट गरेका स्वर्गका पिताका हरेक सन्तति मुक्तिदाताका साक्षी बन्न र हाम्रो मरणशील जीवनभर आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने करार अन्तर्गत पर्दछन् । शताब्दीयौँपूर्वको मोर्मोनको पानीमा मोर्मोनको पुस्तकका महान् अगमवक्ता अल्माद्वारा हाम्रा लागि यो प्रतिबद्धता स्पष्ट पारिएको थियो:

“जसरी तिमीहरू परमेश्वरको बगालमा आउन र उहाँका मानिसहरू भनेर चिनिन चाहन्छौ अनि एकअर्काको बोझ बहन गर्न इच्छुक छौ ताकि तिनीहरू हलुका हुन सकून्;

“हो, र शोक गर्नेहरूसँग शोक गर्न इच्छुक छौ; हो, र सान्त्वनाको आवश्यकतामा परेकाहरूलाई सान्त्वना दिन र सबै समयमा र सबै विषयहरूमा र सबै स्थानहरूमा परमेश्वरको साक्षीका रूपमा उभिन …, मृत्युसम्म पनि ताकि तिमीहरू परमेश्वरबाट छुटकारा प्राप्त गर्न सक्छौ … ताकि तिमीहरूले अनन्त जीवन प्राप्त गर्न सक्छौ ।”

तपाईं यी प्रतिज्ञाहरूप्रति आस्थावान् रहँदा तपाईंको बोझलाई हलुका बनाउँदै परमप्रभुले तपाईंको सेवामा तपाईंसँग एक हुने आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको पाउनुहुने छ । समयानुक्रम सँगै तपाईंले मुक्तिदातालाई पहिचान गर्नुहुने छ र तपाईं उहाँ जस्तै हुनुहुने छ र “उहाँमा परिपूर्ण हुनुहुने छ” । मुक्तिदाताका लागि अरुहरूको सहयोग गरेर तपाईंले आफू उहाँको समीप भएको पाउनुहुने छ ।

तपाईंहरूमध्ये धेरैका प्रियजनहरू अनन्त जीवनको मार्गबाट भटकिरहनुभएको छ । तपाईं उहाँहरूलाई फिर्ता ल्याउन के गर्न सक्नुहुन्छ भनेर मनन गर्नुहुन्छ । आस्थामा उहाँको सेवा गर्दा उहाँहरूको समीप आउनका लागि तपाईं परमप्रभुमा निर्भर रहन सक्नुहुन्छ ।

तपाईं परमप्रभुले जोसेफ स्मिथ र सिड्नी रिग्डनलाई दिनुभएको प्रतिज्ञा स्मरण गर्न सक्नुहुन्छ जब परमप्रभुको कार्यका लागि उहाँहरू आफ्नो परिवारबाट टाढा हुनुहुन्थ्यो: “मेरा मित्रहरू सिड्नी र जोसेफ, तिम्रा परिवारहरू ठीक छन्; तिनीहरू मेरो बाहुमा छन् र म तिनीहरूलाई जे सही छ त्यही गर्ने छु; किनकि ममा सम्पूर्ण शक्ति छ ।”

जब तपाईंहरू आवश्यकतामा परेकाहरूको घाउमा मलमपट्टी लगाउनुहुन्छ, परमप्रभुको शक्तिले तपाईंलाई समर्थन गर्ने छ । हाम्रा स्वर्गका पिताका सन्ततिहरूलाई सहयोग र आशीर्वाद दिन उहाँका बाहुहरू तपाईंहरूका हातहरूसँगै फैलिने छन् ।

तिनीहरूले उहाँका लागि अरुहरूलाई आशीर्वाद दिँदा र सेवा गर्दा येशू ख्रीष्टका प्रत्येक करारवद्ध सेवकले आत्माबाट उहाँको निर्देशन प्राप्त गर्ने छन् । तब तिनीहरूले मुक्तिदाताको प्रेम महसुस गर्ने छन् र उहाँसँग नजिक हुँदा प्रसन्नता प्राप्त गर्ने छन् ।

म इम्माउसको मार्गमा रहेको घरमा ती दुई शिष्यहरूसँग त्यहाँ भए जस्तै गरी म परमप्रभुको पुनरुत्थानको साक्षी हुँ । म जान्दछु कि उहाँ जीवित हुनुहुन्छ ।

यो उहाँको सत्य चर्च हो—येशू ख्रीष्टको चर्च । हामी, फैसलाको दिनमा, मुक्तिदाताको अगाडि आमनेसामने उभिने छौँ । यो उहाँहरूका लागि धेरै प्रसन्नताको समय हुने छ, जो यस जीवनमा, उहाँको सेवामा उहाँको नजिक आउनुभएको छ र उहाँका वचनहरू सुन्न उत्सुकतापूर्वक प्रतीक्षा गर्न सक्नुहुनुहुन्छ: “स्याबास, तिमीहरू असल र आस्थावान् सेवक ।”

म पुनरुत्थान हुनुभएका मुक्तिदाता र हाम्रो उद्धारकर्ताको साक्षीका रूपमा, येशू ख्रीष्टको नाममा गवाही दिन्छु, आमीन ।